अनुभूति

बिरानो देशमा थापा दाइ

- विश्वास हमाल, काठमाडौं

फेसबुकमा नयाँ फ्रेन्ड रिक्वेस्टको रातो नोटिफिकेसन आयो । प्रोफाइल खोलेर हेरेको चिने–चिनेजस्तो लाग्यो, दुई–चार फोटा हेर्दै जाँदा एउटा धेरै पुरानो फोटो देखेँ, क्याप्सनमा लेखिएको थियो– ‘बिते हुए पल, भाइसँग लन्च खाँदै ।’ चार लाइक्स र एउटा कमेन्ट थियो त्यो फोटोमा । मलाई अब ढुक्क भयो, यो प्रोफाइल थापा दाइकै रहेछ । विक्रम थापा दाइले पनि फेसबुक खोलेछन् भनी अचम्म लाग्यो र खुसी पनि । उनको प्रोफाइल हेर्दै थाहा हुन्थ्यो, त्यो पक्का अरू कसैले उनका लागि खोलिदिएको थियो ।

थापा दाइ, मभन्दा धेरै जेठा, जिन्दगीको कुन मोडमा भेटिएका एउटा असल साथी थिए । थोरै समय सँगै बितायौँ तर दिल खोलेर बस्यौँ । उनी पूर्वी नेपालका, म पश्चिमको । उमेरले मभन्दा २० वर्ष जेठा । उनी ८ कक्षा फेल कुक, म विद्यार्थी । हामीमा केही समानता थिएन, सिवाय विदेशिएका नेपाली ।

उनीसँग छुट्टिएपछि केही महिना नियमित नै कुराकानी हुन्थ्यो फोनमा । तर, समय पनि अलि फरक । यता दिन हुँदा उता रात, मसँग समय हुँदा दाइ काममा, दाइसँग समय हुँदा म काममा । हामीबीच यस्तै लुकामारी खेलेजस्तो हुँदाहुँदै सम्पर्क नै हुन छाडेको वर्षौं भइसकेको थियो ।

क्यानडाको राजधानी ओटावा सहरको मध्यभागको व्यस्त ठाउँमा विक्रम दाइ एउटा भारतीय रेस्टुराँमा कुक थिए । १५ वर्षको उमेरमा गाउँ छाडेर कोलकाता छिरेका । समय र परिस्थितिको खेलसँगै जालन्धर, अहमदाबाद हुँदै अहिले क्यानडा छिरेको पनि दशक हुन लागेको थियो । ‘देश खाएर शेष भइयो भाइ’ लन्चका बेलामा आफ्नो कथा सुनाउँथे ।

मेरो कथा पनि त्यस्तै थियो । नेपालबाट विदेश छिर्ने चक्करमा भएजतिको तन, मन र धन लगाएर फिनल्यान्ड छिरेको थिएँ । नयाँ देशमा भाषा र जागिरको समस्याले निकै रन्थनिएको थिएँ म । अति व्यवस्थित र विकसित समाज भए पनि त्यहाँको जिन्दगीमा खासै केही रस थिएन । प्राकृतिक रूपले धनी देशको घना जंगल बीच तालछेउमा झोक्र्याएर ढुंगा हान्दै बस्नुबाहेक रमाइलो र चहलपहल खासै थिएन । सबै चिज भएर पनि केही नभएजस्तो । दु:ख र सुख दुवै थिएन– एक किसिमले खल्लो थियो जिन्दगी । त्यसैले सकेसम्म विश्वविद्यालयबाट एक वर्षसम्म अर्को देशमा गएर पढ्न पाउने ‘एक्सचेन्ज स्टडिज’को फाइदा उठाउन म अंग्रेजी बोल्ने देशमा जाने प्रयास गर्दै थिएँ । सिकागोमा रहेको नर्थ पार्क युनिभर्सिटीमा जान ठिक्क परेको म अमेरिकी भिसा नलागेपछि क्यानडाको ‘कार्लटन युनिभर्सिटी’तिर हानिएको थिएँ, अर्को सपना बोकेर ।

ओटावा संसद् भवननजिकै ३ सय ५० डलरमा एउटा कोठा लिएको थिएँ । यो देशकै राजधानी भए पनि खासै ठूलो सहर होइन । ओन्टारियो राज्य र क्युबेक राज्य जोड्ने ओटावा नदीको नामबाट राखिएको यो सहर देशको राजनीतिक केन्द्र थियो ।

