अर्थ

टिभी, जर्सी र बाजीको नेपाली बजार

- विजयराज खनाल, काठमाडौं

नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)का सिइओ सञ्जीव सुब्बाले घरमै बसेर रसियामा सुरु भएको २१औं संस्करणको विश्वकप हेर्ने चाँजोपाँजो मिलाइसकेका छन् । एक साताअघि मात्रै उनले ५० इन्चको युएचडी टिभी खरिद गरे ।

घरका सबै सदस्य विश्वकपका पारखी छन् । सबैका मन पर्ने खेल टोली पनि अलग–अलग छन् । “परिवारमा सबैका फरक–फरक टोली भए पनि म भने तटस्थ बस्छु, घरपरिवारसँगै बसेर खेल हेर्नुको मजा बेग्लै हुन्छ,” सुब्बा भन्छन् ।

रसियाको लुजनिकी स्टेडियममा भइरहेको विश्वकपले संसार तताइरहँदा नेपाली पनि त्यसको रापबाट अलग छैनन् । ३२ टिमले सहभागिता जनाएको विश्वकपबारे चोकचोकमा यस पटकको बाजी कसले मार्ला भन्ने अनुमान सुरु भइसकेका छन् । टेलिभिजन अडियन्स रिपोर्ट फिफा टिभीका लागि कान्तर मिडियाले तयार गरेको रिपोर्ट अनुसार विश्वका ३ अर्ब २० करोड मानिसले घरमै बसेर २०औँ विश्वकप हेरेका थिए । घरमै रहेर अन्तिम खेल कम्तीमा एक मिनेटसम्ममा हेर्ने संख्या ९ करोड १३ लाख रहेको मानिएको थियो । एसियामै टेलिभिजनमा कम्तीमा एक मिनेट खेल हेर्ने दर्शक संख्या १ अर्ब ५२ करोड रहेको मानिएको थियो ।

विश्वकप टेलिभिजन खरिद गर्ने सिजन पनि हो यतिबेला । एलइडी, एलसीडीलगायतका टेलिभिजनमा अभ्यस्त भइसकेका नेपालीलाई त्यसभन्दा बढी गुणस्तर दाबी गरिएका टेलिभिजन पनि बजारमा उपलब्ध हुन थालेका छन् । घरमै बसेर हेर्न चाहनेलाई लक्षित गर्दै अहिले युएचडी टिभीभन्दा पनि महँगा एसयुएचडी वा सुपर युएचडीजस्ता टेलिभिजन पनि बजारमा आएका छन् ।

सामसुङ र एलजीले ल्याएका यही स्तरका टेलिभिजनलाई सोनीलगायतले फोर के एचडिआरका नाममा बिक्री गरिरहेका छन् ।

नेपाली मध्यम वर्गका उपभोक्ताले समेत औसतमा ४०/४५ मूल्य श्रेणीका टेलिभिजन खरिद गर्न थालेका छन् । तर, नेपाली बजारमा १४ लाख रुपियाँसम्मका टिभी पाइन्छन् । विश्वकपलाई लक्षित गरी नेपालमा विभिन्न कम्पनीका आधिकारिक बिक्रेताले छुट अफरमा टेलिभिजन बिक्री गर्न थालेका छन् ।

“तुलनात्मक रूपमा विश्वकपमा टेलिभिजनको बिक्री अन्य समयभन्दा ५० प्रतिशतसम्म बढ्छ,” हिम इलेक्ट्रोनिक्सका नायब महाप्रबन्धक केशव धिताल भन्छन् । यसअघि २९ जेठ ०७१ मा विश्वकप हुँदा नेपालमा दुईमहिने अवधिमा टेलिभिजन, रेडियोलगायतका आयातमा १६ करोडले वृद्धि भएको राष्ट्र बैंकको त्यतिबेलाको तथ्यांकले देखाउँछ । 

पछिल्लो समय रेस्टुराँ, क्याफेलगायतले समेत ग्राहक आकर्षित गर्न विश्वकपको प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था मिलाइरहेका छन् । नेपालमा पनि अन्तिम खेल घरबाहिर हेर्न चाहनेको जमात बढ्दै गएको छ । फिफाका लागि तयार गरिएको सोही रिपोर्ट अनुसार विश्वभर ५ करोड ४५ लाखले २०औँ विश्वकपको अन्तिम खेल प्रत्यक्ष प्रसारण हेरेका थिए । घरमै टेलिभिजन हेर्नेमध्येका ९.८ प्रतिशत मानिस अन्तिम खेल हेर्न भने पब, रेस्टुराँ धाएको रिपोर्टमा उल्लेख छ ।

विश्वकप सुरु भएसँगै आफूलाई मन पर्ने विभिन्न देशका खेल टोलीलाई समर्थन गर्न कार्यालयदेखि घरमा समेत समर्थकको जर्सी लगाउने क्रम बढेको छ । बजारमा ५/६ सय देखि १४/१५ सय रुपियाँसम्मका जर्सी बिक्री भइरहेका छन् ।

“अहिले दैनिक ५०–६० हजार रुपियाँसम्मको जर्सीको व्यापार हुन्छ”, न्यूरोडको नेपाल स्पोर्ट्स हाउसका सञ्चालक ढेन्डुप दोर्जे भन्छन् । जर्मन, ब्राजिल, अर्जेन्टिना, पोर्चुगललगायतका टोली नेपालीको रोजाइमा परेका छन् । अधिकांश जर्सी चीनबाट आयात हुने गरेको छ । यद्यपि, अरबान गल्सजस्ता संस्थाले यस्ता जर्सीमा प्रिन्ट सुविधा दिएर थोरै भए पनि मूल्य अभिवृद्धिको लाभ राज्यलाई दिइरहेका छन् ।

कतिपय उद्योग व्यवसायीले विश्वकपलाई प्रचारको माध्यम पनि बनाउन थालेका छन् । विश्वकपकै कारण बजारमा प्रोजेक्टर बिक्री, मदिरा व्यापार, होटल, रेस्टुराँ कारोबारसमेत बढेको छ । विश्वकपको सिजनमा नेपालमा समेत बेटिङमा लाग्ने जमात बढिरहेको छ । विश्वकपमा फाइनल विजेता देशको समर्थनमा एकआपसमा बाजी थाप्ने जमातको संख्या पनि बढिरहेको छ । केही अनलाइन साइटले समेत नेपालबाहिरबाट यस्तो सुविधा दिइरहेका छन् ।

लगातार दुई पटक विश्वकप कुनै मुलुकले जितेको बिरलै इतिहास छ । ५० वर्षअघि यस्तो संयोग परेको थियो । इटालीले सन् १९३४ र १९३८ मा तथा ब्राजिलले १९५८ र १९६२ मा लगातार दुई वर्ष यस्तो सफलता हात पारेका थिए । गत २०औँ सिजनको विश्वकप विजेता टोली जर्मनीले यसपटक पनि सफलता हात पार्ला वा नपार्ला त्यो भने केही समय पर्खिनुपर्छ ।

प्रकाशित: असार ३, २०७५