सम्झना

जर्सी नं १०

- पवन आचार्य, काठमाडौं

राष्ट्रिय टोलीमा १३ वर्ष बिताएका मणि शाहलाई कहिल्यै नम्बर एक मानिएन । उनीअघि र पछिका फुटबलरहरू छोटो समय चम्किएर बिलाए । तर, मणिको चमक उल्का पिण्डजस्तो नभई सही अर्थमा मणि माणिककै थियो । उनको खेल लामो समय एकै लयको पनि रहेन । तर, जति समय मैदानमा बिताए, त्यतिले नै उनलाई अमर तुल्याइदियो ।

मणिलाई समकालीन र अग्रजले मात्रै होइन, अनुजले पनि पुकार्ने नाम हो, नेपालका म्याराडोना । हुन पनि अर्जेन्टाइन लिजेन्ड म्याराडोनासँग कदकाठी मात्रै होइन, अन्य केही समानता पनि थियो । उस्तै जीउडाल, लामो र घुम्रिएको कपाल पाल्ने शैली, विपक्षीलाई छलाउने शैली मात्र नभएर केही हदसम्म जीवनशैली पनि मिल्थ्यो, मणि र म्याराडोनाको ।

विश्व फुटबलमा डियगो म्याराडोनाले कदम चाल्दै गर्दा सन् १९६७ मा मणि काठमाडौँमा जन्मिए । तिनै म्याराडोनाको प्रेरणामा अर्जेन्टिनाले १९८६ मा विश्वकप ट्रफी उचाल्नु एक वर्षअघि मणिले नेपालबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे । म्याराडोनाबाट प्रभावित भएरै होला मणिले पनि जर्सी नं १० नै लगाए । त्यसमा उनले यति न्याय गरे कि नेपाली म्याराडोनाकै रूपमा चिनिन्छन्, मृत्युपर्यन्त ।

तर, मणि स्वयंचाहिँ आफ्नै नामले चिनिन चाहन्थे । उनी भन्थे, ‘म्याराडोना म्याराडोना हो । म मणि शाह नै । हामीबीच कुनै तुलना नै हुँदैन ।’ उनका बुबा लक्ष्मणविक्रम शाह राष्ट्रिय खेलकुद परिषद्मा एथ्लेटिक्सका मुख्य प्रशिक्षक थिए । तर, फुटबल पनि खेल्थे । उनी छोरालाई फुटबल देखाउन रंगशालासम्म पुर्‍याउँथे । मणिले पछि ५ फिटमुनिका प्रतियोगिता खेल्न थाले । त्यसो त मणिका दिवंगत भाइ रत्न शाह पनि राष्ट्रिय टोलीमा अटाए । काठमाडौँको कालधारामा मणि शाहकै नाममा मणि गल्ली प्रचलित छ ।

०३९ मा थ्रीस्टार र ठमेल ११ बीचको खेलमा भएको झगडापछि मणिले फुटबलमा प्रतिबन्ध खेप्नुपर्‍यो । तर, थाइल्यान्डमा सन् १९८३ मा भएको प्रिन्सेस कपका लागि प्रतिबन्ध फुकुवा गरेर टोलीमा समावेश गरिएको थियो । कारण भनिरहनु नपर्ला, मणि शाह त्यतिबेलै उम्दा खेलाडी भइसकेका थिए ।

१७ वर्षको उमेरमा मणिले सन् १९८५ मा राष्ट्रिय टोलीमा डेब्यु गरे, दोस्रो दक्षिण एसियाली खेलकुदमार्फत । त्यसअघि काठमाडौँमै भएको पहिलो दक्षिण एसियाली खेलकुदमा शाहले अनुभव बटुलेका थिए, खेलाडीका रूपमा नभई बल ब्वाईका रूपमा । सन् १९९३ मा छैटौँ साग फाइनलमा भारतले २–१ को अग्रता लिएको अवस्था र खेल सकिन ३० सेकेन्ड मात्रै बाँकी हुँदा मणिले लेफ्ट फुटेड फ्रि–किकमार्फत खेललाई बराबरीमा पुर्‍याए । पेनाल्टी सुटआउटमा भारतलाई हराउँदा मणिले पनि गोल गरे । राष्ट्रिय टोलीमा मणिको जादु मद्रासमा भएको सातौँ दक्षिण एसियाली खेलकुदसम्म चल्यो । सन् १९९८ मा मणिले राष्ट्रिय टोलीबाट सन्न्यास लिए ।

