साहित्य

भोजको लयमा लोकतन्त्रको रक्षा

- खगेन्द्र संग्रौला, काठमाडौं

ख्यालख्यालमै जेबी फोनमा लत बसेपछि ल्यान्ड लाइन नामक टेबुलबासी फोन मेरो ध्यानदृष्टिबाट वञ्चित भयो । ठीकै हो । जे ढ्याके र अचल छ, गतिमान् समय त्यसलाई छाडेर अघि बढ्छ । जे पछि छुट्छ, त्यो शनै:शनै: विस्मृतिको गर्तमा विलीन हुन्छ । र, परिवर्तनशील जगत्मा जे छरितो र चलायमान छ, त्यो मात्र समयसँगै गतिमान् हुन्छ । छरितो एवं चलायमान यो जेबी ब्रोसँग जब मेरो उपयोगिताको साइनो प्रगाढ भयो, टेबुलबासी ढ्याकेलाई मैले छुनै छाडेँ ।

टेबुलबासी अचल फोन मेरो सिरानीको समीपमा छ । यदाकदा जब यो किरिङकिरिङ बज्छ, मलाई उठाऊँ कि नउठाऊँको दोमन हुन्छ । नित्य सम्पर्कमा रहेको मनुवा भए अवश्यै मेरो जेबी यन्त्रमा फोन गर्दो हो, आ...बजिरहोस् भनेर म प्राय: सुनेको नसुन्यै गर्छु । तर, कहिलेकाहीँ खसखस लाग्छ– संकटमा परेको कोही मनुवा यसो गुहार माग्दै पो होला कि ! अथवा, कोही केही जरुरी खबर सुनाउन पो खोज्दैछ कि !

किरिङकिरिङ घन्टी बज्यो र फोन उठाएँ ।

“नमस्ते, म कृष्ण पहाडी ।”

यो बिलकुलै नचिताएको फोन थियो । मान्यवर पहाडीसँग नितान्त कामकाजी र औपचारिक प्रसंगमा मात्र फोनमा मेरो भेट हुन्छ । अहिले एक जुगपछि भेट भयो । हत्तपत्त कुशलताको सोधनीपछि पहाडीजीले आफ्नो खहरे बोलीमा एक राउन्ड मेरो तारिफ गर्नु भो । कुरैकुरामा भन्नु भो, “म ट्वीटर चलाउँदिनँ । तैपनि, अफिसमा ट्वीटरमा म तपाईंलाई भेट्दैछु । तपाईंको अभिव्यक्तिको पृथक् शैली मलाई मन पर्छ । त्यसो त हैट् पनि मलाई मन पर्छ ।” यसपछि पहाडीजीको वचनमा झुन्डिएर युरोपेली युनियन आयो । र, भन्नु भो, “आरक्षणबारे तपाईंको टिप्पणी भन्ने मुख ठीक हो कि होइन म जान्दिनँ, भन्या कुरामा चाहिँ दह्रो दम छ है मान्यवर पनि मलाई मन परो ।”

यो साँच्चि नै मेरो तारिफ हो कि आफ्नो कुरो भन्न यसो मेसो मिलाएको मात्र हो, मैले बुझिनँ । सोचेँ, सबैलाई सधैँ भन्ने गरेझैँ यो केवल थेगोतुल्य औपचारिकता हुन सक्छ । जे होस्, त्यसपछि सुरु भयो पहाडीजीको गाँठ्ठी कुरो । “लोकतन्त्रको बिदा काटियो ।” उही फरर शैलीमा पहाडीवाणी गतिमान् भयो, “लक्षण राम्रो छैन । लोकतन्त्रमाथि कालो बादल मडारिन लाग्याजस्तो छ । अब फेरि हाम्रो भेट, सजगता, सहकार्य, हस्तक्षेप, खबरदारी जरुरी.....।”

बल्ल कुरो खुल्यो, पहाडीजीलाई लोकतन्त्रमाथिको घातक कालो बादलको चिन्ता रहेछ । र, यो चिन्ताबाट मुक्त हुन पहाडीजीको कमान्डमा रहेको शान्ति समाज भोजको चाँजो मिलाउँदै रहेछ । मित्रले मलाई सविनय भोजको निम्ता दिनु भो ।

“दस मिनेट मात्रको उपस्थिति भए पनि.....!”

