व्यक्तिचित्र

नारायणगोपालकै लागि जन्मिएकी

- रमण घिमिरे, काठमाडौं

संगीतज्ञ बुलु मुकारुङको एउटा खिरखिरे मोटरबाइक थियो । जात थियो मोपेट । पाइडल पनि हान्न मिल्ने । मोपेट कहिलेकाहीँ बुलुजस्तै मुडी भइदिन्थ्यो । उकालो त देख्नै नहुने । थकित भरियाले झैँ स्वाँस्वाँ गर्न थाल्थ्यो र बीचमै सास छाडिदिन्थ्यो । अनि, त्यसलाई बुलु घिसार्थे र म ठेल्थेँ । कालोपुलको उकालोमा त्यसले धेरैपटक हाम्रो पाइन जाँचेको छ ।

हो, त्यही मोटरबाइकमा चढेर हामी बिहान–बिहान नारायणगोपालको घर पुग्थ्यौँ । प्राय: नारायण दाइ एक्लै भेटिन्थे । कहिलेकाहीँ काशीराम पनि हुन्थे तर विरलै । भाउजूलाई कहिल्यै देखेनौँ पनि । त्यस समय नारायण दाइ बढो फुर्सदिलो समय बिताइरहेका थिए । नाचघरको महाप्रबन्धकबाट निवृत्त भएका थिए, सायद ललितकला क्याम्पस पनि जान छाडिसकेका थिए । उनी रमाइला–रमाइला ‘किस्सा’ सुनाउँथे । अद्वितीय ‘सेन्स अफ ह्युमर’ भएका व्यक्ति थिए उनी । ठट्टा गरेका हुन् कि साँच्चै कुरा भनिरहेछन्, ठम्याउन धौ–धौ पथ्र्यो । हम्मेसी उनी हाँस्दैनथे । र, नहाँसी नै हामीलाई हँसाइरहन्थे ।

कुनै एक बिहानको कुरा हो, बुलु र म त्यही खिरखिरेको कान निमोठ्दै पुग्यौँ नारायण–पेमाला निवास । हामीले घन्टी थिच्यौँ । उनैले ढोका खोले । सायद नारायण दाइ चुरोटको सर्को लगाउँदै हार्मोनियमका पर्दामा कुनै नयाँ धुन फिटिरहेका थिए । हामीलाई बस्ने मौन संकेत गरे र हार्मोनियमको पर्दामा क्लिप लगाएर छेउतिर घचेडे । अनि बोले, ‘बिहान–बिहान आइपुग्नुभएछ †’ यो औपचारिकता मात्र थियो, वातावरण सहज बनाउने । किनभने, हामी बिहान–बिहान मात्र फुर्सदिला हुन्थ्याँै । यसबारे उनलाई राम्रो हेक्का थियो ।

‘कुन गीतमा अभ्यास गर्दै हुनुहुन्छ ?’ प्रश्न गर्‍यौँ । यो पनि औपचारिकताका लागि वातावरण सहज पार्न । उनले भने, “खासै केही होइन । काम केही छैन । घरमा पेमाला पनि हुँदिनन् । अनि, यही हार्मोनियमसँग बेलाबेला गफ चुट्छु ।” वास्तवमा उनलाई भेट्न जानुको कुनै खास तात्पर्य या उद्देश्य हुँदैनथ्यो हामीसँग । हाँस्नै बिर्सेको मान्छेजस्तो लाग्थ्यो मलाई । कथम्कदाचित मुस्काइहाले पनि पातला जुँगा मात्र फुरफुर हल्लिन्थे । तैपनि, मौनता चिर्ने केही उपाय त खोज्नुपथ्र्यो ।

यस्ता भेट धेरै ठाउँमा धेरै भए नारायण दाइसँग । तर, त्यसबेलासम्म मैले उनकी धर्मपत्नी पेमाला गुरुवाचार्यसँग साक्षात्कार गर्ने अवसर पाएको थिइनँ । हामी नारायण दाइलाई भेट्न पुग्दा उनी कार्यालय गइसकेकी हुँदिरहिछिन् । पछि थाहा भयो, उनी कान्तिपथको ओरियन्टल बिमा कम्पनीमा जागिरे रहिछन् । त्यसैले पेमाला भाउजूसँग भेट्न मैले लामो समयको प्रतीक्षा गर्नुपर्‍यो । संयोग कस्तो भने नारायणगोपाल हुन्जेल जुर्न सकेन । उनी दिवंगत भएपछि नारायणगोपाल संगीत कोष स्थापित भयो । त्यसपछि पेमाला भाउजूसँग सम्पर्क र संगत गर्ने मौका पाएँ । अनि मात्र उनलाई देखेँ, चिनेँ र बुझेँ ।

