व्यक्तिचित्र

'त्यसपछि मैले सिकेँ– सम्पत्ति होइन, मान्छे कमाउनुपर्छ' : प्रियंका कार्की

- गोकर्ण गौतम, काठमाडौं

‘धकधक करने लगा...’ ले धूम मच्याउँदा उनी ६ वर्षकी थिइन् । त्यो गीतमा नाच्ने केटीसँग लट्ठ भइन् । फर्फराएको कपाल, अनुहारको भावभंगी अनि शरीरको चालढाल । उनलाई हरखबत त्यही केटीको याद आउँथ्यो । आमालाई सोधिन्, ‘मामु  ! त्यो नाच्ने को हो ?’ आमाको जवाफ हुने गथ्र्यो, ‘माधुरी दीक्षित ।’ उनले उतिखेरै भनिहालिन्, ‘म पनि माधुरीजस्तै बन्छु ।’

आमा त्यतिबेला मुस्कुराइन् मात्र । उमेर बढ्दै गयो । अन्य नातेदार घरमा आउँदा सोध्थे, ‘नानु ! ठूली भएपछि के बन्छ्यौ ?’ उनको उत्तर कहिल्यै फेरिएन, उही ‘माधुरी ।’

हठ पनि कस्तो भने माधुरीजस्तै नाच्न भरत नाट्यम् र क्लासिकल डान्स सिक्न थालिन् । १५ वर्ष नभइन्जेल सिकिइरहिन् । उनको सपनामा कहिल्यै बदलाव आएन । १६ वर्षको हुँदा मिस टिनको उपाधि जितिन् । अहिले ३१ वर्ष पुगिन् । र, फिल्म संख्या र कमाइका आधारमा नेपालकै नम्बर वान् नायिकामा दरिएकी छन्, तीन वर्षयता ।

ती फुच्ची अरू कोही नभएर प्रियंका कार्की थिइन् । ०७४ को अन्तिम दिन प्रियंका अभिनीत लिलीबिली रिलिज भयो । दुई साताअगाडि प्रदर्शित अर्को फिल्म शत्रु गते अझै हलमा थियो । १४ वैशाखमा एकै दिन उनका दुई फिल्म चले, कोहलपुर एक्सप्रेस र ह्याप्पी डेज । अर्थात्, एकैसाथ हलमा चार फिल्म । दुर्लभ संयोग !

त्यसो भए उनको लोकप्रियताको मानक फिल्म मात्र हो त ? होइन, मनोरञ्जन दुनियाँको हरेक क्षेत्रमा उनको ‘होल्ड’ छ । जस्तो : एक दर्जन उत्पादनको सद्भावना दूत हुन् उनी । स्टेज सोका लागि हरेक महिनाजसो विदेश पुग्छिन्, स्वदेश त छँदैछ । इभेन्ट होस्टलाई पनि समय निकालिरहेकी हुन्छिन् । म्युजिक भिडियोका लागि पहिलो रोजाइ उनै हुन् । विज्ञापन उस्तै । बोलीचालीका भाषामा, सास फेर्ने फुर्सद छैन उनलाई । भन्छिन्, “तीन वर्षदेखि एक दिन ब्रेक लिएकी छैन तैपनि काम गरेजस्तै लाग्दैन । किनभने, काममै रमाउँछु ।”

उनीमाथि एउटा आरोप छ, “प्रियंकाको अभिनय कौशलभन्दा जनसम्पर्क दह्रो छ । त्यसैले कामको ओइरो लाग्छ ।” उनी यसलाई नकार्दिनन् । बरू, सीधै भन्छिन्, “हो, मैले नाम र दामभन्दा मान्छे कमाएकी छु । मेरा लागि सम्बन्ध र सम्पर्क अनमोल हुन् ।”

२६ वैशाख मध्याह्न दरबारमार्गस्थित एक क्याफेमा गफिरहेकी प्रियंकालाई सोधियो, ‘यो दिव्यज्ञान कहाँबाट मिल्यो ?’ ‘फ्ल्यासब्याक’मा गइन् अनि ती सबै तीता–मीठा भोगाइ सुनाइन्, जसलाई छिचोल्दै उनी ‘ड्रिम गर्ल’ बनेकी छन् ।

मिस टिनको उपाधि पहिरिनु पहिले प्रियंका ‘जिरो प्रोफाइल’मा थिइन् । तर, ‘ओभरनाइट’ सेलिब्रिटी बनिन् । खासमा जाने–बुझेको केही थिएन तर अन्तर्वार्ता, फोटोसुटमा भ्याइ–नभ्याई । उनलाई अहिले सम्भिँmदा लाग्छ, त्यो कल्पनाबाहिरको प्रसिद्धि थियो । सनसिल्क, डाबरजस्ता गिनेचुनेका बहुराष्ट्रिय कम्पनीका ब्रान्डको विज्ञापन खेलिन्, सहरको जताततै आफ्नै होडिङ बोर्ड देख्थिन् । उनले सुनाइन्, “त्यतिबेला आफूलाई ठूलै भएजस्तो लाग्थ्यो । सम्हाल्नै नसक्ने ख्याति थियो त्यो ।”

