स्वास्थ्य

उफ्, अवसाद !

- विभु लुइटेल, काठमाडौं

“तँ हिन्दी सिरियल हेर्छस्, नाच्छस्, खाना पनि पकाउँछस् । के तँ मर्द होस् ?” आभास कर्माचार्य, २९, ले बाल्यकालदेखि नै यस्ता प्रश्न सामना गर्नुपर्‍यो । समाजको दृष्टिमा मर्द बन्न चाहिने मापदण्ड के हो ? उनले कहिल्यै मेसो पाएनन् । यसैकारण उनले अवसाद (डिप्रेसन)को दिन देख्नुपर्‍यो । उमेरसँगै उनको ‘मर्दाङ्गी’माथि प्रश्न खडा गर्नेहरू बढ्दै गए ।

‘म मर्द होइन रहेछु तर मलाई मर्द बन्नु छ’ भन्दै आभास समाजमा ‘फिट’ हुनका लागि आफूलाई मन नलाग्दा नलाग्दै केटा मान्छेले गर्नुपर्ने भनिएका काम गर्दै गए । जबरजस्ती मेटालिका, लिंकिन पार्कका गीतका बोल कण्ठ गर्थे, टाउको दुखे पनि साथीभाइका माझ हेडब्याङ गर्थे, कहिलेकाहीँ मन नभई–नभई फुटबल र क्रिकेट पनि खेल्थे । तर, केही समयमै आजित भएपछि उनी फेरि खाना पकाउन, नाचगान गर्न र समाजले ‘केटी’को काम भनेर छुट्याइदिएका काम नै गर्थे । अरूका अगाडि ‘मर्द’ बन्ने प्रयत्न गर्दागर्दै उनी साह्रै निराश हुन्थे ।

केही समयअघि आभासले महिनावारीमाथि एउटा कविता लेखे । फेसबुकमा त्यो कविता पोस्ट गर्दा उनको खिल्ली उडाउँदै धेरैले प्रतिक्रिया दिए, ‘यसलाई पनि महिनावारी हुँदो रै’छ है ।’ कतिले त उनी समलिंगी भएको लख काटे । उनमा ‘आइडेन्टिटी क्राइसिस’ अझै झाँगिदै गयो । उनी झन् डिप्रेस्ड हुँदै गए । मनोविज्ञको परामर्श लिन नचाहेका पनि होइनन् उनले । तर, परामर्शको खर्चले ढाड सेक्ने देखिएपछि हिम्मत जुटाउन सकेनन् ।

केही समयपछि आभासको जीवनमा एक साथीको प्रवेश भयो, जसले उनलाई डिप्रेसनबाट बाहिर आउन सहयोग गरिन् । परामर्शदाता पनि उनी नै भइन्, मौलिकताको महत्त्व सिकाइन् । उनैको हौसलाका कारण अहिले आभास ‘मर्द’ होइन, ‘मान्छे’ बन्न चाहन्छन् ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्ट अनुसार संसारमा कुल जनसंख्याको चार प्रतिशत व्यक्ति डिप्रेसनग्रस्त छन् । यो अनुपात दिनानुदिन बढिरहेको छ । यो कुनै विशेष उमेर समूहमा मात्र नभएर हरेक उमेरका मान्छेमा देखिँदै आएको छ । साबिकको दिनचर्यामा परिवर्तन आउनु, कसैसँग घुलमिल गर्न मन नलाग्नु र स–साना कुरामा झिँझो लाग्नु डिप्रेसनका प्रारम्भिक लक्षण हुन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी)को सर्वेक्षण कार्यक्रममा सहभागीमध्ये ६३ प्रतिशत व्यक्तिमा डिप्रेसन देखापर्‍यो । “समाजले डिप्रेसनबाट ग्रस्त व्यक्तिलाई मानसिक रोगीको ट्याग भिराइदिन्छ । त्यसैले धेरैजसो खुलेर बाहिर आउनै चाहँदैनन्,” वरिष्ठ मनोविद् करुणा कुँवर विष्ट भन्छिन् ।

नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा करिब पाँच हजार जनाले बर्सेनि आत्महत्या गर्ने गरेको पाइन्छ । उक्त संख्या हरेक वर्ष करिब १३ प्रतिशतले बढ्ने गरेको छ । आत्महत्या गर्ने लगभग ९२ प्रतिशत व्यक्तिको मानसिक स्वास्थ्यमा समस्या पाइएको छ ।

डिप्रेसन बढी उमेरका व्यक्तिमा मात्र सीमित छैन । काठमाडौँकी रोजिना देउजा, २२, मा सानै उमेरमा डिप्रेसन देखिएको थियो । चकचके स्वभावकी उनलाई आमाले कुटपिट गरी चकचक नगर्न भन्थिन् । यसले गर्दा उनको बाल मनोविज्ञानमा चोट पुर्‍यायो । आमाको कचकच सहनुभन्दा बरू मर्नु बेस भनी उनी ग्लिसरिन, कफ सिरप र अन्य औषधि खाई प्राण त्याग्ने प्रयास गरिरहन्थिन् । एकचोटि त पेपर कटरले हात काटिन्, आवेगमा मुड्की प्रहार गरी ऐना पनि फुटाइन् । आमासँगको सम्बन्धमा ह्रास आउँदै गएपछि उनमा बिस्तारै अन्तर्मुखीपन हाबी हुन थाल्यो ।

उमेर बढ्दै जाँदा आफूले आफैँलाई हानि पुर्‍याई गलत बाटोतिर हानिएको महसुस गर्न थालिन् । जति आफ्नाबारे सोच्थिन्, त्यति नै आफूप्रति माया बढ्दै गयो । अहिले भने उनी यस्ता समस्याबाट बाहिर आइसकेकी छन् । अहिले आमासँगको सम्बन्ध पनि राम्रो भइसकेको छ ।

डिप्रेसनलगायतका मानसिक रोगको सिकार पुरुषको तुलनामा महिला बढी हुने गरेका छन् । यसका पछाडि सामाजिक संरचनाभन्दा पनि महिलाको जीवनमा आउने विभिन्न घटनाक्रम जिम्मेवार देखिने गर्छन् । युवावस्थामा प्रवेश गर्दा, गर्भधारण गर्दा वा महिनावारीका क्रममा परिवर्तन हुँदा एक महिलाको शरीरमा हार्मोनको प्रवाह हेरफेर हुन सक्छ ।

ताराबहादुर काफ्ले (नाम परिवर्तन), ४१, करिब दुई दशकअघि डिप्रेसनमा भएको अनुभव सुनाउँछन् । स्नातकमा इन्जिनियरिङ गर्ने क्रममा उनी पुल्चोक क्याम्पसको छात्रावासमा बस्थे । परिवारको कमी महसुस भयो । उनी आफैँलाई डिप्रेसनमा पुगेको आभास हुन थाल्यो । लक्षण देखिनुअघि उनी क्रिकेट खेलाडी थिए । डिप्रेसनले छोपेपछि उनको क्रिकेट मोह हरायो । जीवनसँग उनको विरक्तता बढ्दै गयो, सबै कुरा अर्थहीन लाग्न थाले । सानाभन्दा साना कुराले पनि उनलाई सताउन थालेको महसुस भयो । “डिप्रेस्ड छु भनेर घरमा थाहा दिने आँट नै आएन । बरू परिवारलाई फोन गरेर अरू नै केही विषयमा कुरा गर्थें । त्यतिबेला मन हलुका हुन्थ्यो ।” उनले डिप्रेसनबाट बाहिर आउन अपनाएको तरिका सुनाए ।

ठिमी, भक्तपुरकी वर्षा श्रेष्ठ (नाम परिवर्तन), २५, लाई १८ वर्षको उमेरमा डिप्रेसनले समात्यो । त्यतिबेला उनलाई त्यो डिप्रेसन हो भन्ने थाहा थिएन । मिल्ने साथीहरू विदेश गइसकेका थिए, कोही जाने क्रममा थिए । उनी भने जीवनमा अब के गर्ने भन्ने सोचमा हराउँथिन् । केही काम नगरे पनि शरीरमा शक्ति छैन जस्तो अनुभव हुन्थ्यो । हातखुट्टा झम्झमाउँथे । केही नगर्दा पनि थकित महसुस गर्थिन् । भन्छिन्, “फेसबुक खोल्यो कि माला र खादा लगाई एयरपोर्टमा उभिएका कोही न कोहीका फोटा देखिन्थे । मसँग भविष्यका लागि केही योजना थिएन ।”

