साहित्य

न्यायको भोक [पुस्तक समीक्षा : द गर्ल फ्रम काठमाण्डू]

- विनोद सिजापति, काठमाडौं

खोज पत्रकार तथा लेखक क्याम सिम्पसनले १८ देखि २७ वर्ष उमेरका १२ नेपाली युवा, जसलाई जोर्डनको राजधानीको नवनिर्मित होटलमा काम दिने प्रलोभनमा पारेर अमेरिकी सेनाको सेवार्थ इराक लगिँदै गर्दा बाटैमा आतंककारी समूहले हत्या गरेको घटना पुस्तकमा समेटेका छन् । २१ अगस्त २००४ उनीहरूको निर्मम हत्या गरेको विषय र मृतक परिवारलाई न्याय दिलाउन उठाइएका पहल कदमीलाई पुस्तकमा समावेश गरिएको छ ।

क्याम सिम्प्सन न्युयोर्कको लोङ आइल्यान्ड युनिभर्सिटीद्वारा उत्कृष्ट पत्रकारलाई दिइने जर्ज पोल्क अवार्डबाट दुईपटक सम्मानित भइसकेका छन् । त्यसैगरी उनी तीनपटक ओभरसिज प्रेस क्लब अफ अमेरिकाबाट सम्मानित पत्रकार हुन् । विगतमा सिकागो ट्रिबुनमा अमेरिकी विदेश नीतिसम्बन्धी कार्य गरेका सिम्प्सन हाल ब्लुमबर्ग पत्रिका र ब्लुमबर्ग समाचार तथा वाल स्ट्रिट जर्नलमा कार्यरत छन् ।

हत्या काण्डबारे जोर्डनको राजधानी अमानस्थित एसोसिएटेड प्रेस (एपी)का स्थानीय संवाददाताले ती नेपाली युवकलाई जोर्डनको ‘ मर्निङ स्टार फर रेक्रुटमेन्ट एन्ड म्यानपावर सप्लाइ’ कम्पनीले नेपालको मुनलाइट कन्सल्ट्यान्सीमार्फत अमान भित्र्याएको उल्लेख थियो । उक्त जोर्डनी म्यानपावर कम्पनी प्रमुख इयाद मन्सुर रहेका थिए । त्यही त्यान्द्रो सूचनालाई पछ्याउँदै लेखक सिम्पसन इयाद मन्सुरको ढोका ढकढक्याउन पुगे । विश्व भूमण्डलीकरणबाट फाइदा उठाउँदै मौलाएको मानव तस्करको सन्जालमा इयाद मन्सुरको हैसियत सामान्य दलालको थियो ।

उनी विपन्न मुलुकबाट कच्चा पदार्थका रूपमा मानव आयात–निर्यात व्यापार गर्ने अमीन मन्सुर स्वामित्वमा रहेको ‘बिसरत’को दलाल थिए । अमीन मन्सुरचाहिँ ‘दाउद एन्ड पार्टनर’ भन्ने कम्पनी र तिनका मालिक हैतिहम स्वोरहमको विपन्न मुलुकमा उत्पादित श्रमजीवीको आपूर्तिकर्ता ‘सप्लायर’ । दाउद एन्ड पार्टनरचाहिँ अमेरिकी बहुराष्ट्रिय कम्पनी हलिब्रुर्टनको स्वामित्वमा रहेको इराक युद्धको व्यापारीकरणबाट कुस्त मुनाफा कमाउने केलग ब्राउन एन्ड रुट (केबीआर) कम्पनीको मानव श्रम आपूर्तिको जिम्मेवारी वहन गर्ने व्यापारिक संस्था ।