निम्तालुहरूलाई भोज खुवाएर लोकतन्त्रका बैरीहरूको तेजोबध गर्ने यो जुक्ति सुन्दैमा मलाई बडो मजा लाग्यो । यो अनिकालमा भोज खुवाउने, त्यो पनि अरूले होइन, मानव अधिकारमार्गी शान्ति समाजले  † त्यो पनि जस्ता–तस्ताको होइन, किफायती सादापन, सात्विक जीवन, स्वतन्त्र–चेत, इमान र स्वाभिमानका अटल र अथक पैरवीकार पहाडीजीको शान्ति समाजले ! र, भोज खान सप्रेम निम्त्याइने म भाग्यमानी अल्छे !

“हुन्छ, पहाडीजी !” दायाँबायाँ केही नसोची मैले ट्याक्क लोकतन्त्रका लागि भोज खाइदिने बाचा गरेँ ।

वास्तवमा म भोजप्रेमी मनुवा किमार्थ होइन । भीड, कोलाहल, भावनाहीन रोबोटीय मुस्कानको नाटकीय आदान–प्रदान, व्यर्थको नखरे चियापान, व्यर्थको फजुलखर्ची भोज....। लाग्छ, त्यो मेरो ठाउँ हुँदै होइन । र, नै सितिमिति म त्यता जान्नँ । जिन्दगीमा दुईवटा चियापानमा म सामेल भएको छु । एउटा एमालेको बल्खु दरबारमा, अर्को टुक्राटुक्रामा चिरा पर्नुअघिको माओवादीको भृकुटीमण्डपमा । सत्ताको सुस्वादु तरले बोसो लागेको एमालेको चियापान शान्त, सुस्त र सन्तुष्ट खालको थियो । माओवादीको चियापान थियो किञ्चित् अशान्त, जीवन्त र असन्तुष्ट खालको । माओवादीमा त्यो बेलासम्म परिवर्तनमुखी आदर्श, घर्षणकारी आवेग र लडाकू अठोट मरिसकेको थिएन ।

आउन त मलाई मोजमुखी भोजका निम्ताहरू घरीघरी आइरहन्छन् । तर, म जान्नँ । राष्ट्रपति र प्रधानमन्त्रीका दरबारमा अनेक अवसरमा राज्यको कोष धुतेर खिलाइने जलपान र भोजनका निम्तामा म कहिल्यै गएको छैन । प्रिय मित्र बाबुरामजी प्रधानमन्त्री हुँदाको २७ लाख थैलोको चित्ताकर्षक चियापानमा धरी म बालुवाटार दरबार गइनँ । अब मान्यवर पहाडीजीकोमा ?

ख्यालख्यालमै बचन गिर्‍यो । र, पिँढीमा बसेर, निधार मुजा पार्दै म गम खान थालेँ । मलाई फेरि पनि चियापान र भोजन झ्वामको व्यर्थको आयोजना, कृत्रिम अभिनयको ढोँङ र कुटिल नाटकीयताभित्रको मिथ्यापनाको अप्रीतिकर अनुभूति भयो । र मैले निधो गरेँ, आ...जान्नँ । मनै नलागी कन्दै भोज खान जानु पनि के जानू ? जान्नँ भनेपछि म जान्नँ, जान्नँ । ल जा !