पेमाला भाउजूसँग भेट्नुअघि मेरा कल्पनामा थोरै सुनेका र धेरै कल्पनामा निर्मित उनको बेग्लै छवि स्थापित थियो । त्यसअघि मैले केही प्रसिद्ध गायक–संगीतकारका पत्नीहरूको मनोभाव र व्यवहार अनुभव गरिसकेको थिएँ । तीमध्ये केही ‘ख्यातनामा’का पत्नी लोग्नेको ख्यातिको अभिमानयुक्त भारी बोकेर हिँड्न कहलिएका थिए । घरमा गएर तिनका पतिका बारेमा सोध्यो भने उनी भित्र बोलेको आवाज बाहिर सुनिइरहेको हुन्थ्यो । तर, घरमा हुनुहुन्न भनेर ढोकाको जस्केलासम्म टेक्न नदिई फर्काइदिन्थे । यही अनुभवलाई आधार बनाएर मैले पेमालाको छवि निर्माण गरेछु, जुन नितान्त मिथ्यापूर्ण रहेछ ।

                                                                                                                              ***

नारायणगोपाल संगीत कोष स्थापना भयो र बसन्त चौधरीले मलाई त्यहाँको काम गर्न खटाए । बसन्त कोषाध्यक्ष थिए । अन्तिम समयमा नारायणगोपालले ‘बसन्तलाई अध्यक्ष बनाउनू’ भनेर उर्दी जारी गरेका थिए भन्थिन् पेमाला । तर, बसन्तले नै उनलाई अध्यक्ष हुन कर गरेपछि उनी नारायणगोपालको कृति संरक्षण र उनको सपनाको बीउ छर्न अठोटको पटुका कसेर लागिपरेकी थिइन् ।

पेमाला गुरुवाचार्य नारायणगोपाल जीवित हुन्जेल उनकै लागि बाँचिन् । नारायणको देहावसानपछि पनि उनैका लागि बाँचिन् । उनी नारायणका सांगीतिक–यात्राको एकएक अभिलेख राखेर एउटा संग्रहालय बनाउन चाहन्थिन् । त्यसै अभिप्रायले पनि स्थापना भएको थियो, नारायणगोपाल संगीत कोष ।

नारायणगोपालका मुख्यत: दुई महान् सपना थिए, नेपाली अर्केस्ट्राको निर्माण र नेपाली भाषासँग सहकार्य गर्दै नेपाली संगीतको विकास र विस्तार गर्नु । त्यसबेला पेमालाका निद्रा र भोक भनेकै अर्केस्ट्रा निर्माण थियो ।

यसका लागि पनि उनी मरिमेटेर लागि परिन्, कहिल्यै हताश र निराश भइनन् । त्यही बेला नारायणगोपालको सम्झनामा एउटा भव्य सांगीतिक–साँझ गर्ने निर्णय भयो । नारायणगोपालका मीतज्यू गोपाल योञ्जनको सक्रियतामा प्रज्ञा–प्रतिष्ठानमा एक भव्य कार्यक्रम भयो, जसको आयोजनामा बसन्त चौधरीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसपछि नारायणगोपाल स्मृति–विशेषांक निकाल्ने प्रस्ताव आयो । नारायणगोपालले कुनै बेला सम्पादन गरेको पत्रिका बागीनालाई नै स्मृति–अंकको स्वरूप दिने निर्णय भयो । सम्पादकको जिम्मेवारी मलाई दिइयो । र, सहायक सम्पादकको रविन नेपालीलाई । हामी भातपानी नभनी घरघर पुग्यौँ । अधिकांशका भनाइ टेपमा रेकर्ड गरी, त्यसलाई उतार्‍यौँ, सम्पादन गर्‍यौँ र छाप्यौँ । हामीले भदौरे घामपानी पनि भनेनौँ र माघे कठ्यांग्रे जाडोको पनि वास्ता गरेनौँ । त्यसको पछाडि पेमाला भाउजूको धाप र प्रोत्साहन थियो । यिनीहरूलाई भोक लाग्यो, थाके होलान् भनेर खाजा खुवाउँथिन् । आफ्नै भाइलाई जस्तो स्नेह गर्थिन् । यस कार्यमा नगेन्द्र थापा विशेष स्रोत हुन्थे । यसरी प्रकाशित भएको हो, बागीना : नारायणगोपाल स्मृति अंक ।

