व्यंग्य

[झटारो] म प्रधानमन्त्री भएको भए

- लक्ष्मण गाम्नागे, काठमाडौं

केपी ओलीका ठाउँमा म प्रधानमन्त्री भएको भए मोदीले बोलाउनेबित्तिकै भारतको भ्रमणमा जाने थिइनँ । केही समय चीन जाने हल्ला चलाउँथेँ अनि मात्रै भारत जान्थेँ । गएर पनि चुपचाप मोदीको स्वागत खाएर फर्कन्नथेँ, नेपाललाई लगाएको नाकाबन्दीका विरुद्ध माफी मगाएर मात्रै आउँथेँ । माफी नमागे पनि एक–दुई शब्द बोल्न लगाएरै छाड्थेँ । शब्दले नभए बडी ल्यांग्वेजबाटै भए पनि माफी मगाएझैँ त गराउँथेँ, गराउँथेँ । अनि मात्र उनलाई नेपाल आउने निम्ता दिन्थेँ । निम्ता पनि उनले भनेकै दिनका लागि नदिई एक दिन भए पनि अघि वा पछि पारेर दिन्थेँ । मानेनन् भने मात्रै उनले तोकेको मितिलाई स्वीकार गर्थें ।

म प्रधानमन्त्री भएको भए मोदीलाई सीधै काठमाडौँ आउनूस् भन्थेँ । आउँदिनँ भने भने ‘हस् त हस्’ भन्थेँ । तर, उनलाई स्वागत गर्न भन्दै लुरुक्क परेर जनकपुर जान्नथेँ । उनले जनकपुरमै भेटौँ भनेर कर गरेपछि मात्रै जनकपुर जान्थेँ । जनकपुरै गए पनि म दौरा–सुरुवालमा जान्थेँ । कुर्ता–पाइजामै लगाउनुपरे पनि मोदीको भन्दा अलि भिन्नै कलरको लगाउँथेँ । 

म प्रधानमन्त्री भएको भए तीन ठाउँमा नागरिक अभिनन्दन गराएर राष्ट्रियता धरापमा पर्न दिन्नथेँ । दुई ठाउँमा नागरिक अभिनन्दन र एक ठाउँमा नगर अभिनन्दन गराउँन्नथेँ । दुई–दुई वटा नगरको बडेमाको साँचो मोदीलाई म किन टक्र्याउँथेँ ? बढीमा एउटा नगरको मात्रै साँचो दिने थिएँ । दुइटा वा तीनैवटा नगरको साँचो दिनुपरे पनि सानो साइजको मात्र दिन्थेँ । 

एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकको प्रधानमन्त्री ओलीलाई मोदीले ‘कोली’ भनेर ठूलो अपमान गरे । तिनले झुक्किएजस्तो गरेर वास्तवमा हियाएर जिस्क्याएका हुन् । म प्रधानमन्त्री भएको भए तुरुन्तै नियमापत्ति गरेर बोली सच्याउन लगाउँथेँ । सच्याउन नलगाए पनि मोदीलाई त्यस्तै अनुप्रास मिलाएर मनमनै भए पनि मनपरी गाली गरेर बदला लिन्थेँ ।

ओलीले मोदीलाई नमस्कार गर्दा झुकेर गरेनन् भन्ने भनाइ उनका समर्थकहरूको छ । तर, वास्तवमा उनको मन पूरै लम्पसार परेको थियो, उनी निहुरिन पनि खोज्दै थिए । ढाडको समस्याले गर्दा मात्रै शरीर नै झुकेन । म प्रधानमन्त्री भएको भए त्यसरी मनमनमा पनि झुक्ने थिइनँ । ओलीका समर्थकहरूले प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मोदीलाई उपहार दिँदा मोदीले निकै झुकेर उपहार लिँदै गरेको तस्बिरलाई खुब प्रचार गरे । म भएको भए त्यो उपहार दिँदा भुइँमा टुक्रुक्क बसेर दिन्थेँ र मोदीलाई भुइँसम्मै झुकाइदिन्थेँ । राष्ट्रको शिर ठड्याउन जान्नुपर्‍यो नि !

म प्रधानमन्त्री भएको भए मोदीलाई भेट्न उनी बसेको होटलसम्म धाएर जाने थिइनँ । निवासमै बोलाउँथेँ । उनी आउन मानेनन् भने मात्रै होटलमा जान्थेँ । होटलमा गए पनि म उनलाई पहिला नमस्कार गर्ने थिइनँ, उनले गरेपछि मात्रै फर्काउँथेँ । जसरी पनि म माथि नै पर्थें ।

म प्रधानमन्त्री भएको भए मोदीसँग आउन लागेका सुरक्षाकर्मीको संख्या पहिले नै सोध्थेँ र उनले ल्याउन लागेको संख्यामा २/३ जना घटाउन लाउँथेँ । यसरी म प्रधानमन्त्री भएको भए देशको शिर पूरै ठाडो पार्ने थिएँ । नेपाली जनताको दुर्भाग्य ! म प्रधानमन्त्री छैन र मजत्तिको राष्ट्रवादी व्यक्ति कहिल्यै यो देशको प्रधानमन्त्री हुने छाँट पनि छैन ।

प्रकाशित: जेष्ठ ७, २०७५