वर्षाले आत्महत्या गर्ने प्रयास नगरेकी पनि होइनन् । तर, एकैचोटि खाएको औषधिले उनको प्राण त लिएन, उल्टै कमजोर भने बनायो । अहिले उनी आत्मग्लानि गर्छिन्, “मैले जीवनको सुन्दर पक्ष नै देख्न सकिनँ त्यतिबेला, सधैँ नकारात्मक पक्षतर्फ मात्र ध्यान गइरह्यो ।”

केही समयअघि लिंकिन पार्क ब्यान्डका गायक चेस्टर बेनिङ्टनले आत्महत्या गरेपछि सिंगो संसार शोकाकुल भयो । नेपालमै पनि आलोक नेम्वाङ, अनिल अधिकारी (यमबुद्ध) जस्ता चर्चित व्यक्तिले डिप्रेसनका कारण आत्महत्या गरेपछि आममानिसमा केही त्रास उत्पन्न भयो । लाग्छ– हिसाबकिताब राख्न नसकिने बैंक ब्यालेन्स र जीवनमा अपार सफलता भए डिप्रेसनले कहाँ छुन्थ्यो र ? त्यस्तो हुँदो हो त दीपिका पादुकोण, करण जोहरजस्ता नाम चलेका बलिउड हस्ती डिप्रेसनको सिकार हुँदैनथे । संसारले भर्जिनिया उल्फ, सिल्भिया प्लाथ, अर्नेस्ट हेमिङ्वेजस्ता व्यक्तिलाई अल्पायुमै गुमाउनु पर्दैनथ्यो । मानसिक तनाव सामना गर्न सक्ने शक्ति सबैको एकैनास हुँदैन । त्यसैले आत्महत्या गर्नेलाई कमजोरको संज्ञा दिनुअघि त्यस्ता व्यक्तिले जीवनमा भोगेका समस्याबारे जानकार हुन आवश्यक छ ।

सहनशीलताले सीमा नाघेपछि जीवन त्याग गर्ने त छँदैछन्, त्यसैलाई आफ्नो ताकत बनाउने पनि छन् । डिप्रेसनपछि एलेन डिजेनेरसले ‘द एलेन सो’ ल्याइन् । अहिले कैयौँ मान्छे डिप्रेसनबाट मुक्त हुन उक्त कार्यक्रम हेर्ने गर्छन्, एलेनलाई आफ्नो ‘रोलमोडल’ मान्छन् । डिप्रेसनलाई परास्त गर्न संगीतको बाटो रोजेका एमिनेमका गीत सुनेर मानिस आफूमा साहस बटुल्ने गर्छन् ।

डिप्रेसन अचानक हुने कुरा होइन । चरणबद्ध रूपमा विकास हुँदै जान्छ । विकसित देशमा विद्यालय तहदेखि नै डिप्रेसन, बेफाइदा र यसबाट बाहिर आउने तरिकाबारे सिकाइन्छ । तर, नेपालमा उक्त तरिका अपनाउन सकिएको पाइँदैन । डिप्रेसनग्रस्त कसैलाई सहयोग गर्नुपूर्व उनीहरूलाई ‘पागल’, ‘मानसिक रोगी’जस्ता नामबाट सम्बोधन गर्न छाडेनौँ भने समस्या अझ बढ्दै जानेमा कुनै शंका छैन ।

यसै सन्दर्भमा करण जोहरले आफ्नो आत्मकथामा लेखेका छन्,‘पश्चिमी राष्ट्रहरूमा डिप्रेसन ओभर–रेटेड छ, पूर्वका देशमा अन्डर–रेटेड ।’

प्रकाशित: वैशाख ३१, २०७५