                                                                                                                           ***

पेमाला लामाले पहिलोपटक नारायणगोपालको स्वर सुनिन्, रेडियो नेपालबाट । उनी त्यसबेला दार्जीलिङको गभर्मेन्ट कलेजमा पढ्थिन् । होस्टेलमा बस्थिन् । उनीसँगै बस्थिन् सिक्किमकी देविका राई । उनकी भान्छे दिदीको एउटा सानो ट्रान्जिस्टर थियो । शनिबार र आइतबार उतातिर बिदा हुने भएकाले उनीहरू त्यही भान्छे दिदीको रेडियोमा नेपाली गीत सुनेर सांगीतिक धित मार्ने गर्थे । त्यही रेडियोमा हो, पहिलोपटक उनले नारायणगोपालको स्वर सुनेको । त्यस दिन उनी लट्ठ परिन् । पहिले कतै नसुनेको, मन्त्रमुग्ध पार्ने, दोहोर्‍याएर सुनिरहूँ लाग्ने स्वर । सायद स्वरको मोहनी यसैलाई भन्छन् होला, उनलाई नारायणगोपालको स्वरले पहिलो झमटमै मोहनी लगायो । तर, उनलाई गीतका शब्द र लयले भने पटक्कै तानेनन् । उनलाई लाग्यो, यस्तो वजनदार, जादुगरी स्वरले हृदयमै हिर्काउने गम्भीर र मार्मिक गीत–संगीत पो गाउनुपथ्र्यो त !

पछि उनी अध्ययन सकेर दार्जीलिङको सुकियापोखरी (माइत)मा शिक्षण गर्न थालिन् । तापनि, त्यो दिन सुनेको नारायणगोपालको स्वरले उनलाई पछ्याउन छाडेन । उनी नारायणगोपालकी फ्यान नै भइन् र नारायणसँग वार्तालाप गर्न लालायित भइन् । नारायणसँग उनको स्वरको बयान गर्न चाहन्थिन् र त्यस्तो स्वरले यस्ता गीत गाउने होइन भनेर सल्लाह दिन पनि चाहन्थिन् । तर, सम्पर्कको कुनै माध्यम थिएन । आजजस्तो न मान्छेका हातहातमा मोबाइल फोन हुन्थे, न त इन्टरनेट, फेसबुक–ट्वीटरमा सर्च गर्नासाथ सम्पर्क सूत्र फेला पार्न सकिन्थ्यो । टेलिफोनसमेत दुर्लभ थियो ।

त्यसबेला पत्रमित्रताको खुब फेसन थियो । तर, पत्रमित्रता गाँस्न टाढाकी उनलाई काठमाडौँमा बस्ने नारायणगोपालको ठेगाना पाउन त्यति सजिलो थिएन । तर, उनले हिम्मत हारिनन् । उनले नारायणगोपालको ठेगाना धुँइधुँइती खोज्न थालिन् । धेरै खोजेपछि उतैका कलेज पढ्ने एक भाइ भीम मुखिया, काठमाडौँमा काम गर्दैछन् भन्ने पत्तो लगाइन् । तिनै भीमले पेमालाको अनुरोध पूरा गरिदिए । अनि, पेमालाले पहिलो पत्रमित्रतास्वरूप काठामाडौँमा पत्राचार गरिन्, नारायणगोपाल गुरुवाचार्यका नाममा । उनले नारायणलाई खालि यत्ति लेखिन्, ‘म तपाईंको स्वरकी एक फ्यान हुँ । मलाई तपाईं चिन्नुहुन्न । तपाईंको कण्ठले मेरो मन छोयो ।’ अर्को परिच्छेदमा मनको कुरा लेखिन्, ‘तर, तपाईंले गाएको भन्दा अझ गम्भीर र मन छुने भावुक गीत गाइदिनुभए म अझ आल्हादित हुने थिएँ ।’ नारायणगोपालले प्रत्युत्तर तुरुन्तै पठाइहाले । लेखेका थिए, ‘म चाँडै बडोदा जाँदैछु, त्यसैले अब मलाई उतैको ठेगानामा पत्राचार गर्नू ।’ अनि, नारायणले बडोदामा आफू संगीत अध्ययन गरिरहेको विश्वविद्यालयको ठेगाना पनि खामेर पठाइदिए ।

