अचानक

‘लोकगीतले सेलिब्रिटी बनाइदियो’

- मनबहादुर बस्नेत, काठमाडौं
युट्युबमा राखेको दुई सातामै ‘बोल माया एक वचन बोल’ बोलको लोकगीत करिब ४० लाखले हेरे । नेपालको युट्युब ट्रेन्डिङमा अगाडि छ, यसको भिडियो । वैदेशिक रोजगारीमा जानेहरुको मृत्युपछि परिवारमा पर्ने बज्रपातको विषय यसमा समेटिएको छ । यसको शब्द, संगीत र भिडियो निर्देशन गरेका प्रकाश सपुतसँगको कुराकानी :

गीत जन्मिनुको खास कारण छ ?

लोकगीत लेख्ने–गाउने हामी एक–दुई लाइन छुस्सछुस्स टिपिरहेका हुन्छौँ । ‘बोल माया एक वचन बोल, तिम्रै माया छ मलाई अनमोल’ भन्ने लाइन पहिल्यै लेखेको थिएँ । वैदेशिक रोजगारीका कारण उत्पन्न विषयमा वृत्तचित्र, फिल्म, गीत केही न केही सामग्री बनाउने सोचिरहेको थिएँ । केही लाइन थपेपछि यो गीत बन्यो ।

गीतमा कुनै त्यस्तो घटना पनि जोडिएको छ ?

वैदेशिक रोजगारीका लागि मलेसिया गएका मेरा फुपूका छोरा लालबहादुर विक र छिमेकीका छोरा ज्ञानबहादुर बोहराको मृत्यु भएको पीडा मैले नजिकबाट देखेँ । म काठमाडौँ बस्ने भएकाले शव ल्याउन, मृत्युको कारण खोज्नसमेत सघाएको थिएँ । यी दुई घटना देखेपछि केही न केही विषय उठान गर्नुपर्छ भन्नेमा पुगियो ।

गीत यति धेरै हिट हुनुको खास कारण के हो ?

विषयवस्तु र प्रस्तुति नै हो ।

प्रस्तुतिमा के छ त्यस्तो ?

यसमा शब्द–संगीतसँगै भिडियोसमेत शक्तिशाली छ । हेर्ने कुरालाई हामीले प्राथमिकता दिएका छौँ । झलकमान गन्धर्वका पालामा गाइएको ‘हे वरै ...’ बोलको गीतपछि यस्तो शैलीका गीतको ‘ग्याप’ लामो रह्यो । हामीले यसमा त्यही लयलाई समातेका छौँ । भिडियो, शब्द र विषयवस्तुको प्रस्तुति जीवन्त बनाउने प्रयास गरेका छौँ ।

भनेपछि, लोकगीत मन पराउनेहरू घट्नुको कारण सर्जक नै हुन् त ?

लोक कलाकार र श्रोताबीच लामो समयदेखि एक खालको अप्रत्यक्ष द्वन्द्व चलिरहेको छ । लोक कलाकार भन्छन्, बजारले नै भड्किला, पश्चिमा प्रभाव भएका गीत रुचाउँछन् । श्रोता/दर्शक भन्छन्, अहिलेका लोकगीतमा लोकमर्म नै छैन । तर, हामीले राम्रा र फरक विषयवस्तु दिन सक्यौँ भने लोकगीतको बजार ठूलो रहेछ । यसमा हामी नै बढी दोषी हौँ । हामीले त्यसरी प्रस्तुत गर्न सकेका रहेनछौँ ।

यो गीतको चर्चापछि के सोचिरहनुभएको छ ?

लोकगीत गाएर यति ठूलो चर्चा पाउँछु भनेर कहिल्यै सोचेको थिइनँ । लोकगीत गाएर ठूलो सेलिब्रिटी बनिँदैन भन्ने हीनताबोध थियो ममा । त्यसबाट मुक्त भएँ । निराशाजनक अवस्था अन्त्य भएको छ । यसले राम्रो, नयाँ गर्छ भन्ने मप्रति श्रोता, दर्शकको अपेक्षा बढेको छ । त्यसलाई कसरी जोगाउने भन्ने चुनौती सोचिरहेको छु ।

लोकगीत कहिल्यै मर्दैन । गीतमा श्रोता/दर्शकले आफ्नोपन, आत्मीयता भेटाएमा त्यो उनीहरूको ढुकढुकीमा बसिहाल्छ ।

यो गीतले लोकगीतको क्षेत्रमा ठूलो परिवर्तन ल्याइदिएकै हो त ?

ठूलो परिवर्तन ल्याइदिएको भन्न त चाहन्नँ । राम्रा लोकगीतको बजार घटेको छैन भन्ने यसले प्रमाणित गरिदियो । श्रोता/दर्शक लोक, पप, आधुनिक कुनै पनि एउटा विधाको दायरामा मात्रै बस्दैनन् । उनीहरू गतिशील हुन्छन् । त्यसलाई समात्ने जिम्मा हाम्रै हो ।

लोकगीतमा त्यस्तो के हुनुपर्छ, जसले श्रोतालाई तान्न सकोस् ?

लोकगीत कहिल्यै मर्दैन । गीतमा श्रोता/दर्शकले आफ्नोपन, आत्मीयता भेटाएमा त्यो उनीहरूको ढुकढुकीमा बसिहाल्छ ।

पहिले–पहिले कलाकारहरू गाउँ–कन्दरा पुगेर गीत संकलन गर्थे । ठेट भाका, शब्द आउँथे । त्यो चलन नभएकाले त होइन ?

पहिले र अहिलेको जीवनशैलीमा धेरै बदलाव आएको छ । गाउँघरतिर डुल्दैमा लोकभाका, शब्द भेटिन्छन् भन्ने छैन । किनभने, अहिले गाउँघरतिर पानी–पँधेरो, वन–जंगल जाँदा गीत गाउने चलन हराइसक्यो । प्रस्तुति र आफ्नोपन बचाएर लोकगीत गाउन सक्नुपर्छ ।

तर तपाईं आफैँ दोहोरी ब्याटल पनि गाउनुभयो । यो त लोकगीतको ट्रयाकभन्दा बाहिर छैन ?

नयाँ पुस्ताका लागि यस्ता गीत गाइयो । यसका श्रोता, दर्शक भिन्नै हुन्छन् । यो पुस्तालाई पनि समेटौँ भनेर हो ।

अबचाहिँ यस्ता गीत नगाउने ?

एउटा मात्रै शैली गाइयो भने साँघुरिहालियो नि ! अझै परिमार्जित शैली र प्रस्तुतिका साथ नयाँ पुस्ताका लागि समेत लोकगीत गाउँछु ।

प्रकाशित: जेष्ठ २०, २०७५