फिनल्यान्डकै मेरो विश्वविद्यालयसँग सहकार्य भएकाले मैले ट्युसन फि तिर्नु पर्दैनथ्यो । तर, विद्यार्थी भिसा भएकाले क्याम्पसबाहिर काम गर्ने अनुमति थिएन भने क्याम्पसभित्र पनि भन्नेबित्तिकै काम पाउन सजिलो थिएन । ३ डलर बचाउन दिनको ३ किलोमिटर हिँडेर कलेज जान्थेँ । नेपाल छँदा स्वर्गकै एक टुक्राझैँ कल्पना गरिने क्यानडाका गल्ली चहार्दै हिँड्दा काठमाडौँमा डिल्लीबजार बसेर बानेश्वरको मीनभवन क्याम्पसमा मर्निङ क्लास लिन गएजस्तै भान हुन्थ्यो । फरक यत्ति थियो, काठमाडौँमा भोक लाग्यो भने एकाबिहानै मगमग बासना आइरहेको दोनोट र चिया खाइन्थ्यो । तर, यहाँ हैसियत थिएन । १ महिनापछि नै गाह्रो हुने स्थिति आइसकेको थियो । मुस्किलले सातामा एक दिन भए पनि क्याम्पसको लाइब्रेरीमा काम पाएँ । बाँकी समय काम खोज्दै जाँदा यो भारतीय रेस्टुराँ फेला पारेको थिएँ । यहाँ साताको ३ दिन काम गर्थें लुकेर ।

पञ्जाब जालन्धरको ठूलै होटलमा सेफ भएर काम गरिरहेका बेला, क्यानडाबाट गाउँ गएको समय यही साहूले आफन्तमार्फत चिनेको रे थापा दाइलाई । अनि, जसोतसो मिलाएर क्यानडा छिराएको रहेछ । “सुरुमा त पेल्नु पेल्यो नि भाइ,” आफ्नो दु:ख सुनाउँदै भने, “हप्ताको सातै दिन काम गराउँथ्यो ।”

दुई जनाको सम्बन्ध पनि अजीबको थियो, एउटाले पेल्नुपर्ने अर्कोले घुर्की देखाउने । अति नै पेलेपछि ३० जना पाहुना आएको बर्थ डे पार्टीको खानामा भएभरको नुन खन्याइदिएर, ‘भयो मलाई तेरो जागिर चाहिँदैन म जालन्धर नै फर्किन्छु’ भनी झिटी–झाम्टा कस्न लागेको घटनापछि दुई जनाको शीतयुद्धमा केही सुधार आएको रहेछ । त्यसपछि धेरै काम लगाउँदैन रे, पैसा पनि समयमै दिन्छ भन्थे ।

उनको जिन्दगी पनि अनौठो थियो, क्यानडा स्वर्ग नै होला भनेर आएको एउटा कोठा र होटलको उनको जिन्दगी बित्न लागिसकेछ । बाहिर निस्कँदा चिने–जानेको कोही छैन । न भाषा जानेका छन्, न त कोही सहयोगी नै छन् । एकपटक निकै न्यास्रो लागेर नेपालीको दसैँ पार्टीमा गएछन् । दुई–चार जनासँग हाइ–हेल्लो गरेछन् तर कसैले वास्ता गरेनन् रे उनलाई । बेवास्ता गर्नेलाई म पनि केही दिन्नँ भन्दै झोक्किँदै फर्केछन् । नेपालीको फुर्ति देखेर अबदेखि कोही नेपाली खोज्दिनँ भन्दै बसेका रहेछन् ।

वर्षौं भइसकेछ उनी क्यानडा छिरेको । ‘खोइ भाइ के भन्नु, चल्दैछ जिन्दगी’ आफ्ना गुनासो पोख्थे । म त्यो रेस्टुराँको बाहिर हेर्थें । कहिलेकाहीँ किचनमा पनि भाँडा माझ्न अनि तरकारी काट्न सहयोग गर्थें । म किचनमा भएका बेला उनी हमेसा सँगै आएर कुरा गर्थे– साहूको, अरू वेटरको अनि नेपालतिरको कुरा । कहिलेकाहीँ लाग्थ्यो, उनी केवल एक्लो जीवन जिइरहेका छन् । सातामा एक दिन छुट्टी हुन्थ्यो उनको, कहिले सोमबार, कहिले मंगलबार त कहिले बुधबार । जुन दिन मिल्छ त्यही दिन बिदा लिन्थे उनले ।

