व्यंग्य

[झटारो] सुशासनको भूत

- लक्ष्मण गाम्नागे, काठमाडौं

विपक्षी मात्र होइन, कतिपय सत्तापक्षकै समर्थक पनि वर्तमान सरकारले गफ मात्रै गर्छ, काम गर्दैन भनिरहेका छन् । यो बिल्कुलै गलत आशंका हो । अब देशले विकासको फड्को मार्छ, मुलुकमा सुशासन आउँछ । नपत्याए सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका अभूतपूर्व अभिव्यक्ति सुन्नुहोस् । उनीहरूको कण्ठमै सुशासन र समृद्धिको भूत बसेको छ । उनीहरू ढोलढ्यांग्रो ठट्याउँदै फिल्डमा उत्रिँदैछन् । मन्त्रीहरूका हुँकार सुनेर भ्रष्टाचारी, दुराचारी, कामचोर, ठग र डनहरू डरले डगडगी काम्दै होलान् । प्रधानमन्त्रीसँग त भ्रष्टाचारीहरू कायलै भइसके । उनले भर्खरै पनि भने, “म भ्रष्टाचारीको मुखै हेर्दिनँ, कालो होस् कि गोरो होस्, चाहे आफ्नै जेठीसासूको छोरो होस् ।” लौ अब कुनै भ्रष्टले बालुवाटारवरिपरि मुख देखाओस् त ! प्रधानमन्त्रीको अर्को कडा अभिव्यक्ति छ, “म भारतसँग जुँगाको लडाइँ गर्दिनँ बरु त्यसका जुँगै खौरिदिन्छु ।”

भारतकै जुँगा खौरिदिन्छु भन्ने साहसिला प्रधानमन्त्रीका मन्त्रीहरू झन् के कम ! उनीहरू प्रधानमन्त्रीका भन्दा कठोर अभिव्यक्ति दिइरहेका छन् । ‘भ्रष्टाचारी, दुराचारी, काम–चोरका पाता फर्काइदिन्छु, पिँडुला मर्काइदिन्छु, ढाड सोझ्याइदिन्छु, करङ खुस्काइदिन्छु, दाह्रा भाँचिदिन्छु, नंग्रा उक्काइदिन्छु’, उनीहरू भनिरहेका छन् । थुनिदिन्छु, लडाइदिन्छु, भत्काइदिन्छु भनेर मन्त्रीहरू नै कस्सिएपछि अब मुलुकका बेथितिहरू धूलोपीठो हुँदैनन् त ?

गृहमन्त्रीले त यातायात क्षेत्रको सिन्डिकेट तोडफोड गरेर अरू क्षेत्रका विकृति–विसंगतिमाथि पनि धावा बोलिरहेका छन् । कामचोर ठेकेदारलाई थुन्दैछन् । सुन तस्करहरूको मुटुमा ढ्यांग्रो ठोक्दैछन् । कसैलाई पनि छाड्दिनँ भनेर दिनको तीनचोटि भनिरहेका छन् ।

वातावरणमन्त्रीले भर्खरै गुडिरहेका गाडीको प्रदूषण जाँच गरेर कारबाही गरे । र, अन्तमा आफ्नो शक्तिशाली अभिव्यक्ति दिँदै भने, “प्रदूषित गाडी लिएर सडकमा निस्किएको भेटाएँ भने प्रधानमन्त्रीलाई पनि छाड्दिनँ ।” आफ्नै प्रधानमन्त्रीलाई यसरी थर्काउने आँट शरीरमा भूत नचढी कुनै मन्त्रीलाई कसरी आउँछ ?

सरकारी सञ्चार माध्यममा विज्ञापन दिएर पैसा नतिर्ने व्यापारी, व्यवसायीका पाता फर्काइनेछ भनेर सञ्चारमन्त्रीले तिनीहरूको मुटुमा खतराको घन्ट बजाइसके । आफ्नै पार्टी निकटका त्यस्ता फटाहालाई पनि नछाड्ने उनको अभिव्यक्ति सुनेर तिनीहरूले पक्कै पनि सुराल बिगारिसके होलान् । 

कालीमाटी तरकारी बजारमा ११ हजार पर्ने सटरलाई दलालहरूले तीन लाखमा भाडा लगाएको सुनेर कृषिमन्त्री ठाउँको ठाउँ काम्न थाले । उनले तुरुन्तै घोषणा गरे, ‘अब बिचौलियाका दिन गए । यस्तो अत्याचार अब असह्य हुनेछ ।’

यसरी एकपछि अर्को मन्त्रीहरूमा विकास र सुशासनको भूत सवार भएको देख्दा अलिकति डर पनि लाग्न थालेको छ । आँखा चिम्लेर घोषणा गर्दागर्दै कुनै मन्त्रीले बाग्मती, विष्णुमती नदी–किनारालगायतका सार्वजनिक जमिनमा बनेका घर–टहरा भत्काएर राफसाफ पार्छु भन्ने त होइनन् ! सरकारी वन तथा निकुन्जमा अतिक्रमण गर्नेहरूका पिँडुला झार्छु, चाहे त्यो कुनै शक्तिशाली सन्त–महन्त होस् वा दलका नेता–कार्यकर्ता भन्ने त होइनन् । सुन तस्करीमा संलग्नताको आशंका भएमा नेता, पूर्व वा वर्तमान मन्त्री त के प्रधानमन्त्री नै भए पनि छाड्दिनँ भनेर प्याच्च बोल्ने त होइनन् † कर्मचारी, शिक्षक, प्राध्यापकलगायत सरकारी तलब खानेहरूका राजनीतिक संगठन खारेज गर्छु भनेर कस्सिने त होइनन् ! खबरदार ! यस्ता आत्मघाती घोषणा नगर्नुहोला । हामीलाई पाँच वर्ष एउटै सरकार हेर्न मन छ । थर्काउन हुने र नहुने ठाउँ छुट्याउँदै संयमित भएर मात्रै नयाँ– नयाँ घोषणा गर्नुहोला ।

प्रकाशित: जेष्ठ ३१, २०७५