नभन्दै म गइनँ । तर, चञ्चल मनको चुलबुले तरङबाट भने भोजको प्रसंग पन्छिन पटक्कै मानेन । संकटग्रस्त लोकतन्त्रको रक्षार्थ भोज खाइदिन उदारमना जन कोको आउलान् ? मानव अधिकारको रुमानी रङ लेपन गरिएको लोकतान्त्रिक भोजमा पाक–परिकार केके होलान् ? भोजको वातावरण मोजमय होला कि रंगहीन र रसहीन होला ? भोजको थलोबाट मेरा जिज्ञासु कानमा जेबी फोनमा बडो प्रेमी वचनमा प्रत्यक्ष प्रसारण सुरु भयो । प्रसारणले भन्यो, नागरिक आन्दोलनका अनन्य मित्र कृष्ण खनाल, अनुभव अजीत, विमल अर्याल, भास्कर गौतम आदि लोकतन्त्रको रक्षा गर्न संघर्षशील मुद्रामा भोजमा भिडिरहेका छन् । केही आउला र खाउँला भन्दै बाटो हेर्दा आलु आयो । आलुमा पहाडीजीको सात्त्विक भोजनका सीमित आइटममध्येको प्राथमिक छनोट र स्वाद झल्क्यो । र, आलु हेर्दै आलुका सिकारीहरूको एक फाँको हाँसो वायुमण्डलमा गुञ्जियो । परिकार सुँग्दै अलि पर जानु के थियो, भोजकर्मीहरूका मनै हरर हुने प्रिय परिकार दृष्टिगोचर भयो । त्यो चिकेन नामक मुलायम मांस थियो । होइन, कहाँ जान्छु भनेर हिँडेको यो कहाँ पुगियो ? मासुको चर्चा वा सम्झना मात्र हुँदा पनि चर्को नाकनिक गर्ने अति शुद्धतावादी पहाडीजीद्वारा आयोजित भोजमा कुखुराको मासु ? अझ पर जाँदा अर्को झनै चर्को आश्चर्यको आविष्कार भयो । हैट्, खसीको मासु पनि पो देखियो ! शान्ति समाजको शान्त र सौम्य होला भनी कल्पना गरिने भोजमा खसीजन्य जन्तुको तामसी मासु ? राम ! राम !!

चिकेन र मटन भकाभक उदरस्थ गर्दै मिस्टर खनाल, श्री अजीत, श्रीमान् अर्याल, मान्यवर गौतम आदि भोजनसेवीहरू त्यसैत्यसै मखलेल भए । सके तिनलाई लाग्यो, लोकतन्त्रको रक्षार्थ मांसमय भोजन ग्रहण गर्न नआइएको भए जिन्दगीभरि पछुतो हुने रहेछ !

जेबी फोनको प्रत्यक्ष प्रसारण अब भोजको दृश्य र पात्रहरूको रमितलाग्दो विविधतातर्फ उन्मुख भयो । सुस्वादु भोजन टन्न ग्रहण गरी लोकतन्त्रको रक्षामा यथेष्ट योगदान गर्न भोजमा को मात्रै आएन ? राप्रपाको राजसेवी र जनपीडक एवं परिपक्व मण्डले आएन कि ? उन्मादी सत्ताको झन्डावाल र डन्डावाल मन्त्री आएन कि ? विकासे नागरिक समाजको गाला चिटिक्क, ओठ मुसुक्क र खल्ती पुटुस्सवाले आत्मसेवक आएन कि ? गजप भयो ! बहुलवादको जमानामा अकल्पित र विरल भोजमा न दृश्यको विविधतामा कुनै कमी भयो, न त पात्रको विविधतामा कुनै अपूर्णता रह्यो ।