रेस्टुराँको माथिल्लो तलामा त्यही साहूको किचन, बेडरुम, ट्वाइलेट अनि सानो बाल्कोनी भएको एउटा स्टुडियो फ्ल्याट थियो । उनी त्यहीँ बस्थे, जसको भाडा तलबबाटै काटिन्थ्यो । सँगै भएपछि चाहिएका बेला जतिखेर बोलाए पनि भयो । जति काम लगाए पनि भयो । एक किसिमले त्यो एउटा बन्धनजस्तै थियो उनलाई । कहिलेकाहीँ मलाई भन्थे, “ल भाइ, मलाई एउटा राम्रो कोठा खोजिदेऊ, कि दाजुभाइ मिलेर बसौँ’ । न त मैले उनको कुरालाई गम्भीर रूपमा लिएँ, न त उनले त्यो कुरा दोहोर्‍याएर नै भने ।

उनी सञ्जय दत्तका निकै ठूला फ्यान रहेछन् । ‘घरको सिडी प्लेयर बिग्रेको छ, भाइलाई आउँछ भने यसो हेर्देऊ न’ भनी अनुरोध गरे । रेस्टुराँ ३ देखि ५ बजेसम्म बन्द हुन्थ्यो । त्यही समय एक दिन उनको फ्ल्याटमा गयौँ । सफा र चिटिक्क पारेर राखेका रहेछन् आफू बस्ने घर । “हेर भाइ, जिन्दगीमा जे गरे पनि ८ घन्टा सुत्ने बिस्तरा र आधा जिन्दगी बिताउने घरचाहिँ राम्रो हुनुपर्छ,” उनको कुराले घत पर्‍यो ।

उनी आफ्नो काम अनि जीवनप्रति निकै अनुशासित थिए । त्यो रात कामपछि घर फर्किने बेलामा बाटोमा थापा दाइका बारेमा सोचिरहेँ– उनको जिन्दगी, उनको त्यो धैर्य, अनुशासन अनि कामप्रतिको लगन । ८ कक्षा पढेर के भो त ! जिन्दगीमा आखिर चाहिने त्यही कुरा न हो जुन कुनै पनि विश्वविद्यालयमा सिकाइँदैन ।

मलाई पनि काममा जान रमाइलो लाग्न थालेको थियो । साहूको आँखा छलेर दाइले मीठो ल्याम्ब चप्स बनाएर दिन्थे । यो सबैभन्दा महँगो मासु हो । त्यसैले छिट्टो खाइहाल फेरि साहूले देख्ला भन्थे । अनि, फेरि थप्थे, ‘यो साहू मनको एकदम राम्रो छ, त्यही पनि देख्यो भने नराम्रो मान्छ ।’ रेस्टुराँमा काम गरेको एउटा फाइदा भनेको आफूले खान पकाउन पर्दैनथ्यो । थापा दाइले आफ्ना लागि सेफ स्पेशल खाना बनाउँथे अनि जहिले पनि मेरा लागि छुट्याएर राखिदिन्थे ।

उनलाई बैंक, अरू अफिसमा, यस्तो काम पर्‍यो भने साह्रै गाह्रो हुन्थ्यो । अंग्रेजी भाषा नआउने अनि चिनेजानेको पनि कोही छैन । २–३ साताअघिदेखि नै भनेका थिए, ‘भाइको छुट्टी कहिले मिल्छ मलाई भन्नु है, मैले पनि मिलाएर त्यही दिन छुट्टी लिन्छु ।’ मंगलबार मेरो एउटा मात्र क्लास थियो । त्यो सकेपछि दाइलाई फोन गरेर ‘मेरो छुट्टी छ’ भनेँ । उनले घरमा बोलाए । ११ बजेतिर म कलेजबाट सीधै रेस्टुराँ पुगेँ । त्यहाँ खाना खाएर दाइको फ्ल्याटमा पसेर हामी दुई जना लागियो– ओटावा सहर घुम्न । सबैभन्दा पहिला उनको एउटा काम रहेछ पोस्ट अफिसमा । त्यहाँ गइयो, त्यसपछि थापा भाउजूको भिसा आवेदनका लागि केही कुरा बुझ्नु थियो । त्यो पनि सकियो अनि महिनौँदेखि बाँकी रहेका कागजातका काम सबै सकेपछि एक ठाउँ कफी खान बसियो ।

