साहित्य

[तीन किताब] कीर्तिमान र चिट्ठाको उद्योग

- गुरुङ सुशान्त, काठमाडौं

किताबलाई सिनेमा र समाजसँग जोडेर पढ्ने गर्छु । काव्यमा गहिरो रुचि छ मेरो । फुर्सदमा साहित्य पनि पढ्छु । तर, समाजशास्त्र र अर्थशास्त्रको अध्ययनमै आफूलाई केन्द्रित गर्दैछु । मलाई धेरै नै छोएको पुस्तक सेरी ओट्नरको लाइफ एन्ड डेथ अन माउन्ट एभरेस्ट हो । सगरमाथा आधार शिविरमा दशकौँ बसेरै हिमाल चढ्ने शेर्पाहरूका बारेमा लेखिएको यो पुस्तक पीएचडी गर्दै पढेकी हुँ । सेरी ओट्नर शेर्पाहरूको जातीय पहिचानभन्दा पेसागत पहिचानमा जोड दिने मानवशास्त्री रहेछन् ।

हुन त, हिमाल बलिया व्यक्तिले चढ्ने हो । तर, बेलायती उपनिवेशवादी राजनीति थियो– सगरमाथा चढ्ने पहिलो कीर्तिमानी बेलायती या बेलायती आशीर्वाद प्राप्त देशको नागरिक हुनुपर्छ । बेलायती साम्राज्यको अनुमतिबेगर कीर्तिमान राख्नै नसक्ने अवस्था थियो ।

कीर्तिमान–उद्योग सुरु भएपछि शेर्पा–पहिचान र पेसा सुरु भयो । शेर्पा र साहेब भनिने दुई वर्ग निर्माण भएपछि गोराहरू दाता र शेर्पाहरू वफादार जातिका रूपमा ‘अनुकरण–प्रक्रिया’मा अभ्यस्त भए । यिनै विषयवरपर डुलेको यस पुस्तकमा उपनिवेशवादी प्रभुत्व र जातीय वर्गवाद अझै जीवित रहेको निष्कर्ष छ ।

कीर्तिमानी उद्योगमा जेलिएका सामाजिक, राजनीतिक र अन्तर्राष्ट्रिय तत्त्वलाई नजिकबाट बुझ्न सरल/सूक्ष्म शैलीमा लेखिएको यो किताब उपयोगी हुन सक्छ ।

उद्योगलाई प्राविधिक रूपमा अर्थशास्त्रीहरूले मात्र बुझिने भाषामा प्रस्तुत गरिन्छ । मुनाफा, माग–पूर्ति, कर, उद्योग–नीतिजस्ता पक्षमा छलफल हुन्छन् । तर, यस्ता बहसमा मानव श्रमिकका मुद्दा ओझेल पर्छन् । त्यसैले किताब छनोटको मेरो आधार मानव अर्थशास्त्रीय मेथडोलोजी हो । उद्योग वा व्यवसायलाई मानव पक्षीय दृष्टिले हेर्नु मेरो रुचिको केन्द्र हो । हेनरी म्याह्यु र किथहार्डका लेखनले मलाई महत्त्वपूर्ण पुस्तक छनोट गर्न सघाएका छन् ।

मेरो मन पर्ने अर्को किताब हो, लर्निङ टु लेबर । माक्र्सवादी ढाँचामा लेखिएको पउल विल्सको यो क्लासिक किताबमा स्कुले कक्षाकोठाभित्रको एथ्नोग्राफी छ । युवा पुस्तामा दुई खालका विद्यार्थी पाउँछन् लेखक । एक खालको छ– शिक्षकले भनेको मान्नुपर्छ, मिहिनेत गर्नुपर्छ, राम्रो अंक ल्याउनुपर्छ अनि राम्रो जागिर पाएपछि समाजमा उच्च हैसियत बन्छ भन्ने आशावादी समूह । अर्को खालको छ– पढेर केही हुन्न, शिक्षकले भनेको मान्नैपर्छ भन्ने केही छैन, पढेर पाउने जागिर केही उपलब्धि होइन भन्ने समूह । दोस्रो खाले विद्यार्थीहरू ठान्छन्– अफिसमा बसेर फाइल मिलाउने र छाप लगाउने दैनिकी कुनै काम होइन । काम त कामैजस्तो हुनुपर्छ, जसमा पसिना बगोस् र काम गर्‍यौँ भन्ने आत्माभिमान पनि रहोस् ।

