अनुभूति

कुमारको बिदाइमा

- कालीप्रसाद रिजाल, काठमाडौं

कुमारबहादुर जोशीसित मेरो भेट मित्र वासु शशीमार्फत भएको थियो । खासमा भैरव अर्यालको श्रद्धान्जली सभामा मेरो कविता सुनेपछि वासु शशी र उनले भावविह्वल भएर आँसु पुछेको मेरो मानसपटलमा ताजै छ । वासु शशीले जाँदाजाँदै आत्मीय मित्र र भाइका रूपमा जोशीको मित्रवत हात मलाई दिएका थिए । त्यही हात पनि वैशाखको तेस्रो दिन नियतिले खोसेर लग्यो ।

दुईपल्ट मृगौला प्रत्यारोपण गरेर बचाएका जोशीलाई अन्तत: अस्पतालबाट घर फर्काउन सकिएन । धेरै पटक उनी मृत्युलाई जितेर फर्किएका थिए । हरेक पटक उनी फोनमा भन्ने गर्थे, ‘दाइहरूको आशीर्वाद र साहित्यिक मित्रहरूको शुभकामनाले म फेरि सकुशल घर फर्कन सफल भएँ । सबैप्रति कृतज्ञ छु ।’ फर्किएपछि फेरि उनी अध्ययन र साहित्य–साधनामा आफूलाई संलग्न गराउँथे । ओछ्यानमै पनि केही न केही लेखिरहन्थे, पढिरहन्थे । उनी अन्तिम समयसम्म पनि ‘मलाई फर्काएर घर लग’ भनेर सरस्वती बहिनी र छोराहरूसित आग्रह गरिरहेका थिए ।

उनलाई अरू बाँच्ने ठूलो इच्छा थियो । घरको ढोकाबाट भित्र छिरेपछि उनलाई परम सुख र आनन्द अनुभव हुन्थ्यो । दराजका किताब उनका अभिन्न मित्र थिए । उनी जहिले पनि ‘अझ धेरै कुरा गर्न बाँकी छ’ भन्ने गर्थे । तर, नियतिको इच्छा अर्कै रहेछ !

जोशी मिलनसार, सहृदयी र आकर्षक व्यक्तित्वका धनी थिए । उनको बोलीचाली र व्यवहारबाट प्रभावित नहुने कोही थिएनन् । मिर्गौला प्रत्यारोपण गर्ने डाक्टर, स्वास्थ्यकर्मी र सहायकदेखि अस्पतालका कर्मचारी सबैले उनलाई माया गर्थे । प्रसिद्ध मिर्गौला विशेषज्ञ ऋषिकुमार काफ्लेसित उनको पारिवारिक सम्बन्ध स्थापित भएको थियो । देशबाहिर हुँदा पनि उनी उपचारसम्बन्धी सल्लाह र निर्देशन दिन्थे ।

नेवार कुलमा जन्मेका उनले संस्कृत विषयको उच्च अध्ययन गरेर विशिष्टता हासिल गरे । महाकवि देवकोटाको काव्यिक विशेषताबारे अध्ययन, शोध र अनुसन्धान गरेर उनले विद्यावारिधि प्राप्त गरे । उनलाई देवकोटा–विशेषज्ञ मानिए र उनको शोधकार्य देवकोटासम्बन्धी अध्ययनको मानक ग्रन्थ हो ।

संस्कृत शिक्षाको अध्ययन गरिरहेकै बेला उनीजस्तै नेवार कुलमा जन्मेर संस्कृत साहित्यमा विशेषज्ञता हासिल गरेकी विदूषी कौशल्यासित उनको विवाह भयो । तर, केही वर्षको सुखद दाम्पत्य जीवनको पनि अप्रत्यासित रूपमा अन्त्य भयो । कौशल्याको अर्बुद रोगबाट निधन भएपछि अर्की विदूषीलाई उनको जीवनमा ल्याइदियो ।

दुईपल्ट एक्लै सरस्वतीले भारतको मद्रासमा लगेर मिर्गौला प्रत्यारोपण गराइन् । उनले हरसमय छायाजस्तो भएर सेवा–सुश्रुषा गरिरहिन् । पछिल्ला दिनमा उनले बराबर स्वास्थ्यसम्बन्धी समस्या सामना गर्नुपर्‍यो । घर र अस्पताल पालैसित ओहोर–दोहोर गर्नुपर्ने भयो । विषम परिस्थितिमा सरस्वतीले अहोरात्र दत्तचित्त भएर सेवा–सुश्रषा गरिरहिन् ।

दुई वर्ष पहिले जेठा छोरा मोटर दुर्घटना परेर अस्पताल भर्ना भएपछि म र मेरी पत्नी केही समयका लागि अमेरिका गएर बस्नुपरेको थियो । सरस्वती बहिनीले जाने बेलामा उदास भएर भनेकी थिइन्, ‘दाइ तपाईंहरू फर्कने बेलासम्म उहाँलाई सकुशल बचाउन सक्छु, सक्दिनँ ।’ तर, हामी अमेरिकाबाट फर्केपछि पनि जोशी झन्डै दुई वर्ष बाँचे ।

जोशीसित मेरो पारिवारिक सम्बन्ध थियो । म बराबर उनको निवासमा गइरहन्थेँ । मेरो साहित्यिक लेखनबारे एउटा समालोचनात्मक ग्रन्थ तयार गर्ने उनको धोको थियो । तर, रोगले च्याप्दै लगेपछि उनले आफ्नो अध्ययन र लेखनलाई अघि बढाउन सकेनन् । रोगशैय्यामै रहेर पनि आफ्नो पुस्तकमा मेरो संक्षिप्त जीवनी लेखेर उनले मलाई ठूलो गुन लगाए । त्यही पुस्तक नै उनको अन्तिम कृति बन्न पुग्यो ।

कुनै आग्रह वा पूर्वाग्रह नराखी स्वतन्त्र र समभावको दृष्टिले कृतिको अनुशीलन र मूल्यांकन गर्ने प्रवृत्ति नै जोशीको वैशिष्ट्य हो । एक समर्पित साहित्य–साधक जोशी अब हामीमाझ छैनन् । उनका कृतिहरूमा नै   खोज्नुपर्छ हामीले ।

प्रकाशित: जेष्ठ ७, २०७५