समसामयिक

लट्रीमा लुट

- पर्वत पोर्तेल, काठमाडौं

काँकडभिट्टा– सीमावर्ती सहरमा भारतीय ‘लट्री’ किनेर झापाको झिलझिले जाँदै गरेका दुई युवालाई सशस्त्र प्रहरीको भन्सार राजस्व गुल्म काँकडभिट्टाको टोलीले पक्राउ गर्‍यो, तीन महिनाअघि । नेपालमा अवैध मानिएको लट्री नियन्त्रणमा लिएर उनीहरूलाई चेतावनीसहित छाडिदियो ।

झापाको सीमावर्ती क्षेत्र भारतीय लट्री (भाग्य चिट्ठा)का लागि ‘अखडा’ बन्दै गएको छ, पछिल्लो समय । भारतमा खरिद गरिएको लट्री नेपाली दलालहरूले दमकसम्म पुर्‍याएर नेपालीलाई दोब्बर मूल्यमा वर्षौंदेखि खुलेआम बिक्री गरिरहेका छन् ।

कम्तीमा १ हजार भारुदेखि ५१ लाख भारुसम्म नगद जितिने लट्रीको लत कति कडा छ भने सीमाका सयौँ सर्वसाधारण नेपाली फसिसकेका छन् । तिनमा व्यवसायी, विभिन्न कार्यालयका कर्मचारी तथा सर्वसाधारण पनि छन् । “ड्रगभन्दा पनि कडा छ, सिमानामा लट्रीको लत,” स्थानीय पर्यटन व्यवसायी नेत्र कार्की सुनाउँछन्, “हजारौँ नेपाली लट्रीको दलदलमा फसिरहेछन्, दैनिक लाखौँ रुपियाँ भारत पठाइरहेछन् ।”

भारत सरकारले वैधानिकता दिएको लट्री मिजोरम, नागाल्यान्ड, सिक्किम आदि भारतीय राज्य र भुटानमा समेत सञ्चालनमा छ । भारतसँग खुला सीमा जोडिएका काँकडभिट्टा र भद्रपुरसहित धुलाबारी, बिर्तामोडसम्मका स्थानीय लट्रीको 

लतमा फसेका छन् ।

लट्री बिक्रीका लागि भारतको पानीटंकी, बतासी, नक्सलवारी र बागडुग्रा क्षेत्रबाट भारतीय बिक्रेता आउँछन् । दिनमा तीनपटक लट्री खुलाइन्छ । प्रत्येक दिन बिहान ११, अपराह्न ४ र राती ८ बजे खुल्ने लट्रीको परिणाम पनि सोही दिन सार्वजनिक हुन्छ । नेपालमा चिट्ठा बिक्रीकै लागि आधा दर्जन जति दलाल परिचालित छन् । एउटा दलालले दैनिक लाखौँ रुपियाँ लिएर जान्छन् । दलालले नियमित ग्राहकलाई ‘होम डेलिभरी’ सुविधा पनि दिन्छन् ।

दलालले सर्वसाधारणलाई लाखौँ रुपियाँ जित्ने भन्दै झूटो आश्वासन दिएर प्रलोभनमा पार्ने गर्छन् । लट्री टिकटको मूल्य न्यूनतम भारु ५० देखि अधिकतम ४ सयसम्म पर्छ । कहिलेकाहीँ कसैले थोरै रकम जितेको कुरालाई पनि दलालले लट्री बिक्री गर्ने आधार मान्छन् । “मैले मात्रै दिनमा १० हजारभन्दा बढीको चिट्ठा बिक्री गर्छु,” काँकडभिट्टामा भेटिएका एक दलाल भन्छन्, “अरूले अझ बढी बेच्छन् ।”

 कतिपय त भारतीय बजार पुगेर आफ्ना लागि लट्री काट्छन् । बिक्रीका लागि पनि लिएर आउँछन् । तीन महिनाअघि लट्रीसहित झिलझिलेका एक नेपालीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । भाग्य चम्किहाल्छ कि भन्दै भाग्य–परीक्षा गर्ने कतिपयले लट्रीमा घर, जमिनसमेत गुमाइसकेका उदाहरण प्रशस्तै छन् । “आज पर्ला कि भन्दै खेल्यो कहिल्यै पर्दैन,” स्थानीय हरिनारायण चौधरीको अनुभव छ, “लट्रीले धेरैको जहाज डुबिसक्यो ।”

सीमाका बजारमा भारतीय र भुटानी लट्रीको अवैध धन्धा हुने गरेको प्रहरीलाई जानकारी नभएको होइन । तर पनि नियन्त्रण गर्न प्रहरी अक्षम देखिएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी टंक भट्टराई लट्रीको कारोबार अवैधानिक भएकाले कारोबारी फेला पारिए समात्ने दाबी गर्छन् । “हामी ठगियौँ भन्दै कोही पनि आएका छैनन्,” भट्टराई भन्छन्, “सोही कारण नियन्त्रणमा समस्या देखिएको हो ।”

प्रकाशित: वैशाख ३०, २०७५