जीवनशैली

दोस्ती दुई दीपकको

- गोकर्ण गौतम, काठमाडौं

‘तिम्रो त्यो हँसिलो मुहारको

झझल्को जब आउँदा...’

भक्तपुरस्थित एसओएस स्कुलमा संगीत पढाएर दीपक जंगम गाडीमा घर फर्कंदै थिए, रेडियो नेपालबाट यो गीत बज्यो । बाँसुरीको नवीन प्रयोग अनि उच्चकोटीको गायनशैली, जंगमको ध्यान तानिहाल्यो । झट्ट सुन्दा लागेछ, राम खरेलको स्वर हो । तैपनि, ढुक्क थिएनन् । गीत सकिएपछि प्रस्तोताले कौतूहल मेटिदिए, ‘भर्खरै सुन्नुभयो, शम्भुजित बाँस्कोटाको शब्द/संगीत अनि दीपक खरेलको स्वर...।’ आफ्नै नामसँग मिल्ने नयाँ गायक को आएछ !

जमलस्थित राष्ट्रिय नाचघरमा सांस्कृतिक कार्यक्रम भइरहेको थियो, हातमा माइक बोकेर एक गायक स्टेजमा कुद्दै आए, उत्साहले भरिएर । सबै दर्शकको ध्यान उनैतिर । ती गायकको आगमनले स्टेजनजिकै रहेका दीपक खरेललाई एल्भिस प्रिस्लेको याद दिलायो । अंग्रेजी गायक प्रिस्लेको यस्तो शैली विश्वभर चर्चित थियो । साँच्चि, खरेललाई प्रिस्ले सम्झाइदिने ती गायक को होलान् ? उनी अरू कोही नभएर दीपक जंगम थिए ।

यी प्रसंग हुन्, विसं २०३५ तिरका ।

५ वैशाखमा ४० वर्षअगाडिको सम्झना सुनाउँदा जंगम र खरेल दुवै रोमाञ्चित बने । जंगम मुस्कुराए, “त्यतिबेला  सँगै एकाध काम गरिएला भन्ने त थियो । तर, यति लामो सहकार्य होला भन्ने कल्पनै थिएन ।” नेपाली संगीत आकाशमा दुई दीपक नामजस्तै ‘दीपक’ बनेका छन्, जंगम कालजयी कम्पोज र खरेल गायनबाट । अब्बल दर्जाका यी सर्जकको सांगीतिक सहयात्रा नै २५ वर्ष पुगिसकेको छ । यसबीचमा उनीहरूका चार एल्बम निस्किए  । र, दर्जनौँ फुटकर गीत । सबै श्रुतिमुधर । तर, उनीहरू संगीतका कारण मात्र होइन, व्यक्तिगत आनीबानी र स्वभावले पनि असाध्यै समीपमा छन् । खरेल कारण सुनाउँछन्, “मुख्य कुरा, हाम्रो ‘वेभलेन्थ’ मिल्छ ।” यही दोस्तीको कथा हो यो ।

‘तिम्रो त्यो हँसिलो मुहारको...’ गाउँदा खरेल २० वर्ष टेक्दै थिए, यही गीतले उनलाई आमश्रोतामाझ चिनायो । तिनताका रेडियो नेपालमा दैनिक ४–५ पटक ‘फर्माइस’मा बज्थ्यो । जहाँ पनि ‘वान्स मोर’ पाउँथ्यो । अहिले भए ‘भाइरल’ भनिन्थ्यो होला । जवान छँदै यस्तो क्रेज थियो खरेलको । यता, जंगम गायन र कम्पोजमा एकसाथ सक्रिय थिए । तर, स्थापित हुन सकिरहेका थिएनन् । जब गायन थाती राखेर कम्पोजमा लीन हुन थाले, एक्कासि ‘लाइमलाइट’मा आइहाले ।  नारायणगोपाल, गुलाम अली, मेहदी हसनजस्ता दिग्गजका लागि गीत सिर्जने अवसर मिल्यो । प्राय: गीतले श्रोताको मन जिते पनि । यसरी दुवै दीपक शिखर चुम्दै थिए । तर, सामान्य चिनापर्चीमै सीमित थियो सम्बन्ध । किनभने, त्यतिबेला खरेलको शम्भुजित बाँस्कोटा र गीतकार राजेन्द्र रिजालसँग ‘टिमवर्क’ थियो । जंगमलाई वरिष्ठ गायक–गायिकाका लागि कम्पोज गर्दैमा भ्याई–नभ्याई हुन्थ्यो । उनले खरेलतिर फर्कंदै भने, “आक्कल–झुक्कल भेट्दा सँगै काम गर्नुपर्छ त भनिन्थ्यो । तर, त्यो सौभाग्य जुरिरहेको थिएन, है ?” खरेलले सहमति जनाए ।

त्यसो भए कहिले र कसरी जुर्‍यो त त्यो मौका ?