जब कान्तिपुर टेलिभिजनमा भिजेका रूपमा आबद्ध भइन्, बल्ल महसुस गरिन्, जिन्दगीमा धेरै सिक्न बाँकी छ । माधुरीजस्तो बन्न फिल्म खेल्नुपर्छ । फिल्म खेल्न पहिले फिल्म बुझ्नुपर्छ । तर, तिनताका नेपालमा फिल्म कलेज थिएन । के गर्ने त ? एक दिन साहसिक निर्णय गरिन्, यहाँको चमकधमक छाड्ने, पढ्न अमेरिका जाने ।

नभन्दै, सपनाको फेरो समात्दै उनी बिरानो मुलुक पुगिन् । “नेपालमा मेरो त्यस्तो चुरीफुरी थियो । तर, अमेरिकामा कसैले सोधखोज नगर्ने । रेस्टुराँमा वेटरको काम गर्नुपर्‍यो,” उनी भावुक हुँदै थिइन्, “त्यही बेला मैले सिकेँ, सम्पत्ति होइन, मान्छे कमाउनुपर्छ । त्यसपछि सबैथोक कमाउन सकिन्छ ।”

अमेरिका बसाइमा सिकेको यही सूत्रलाई पछ्याइरहेकी छन्, आजसम्म । सायद भोलि पनि ।

निर्देशनमा स्नातक र पटकथामा स्नातकोत्तर सकिन् । ६ वर्ष बित्यो । विवाह गरिन् तर पाँच महिनामै सम्बन्धविच्छेद भयो । नेपाल फर्कनु थियो, माधुरीझैँ बन्नु जो थियो । तर, उनी उल्टो बाटो हिँडिरहेकी थिइन् । जस्तो  : अरू फिल्म छाडेर ग्रिनकार्डका लागि अमेरिका पुग्छन्, उनी ग्रिनकार्ड छाडेर फिल्मका लागि स्वदेश फर्किन् । पढ्न नसकेपछि हिरोइन बन्नेको ठूलै हुल छ हामीकहाँ । तर, उनी स्नातकोत्तर गरेकी ।

बिहेपछि हिरोइनको करिअर डुब्छ भन्ने मान्यता छ, त्यस्तै भएको छ पनि । तर, उनी विवाह गरेकी मात्र होइन, डिभोर्सी पनि । त्यसैले नेपाल फर्कुंला तर भनेजस्तो भएन भने के गर्ने  ? बाहिर जति आत्मविश्वासी देखिए पनि मनमा डर थियो । भन्छिन्, “म गर या मरको स्थितिमा नेपाल आएँ । अनिश्चयको भूमरीमा थिएँ तर बच्चैदेखिको सपनाले आँट दियो ।”

प्रियंकालाई सानो संसार र मिसन पैसाबाट अफर आएको थियो । तर, पढाइ छाडेर नेपाल आउन सकिनन् । जब फर्कने निर्णयमा पुगिन्, त्यही बेला प्रसन्न पौड्यालले मेरो बेस्ट फ्रेन्डमा अफर गरे । नाइँनास्ति गर्ने कुरै थिएन । त्यसपछि थ्री लभर्स खेलिन् । भन्छिन्, “दुवै फिल्मका स्क्रिप्ट चित्त नबुझे पनि फिल्म करिअर अगाडि बढाउन खेलेँ ।”

उनले अभिनय गरेको भिजिलान्ते थ्रिडी पनि फ्लप भयो । तर, झोलेले सान्त्वना दियो । मालामा भूत बन्नुपर्‍यो । धेरैले हिरोइनकै रूपमा जम्न नसकेका बेला यस्तो फिल्म नखेल, करिअर बिग्रन्छ भने । तर, खेलिन् । पहिलो पटक उनको कामलाई सबैले प्रशंसा गरे । नाई नभन्नु ल २ मा आमा बन्नुपर्‍यो । अहिल्यै आमा बन्यौ भने तिमीलाई हिरोइनमा कसले खेलाउँछ भन्ने सुन्नुपर्‍यो उनले । यो करिअरको पहिलो ‘ब्लकबस्टर’ फिल्म बन्यो, आधा दर्जन अवार्ड जितिन् पनि ।

त्यसपछि वडा नम्बर ६ बाट प्रस्ताव आयो । सबैले कमेडी कलाकारको भीडमा हराउँछ्यौ, नखेल भने । तर, मानिनन् । यही फिल्मले उनलाई आमदर्शकमाझ पुर्‍यायो । दुस्साहसी निर्णय लिनुको कारण सुनाउँछिन्, “मैले सधैँ चरित्रमा विश्वास गरेँ । आत्माको आवाज सुनेँ ।”

