विचार

किस्तामा अल्झेको जिन्दगी

- विश्वास हमाल, काठमाडौं

विदेश छिरेको केही वर्षपछि पहिले ड्राइभिङ लाइसेन्स अनि त्यसपछि मुस्किलले जिन्दगीको पहिलो गाडी किनेँ । नेपाल छँदा आफ्नो औकातभन्दा धेरै टाढाको सपना अहिले साकार हुँदा केही महिना जिन्दगीमा धेरै बहार पनि ल्यायो । त्यो थोत्रो गाडीले मेरो जीवनमा मात्र होइन, नेपालको घर, छरछिमेक र आफन्तबीच पनि ठूलै चर्चा पायो । फोन र म्यासेजहरू आउन थाले । भन्न त मन थियो, यो देशमा थोत्रा गाडी चढ्नु र नेपालमा मोटरसाइकल चढ्नु उस्तै हो । तर, भनिनँ । वास्तवमा विदेशमा आफ्नो गाडी हुनु न ठूलो कुरा हो, न त प्रगति गरेको मापदण्ड नै । नेपालमा भन्दा विदेशमा मोटरगाडी झन्डै आधा सस्तोमा पाइन्छ । नेपालमा मोटरसाइकल किन्ने पैसाले कामचलाउ कार आउँछ । मोटरगाडीमा नेपाल सरकारले विश्वमै महँगो कर लगाएको छ, जसले गर्दा मध्यमवर्गीय नेपालीको अझै पनि आफ्नै चारपांग्रे साधन हुनु ठूलो कुरा मानिन्छ ।

घर–परिवार र देशबाट टाढा भए पनि विदेशमा सुरुआती दिनमा नयाँ ठाउँमा संघर्ष गर्दा जीवन रोमाञ्चक नै हुन्छ । उनीहरूले गाडीको वरपर, समुद्रको छेउमा र सपिङ मलमा बसेका फोटाहरू सामाजिक सन्जालमा राखिरहँदा नेपालमा कतिलाई लाग्दो हो, त्यस्तो जिन्दगी पो जिन्दगी ! तर, त्यसभित्रको वास्तविकता न कसैले सामाजिक सन्जालमा पोख्छ, न त कसैले सोध्छ । त्यसका लागि विदेश नै आउनुपर्छ ।

विदेशतिर अरूले भनेको त्यति सुनिँदैन । तर, हामी नेपाली–नेपालीबीच भने निकै सुनिने वाक्य हो, ‘काम सानोतिनो हुँदैन, काम भनेको काम हो ।’ धेरैले भन्ने गर्छन्, विदेशमा सबै कामको कदर हुन्छ । हो, काम भनेको काम नै हो । तर, सबै काम उस्तै हुँदैन । यहाँ पनि अनेक किसिमका काम हुन्छन्– थोरै पैसा आउने काम, धेरै पैसा आउने काम, दक्ष काम, अदक्ष काम, सजिलो काम, अप्ठ्यारो काम, आफूले गर्ने काम, गराउने काम । हाम्रो देशमा जस्तो थोरै पैसा आउने र तल्लो दर्जाको भनिने काम गर्नेलाई अपहेलना नगरिए पनि उसको व्यक्तित्वसँग कहीँ न कहीँ पेसा जोडिएको हुन्छ । राम्रो पक्ष, जे काम गरे पनि सामान्य गुजारा चलाउन आर्थिक समस्याचाहिँ नेपालमा जस्तो ।

सुरुआती दिनको संघर्ष, पढाइपछि बैंकले पत्याउने जागिर भएपछि विदेसिएका हामी नेपालीको फेरि अर्को सपना सुरु हुन्छ– आफ्नै घर किन्ने सपना । केही अपवादबाहेक सबैले बैंकबाट ऋण लिएर किस्तामै किन्ने हो घर । नेपालमा जस्तो एकैपटक पैसा तिरेर घर किन्ने या बनाउने हैसियत औँलामा गन्ने नेपालीको मात्र हुन्छ । सयौँ वर्षको इतिहास बोकेका भारतीय आप्रवासीजस्तो धेरै अगाडि बढिसकेको छैन नेपाली आप्रवासी समुदाय । सायद अबको दोस्रो पुस्ताको कथा अलि फरक हुनेछ ।

घरको ५ देखि १५ प्रतिशत जति रकम बुझाएपछि फेरि सुरु हुन्छ अर्को लामो सम्बन्ध– २०–२५ वर्षको किस्ताको बन्धन । किस्तै–किस्ताको जिन्दगीमा अर्को किस्ता । तर, नेपालतिर आफन्त र घर–परिवारमा खुसी छाउँछ । हो, घर र फ्ल्याट हुनु र किस्तामै भए पनि किन्न सक्नु त्यति सानो उपलब्धि पक्कै होइन । तर, नेपालतिर लाखौँ–करोडौँको मालिक भए भन्ने एक किसिमको नमिल्दो प्रभाव आफन्तलाई जाँदो रहेछ । यसमा आफूले पनि स्पष्टसँग भन्न नसक्ने या नचाहने प्रवृत्तिले गर्दा विदेशमा त पैसाको खानी नै रहेछ भन्ने नकारात्मक प्रभाव जाने सम्भावना पनि देखिन्छ । यदि वास्तविकता सबैलाई बुझाउन सकियो भने पनि विदेशमा सुख र पैसा मात्र छैन भन्ने सन्देश जान सक्छ ।

किस्तै–किस्ता र क्रेडिट कार्डले झेलिएको विदेशी जिन्दगीमा घर–गाडी र सामाजिक सन्जालको चमकधमकभित्रको वास्तविकता यस्तो हुन्छ कि कति महिना त पैसाको अनुहार कस्तो छ, देख्नै पाइँदैन । महिनामा एक दिन आउने तलब बिहान इन्टरनेटको तारबाट आउँछ, साँझसम्म त्यही तारबाट किस्ता तिर्दै सकिन्छ । यो किस्ताको उल्झनमा यसरी फसिएको हुन्छ कि यो जालोबाट निस्कन हम्मेहम्मे नै पर्छ सबैलाई । यो सबै चट्टै छाडेर नेपाल फर्कन पनि सकिँदैन । अझ त्यसैमा अथाह हन्डर खाएर विदेश छिरेको हुन्छ । पहिले आफ्ना लागि अनि बाबुआमाका लागि बसियो । अब फेरि छोराछोरीका लागि बस्छु भनेर चित्त बुझायो ।

त्यसैमा एक–दुई वर्षमा एकपटक परिवारलाई भेट्न जान मन लाग्छ । वर्षभरि जम्मा पारेको बिदा र क्रेडिट कार्ड भरपुर प्रयोग गरी देश फर्कंदा सबै दु:ख नै बिर्सिइन्छ । अझ त्यसमा साथीभाइ र आफन्तले विदेशबाट आएको भनेर महत्त्व दिँदा म ठूलै मान्छे पो हो कि भन्ने भ्रम पलाउँछ । ओहो ! जिन्दगीमा केही त गरेछु भन्ने भ्रममा गाउँघरतिर विदेशको गफ हाँक्दा समय गएको पत्तै हुँदैन । केही साताको नेपाल बसाइपछि फेरि सुरु हुन्छ– घर, गाडी र सानो–ठूलो नहुने कामको जिन्दगी ।

प्रकाशित: वैशाख २६, २०७५