व्यंग्य

[झटारो] गणतान्त्रिक जाममा बकबक ?

- लक्ष्मण गाम्नागे, काठमाडौं

महामहिम राष्ट्रपतिज्यूको कारकेड सवारीमा परेर केही घन्टा जाममा के परेका थिए, केही मुट्ठीभर मानिस रिसले दाह्रा किट्दै बकबकाउन थालिहाले । ती बकबकाउनेहरू जाममा परेर वा कुनै काम बितेर होइन, लोकतन्त्रको संस्थागत विकास भइरहेको खप्न नसकेर डाहले बर्बराएका हुन् ।

अस्तिसम्म राजाको सवारीमा यसैगरी घन्टौँ जाम हुन्थ्यो, ती बटुवाहरू नतमस्तक भएर सडक किनारमा उभिन्थे । सवारी आउँदा–जाँदा राजाको नाकमुखै नदेखे पनि अष्टवक्र मुद्रामा गाडीलाई नै दर्शन टक्र्याउँथे । दिनैभरि ट्राफिक जाम भए पनि चुइँक्क बोल्दैनथे । तर, आज राष्ट्रपतिको सवारीमा केही बेर सडक किनारामा उभिनुपर्दा तिनीहरू पाखुरा सुर्किने भएछन् । राष्ट्रप्रमुखविरुद्ध तथानाम बोल्ने भएछन् । यो सबै परिवर्तन र स्वतन्त्रता यिनै राष्ट्रपति र उनका सहयोद्धाहरूले दिएका होइनन् यिनीहरूलाई ? हिजो दिलोज्यान दिएर यिनै नागरिकका लागि लडेका ती महामहिमविरुद्ध तथानाम बोल्न यिनीहरूलाई अलिकति सरम लाग्दैन ?  

यत्रा वर्षसम्म लोकतन्त्रका लागि लडेको, जेल बसेको, भूमिगत भएको, परिवार गुमाएको, डेरामा, सेल्टरमा, झुपडीमा खाइनखाइ अनिँदो रात बिताएको यही परिवर्तनका लागि होइन  ? यत्रो परिवर्तनपछि पनि मुलकको राष्ट्रपतिले झुपडीमै बस्नू ? खस्रा चामलकै भात खानू ? साधारण लुगा लगाएर झत्तेमत्ते भएरै सडकमा निस्कनू ? आफ्ना जुत्ताको तुना आफैँ बाँध्नू ? गाडीको ढोका आपैँm खोलेर बाहिर निस्कनू ? बाहिर निस्कँदा मखमली पिरामा नटेकेर सोझै खस्रो भुइँमा टेक्नू ? कस्तो अन्यायी कुरा ।

कारकेडविरुद्ध किन कसैले बकबक गर्नू ? अगाडि–पछाडि घोडा कुदाएर के बिग्रियो ? दाना खुवाएर पालेका घोडा हुन् । तलब खुवाएर राखेका सेना हुन् । तिनको उपयोग नगर्नू ? राजाहरूले त्यसको प्रयोग कसरी गरेछन् भनेर अनुभव नलिनू ? त्यसको आनन्द नलिनू  ? बटुवाहरूलाई दर्शन नदिनू ? हात नहल्लाउनू ?

राजा र राष्ट्रपतिमा के फरक भयो भनेर पनि कतिले समाचार बनाए । फरक छुट्याउन जान्नुपर्‍यो नि ! राजाहरू प्रजालाई हात हल्लाउँदैनथे, गमक्क परेर मुन्टो बंग्याएर बस्थे । राष्ट्रपतिहरू जनतालाई हात हल्लाउँदै हिँड्छन् । राजाहरू नारायणहिटी दरबारमा बस्थे, राष्ट्रपतिहरू शीतलनिवासमा बस्छन् । राजालाई श्री ५ लेखिन्थ्यो, राष्ट्रपतिलाई लेखिँदैन । राजाको सन्तान मात्र राजा हुन्थ्यो, जनताको सन्तान पनि राष्ट्रपति हुन्छ । राजतन्त्रमा पुरुष मात्र राजा हुन्थ्यो, गणतन्त्रमा महिला पनि राष्ट्रप्रमुख हुन सक्ने भए । कति फरक छ कति  ! खानपान, रहन–सहन, वेशभूषा, सानसौकत र सवारी मात्र त मिल्दै गएको हो नि ! त्यति सानो कुराका लागि यत्रो रडाको किन ? 

हेर, बटुवाहरू हो ! केही घन्टा सडक जाम हुँदैमा आकाशै खसेर तिम्रा टाउकामा लागिहाल्दैन । धेरै भए एक–दुई जना बिरामी समयमा अस्पताल नपुग्लान्, धेरै भए कसै–कसैको ज्यान जाला । ज्यान त सवारी नभए पनि गएकै छन् । त्यसैले हे शीतलनिवास ! वर्षमा दुई–चारपटक सडक जाम पर्दा कोकोहोलो मच्याउने प्रतिगामीहरूका कुरा नसुन । मुलुकको राष्ट्राध्यक्ष सडकमा निस्कँदा दुई–चार घन्टा सडक जाम नहुने, सहर अस्तव्यस्त नहुने, बटुवाहरूले सवारीको झिलिमिली देख्न नपाउने, सञ्चार माध्यमहरूलाई दुई–चार दिनका लागि समाचार नबन्ने हो भने के काम यो गणतन्त्रको ! अत: हामी राष्ट्रपतिका शुभचिन्तक समर्थकहरू, यस्ता सवारी र तामझामलाई अझै कैयौँ गुणा बढाउँदै लैजान बिन्ती टक्र्याउँछौँ ! आगे शीतलनिवासको जो मर्जी !

प्रकाशित: चैत्र २८, २०७४