सनातनी दृष्टिले हेर्दा शान्ति समाजको भोजको खान्कीको बान्की, उपस्थितिको चरित्र र भीडको आकार कसोकसो असुहाउँदो र अडमिल्दो लाग्न सक्छ । तर, नवीन कोणबाट सम्यक् दृष्टिले नियाल्दा यसमा गम्भीर चिन्तन, गहन अन्वेषण र विरल प्रयोग दृष्टिगोचर हुन्छ । अँ, जमाना नयाँको छ । पुराना विचार, विधि र शैलीलाई कुल्चिँदै मानौँ, विचारविहीन प्रतीत हुने नयाँ शक्तिको कल्पना गरिन्छ । साझा–विवेकशीलको अमूर्त आकारको, नयाँ उत्तेजनामा नयाँ आनन्द खोज्ने रुमानी ध्वजा उठाइन्छ । शान्ति समाजको लोकतन्त्र–रक्षक भोज सायद चिन्तनका यी नूतन चेष्टाहरूबाट न्यूनाधिक प्रेरित र प्रभावित छ । पुर्खाले कोरेको र खुँदेर बासी बनाएको गोरेटोमा आँखा चिम्लेर लुखुर–लुखुर हिँड्ने मति त बूढो गोरुको पो हो † जीवन्त र गतिमान् मानिस त नयाँ सोच्छ, नयाँ गर्छ र नयाँ सिर्जन्छ । शान्ति समाजको शान्त, स्वादिष्ट र आनन्दी भोज सायद नयाँको यही नयाँ शृंखलाको नवीनतम् कडी हो ।

हो, म पनि भन्छु– लोकतन्त्रमाथि खतराको कालो बादल मडारिएको खसोखास साँचो हो । यो बादलको स्रोत कताको के र को हो ? मलाई लाग्छ, यसका स्रोत दुईवटा छन् । एउटा स्रोत मृत राजतन्त्रलाई मसानघाटबाट फर्काउन बूढी भैँसीझैँ कनिरहेको राप्रपा नामक दरबारको भूपू द्वारपाले हो । र, अर्को स्रोत हो, दुई तिहाइको उन्माद र अहंकारले मैमत्त अतिशय कल्पनावेगी एवं स्वप्नजीवी सरकार । भोजमा यी दुवै तत्त्व ससम्मान आमन्त्रित र हाजिर छन् । अहो ! लोकतन्त्रको रक्षार्थ आयोजित भोजमा लोकतन्त्र भक्षकको उपस्थिति † के हो यो विचित्र ?

यो एउटा अकल्पनीय प्रयोग हो । नयाँ प्रयोगमा सदैव कष्टकर जोखिम निहित हुन्छ । र, जहिले पनि र जहाँ पनि यो विवादास्पद नभई छाड्दैन । ग्यालिलियोले नयाँ प्रयोग गर्दा पोप–पादरी–पण्डाहरूले दिनुबिधि दु:ख दिए । शुकरात, ब्रुनो, चाल्र्स डार्बिन चरम हुर्मतको सिकार भए । र, माक्र्स, गान्धी, मार्टिन लुथर किङ...। जीवनको सनातनी गोरेटोमा हिँड्न अभ्यस्त लोक नयाँदेखि डराउँछ । र, ऊ कूपमण्डूक भई पुरानोमा टाँस्सिएर नयाँलाई कोपिलामै बध गर्न हठ गर्छ । शान्ति समाजको प्रयोगशील भोज मात्र कसरी अपवाद होला र ? तर, सत्य थरीथरीका आक्रमण, उपहास र कटाक्षलाई झेलेर, लडेर र लोक–मानसमा रिझे–भिजेर अन्तत: विजयी भएरै छाड्छ । उदात्त उद्देश्यले ओतप्रोत शान्ति समाजको पुष्टकारी भोजको नियति मात्र किन अन्यथा हुँदो हो र ?

अँ, अब आनन्ददायी भोजको अदृश्य र अप्रकट अभिप्रायबारे अलिकता विचार गरौँ । लोकतन्त्र–रक्षक भोजमा लोकतन्त्र–भक्षकहरू निम्तालु हुनुमा म सुविचारित कार्यनीतिक चातुर्य देख्छु । त्यो के हो ? त्यो भक्षकहरूको हृदय परिवर्तनको प्रयोगशील चेष्टा हो । लोकतन्त्रका भक्षकहरू जब मीठो–मसिनो भोज ग्रहण गर्छन्, ती प्रसन्न हुन्छन् । ती सन्तुष्ट हुन्छन् । ती त्यसैत्यसै आल्हादित हुन्छन् । र, तिनका कठोर चित्तमा लोकतन्त्रप्रति कोमल करुणाभाव जागृत हुन्छ । र, बिनानिर्मम घर्षण, बिनापीडामय झडप, बिनामर्मान्तक रक्तपात एवं बिनाकष्ट र क्लेश लोकतन्त्रको रक्षा हुन्छ । जीवनमा सहज रूपले सुगम तेर्सो बाटो फेला पर्छ त कठिन उकालो बित्थामा किन हिँड्नू ? हिँड्न जो जिद्दी गर्छ, म भन्छु– त्यो मूर्ख हो ।