६ वर्षको बीचमा प्रियंका अभिनीत दुई दर्जन फिल्म रिलिज भए । नाई नभन्नु ल २, ३ र ४, वडा नम्बर ६, छक्का–पञ्जा, छक्का–पञ्जा २, शत्रु गतेलगायतका फिल्म सुपरहिट भए । यसले प्रियंकालाई उचाइमा पुर्‍यायो । तैपनि, अभिनेत्रीका रूपमा अपेक्षा पूरा गर्न नसकेको स्वीकार्छिन् उनी । भन्छिन्, “अरूको के कुरा गर्नु, मेरो फिल्म र भूमिकामा म आफैँ सन्तुष्ट हुन सकेकी छैन । कामलचाउ मात्र हुन् ।”

‘चुजी’ हुन नसक्ने पीडा पोख्छिन् उनी । बजार सानो छ, एकाध फिल्म खेलेर मात्र जीवन चल्दैन । भन्छिन्, “म काम नगरी बस्नै सक्दिनँ । आफूले पाएको भूमिकालाई जीवन्त बनाउने प्रयास गरिरहेकी हुन्छु ।” आउँदो वर्ष आपैँmले निर्माण गर्ने फिल्मबाट अभिनय र चरित्रप्रतिको प्यास मेट्ने धोको छ, उनको ।

बाहिरबाट जति धेरै सफल र खुसी देखिए पनि कहिलेकाहीँ दिक्क लाग्दो रहेछ । फिल्मवृत्तभित्रै एकअर्काले खुट्टा तान्छन् । अनुभव र दक्षताबिनै निर्देशक बन्छन्, निर्माताको गर्लफ्रेन्ड वा आफन्त बनेर हिरोइन हुन्छन्, अभिनय कौशलबिनै पैसा हालेर हिरो बन्छन् । आफ्नो असली विश्लेषणमा होइन, आत्मरतिमा रमाउँछन् । उनलाई लाग्छ, यस्तो प्रवृत्तिले समग्र नेपाली फिल्म उद्योग र यसमा कार्यरत कलाकर्मीको साख घटाउँछ ।

अचम्म के भने प्राय: सेलिब्रिटीको ‘स्क्यान्डल’मा परेपछि करिअर डामाडोल हुन्छ । प्रियंका बरोबर विवाद र लफडामा फस्छिन् । तर, हरेक पटक सहज व्यवस्थापन गर्छिन् । कतिपय विवाद त उनको व्यस्तता उकास्न सहायक बनेका पनि छन् । अधिकांश हिरोइनलाई प्रेम–सम्बन्धले करिअरमा धक्का दिन्छ । तर, आयुष्मान देशराज जोशीसँगको ‘अफेयर’ सार्वजनिक भएपछि उनको ‘क्रेज’ ह्वात्तै बढ्यो । फिल्म, भिडियोदेखि विज्ञापनसम्म एकैसाथ देखिन थालेका छन् । उनी भन्छिन्, “म तीन घन्टा सुत्दा पनि दिनमा फ्रेस र उत्साही देखिन्छु । अल्छी महसुस हुँदैन । यो सबै प्रेमको कमाल हो ।” उनकै शब्दमा, आयुष्मान उनका लागि ‘बम्पर ज्याकपट’ हुन् ।

हालै २० लाख रुपियाँ भारुमा ब्रिटानिया बिस्कुटको सद्भावना दूत बनेकी छन् । कथा काठमाडौँ, नाई नभन्नु ल ५ र चंगाचेट प्रदर्शनका क्रममा छन् । अरू आधा दर्जन फिल्मको पटकथा पढिरहेकी छन् । म्युजिक भिडियो र स्टेज सो त असंख्य । व्यक्तिगत र व्यावसायिक दुवै हिसाबले यो उनको ‘गोल्डेन टाइम’ हो । तर, कहिलेसम्म ?

त्यसमाथि हिरोइनको आयु छोटो हुन्छ भनिन्छ । गालामा चाउरी पर्न थालेपछि कसले खेलाउने ? भोलि सम्झेर कत्तिको डर लाग्ला ? यी प्रश्नले एकछिन मौनता छायो उनमा । केही गम्भीर देखिइन् । त्यसपछि एकाएक मुहारमा चमक छायो । “नाचगान र रोमान्स गर्ने हिरोइन उमेरसँगै साइड लाग्छन् । तर, म अभिनय र चरित्र दुवैमा विश्वास गर्छु,” उनले आत्मविश्वाससाथ भनिन्, “तपाईं लेखेर राख्नूस्, म ८० वर्षे हुँदा पनि अभिनय गरिरहन्छु ।”

प्रकाशित: वैशाख ३०, २०७५