खेलकुद

विश्वकपमा भीएआर प्रविधि

- पवन आचार्य, काठमाडौं

फुटबल प्रतियोगितामा प्रविधिको प्रयोग जरुरी छ या छैन ? यस्तो विवाद चलेको लामै समय बितिसक्यो । प्रविधिको सहायताले व्यवस्थित पार्न खोज्दा फुटबलको प्रतिस्पर्धात्मक रोमाञ्चकता मर्ने र खेलमा मानवीय पक्ष कम र प्रविधि ज्यादा हावी हुने खतरा पनि उत्तिकै छ । तर, विवादास्पद निर्णयको अनुगमन गरेर तटस्थ निर्णयमा पुग्न प्रविधिको साथ लिन कन्जुस्याइँ गर्नुहुन्न भन्ने तर्क पनि कमजोर छैन ।

त्यसैले हरेक संस्करणका विश्वकप फुटबलमा नयाँ–नयाँ प्रविधिको प्रयोग हुँदै आएको छ । विश्व फुटबलको २१औँ संस्करणको महाकुम्भमा पनि त्यस्तै नौलो प्रविधि प्रयोग हुने भएको छ– भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) । फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाको गत मार्चमा स्वीट्जरल्यान्डको जुरिच बैठकले भीएआर प्रविधि लागू गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकमा अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्डका सदस्य राष्ट्रहरूलाई भीएआर प्रविधिको प्रभावकारिता र यसले फुटबलमा पुर्‍याउन सक्ने योगदानबारे विशेष प्रस्तुतिपछि विश्वकपमा यसको प्रयोग गर्ने निर्णय भएको थियो । निर्णयलगत्तै अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने हाभियर जानेट्टीले भनेका थिए, “भीएआर प्रविधिले फुटबल र टिमहरूप्रति उच्च तहको न्याय गर्नेछ । फुटबलमा अन्यायपूर्ण निर्णयको भागिदार अब कोही हुनुपर्दैन ।” त्यस्तै, पोर्चुगलका पूर्वराष्ट्रिय खेलाडी नुनो गोमेजले पनि जानेट्टीको समर्थन गर्दै भने, “यो प्रविधिले निर्णयमा हुने गल्ती कम गर्न र फुटबललाई न्याय दिन मद्दत गर्नेछ ।”

फुटबलको सर्वोच्च निकाय फिफा भए पनि नियम बनाउने काम अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्डले गर्छ । यो बोर्डमा फिफाको चार भोट हुने गर्छ । अन्य चार भोट फुटबलको जन्म भएको मुलुक बेलायतका चार फुटबल एसोसिएसनसँग हुन्छ । इंग्लिस, स्कटिस, आइरिस र वेल्सको फुटबल संघ ती आधिकारिक निकाय हुन् । इंग्लिस फुटबल प्रतियोगितामा भीएआरको प्रयोग भइसकेकाले पनि उनीहरू विश्वकपमा यसलाई लागू गराउन सहमत भएका हुन् ।

विश्वकप फुटबलमा भएका केही विवादास्पद निर्णयसँग बेलायतको सोझो नाता छ । चाहे त्यो १९६६ मा बेलायतले पहिलोपटक विश्वकप उचाल्दा होस् या सन् २०१० को विश्वकपमा बेलायत जर्मनीसँग पराजित हुँदै क्वार्टरफाइनलबाटै घर फर्किंदा किन नहोस् । युरोपका अन्य मुलुकमा पनि भीएआर प्रविधिको प्रयोग भइरहेको छ । यो प्रविधिको प्रयोग गर्ने राष्ट्र हुन्, इटाली र जर्मनी ।

के हो भीएआर प्रविधि ?

