साहित्य

कल्पना र यथार्थको दोसाँधमा [पुस्तक समीक्षा : काठमाडौंमा एक दिन]

- राजेन्द्र पराजुली, काठमाडौं

मधेसमाथि तीनखाले पुस्तक लेखिए– त्यहाँका किनारीकृतमाथि दयाभाव राखिएका, त्यहाँको गरिबी र थिचोमिचोमाथि राजनीति गर्न पाइयोस् भन्ने चाहना राखिएका र मधेसीको पीडा अनुभूत गरिएका । यसै सन्दर्भमा आइपुगेको छ, शिवानी सिंह थारुको पहिलो उपन्यास काठमाडौंमा एक दिन ।

उपन्यासको मूल पात्र विद्रोही चरित्रको छ । दलित भएकैले गाउँमा आफू र आफ्नो परिवारले भोग्दै आएको चरम विभेदका कारण विद्रोही घुर्ना क्रान्तिकारीहरूको संगतमा पुग्छ । उसलाई देशको राजधानी काठमाडौँका महत्त्वपूर्ण तीन ठाउँमा बम विस्फोट गराएर राज्यको ध्यान आफूतर्फ आकर्षित गर्नु छ । बिहान ६ बजे सुरु भएको घुर्नाको एक दिन साँझ ६:३० मा पुगेर अन्त्य हुन्छ ।

केही क्रान्तिकारी साथीको सहयोगमा जसरी पनि राजधानीमा बम पड्काउने र त्यसको जिम्मेवारी आफूले लिने सोचबाट निर्देशित छ घुर्ना । बम पड्काएर जिम्मेवारी लिएपछि आफू राज्य र समाजको आँखामा परिने उसको आकलन छ । दुर्भाग्य ! बम उसले नचाहेको स्थानमा पड्कन्छ र लक्षित नगरेका सर्वसाधारणको ज्यान जान्छ । यसले घुर्ना औधि दु:खी हुन्छ । विस्फोटको जिम्मेवारी आफूले लिनु ठीक कि चुपचाप बस्नु ठीक भन्ने कुरामा पनि  द्विविधाग्रस्त बन्छ ।

बमको धूवाँ उडिरहेकै बेला घुर्ना आफू बसेको होटलबाट ट्याक्सी चढेर कलंकी जान चाहन्छ । ट्याक्सीमा समाचारले बताउँछ, बम विस्फोटको जिम्मेवारी नामै नसुनिएका समूहले लिन्छन् ।

अब घुर्नालाई चिन्ता लाग्न थाल्छ । चिन्तैचिन्ताका बीच गाउँ फर्कन चाहन्छ । बस चढ्ने ठाउँ पनि पुग्छ । तर, गाउँको वातावरण प्रतिकूल भएको थाहा पाएपछि रोकिन्छ । उपन्यासको अन्त्यले घुर्ना आफ्नो मिसनमा असफल भएको बुझाउँछ । अब के गर्ने भन्ने निर्णय गर्न सक्दैन । र, ढल्किँदो साँझलाई नियाल्दै कलंकीको सडकमा एक्लै उभिइरहन्छ ।

काठमाडौँमा बम विस्फोट गराउनुलाई जीवनकै ठूलो काम मान्ने घुर्नाको मुख्य उद्देश्य के हो ? मधेसमा व्याप्त जातीय उत्पीडनलाई निर्मूल पार्नु वा सत्तासयरमा सहभागी हुनु ? वा आफ्नो पार्टीको अस्तित्व प्रकाशमा ल्याउनु र अन्य कतिपय दलकै जसरी राजनीतिमा हाजिरी जनाउनु ? अलिकति पढेको दलित घुर्नाले राजनीतिमा आफ्नो स्थान सुरक्षित गर्न कुनै नयाँ उपायको खोजी नगर्नु आश्चर्यजनक लाग्छ । समाजमा आतंक फैलाएर राजनीतिक स्थान बनाउन खोज्नु वा विभेदको अन्त्य खोजिनुलाई कुनै पनि अर्थमा उचित मान्न सकिन्न ।