अरू दिनभन्दा छुट्टै देखिन्थे थापा दाइ । वर्षौँ पहिले किनेको छालाको जुत्ता चम्काएका थिए । भन्थे– ‘किनेको तीन वर्ष भयो । नढाँटी भन्दैछु, यो दोस्रो चोटि लगाएको हो । के गर्नु जाने ठाउँ कहीँ छैन ।’ लाग्थ्यो, आज उनी जेलबाट छुटकारा भएका छन् । फेरि भन्थे, ‘ल भाइ जे खाने हो खाऊ है, आजको सबै जिम्मा मलाई छाडिदेऊ ।’

अंग्रेजी बोल्नुपर्ने ठाउँका सबै काम थाँती राखेका रहेछन् । ती सबै काम आज फत्ते हुँदा पनि उनी खुसी थिए, ‘भाइले गर्दा धेरै सजिलो भयो ।’ उनी प्रत्येक पटक खुसी हुन्थे, जुन उनको रेस्टुराँमा देखिनेभन्दा अर्कै रूप थियो ।

त्यसपछि हामीहरू वेस्टगेट सपिङ मल गयौँ । सँगै पढ्ने स्वीडिस केटी भेट भई बाटोमा । एकैछिन हाइ–हेल्लो भयो । ‘यो मेरो दाइ’ भनेर उसलाई चिनाएँ, निकै मस्केझैँ गरेर ‘हेल्लो’ भनी । दाइ पनि मख्खै परे ! त्यो दिनभरि ओ हो ! भाइ गोरी मोरी निकै मस्किन्छे भन्दै कुरा गरिरहे । अनि, आत्मग्लानि भएझैँ भन्थे, ‘पढेको भनेको पढेको नै हुन्छ भाइ । हाम्रा लागि त कालो अक्षर भैंसी बराबर ।’

त्यत्रो वर्ष क्यानडा बस्दा पनि कतै घुम्न गएको छैन भन्थे । छुट्टीको एक दिन कलिङ कार्ड किनेर नेपालमा आफ्नो परिवार अनि भारतका पुराना साथीसँग घन्टौँ गफिन्थे । एउटा अचम्मको सम्बन्ध बनिसकेको थियो थापा दाइसँग । सायद बिरानो ठाउँमा भेटिएको भएर होला । उहाँसँग काठमाडौँ या नेपालको कुनै ठाउँमा भेटेको भए अवश्य पनि हाइ–हेल्लोमै सम्बन्ध सकिन्थ्यो होला । समय, परिस्थिति र ठाउँले पनि धेरै मानिसलाई नजिकिक्याउँदो रहेछ । त्यही भएको थियो, थापा दाइ र मेरो सम्बन्धमा पनि ।

हेर्दा फुच्चे भए पनि आत्मसम्मान थियो उनमा । धेरै पटक मैले नेपाली समारोह, कार्यक्रममा जाऔँ भनी कर गरेँ । तर, उनी भन्थे, ‘केही  हुँदैन भाइ ती कार्यक्रममा । हामीजस्ता नपढेकालाई सबैले हेप्छन् । कसले घर किन्यो अनि कसले कस्तो जागिर पायो भन्नेबाहेक केही कुरै हुँदैन । यता घर किन्नेले यतैको धाक दिन्छन्, नहुनेले काठमाडौँको घरको धाक दिन्छन् ।’ यस्ता धेरै किस्सा छन्, थापा दाइसँग बिताएका । मनका निकै सफा र सहयोगी भावना भएका स्वच्छ थिए थापा दाइ ।

त्यो दिन म कलेज जाऊँ कि नजाऊँ भन्दै दोधारे मन लगाएर बसेको थिएँ । कहिल्यै फोन नगर्ने दाइले फोन गरे, ‘भाइ कता हो ?’ ‘म कोठामै छु कलेज जान लागेको’ भनेँ । ल त भनी फोन राख्न लागेका थिए । ‘कहिल्यै फोन नगर्ने मान्छे तपाईं केही काम थियो कि’ भनी मैले सोधेँ । ‘होइन–होइन, मेरो आज छुट्टी, यत्तिकै तिम्रो एरियातिर आएको थिएँ त्यसैले फोन गरेको’ भने ।