पचासको दशकको सुरुआतमा राष्ट्रिय नाचघरको महाप्रबन्धक थिए, जंगम । एक दिन संयोगले खरेलसँग भेट भयो । खरेलले फ्याट्टै भनिदिए, “पुरानो मित्रतालाई व्यावसायिक बनाउनुपर्‍यो । तपाईं कम्पोज गर्नूस्, म गाउँछु ।” खरेलजस्ता गिनेचुनेका गायकबाट यस्तो प्रस्ताव आएपछि जंगमले नकार्ने कुरै भएन । त्यसकै प्रतिफल हो, ‘सम्झनाको गोरेटोमा...।’ जंगम सम्झिन्छन्, “यो गीत रेकर्ड गर्दा हामीलाई पहिलो पटक काम गरेजस्तो असहज भएन । स–साना कुरामा पनि सल्लाह गरियो । उहाँको क्षमता र लगाव देखेर प्रभावित भएँ ।” खरेललाई किन पनि विशिष्ट गायक मानिन्छ भने नारायणगोपालको एकछत्र राज भइरहेका बेला आफ्नो बेग्लै पहिचान बनाउन सफल भए । यता, जंगमको कम्पोजको गहिराइबाट खरेल उस्तै मोहित । संगीतमार्फत शब्द अनुरूपको माहोल निर्माण गर्न सक्ने गज्जबको खुबी थियो उनीसँग । संगीत पढाउने पनि ।

त्यो यस्तो याम थियो, जति बेला शम्भुजित फिल्म संगीततिर ढल्किरहेका थिए । तर, खरेलको मन त्यतातिर रत्तिरहेको थिएन । उनलाई आफ्नो ‘ट्ेरडमार्क’ बनिसकेको आधुनिक गायनमा अझ रुझ्नु थियो । जंगमलाई चाहिँ आफूले जस्तो कम्पोज गर्‍यो, उस्तै गाउन सक्ने अब्बल गायकको खोजी थियो । सुरुआती दिनमा यही ‘स्वार्थ’ मिल्यो, सायद । अर्थात्, खरेलको संगीत करिअरमा शम्भुजितको अलप र जंगमको उदय संयोग मात्र थिएन । अर्कातिर खरेल र जंगमको पहिलो गीत ‘सम्झनाको गोरेटोमा...’ मात्र होइन, ‘बिहानीको सिरेटो...’ र ‘मेरो संसार तिमी नै...’ पनि लगालग लोकप्रिय भए । माया बल्झेछ (२०५६) एल्बममा समाविष्ट ‘गरुँ कि मीठो भुल...’ ले खरेललाई फेरि चर्चाको चुलीमा पुर्‍यायो, ‘तिम्रो त्यो हँसिलो मुहारको...’ ले झैँ । खरेल भन्छन्, “बिस्तारै हाम्रो सम्बन्ध संगीतभन्दा माथि उठ्यो । भावनात्मक रूपमै नजिक हुन थाल्यौँ । एकअर्काप्रति थप सम्मान पलाउन थाल्यो ।”

उमेरले जंगम ४ वर्ष जेठा छन् । तर, दुवैले एकअर्कालाई ‘दीपक बाबु’ भन्छन् । समय मिल्दा मात्र होइन, समय मिलाएरै भेट्छन् । कहिलेकाहीँ घुम्न निस्कन्छन् । तर, जहाँ जति बेला पनि कुराचाहिँ संगीत र सिर्जनाकै हुन्छ । जंगम मुस्कुराउँछन्, “हामीले जानेको र हामीलाई जोड्ने पनि संगीत नै भएर पो हो कि †” जंगम खरेलको कन्सर्ट प्राय: छुटाउँदैनन् । दुवैको संगीतको सूत्र पनि उस्तै छ, धेरै होइन, कम गाउने, त्यो पनि आफ्नो बलबुताले भ्याएसम्म राम्रो । दुवैलाई हतार छैन । यति लामो अनुभव भइसक्यो । तर, कुनै–कुनै गीत रेकर्डिङले पूर्णता पाउन महिनौँ लाग्छ, जबसम्म दुवैलाई चित्त बुझ्दैन, मरिगए बाहिर ल्याउँदैनन् । शब्द छनोटमा ‘चुजी’ छन् । हरेक पटक फरक गर्ने प्रयास गर्छन् । न जंगमलाई संगीतकार हुँ भनेर प्रमाणित गर्नुछ, न त खरेललाई गायक हुँ भनेर । अर्थात्, कोहीसँग प्रतिस्पर्धा छैन । छ त केवल, आपैँmसँग । हिजोको भन्दा राम्रो गर्न पाए पुग्यो ।

अचेल रातारात हिट हुन खोज्ने प्रवृत्ति हावी छ । अनि, हिट हुन खास मुस्किल पनि छैन । फेसबुक/युट्युबमा डलर तिरेर ‘भ्युज’ किन्न पाइन्छ । हुँदाहुँदा हिट हुन मौलिक गीत पनि नचाहिने भएको छ । अर्काको लोकप्रिय गीतलाई कभर गरेर युट्युबमा अपलोड गरिदिए पुग्छ । त्यसकै ‘हाई–हाई’ हुन्छ । अर्थात्, संगीतबाट साधना र धैर्य लोप हुँदै गएको छ । परिस्थिति यस्तो छ । तापनि, जंगम र खरेललाई वास्तै छैन । उनीहरू आफ्नो ‘लिगेसी’बाट रत्तिभर बाहिर गएका छैनन् । यत्ति गर्दा पनि बर्सेनि ८–१० वटा गीत रेकर्ड गरेकै हुन्छन् । हरेक दिन रियाज गर्छन् । कहिलेकाहीँ हिट हुने रहर जाग्दैन ? कुराकानीको अन्त्यतिर यी दुवै ‘लिजेन्ड’लाई सोधियो । दुवैले एकै स्वरमा भने, “सबै अब्बल सिर्जना हिट नहुन सक्छन् । हिट भएका सबै गीत अब्बल नहुन सक्छन् । सर्जक राम्रो काम गर्न खोज्छ । हिटका पछाडि लाग्ने त व्यापारी हो । हामी सर्जक हौँ । व्यापारी होइनौँ ।”

प्रकाशित: वैशाख ९, २०७५