सामाजिक यथार्थवाद र कल्पनाको बीचबाट हिँडेको यो उपन्यासले जमिनमा अलि राम्ररी नटेकेको आभास हुन्छ । तराई–मधेसमा जातीय विभेद विद्यमान छ भन्नेमा सायदै असहमति रहला । धेरैको रुचिको विषय हुँदाहुँदै पनि यस्तो खाले अमानवीय विभेदलाई मूल विषय बनाएर उपन्यासमा उतार्नु उसै पनि सहज छैन । कोरा बयान वा आग्रही बन्न पुगिने डर पनि रहन्छ । यस्तो जटिल काममा हात हाल्ने शिवानीको प्रयत्न प्रशंसनीय छ । 

उपन्यासको अन्त्य निकै कलात्मक लाग्छ । ‘ताराबिनाको आकाश तलतल थिचिँदै आउँछ । ठोस अस्तित्वलाई भत्काउँदै, उज्यालोलाई निल्दै । घुर्ना उभिइरहन्छ । ताराविहीन रातसित लड्न एक्लै उभिइरहन्छ ।’ कलात्मकता खोज्ने पाठकलाई यस्ता वाक्यले चित्त बुझाउन गाह्रै पर्ने देखिन्छ । कथा बुन्ने शिल्प रुचिकर हुँदाहुँदै पनि यसलाई अलि बढी तन्काउने लोभ भने नगरेको भए हुन्थ्यो । ठाउँ–ठाउँमा प्रयोग भएका नेपाली र स्थानीय लवजले पाठकलाई आनन्द दिन्छ ।

उपन्यास पट्यारलाग्दो ढंगमा वर्णनात्मक हुन पुगेको छ । पक्कै पनि आख्यानमा वर्णन हुन्छ, तर त्यसको आयतन कत्रो पार्ने भन्ने कुरामा लेखकले हेक्का राख्नुपर्छ ।

यो पुस्तकमा १ सय ७३ पृष्ठमा सुरु हुने ‘जनतान्त्रिक मधेस’ देखि २ सय २३ पृष्ठमा टुंगिने ‘मधेस विद्रोह’ शीर्षकसम्मको बयान हटाइदिँदा खासमा उपन्यासको स्तरमा कुनै फरक पर्दैन । त्यति धेरै फ्ल्यासब्याक आवश्यक लाग्दैन । पाठकलाई बढीभन्दा बढी ‘घुर्नाको एक दिन’कै खोजी रहन्छ । अरू अनावश्यक परिच्छेदले पाठकलाई दिक्क मात्र लगाउँछन् । मोटो पुस्तकको रहर गर्दा पाठक भड्किने डर पनि त हुन्छ !

काठमाडौंमा एक दिनको शक्ति भनेको यसको दृश्यात्मकता हो । लेखकले कथाको पृष्ठभूमि जहाँको तयार पार्छ, पाठकले सोही स्थानसम्म डोर्‍याएर लैजान सक्नु क्षमता हो । ‘थ्रिलर मुभी’ हेरिरहेको छनक दिन उपन्यास सफल छ । दिनभरिको समय छुट्याएर उपन्यास पढ्ने हो भने एउटा दक्षिण भारतीय सिनेमा हेरेको स्वाद पनि यसले दिन सक्छ ।

उपन्यासमा केही घटना यस्ता छन्, तिनले पाठकको दिमागलाई केही समय सोच्न बाध्य बनाउँछन् । केही पृष्ठलाई बिर्सने हो भने यो उपन्यास पढ्दा पाठक अन्त्यसम्मै तानिइरहन्छ । एक प्रकारको कौतूहल र संशय पाठकको दिमागमा घुमिरहन्छ । हुन सक्छ, यो शिवानीको कलात्मक बठ्याइँ हो ।

प्रकाशित: जेष्ठ २३, २०७५