समसामयिक

पगरी कूटनीति

- जनक नेपाल, काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २८ वैशाखको आगमनले जानकी मन्दिरका महन्त रामरोशन दासलाई विवाह पञ्चमीको झल्को दिलायो । हरेक वर्ष मंसिरमा हुने विवाह पञ्चमीमा अयोध्याबाट आउने रामको जन्तीलाई जनकपुरधाममा त्यसैगरी भव्य स्वागत गरिन्थ्यो ।

महन्त दासले दुवै देशका प्रधानमन्त्रीलाई मौलिक मिथिला टोपी पाग पहिर्‍याएर पूजा गराए । मन्दिरका तर्फबाट दोसल्ला ओढाए । अनि, पगरी गुथेर सम्मान गरे । “नेपाल–भारतबीच रहेको सांस्कृतिक सम्बन्ध झल्काउन पगरी लगाइदिएका हौँ,” उनी भन्छन्, “त्रेता युगमा राजा जनकले रामको जन्ती स्वागत गरेका थिए । अहिले प्रधानमन्त्री ओलीले मोदीलाई स्वागत गर्नुभयो ।”

मिथिलाञ्चलका परम्परागत विवाहमा ‘सम्धि–सम्धि’लाई यस्तो पगरी लगाउने चलन रहेको महन्त दास बताउँछन् । विवाह पञ्चमीका बेला भारतबाट आउने जन्तीमा सहभागी विशिष्ट व्यक्तिलाई पनि पगरीले सम्मान गर्ने गरिएको छ । महन्त दास भन्छन्, “यो मिथिलाको संस्कृति हो, पगरी त्यस्तै सांस्कृतिक आभूषण हो ।”

दुवै देशका प्रधानमन्त्रीले एउटै पहिरन र पगरी लगाएर जानकी मन्दिर परिसरमा नेपाल–भारत सम्बन्धको सांस्कृतिक महत्त्वबारे चर्चा गरे । ओलीले ढाका टोपी लगाएबाहेक दुवैको पहिरन उस्तै थियो । जुत्ता भने ओलीले खैरो र मोदीले कालो लगाएका थिए । ओली–मोदीको यो पहिरन कूटनीतिबारे अनेक चर्चा गरिएको छ । कतिपयले पगरीलाई राजस्थानी टोपी भनेका छन् । भारतीय समकक्षी मोदीको नियमित पहिरनसँग मिल्दोजुल्दो पोसाक लगाएर प्रधानमन्त्री ओलीले ‘राष्ट्रवादी चरित्र’ त्यागेको भन्दै आलोचना गर्नेहरू पनि छन् ।

नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) सदस्यसमेत रहेका एमाले नेता राजन भट्टराई मोदीका लागि मिथिला पहिरन कुर्ता, सुरुवाल र गम्छा नेपालबाटै पठाइएको बताउँछन् । “नेपाल–भारतको सांस्कृतिक सम्बन्धको सम्मान गर्न दुवै प्रधानमन्त्रीले मिथिला पहिरन लगाउने प्रबन्ध आतिथेय मुलुकका रूपमा नेपालले गरेको हो,” उनी भन्छन्, “कूटनीतिमा यस्ता अभ्यास अन्यत्र पनि भएका छन् ।” चिनियाँ राष्ट्रपति सी जिनपिङको गोवा भ्रमण होस् वा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय ‘ज्वारी कोट’ लगाएजस्तै ओली र मोदीले जनकपुर भेटमा मिथिला पहिरन लगाएको भट्टराईले प्रस्ट्याए ।

मोदीले त्यसै पनि आफ्नो भ्रमण प्रधानमन्त्रीका रूपमा भन्दा तीर्थयात्रीका रूपमा रहेको बताइरहेका थिए । त्यसै कारण हुन सक्छ, मोदीको स्वागतमा विमानस्थलमै सीता–राम भजन गाइयो । धार्मिक नाटक देखाइयो । विवाह पञ्चमीको झझल्को दिने गरी मन्दिर परिसरमा सीता–रामका प्रतिमा र धनुष प्रदर्शन गरियो । ऐतिहासिक सम्बन्धको सम्मान गर्न सीता र रामका प्रतिमामा दुवै प्रधानमन्त्रीले माला लगाए । “राजा जनकले रामलाई अस्त्र (धनुष) भाँच्न लगाए । त्यसैले जनकपुरधाम शस्त्रको होइन, शास्त्र र प्रेमको केन्द्र बन्यो,” महन्त दास भन्छन्, “अहिले दुई देशका प्रधानमन्त्रीलाई एकै ठाउँ स्वागत गरेर मिथिलाले पुन: केन्द्र बन्ने सौभाग्य पाएको छ ।”

जनकपुर उप–महानगरपालिकाका मेयर लालकिशोर साह केन्द्र सरकारको समन्वयमा स्वागत, अभिनन्दन र पूजा आयोजना गरिएको बताउँछन् । “यो भ्रमणले केही नयाँ पन दिएको छ,” भन्छन्, “दुवै प्रधानमन्त्रीलाई एकैपल्ट जनकपुरमा स्वागत गर्न पाइयो । ऐतिहासिक भ्रमणपछि दुई देशको सम्बन्ध झन् सुमधुर हुनेमा हामी विश्वस्त छौँ ।”

राम र सीताको विवाहको स्मरण गर्दै अहिले पनि जनकपुरधाममा मंसिरमा विवाह पञ्चमी मनाइन्छ । भारतको अयोध्याबाट साधु–सन्तहरू जन्ती आउँदा नेपाली सीमा आरम्भसँगै मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा स्वागत हुन्छ । त्यसअघि नै जानकी मन्दिरबाट साधु–सन्त र नगरका गन्यमान्यहरू राम मन्दिर गएर विवाह छिन्ने (तिलकोत्सव) चलन छ । पञ्चमीमा रामको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रंगभूमि मैदानमा पुग्छ । ठीक त्यसैगरी भारतीय प्रधानमन्त्री मोदी पनि जानकी मन्दिरको स्वागतपछि रंगभूमि मैदान पुगे ।

परराष्ट्रविद् निश्चलनाथ पाण्डे भारतीय प्रधानमन्त्री मोदीले धार्मिक, सांस्कृतिक रूपमा नेपालसँगको सम्बन्ध बढाउन खोजेको प्रस्टै भएको बताउँछन् । मोदीको भ्रमणलगत्तै शंकराचार्यको नेपाल आगमन र उनलाई स्वयं प्रधानमन्त्री ओलीले गरेको अभिनन्दनले त्यस्तै लक्षण देखाएको उल्लेख गर्दै पाण्डे भन्छन्, “नेपाल–भारत सम्बन्धमा धर्म र संस्कृति पुल बन्ने लक्षण देखिएको छ ।”

प्रकाशित: जेष्ठ ६, २०७५