नीति वचन पुर्खाहरूले पुस्तापुस्ता गरी आर्जन र सञ्चय गरेको अमूल्य अनुभवको फटिक र कञ्चन निथार हो । यस्तै एउटा निथार भन्छ– मृदंगो मुख लेपेन करोति मधुर ध्वनिम् । अर्थात्, मुखमा मिष्ठान्न लेपन गरिएपछि मादलबाट मधुर ध्वनि निस्कन्छ । सोहीपरी लोकतन्त्र–भक्षकहरूका मुखमा जब शान्तिमय भोजको मीठो मासुभात पर्छ, तिनका हर्षले गद्गद भएका कण्ठबाट मादलको जस्तै मधुर गुन्जन प्रकट हुन्छ । अनि ? अनि, बच्यो त लोकतन्त्र !

लोकतन्त्र घर्षणकारी आन्दोलनको बलिबेदीबाट प्राप्त एक सुन्दर उपहार हो । र, यो अटल र अथक संघर्षको बगैँचामा फुलेको सुन्दरतम् फूल हो । जसले आफ्नो एक बारको जुनी बलि चढाएर लोकलाई यो दुर्लभ उपहार दिए, ती धन्य हुन् । निरंकुशताको गोलीले आफू सडकमा ढलेर हामीलाई स्वतन्त्रता दिने ती त्यागका प्रतिमूर्ति नमनीय हुन् । र, सदैव स्मरणीय हुन् ती । अहिले हामी जो लोकतन्त्रको यो रंगीन भोजमा मस्त मुद्रामा छौँ, हामी ठूलो संयोगले बाँचेका हौँ । पिरो अश्रु–ग्यास र निर्मम लाठा खाँदै छातीमा गोली थापेर लोकतन्त्र ल्याइयो, खुसीको कुरा, अब यसैगरी मगनमस्त चालले भोज खाएर लोकतन्त्र बचाइन्छ । जगत्ले सुनोस्– अबलाई जोखिमका दिन सकिए । कष्टका दिन अब अतीत भए । संग्रामी रक्तपातको दारुण कथा अब फेरि कहिल्यै नदोहिरिने गरी इतिहासमा थान्को लागेको छ । आक्रोश र आँसुले चर्को चीत्कार र थकानपछि अब विश्रामको आनन्द पाएका छन् । आखिर कसरी सम्भव भयो यो सब ? म ठोकेर भन्छु– यो सब यही शान्ति समाजको शान्तिमुखी भोजको दिव्य आवि ष्कार हो । र, यसैको बिछट्टको योगदान हो ।

म बडो भाग्यशाली रहेछु । बुढेसकालमा लोकतन्त्रका व्याधाहरूसँग जुध्न फेरि सडकमा ओर्लिनु पर्ला भन्ने मलाई कत्रो चिन्ता थियो ! अब त्यो चिन्ता मारिमेटी दूर भयो । र, मन भयो मेरो त्यसैत्यसै फुरुंग । चल्तीको रुढ भाषामा भनूँ भने नागरिक आन्दोलनका एक अग्रदूत मान्यवर कृष्ण पहाडीको यो नूतन र अनुपम आविष्कारको जति बखान गरे पनि थोरै हुन्छ । मान्यवर, भोजदायी शान्ति समाजको सतत जय होस् !

प्रकाशित: वैशाख २५, २०७५