किताबमा ह्यामर्नटाउन भन्ने काल्पनिक ठाउँ सिर्जना गरी वर्गको नवीकरण र विकासप्रतिको आशा–विक्रीलाई खुलस्त नंग्याइएको छ । भारतमा बस्दा ‘पुँजीवाद अध्ययन समूह’मा एक मित्रले यो पुस्तक सिफारिस गरेपछि मात्र जानकारी पाएकी हुँ । अहिले त प्राय: वाम अर्थशास्त्रीसँग पीडीएफ कपी हुन सक्छ । मलाई अति नै प्रभाव पारेको यो किताब अर्थशास्त्रीहरूले गहन अध्ययन गरिदिए हुन्थ्यो, लाग्छ ।

यी दुई किताबसँग चिल्ड्रेन अफ पायर भन्ने डकुमेन्ट्रीलाई जोडेर पढेँ । वाराणसीमा लास जलाउने बच्चाहरूको पेसामाथि बनाइएको यो वृत्तचित्रलाई पुस्तक अध्ययनसँग गाँस्दा अर्थ बृहत्तर भएझैँ लाग्यो । अत: समाज पढ्दा तथ्यांक र प्रविधिका पक्षलाई मात्र जोड नदिएर मानवीय पक्षलाई पनि मनन गर्नु राम्रो हुन्छ ।

समाज बुझ्न चाहनेहरूलाई मैले सिफारिस गर्ने किताबसूचीमा चाल्र्स पिओटको नोस्ताल्जिया फर फ्युचर छ । टोगो नामक सानो अफ्रिकी देशको ‘अमेरिकी डीभी’ भर्ने जनलहरको कथा छ, पुस्तकमा । चिट्ठा खुलेपछि जनसंख्याको ठूलो हिस्सा फारम भर्न लालायित हुने, अन्तर्वार्ताको तालिम दिने व्यवसायदेखि कोटा वृद्धिको आन्दोलनजस्ता रोचक प्रसंगले म पटक–पटक सोच्न बाध्य भएँ । चिट्ठा पर्ने आशामा रक्सी त्यागेर चर्चमा प्रार्थना गर्न आउने मानिसको हूलबारे पढ्दा रोमाञ्चित भएकी थिएँ ।

राष्ट्रवाद जमिनसँग मात्र जोडिँदैन भन्ने आवाज मुखर छ यसमा । त्यहाँका जनता सोच्छन्– अमेरिकामा पनि कालाहरूको राष्ट्रवाद विकास हुनुपर्छ किनभने अमेरिका निर्माणमा दासत्वको तहबाटै किन नहोस्, कालाले पनि गोरा जातिले जत्ति नै योगदान गरेका छन् ।

म सन् २०११ मा दक्षिण अफ्रिकाको केपटाउन पुगेकी थिएँ । संयोगले चाल्र्स पिओट र म एउटै होटलमा परेछौँ । उनको प्रत्यक्ष लेक्चर सुनिसकेकी थिएँ । उनीसँग परिचय भएपछि विषयगत छलफल भयो । मैले आफ्नो अध्ययनको क्षेत्र बताएँ । र, उनले मलाई यो पुस्तक हस्ताक्षरसहित दिए । त्यो आफैँमा अविस्मरणीय क्षण थियो । सानो भए पनि दिगो प्रभाव पारेको पुस्तक हो यो ।

नेपाली अर्थशास्त्रमा वाम अतिवाद हावी भएको आरोप लाग्ने गरेको छ । तर, डेबिड हार्वेको शब्दमा नवउदारवाद एकदम हावी भइसकेपछि नवजडसूत्रवादमा रूपान्तरित हुन्छ । नेपालमा मौलिक आर्थिक नीतिको अभाव रहेको विकराल स्थितिमा काव्यिक, दार्शनिक स्वादका यी किताबको अध्ययन झन् सान्दर्भिक देख्छु ।

प्रकाशित: असार ७, २०७५