इराकी युद्धमा संलग्न हुन अस्वीकार गरेका राष्ट्रका युवा कसरी नयाँ दास प्रथाका संवाहक मानव तस्करको सञ्जाल ‘सप्लाइ चेन’मा आबद्ध हुन पुगे ? स्थलगत वस्तुस्थितिको अध्ययनका निम्ति लेखक सन् २००५ मा नेपाल पुगे । पत्रकार युवराज घिमिरेको सहयोगबाट तिनले मारिएका १२ युवाको घर–ठेगाना पत्ता लगाए । त्यतिबेलासम्म नेपालमा पर्याप्त फोन सेवाको सञ्जाल विस्तार भइसकेको थिएन । अनि, मुलुक माआवादी ‘जनयुद्ध’को चपेटामा जकडिएको थियो । त्यस्तो अवस्थामा मृतकका परिवारका सदस्यहरू पत्ता लगाउने कार्य सहज थिएन । यसका निम्ति लेखक ‘नेपाल इन्स्टिच्युट अफ डेभलपमेन्ट स्टडिज’ का संस्थापक डा गणेश गुरुङको सम्पर्कमा पुगे ।

डा गुरुङको भूमिका मृतकका परिवारजनलाई पत्ता लगाउनेमा सीमित भएन । गुरुङले मृतक परिवारका सदस्यलाई न्याय दिलाउने कार्यमा सहयोगीको भूमिका वहन गरे । उनकै सहयोगमा मृतक जीतबहादुर थापामगरकी धर्मपत्नी कमला थापासँग परिचित भए, लेखक । कमलाको संघर्षपूर्ण जीवनी, आत्मविश्वास, अन्याय तथा अरूका निम्ति लड्ने दृढताले लेखकलाई अत्यधिक प्रभावित पार्‍यो ।

घटना विवरण

पाँचतारे होटलमा मासिक २ सयदेखि ५ सयसम्म अमेरिकी डलर तलब दिलाउने प्रलोभनमा फसाएर १२ नेपाली युवालाई जोर्डन हुँदै इराक पुर्‍याउने दाउद एन्ड पार्टनरको उद्देश्य थियो । उनीहरूलाई अमीन मन्सुरले अमानको मुस्तफा सडकको झ्याल नभएको एउटा कोठामा बन्दी बनाएर ४०/४५ दिनसम्म कैदीसरह राखेका थिए । अमान–बग्दाद राजमार्ग, जसले त्यतिन्जेलसम्म मृत्युको राजमार्गको पहिचान बनाइसकेको थियो । त्यही सडकमा स्थापित सुरक्षा नियमलाई उल्लंघन गर्दै दुई जिप्सी ट्याक्सीमा कोचेर १२ नेपालीलाई आन्वर प्रान्तस्थित अल आसद अमेरिकी बेसतर्फ लगिँदै थियो । बाटामा इराकी सेनाको बर्दी लगाएका आतंककारीले उनीहरूलाई कब्जामा लिए ।

दस दिन बन्दी बनाएपछि अमेरिकी झन्डाले बेरिएका मंगल लिम्बूको एउटा टोपीले मुख छोपेको मरुभूमिमा लगाउने सैनिक बर्दीधारी आतंककारीले सिकारी–छुराले गर्धन रेटेर हत्या गर्‍यो । अर्को टाउको नदेखाइएको आतंककारीले लहरै घोप्टो परेर सुतेको अवस्थामा बाँकी ११ जनाको ढाड र टाउकोमा गोली हानेर हत्या गर्‍यो । त्यही दिन उक्त बर्बर हत्याको भिडियो युट्युबमा राखेर आर्मी अफ अनसर अलसुन्नाले विश्वव्यापी रूपमा प्रसारणसमेत गर्‍यो ।