मलाई थाहा भइसक्यो, उनी मेरै लागि आएका छन्, होइन भने कहिल्यै कोठाबाट ननिस्कने किन यहाँसम्म आउँथे । मैले तपाईं कहाँ हो म लिन आउँछु भनेँ । सायद उनले मलाई अप्ठेरो नहोस् भनी त्यसो भनेको हुनुपर्छ । म उनलाई लिन गएँ अनि हाम्रोमा जाऔँ भनेँ । पहिला त जानै मानेनन्, पछि आए । मेरो कोठा लथालिंग थियो, एउटा १४ इन्चको टिभी, ल्यापटप र सानो बेड । अपार्टमेन्टमा तीन जनाले सेयर गर्ने किचन पनि कहिल्यै प्रयोग गर्दैनथेँ । त्यही रेस्टुराँबाट ल्याएको खाना खान्थेँ भने अरू बेला ब्रेड र अन्डा खाएर काम चलाउँथे ।

सधैँ मीठो–मीठो बनाएर खुवाउने दाइ कोठामा आएका बेला मेरो हालत देखाउनुपर्दा कता–कता अप्ठेरो लागेको थियो मलाई । खानेकुरा थिएन । फ्रिजमा पनि मेरो केही थिएन । बोलिभियाको अर्को साथीको फ्रिजको सेक्सनबाट म्याङ्गो जुस निकालेर दाइलाई दिएँ । उनले मेरो कोठा अवलोकन गरे । पुरानो मैलो पर्दा, सफ्ट ड्रिंक क्यानडा ड्राइका क्यान, कफी खाएर कट्कटिएका ३–४ वटा जुठाकप नियाले तर केही भनेनन् ।

‘ल भाइ जाऔँ बाहिर पसलतिर’ भनी मलाई उठाए, म ट्राउजर र घरमै बस्ने टिसर्ट लगाएर निस्केँ दाइसँगै । एउटा मासुपसलनेर टक्क अडिएर भने, ‘आज तिम्लाई खतरा बंगुरको मासु खुवाउँछु ।’ त्यहाँ एक किलो मासु किनेर फेरि नजिकैको इन्डियन पसलमा छिर्‍यौँ मरमसला किन्न । घरमा आएर दाइले बंगुर फ्राइ गरे । त्यो कोठामा बसेको महिनौँ हुँदा पनि मैले त्यसरी पकाएर कहिल्यै खाएको थिइनँ । मेरो जीवन झन् थापा दाइको भन्दा गए–गुज्रेको भएको अनुभव गरेँ त्यो दिन ।

बिहान उठ्यो, कलेज गयो, त्यही ल्यापटपमा घोत्लियो बिहानदेखि साँझसम्म । कलेज गयो फेरि आयो । एक्लो निरस थियो मेरो जिन्दगी ।

एक वर्षका लागि आए पनि मलाई ६ महिनामै क्यानडा अघाइसकेको थियो । म एक सेमेस्टर सकेर फेरि बाँकी पढाइ सक्न फिनल्यान्ड फर्किन थालेँ । र, सबैभन्दा सस्तो टिकट पाउने दिन रोजेँँ, जुन चार दिनपछि थियो ।

जाने दिन दाइ मलाई छाड्न ट्याक्सी चढेर एयरपोर्ट आए । सधैँ हँसीमजाक गर्ने, नबोली एकछिन बस्न नसक्ने दाइ मेरो कोठाबाट एयरपोर्टसम्मको ३० मिनेटको बाटोमा एक शब्द पनि बोलेनन् । म पनि दाइलाई अप्ठेरो नहोस् भनी सञ्जय दत्तको नयाँ फिल्मका बारेमा सोधेर कुरा मोड्न थालेँ तर दाइ चुपचाप देखिन्थे ।

छुट्टिने बेलामा हात मिलाउँदै भने, ‘ल भाइ, राम्रोसँग पढेर ठूलो मान्छे बन्नू, जति पढे पनि नपढेकालाई नहेप्नू ।’

प्रकाशित: असार ७, २०७५