खेलका क्रममा उत्पन्न हुने विवादास्पद घटना जस्तै, विवादपूर्ण गोल वा पेनाल्टीबारे खेलको भिडिओ हेरेर निर्णय लिन भीएआर प्रविधि सहयोगी हुनेछ । खेलका दृश्य हेरेर प्रमुख रेफ्रीलाई सहायक रेफ्रीले उनले लिएका निर्णयबारे समीक्षा गर्न सहयोग गर्नेछन् ।

भीएआरको टोली रुसको राजधानी मस्कोमा रहेको केन्द्रीय भिडियो अपरेसन कोठामा रहनेछन् । र, उनीहरूले सबै रंगशालामा हुने खेलको अनुगमन गर्नेछन् । उनीहरूलाई स्टेडियम टिभी प्रसारणका लागि प्रयोग गरिने सबै क्यामेराका साथै अफसाइड हेर्न जडित दुई विशेष क्यामेरासम्म पहुँच हुनेछ ।

भीएआर रेफ्रीले कुनै पनि निर्णय लिन पाउने छैनन् । उसले रंगशालामा रहेका रेफ्रीलाई सही निर्णय लिन सहयोग मात्रै गर्नेछ । रेफ्रीले भीएआरमार्फत निर्णय लिन चाहे दुवै हातले हावामा आयाताकार चिह्न प्रदर्शन गर्नुपर्नेछ । यो प्रविधिको प्रयोगबाट निर्णय नआइन्जेल रेफ्रीले सञ्चार सम्पर्क स्थापित गर्दा आफ्नो हात कानमा रहेको हेडसेटतर्फ इंगित गर्नुपर्छ । यसलाई भीएआरको आधिकारिक संकेत मानिने छैन ।

रेफ्रीलाई मद्दत

भीएआर टिममा रहेकाहरूले सबै खेलको सूक्ष्म निरीक्षण गरिरहेका हुन्छन् । तर, सो टोलीले आवश्यक परेको अवस्थामा बाहेक अन्य ससाना घटनाक्रममा मैदानमा रहेका रेफ्रीसँग सम्पर्क स्थापित गर्दैनन् । रंगशालामा रेफ्रीले खेल सञ्चालन भइरहँदा गरेका विभिन्न निर्णयमध्ये खेलको नतिजा प्रभावित हुने मुख्य चार अवस्थामा भीएआर प्रविधिले सहयोग पुर्‍याउँछ ।

१. गोल भए/नभएको अवस्थाको निक्र्योल गर्न : अफसाइड पोजिसनमा रहेका खेलाडीले गोल गरेको अवस्थाको निर्णय गर्न यो प्रविधि सहयोगी हुन्छ । बल आउट अफ प्ले भएको अवस्थामा गोल भए पनि यो प्रविधिको उपयोग गर्न सकिन्छ ।

२. पेनाल्टीको निर्णय लिन : पेनाल्टी एरियाको भित्र र बाहिर भएका फउलबारे भीएआर प्रविधिबाट निर्णय लिइनेछ । आउट अफ प्ले भएको बलमा रेफ्रीले पेनाल्टी दिएको अवस्थामा र अफसाइड पोजिसनमा पनि पेनाल्टी दिइएको समयमा यो प्रविधिको प्रयोग हुन्छ ।

३. रातो कार्ड दिइएको घटनामा : खेलाडीले सीधै रातो कार्ड खाएर मैदान छाड्नुपर्ने अवस्था आएमा भीएआर रिभ्यू गरिन्छ ।

४. म्याच रेफ्रीले अन्जानवश कुनै गलत निर्णय लिन पुगेमा पनि यो प्रविधि प्रयोग गरेर त्यसलाई सच्याइन्छ ।

विशेषगरी कुनै फ्रि–किक वा पहेँलो कार्ड दिइएको घटनामा गलत निर्णय भएको शंका लागेमा सच्याउन यो प्रविधिको प्रयोग हुन्छ । तर, यी अवस्थाबाहेकमा अन्य निर्णय लिनुपरेको खण्डमा म्याच रेफ्रीले मैदानको छेउमै रहेको प्राविधिक क्षेत्रमा अवस्थित मोबाइल स्क्रिनको सहायता लिन सक्छन् । त्यसलाई ‘रेफ्री रिभ्यू एरिया’ भनिन्छ ।

मैदानमा प्रत्यक्ष खेल हेरिरहेका र घरमा बसेर टेलिभिजन हेर्ने दर्शकका लागि पनि फिफाले भीएआर प्रविधिबारे जानकारी दिन प्रसारण अधिकार पाएका टेलिभिजन च्यानललाई छुट्टै प्रणालीको विकास गरेको छ । फिफाको आधिकारिक व्यक्तिले भीएआर प्रविधि र त्यसलाई उक्त खेलमा किन र कहिले प्रयोग गरियो भन्ने जानकारीसहितको ट्याबलेट बोकेको हुन्छ । उसले भिडियो अपरेटिङ कक्षबाट टेलिभिजन र मैदानमा रहेका भीमकाय स्वरूपका स्क्रिनमा  ती दृश्यहरू र रिभ्यू प्रक्रियालाई जोडिदिन्छ । त्यो व्यक्तिसँग मस्कोमा रहेका भीएआर रेफ्रीको अडियोका साथै ग्राफिक्स प्रयोग भएको भिडियोको पनि पहुँच हुन्छ ।