विश्व सञ्चार माध्यमले हत्याको समाचार प्रसारण गरेलगत्तै काठमाडौँ र मुलुकका अन्य भागमा विरोध प्रदर्शन भए । हत्याको भत्र्सना गर्दै निस्केको स्वत:स्फूर्त जुलुसले म्यानपावर कम्पनीका अफिसमा तोडफोड गर्‍यो । स्थिति नियन्त्रणमा लिन सरकारले चार दिनसम्म कफ्र्यु लगाउनुपर्‍यो । सरकारले मृतक परिवारका सदस्यलाई राहतस्वरूप क्षतिपूर्ति पनि दियो । उत्तेजित भीडको मुख्य लक्ष्य मुनलाइट कन्सल्ट्यान्सी र त्यसका मालिक प्रह्लाद गिरी थिए । विडम्बना ! घटनाको दुई वर्ष नपुग्दै बेपत्ता भएको ठानिएका प्रह्लाद गिरीलाई लेखकले नयाँ म्यानपावर कम्पनी स्थापना गरेर सञ्चालन गरिरहेको अवस्थामा भेटेरै अन्तर्वार्तासमेत लिए । अन्तर्वार्तामा गिरीले आफूलाई इयाद मन्सुरले झुक्याएको बताए । तर, लेखकसँगको वार्ताका क्रममा गिरीलाई हत्या गरिएका युवक जुटाउने दलालले ती युवालाई इराक पठाइने पूर्वसंकेत पाएको खुलासा गरे ।

लेखको प्रभाव  

लेखक सिम्पसनको अक्टोबर २००५ मा सिकागो ट्रिबुनमा लेख प्रकाशित भएलगत्तै तिनलाई विगतमा मानव अधिकार हनन गर्ने अन्तर्राष्ट्रिय व्यापारिक संस्थाबाट पीडित पक्षलाई क्षतिपूर्ति गराएर प्रसिद्धि आर्जेको वासिङ्गटन डीसीमा कार्यरत मानव अधिकारवादी वकिल अग्निस्जका फ्रायज्मनले सम्पर्क गरिन् ।

फर्मका वकिल म्याथु हन्डलेको निर्देशनमा फ्रायज्मन तथा मोली म्याकवयन सम्मिलित कानुनविद्को टोलीले मृतकका परिवारलाई न्याय र क्षतिपूर्ति दिलाउने कार्य अघि बढाए । उनीहरूलाई अमेरिकाले लामो समयसम्म युद्धलाई निजीकरण गरेर मुनाफा कमाएको व्यापारी संस्था र तिनका पृष्ठपोषकविरुद्ध लड्नु सहज थिएन । इराक युद्धका कट्टर समर्थक अमेरिकी उपराष्ट्रपति डीक चेनी उपराष्ट्रपति निर्वाचित हुनुपूर्व हालिबर्टनको प्रमुख कार्यकारिणी पदमा रहेर कार्य गरिरहेका थिए ।

उपराष्ट्रपति चेनी हेलिब्रुर्टनका सेयरधनी पनि थिए । इराक युद्धभरि त्यहाँको पुन:निर्माण तथा निजी क्षेत्रद्वारा सञ्चालित अमेरिकी फौजको सेवाका निम्ति गरिने गैरसैनिक कार्यसम्बन्धी ठेक्का पाउने सबैभन्दा ठूलो कम्पनी यहीँ थियो । खर्बौं डलरको ठेक्का हलिब्रुर्टनले कति आफैँले पाएको थियो भने कति उसैको स्वामित्वमा रहेको केबीआरका तर्फबाट ।

न्यायिक लडाइँमा संलग्न प्रमुख पात्रहरूको पृष्ठभूमि रोचक छ । वकिलका रूपमा उदाउनुपूर्व नेपालप्रेमी म्याथु हन्डले इन्जिनियर थिए । यिनलाई पिसकोर भोलेन्टियर भएर विकट ग्रामीण क्षेत्रमा शौचालय निर्माणमा संलग्न हुँदै गर्दा अन्याय र भ्रष्टाचारको बिगबिगी देखेर त्यसविरुद्ध लड्ने प्रेरणा मिलेको थियो । नेपालमै रहँदा आफ्नो पेसा बदल्ने निर्णय गरेका थिए ।

