विचार

मधेस आन्दोलनको घाउ

- सुरेन्द्र लाभ, काठमाडौं

तीन वर्षअघि तेस्रो मधेस आन्दोलन थाल्ने बेला नेताहरूले माग सम्बोधन नभए काठमाडौँको दानापानी बन्द गरिदिने चेतावनी दिएका थिए । उनीहरूले दक्षिणी नाकाहरूमा धर्ना दिने र भारतबाट आउने सामान रोक्ने संकेत गरेका थिए । नाका रोक्ने आवाज एक दशकअघिका पहिलो र दोस्रो मधेस आन्दोलनमा पनि नउठेका होइनन् । आंशिक रूपमा प्रयोग पनि भएको थियो यस्तो तरिका– तर, नगन्य अथवा सांकेतिक रूपमा ।

दुवै मधेस आन्दोलन राज्यसँग भएको सम्झौताबाट टुंगिए । तर, सम्झौताका बुँदालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएन । तेस्रो मधेस आन्दोलनको (०७२) को बिगुल फुकियो । आमहडताल घोषणा गरियो । शिक्षण संस्था, यातायात, उद्योग, कार्यालय बन्द र त्यसपछि नाकाबन्द । मधेसको आमहडतालले काठमाडौँलाई त्यति छोएको थिएन । तर, नाकाबन्दीले काठमाडौँमा हाहाकारको स्थिति सिर्जना गर्‍यो । खाना पकाउने ग्यास छैन । गाडीमा पेट्रोल, डिजेल छैन । नयाँ संकट उत्पन्न भयो । तराई–मधेसतिर पनि यस्ता सामानको अभाव भयो । तर, आन्दोलनमा होमिएकाले गर्दा मधेसले यस्ता कष्टको ६ महिनासम्म वास्ता नै गरेन ।

काठमाडौँका शासक भने केही थाहा नपाएझैँ बसिरहे । जनता भूकम्पको त्रासदीबाट उन्मुक्ति नपाउँदै नाकाबन्दीबाट सिर्जित संकटको भुमरीमा फसिहाले । पहिलो र दोस्रो मधेस आन्दोलनबाट केही हदसम्म काठमाडौँमा मधेसीको स्वीकार्यता बढेको थियो । शासकहरूको मानसिकता पुरानै भए पनि नेपालकै नागरिकको आन्दोलनका रूपमा स्थापित भएका थिए– ती दुई आन्दोलन ।

तेस्रो मधेस आन्दोलन अभूतपूर्व भए पनि भारततिर धकेलियो । नाकाबन्दीमा भारतको सहयोग थियो, समर्थन थियो अथवा भारतद्वारा नाकाबन्दी गरिएको थियो– आज पनि विवादास्पद विषय छ । मधेसी दलका नेताहरूले आज पनि ‘हामीले नाकाबन्दी गरेका थियौँ’ भन्ने अभिव्यक्ति दिइरहेका छन् । उता, भारतका विदेशमन्त्रीले संसद्मा बोल्दै ‘नेपाललाई भारतको यस्तो पहिलोचोटी भएको होइन, कंग्रेस (आई)को पालामा पनि भएको थियो’ भनी प्रस्टीकरण दिएपछि काठमाडौँले नाकाबन्दी कसले गरेको थियो भन्ने जवाफ पायो । चिसिएको सम्बन्ध झन् बल्झियो ।

