सम्झना

भीम बाको लडाइँ

- गोकर्ण गौतम, काठमाडौं

दोस्रो विश्वयुद्ध लडेका बहादुर सिपाही, रेडियो प्रस्तोता, श्रव्य–नाटक लेखक र लोकप्रिय कलाकार । उनका परिचय अनेक छन् । यसभन्दा माथि, मिलनसार स्वभाव । जोसँग परिचय भयो, उही उनको व्यक्तित्वको फ्यान हुन्थ्यो । उनको भोगाइ अरुलाई दन्तेकथाझैँ लाग्थ्यो । कुनै समय उनको आवाज सुन्नासाथ जो–कोही भन्थे, ‘सैनिक कार्यक्रम रुपकमा बोल्ने सेनानी ।’ उनी अर्थात्, भीमबहादुर थापा ९२ वर्षको उमेरमा अस्ताए । लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित थापाको काठमाडौँ मैतीदेवीस्थित घरमै ३० जेठमा निधन भएको हो ।

विसं १९८३ असार १३ गते खोटाङमा जन्मिएका थिए थापा । गाउँमा अध्ययनको मेलोमेसो मिलेन । बरु ब्रिटिस सेनामा भर्ती भए, १३ वर्षकै कलिलो उमेरमा । युद्ध के हो, थाहै थिएन । तैपनि, प्रतिमहिना ३५ रुपियाँ भारुको लोभमा लाहुर गए । दोस्रो विश्वयुद्धमा बर्मामा गएर अनवरत लडे । आदेश एउटै हुन्थ्यो– मार्नु कि मर्नु । केही वर्षअघि नेपालसँगको कुराकानीमा उनले भनेका थिए, “मैले कति जनालाई मारेँ, ठ्याक्कै भन्न सक्दिनँ तर दुई हजारभन्दा माथिकै संख्यामा मारियो होला ।” विवशता कस्तो हुन्थ्यो भने शत्रु होइन, कहिलेकाहीँ आफ्नै घाइते साथीमाथि गोली दाग्नुपथ्र्यो । उपचारको प्रबन्ध हुँदैनथ्यो अनि घाइतेलाई जिउँदो नछाड्नु भन्ने आदेश हुन्थ्यो ।

विश्वयुद्ध रोकियो । अनि, स्वदेश फर्किए, २००२ मा । यहाँ आउनासाथ तत्कालीन शाही नेपाली सेनाको ‘चौबीस पल्टन’मा भर्ती भए । तलब थियो, जम्मा ९ रुपियाँ । त्यसमध्ये पनि ४ रुपियाँ बचाएर घर पठाउँथे । युद्धकला त छँदै थियो, नाचगानमा पनि उस्तै उस्ताद । बडो रमाइलो स्वभावका । यी गुणको मिश्रण भएकाले हुनुपर्छ, तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेरको बडीगार्डमा छानिए ।

त्यतिबेलासम्म थापाले नाम कमाएका थिएनन्, दाम मात्र थियो । त्यसपछि उनले नाम पनि कमाए, रेडियो नेपालको सैनिक कार्यक्रममा रुपक चलाउने अवसर पाएर । संवत् ००८ मा रेडियो नेपाल छिरे र अनवरत ३७ वर्ष बोले । यसबीचमा दर्जनौं श्रव्य–नाटक लेखे, खेले अनि बनाए । अर्थात्, यसबीचमा उनको जीवन पूरै कायापलट भयो, विश्वयुद्ध लडेको मान्छे बन्दुक छाडेर कलम समाए । ०४१ मा मेजर पदबाट सेवानिवृत्त भए । तर, उनको कलाकारिता रोकिएन ।

‘रेडियो रुपक’का पर्यायका रुपमा थापाले काफी ख्याति कमाएका थिए । यसलाई फराकिलो बनाए, टेलिसिरियल र फिल्मले । संवत् ५० को दशकमा देवी नामक टेलिसिरियलले उनलाई प्रसिद्धि दिलायो । हास्य टेलिफिल्म तीतोसत्यबाट त्यस्तै लोकप्रियता कमाए । ८० वर्ष कटिसक्दा पनि उनको फुर्तिलो ज्यान र गहकिलो आवाजले धेरैको मन जित्यो । उनले १५ नाटक, ६८ फिल्म र डेढ सय टेलिसिरियल खेले । छक्कापञ्जा २ उनले खेलेको अन्तिम फिल्म हो । प्राय: फिल्म र टेलिफिल्ममा रिटायर्ड आर्मीकै रुपमा देखापर्थे । तर, अफर आए पनि अस्वस्थताका कारण केही समययता फिल्म खेल्न सकिरहेका थिएनन् । धर्मकर्ममा लीन लिए । फिल्मवृत्तमा उनलाई अभिभावकका रुपमा आदरसम्मान गरिन्थ्यो ।

थापाले लामो समय दीपाश्री निरौलाको तीतोसत्यमा बुबाको भूमिका निर्वाह गरे । सोही कारण दीपाश्रीले उनलाई धर्मपिता बनाएकी थिइन् । उनै दीपाश्रीले थापाको देहान्तपपछि भावुक हुँदै फेसबुकमा लेखेकी छन्, “यति धेरै माया गर्ने बुबालाई कसरी अलबिदा भनुँ म !’

प्रकाशित: असार ३, २०७५