पिसकोर सेवाकाल सकिनासाथ यिनी कानुन विषयमा अध्ययन गरेर मानव अधिकारप्रति समर्पित रहे । तिनका अर्का दुई सहयोगी पनि मानव अधिकारवादी थिए । अर्कोतर्फ यस मुद्दाको सुनुवाइकर्ता न्यायाधीश किथ एल्लिजनको प्रेरणा–स्रोत न्युवोर्लेन्सको अफ्रिकी–अमेरिकी न्यायमूर्ति जेबी केल्ली थिए । शिक्षण संस्थामा हुने जातीय विभेदविरुद्धमा रुलिङ गरेर ख्याति कमाएका थिए, केल्लीले । न्यायमूर्ति एल्लिजनले १२ नेपाली युवाको हत्याले ६ दशकपूर्व गोराबाट भएको निर्मम हत्याको झझल्को मिलेको बताउँदै आएका थिए, आफन्तमाझ । १४ वर्षको अफ्रिकी–अमेरिकन युवक इम्मेट टिलको झझल्को आएको उल्लेख गर्थे । अर्थात्, वकिल र न्यायाधीश दुवै मारिएका नेपाली युवाका परिवारलाई न्याय र न्यायिक क्षतिपूर्ति दिन कटिबद्ध थिए ।

हामी नेपालीले बिर्से पनि विदेशी पत्रकार एवं लेखक र मानव अधिकारकर्मी अमेरिकी वकिलको कार्य प्रशंसनीय छ । लेखककै सल्लाह–सुझावमा हन्डले ९ मृतक परिवार सदस्यलाई क्षतिपूर्ति रकम दिलाउन सफल भए । बाँकी तीन परिवार सदस्यले उक्त रकम नपाउनुको कारण दुई परिवार सदस्यको क्षतिपूर्ति दाबी अमेरिकी कानुनसम्मत नहुनु र तेस्रोको असहयोग थिए ।

मृतकका परिवारलाई केही क्षतिपूर्ति दिलाउन पनि उनीहरू सफल भए । अर्कोतर्फ न्यायाधीश एल्लिजनले अमेरिकी सुप्रिम कोर्टमा बहुराष्ट्रिय अमेरिकी कम्पनीले अन्तर्राष्ट्रिय जगत्मा गरेका कार्यविरुद्ध अमेरिकी भूमिमा मुद्दा नलाग्ने निर्णयविपरीत गएर नेपालीको पक्षमा फैसला दिन सकेनन् । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेपछि विश्वमा मानव अधिकार र स्वतन्त्रताको नेतृत्व अमेरिकाले लिने नीतिमा १८० डिग्री परिवर्तन गरेको परिप्रेक्ष्यमा मृतक परिवारका पक्षमा मुद्दालाई अमेरिकी सुप्रिम कोर्टमा पुर्‍याउनु औचित्यहीन रहेको निष्कर्षमा उनीहरू पुगे ।

पुस्तकमा विश्व समुदाय कसरी ‘क्रोनी क्यापिटलिज्म’को सिकार हुँदैछ भन्ने झलक प्रस्तुत छ । त्यसैगरी तिनले अमेरिकी न्याय प्रणालीका कमजोर पक्षलाई पनि उदांगो पारेका छन् । युद्धलाई निजीकरण गरेको अवस्थामा अमेरिकी कम्पनीले युद्धबाट कसरी मुनाफा कमाउन राजनीतिक व्यक्तित्वलाई आफ्नो पक्षमा राख्छन् भन्ने अभिलेख नै प्रस्तुत गरिएको छ, पुस्तकमा ।

पुस्तक ज्ञानवद्र्धक छ । कतै भने लेखकले आफू नेपाल ज्ञाता प्रमाणित गर्न केही अतिरन्जित दृष्टान्त पनि प्रस्तुत गरेका छन् । जस्तै, गिरी ब्राह्मण भएको हुनाले छुट पाएको । पतिको देहावसानपछि पत्नी श्रीमान्को घरको भौतिक सम्पत्तिमा परिणत हुने प्रचलन । पतिको मृत्युपछि अन्य पुरुषसँग सम्बन्ध राख्ने आदि–इत्यादि ।

पुस्तकलाई पाठकले कसरी हेर्छन् भन्ने कुरा गर्भमा रहे पनि नेपाली पाठक र खासगरी म्यानपावर व्यवसायसँग सम्बन्धित व्यक्तिका निम्ति पढ्नैपर्ने कोटिको छ ।

प्रकाशित: जेष्ठ ३०, २०७५