मधेसी नेताहरू कराइ–कराइ भन्ने गर्थे, “सहरमा बस्दा गोली हान्ने, लखेट्ने ? अनि हामी के गर्ने ? बाध्य भएर दसगजामा गएर धर्ना दिन्छौँ र नेपालमा सामान छिर्न दिँदैनौँ ।” तर, कहिले यो नाकाबाट कहिले त्यो नाकाबाट थोरै भए पनि ग्यास, पेट्रोल, डिजेल आदि काठमाडौँ पुगिरह्यो । त्यसैले कतिपय विद्वान्ले ‘नाकाकस्सी’शब्दको प्रयोग गरिरहेका छन् । शब्द जे–जस्तो प्रयोग गरौँ तर यस्तो नाकावरोधबाट उत्पन्न काठमाडौँको महापीडाप्रति मधेसले समानुभूति राख्न सकेन । त्यस्तै, मधेसको आन्दोलनबाट ठप्प शिक्षण संस्था, यातायात, कलकारखानाको क्रन्दनलाई काठमाडौँले सुन्न सकेन । आश्चर्यजनक स्थितिको सिर्जना भयो नेपालको इतिहासमा । न कुनै वार्ता, न त कुनै पहल । सरकार मौन बसेन, बरु मधेसको आन्दोलन र भारतप्रति आक्रामक बन्यो । र, नयाँ राष्ट्रवादको जन्म भयो काठमाडौँमा ।

उता, नाकाबन्दीलाई रामवाण ठानेका तराई–मधेस आन्दोलनका योजनाकारहरूको सपनामा ठूलो तुषारापात गरे– भारतीय सीमानाबाट काठमाडौँसम्म ग्यास, पेट्रोल, डिजेल आदि पुर्‍याउनेहरूले । नाकाबन्दीमाथि भारी पर्‍यो ‘बलेकिया’ ।

बीचैमा संविधान आयो । राष्ट्रवादीहरूले दीपावली मनाए । मधेसी आन्दोलनकारीले ‘ब्ल्याक आउट’ गरे । तराई–मधेसको २०–२२ जिल्ला माग्दामाग्दै ८ जिल्ला मिलाएर प्रदेश २ बनाउँदा मधेसी दलहरू नचाहँदानचाहँदै निर्वाचनमा गए । र, सरकार बनाए । काठमाडौँमा राष्ट्रवादीहरूको सरकार बन्यो । सबै नेताहरू आ–आफ्ना राजनीतिक कर्ममा लागे । पुराना तुष हराएजस्तो लाग्न थाल्यो ।

प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भ्रमणमा भारत गए । उनको राष्ट्रवादी छविमाथि प्रश्न उठ्न थाल्यो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी राजकीय भ्रमणमा नेपाल आए– त्यो पनि काठमाडौँमा होइन, मधेसको हृदयस्थल जनकपुरधाममा सर्वप्रथम पदार्पण गरे, त्यसपछि काठमाडौँ र मुक्तिनाथ ।

भारतीय प्रधानमन्त्री जनकपुर आउँदा सीधा जानकी मन्दिर आए । नेपालका प्रधानमन्त्री उनको स्वागतका लागि मोदीजस्तै कुर्ता–पाइजामा लगाएर जानकी मन्दिरमै उपस्थित थिए । भारतीय प्रधानमन्त्री बाह्रबिघा (रंगभूमि) मैदान गएर सम्बोधन गरे । तर, नेपालका प्रधानमन्त्री आफ्नै नागरिकसँग कुनै प्रत्यक्ष संवाद नगरी काठमाडौँ फर्के । बाह्रबिघा मैदानमा जनकपुरमै बढेका, पढेका र मैथिली भाषा राम्रै बोल्न सक्ने देशका रक्षामन्त्री ईश्वर पोखरेल भारतीय प्रधानमन्त्रीको स्वागत नेपाली भाषामा गर्न उठ्दा जनताका तर्फबाट हुटिङको दृश्य पनि देखियो ।

यता, भारतीय प्रधानमन्त्री काठमाडौँ प्रवेश गर्दा ‘नाकाबन्दी हामीले बिर्सेका छैनौँ’ भन्ने सन्देशबाट सामाजिक सञ्जाल पनि सजियो ।

यी अनेक दृश्यहरूको खास अर्थ छ । नाकाबन्दी र मधेस आन्दोलनको घाउ अहिले पनि आलै छ ।

प्रकाशित: असार ७, २०७५