एसियाली खेलकुदमा राष्ट्रिय झन्डा बोक्ने सौभाग्यप्राप्त एक्ला फुटबलर थिए मणि शाह । १९९८ को बैंकक एसियाडमा नेपाली फुटबल टिमको कप्तानी सम्हाल्दै मणिले राष्ट्रिय झन्डा बोके । तर, उनी मैदानमा उत्रिन पाएनन् । त्यसलगत्तै राष्ट्रिय टोलीबाट अलग्गिने निर्णय गरे ।

मनाङ–मस्र्याङ्दी क्लबलाई ०४२ मा ए डिभिजन लिग च्याम्पियन बनाउनुअघि मणिले डी डिभिजन लिगदेखि क्लबलाई जिताउँदै लगे । त्यतिबेलाका मणिका टिममेट विराटजंग शाही भन्छन्, “ए डिभिजन लिग च्याम्पियन हुने बेलासम्म हामीले दुई गोल मात्रै खायौँ । संकटाबाट राजुमान तुलाधर र थ्रीस्टारका पवन श्रेष्ठले मात्रै मनाङविरुद्ध गोल गरे । मणि शाहको आक्रमण अन्य क्लबले बिरलै रोक्न सक्थे ।”

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ४८ क्याप र ६ गोल गरेर आफ्नो प्रतिभा प्रमाणित गरिसकेका थिए, मणिले । जीवनभर मणिको खुट्टा बोल्यो । पत्रकारका प्रश्नलाई उनी सजिलै पन्छ्याइदिन्थे । ‘खेलाडीले बोल्ने होइन, खेल्ने हो,’ उनको यो भनाइ ओठैमा झुन्डिएको थियो । तर, पछिल्लो समय मणि नेपाली फुटबलमा परिवर्तनका लागि बोल्न थालेका थिए ।

मणि शाहकै साथ र सहयोगमा कर्माछिरिङ शेर्पाले नेपाली फुटबलमा गणेश थापाको विरासत उल्टाइदिए । उनी यति कम बोल्थे कि ०५५ मा अखिल नेपाल फुटबल संघ एन्फाले मणिलाई रूपक स्मृति उत्कृष्ट फुटबलर पुरस्कार प्रदान गर्दा पत्रकारका प्रश्नको जवाफ पनि अरूलाई दिन लगाए । फुटबल विशेषज्ञ सञ्जीव मिश्र त्यो दिन सम्झिन्छन्, ‘पुरस्कार थापेपछि पत्रकारले आफ्नो मनमा लागेका कुरा भन्न मणिलाई आग्रह गरेका थिए । उनले चाहिँ मेरो अनुभव पनि सञ्जीवले सुनाउँछ भनेर मतिर प्रश्न सोझ्याइदिए ।’

केही समययता मणि फुटबलमा भूमिका खोजिरहेका थिए । उनी भन्थे, “टिम पाएँ भने म पनि नेपाली फुटबललाई रिजल्ट दिन सक्छु । तर, मलाई टिम हेर्न पनि दिँदैनन् ।” भ्रष्टाचार अभियोगमा एन्फा अध्यक्ष गणेश थापा निलम्बनमा परेपछि उनले एक दिन मिश्रलाई बोलाएर भनेछन्, “हेर भाइ, अब फुटबल चलाउने हामीले हो । म अध्यक्ष हुन्छु । मलाई फुटबलबाहेक प्रशासनिक कुरा केही आउँदैन । म फुटबल हेर्छु, तिमीले बाँकी हेर्नू । मैले कांग्रेसका शेरबहादुर देउवा र माओवादीका प्रचण्डसँग पनि कुरा गरिसकेको छु ।”

तर, समयले मणिलाई खेलाडीभन्दा माथि बढ्न दिएन । एन्फाको वर्तमान नेतृत्व मणिको अनुभवलाई कुनै न कुनै हिसाबले सदुपयोग गर्न चाहन्थ्यो । तर, अब त्यो मणि शाह स्मृति फुटबल प्रतियोगितामा सीमित हुने भएको छ । अरू पेसा व्यवसायका मानिसलाई भन्दा खेलाडीलाई एउटा सुविधा विशेष हुन्छ । त्यो हो, उनीहरू कुनै समूह, जाति र क्षेत्रीयताभन्दा माथि हुन्छन् ।

मणिले पनि कालधाराबाट माथि उठेर समग्र नेपालीको मनमा बास पाए । साना कदका मणिले नेपाली खेलप्रेमीमाझ सम्झनाका ठूला क्यानभास छाडेर गएका छन् । चराको आवाजजस्तो उनी पनि खेलप्रेमीका मनमा बाँचिरहनेछन् ।  

प्रकाशित: जेष्ठ ७, २०७५