भीएआर रेफ्रिइङ प्रोजेक्टका टिम लिडर रोबर्टो रोसेटीका अनुसार यो प्रविधि रेफ्रीका लागि सहायक हुन्छ । उनी भन्छन्, ‘यो प्रविधिले खेलमा न्यून हस्तक्षेप र अधिक लाभ पुर्‍याउने हो ।”

बढीभन्दा बढी क्यामेरा प्रयोग

भीएआर टिमका रेफ्रीसँग प्रसारणका लागि प्रयोग हुने सबै ३३ वटै क्यामेराको पहुँच हुन्छ । तीमध्ये आठवटा सुपर स्लो मोसन र चारवटा अल्ट्रा स्लो मोसन क्यामेरा हुनेछन् । त्यसका अतिरिक्त दुइटा अफसाइड क्यामेरामा समेत उनीहरूको पहुँच स्थापित गरिन्छ ।

यी दुई क्यामेरामा भीआरए टीमबाहेक अन्यको पहुँच हुँदैन । नकआउट चरणका लागि भने दुवै गोलपोस्टको पछिल्लो भागमा दुइटा अल्ट्रा स्लो मोसन क्यामेरा जडान गरिनेछ । खेलाडीबीच शारीरिक घम्साघम्सी भए/नभएको निक्र्योल गर्न ती क्यामेरा प्रयोग गरिन्छ ।

भच्र्युअल अफ साइड लाइनको प्रयोग

फुटबलमा सबैभन्दा बढी विवाद अफ साइड पोजिसनलाई लिएर हुने गरेको छ । एक सेकेन्डभन्दा कम समयमा असिस्टेन्ट रेफ्रीले अफ साइड भए/नभएको बारे निर्णय दिनुपर्ने हुन्छ । यस्तोमा मानवीय त्रुटि हुने नै भयो । यसलाई कम गर्न भच्र्युअल अफ साइड लाइनको प्रयोग गरिन्छ । खेल सुरु हुनुअघि नै मैदानको सबै भागको नक्सांकन हुने गरी मैदानको थ्री डी चित्र र भिडियो निर्माण गरिन्छ । पछि भीएआर प्रविधि प्रयोग गरेर खेलाडी अफ साइड पोजिसनमा रहे/नरहेको निक्र्योल गरिन्छ ।

प्रविधि र फुटबललाई जोडिएको रुस विश्वकप मात्रै पहिलो होइन । यसअघि गोल लाइन टेक्नोलोजी, कुलिङ ब्रेक, पर्फमेन्स इन्डेक्स र ह्वाइट स्प्रे प्रयोगमा आइसकेका छन् । फिफाले हरेक संस्करणको विश्वकपलाई प्रविधिमैत्री बनाउँदै लैजाने योजना अनुरूप पछिल्ला निर्णय लिएको हो ।

चौथो सब्सिट्युटको प्रयोग

फिफाले यो विश्वकपदेखि नकआउट चरणका खेल अतिरिक्त समयमा धकेलिएमा थप एक खेलाडी परिवर्तन गर्न पाउने नियम लागू गरेको छ । यसअघि निर्धारित ९० र थप गरिएको समयमा पनि बढीमा तीन खेलाडी मात्रै परिवर्तन गर्न पाउने नियम थियो । गत संस्करणको विश्वकप विजेता प्रशिक्षक जोची लोउको प्रस्तावमा यस्तो निर्णय लिइएको हो ।

अतिरिक्त समयमा खेल्दा खेलाडीमाथि दबाब सिर्जना हुने र यस्तो अवस्थामा उनीहरूले चोट बोक्ने सम्भावना अधिक रहँदा त्यसलाई न्यून गर्न यो नियम फलदायी हुने अपेक्षा फिफाको छ ।

प्रकाशित: जेष्ठ २१, २०७५