उनी असाध्यै खुसी भइन् । पछि बाक्लै पत्राचार हुन थाले । पेमालाले त्यस कालको सन्दर्भ कोट्याउँदै मसँग भनेकी थिइन्, “हाम्रा चिट्ठीमा गीत–संगीतका कुरा मात्र हुन्थे । हामीले कहिल्यै माया–प्रीतिका कुरा कोट्याएनौँ ।”

पत्रमित्रताले गाँसेको सम्बन्ध बिस्तारै–बिस्तारै बाक्लिँदै जान थाल्यो । उनीहरू गीत–संगीतको मात्र होइन, एकअर्काका जीवनकै मित्र हुन पुगे । भेटै नभएकी र देख्दै नदेखेकी पेमाला लामाको मायामा नारायण पनि चुर्लुम्म डुबे । उनी आफ्नी पत्रमित्रको एक झलक पाउन लालायित भए । अनि, बडोदाबाट घर फर्किंदा दार्जीलिङ पसे । यो सन् १९६४ को कुरा हो । आफ्ना परम मित्रद्वय नगेन्द्र थापा र गोपाल योञ्जनसँग मनको कुरा खोले र पेमालासँग भेट्न नारायण, नगेन्द्र, गोपाल र कर्म योञ्जन पुगे सिमानाको सुकियापोखरी र पेमालालाई भेटे । त्यसको केही कालपछि नारायण र पेमालाले आजीवन सँगै बाँच्ने कसम खाए । र, विवाह बन्धनमा बाँधिए ।

उनीहरूको विवाह पनि अनौठोसँग भएको थियो । केही दिनअघि काठमाडौँमा नगेन्द्र थापाहरूले ‘मीतज्यू नाइट’ नामक भव्य कार्यक्रम गरेका थिए । खर्च कटाएर १८ हजार रुपियाँ संकलन भएको थियो । विसं ०२७ को कुरा हो, एक–दुई दिनपछि बिहानै नारायणगोपाल एउटा सुटकेस बोकर नगेन्द्र थापाको घरमा आए । नगेन्द्र नारायणगोपालको मनस्थितिलाई सम्झिन्छन् । भन्छन्, “सधैँ ख्यालठट्टा गरिरहनुपर्ने नारान, त्यस दिन उदास थियो । मैले के भयो भनेर सोधेँ ।” उसले भन्यो, “म पेमालासँग बिहे गर्न जान लागेको, खल्तीमा सुको दाम छैन । म समस्यामा छु ।” मैले भनेँ, “अनि, किन यति सुर्ता गर्नुहुन्छ । पैसाको जोगाड भइहाल्छ नि ! आज यतै बस्नूस्, भोलि बिहान म व्यवस्था गरूँला ।” थापाले नारायणलाई शान्त बनाउँदै उपाय निकाले । उनीसँग मीतज्यू नाइटको १८ हजार रुपियाँ छँदै थियो अनि भोलिपल्ट बिहानै त्यसमा थपेर पुगनपुग २५ हजार रुपियाँको थैली नारायणगोपालको हातमा राखिदिँदै भने, “ल जानूस्, यतिले झ्याइँझ्याइँ बाजा बजाएर पनि बिहे गर्न पुग्छ ।” यसरी नारायण र पेमालाको विवाह भयो । विवाहमा नारायणका तर्फबाट जन्ती एक जना व्यक्ति मात्र थिए, कर्म योञ्जन । किनभने, उनका अनन्य मित्रद्वय गोपाल र नगेन्द्र काठमाडौँमै थिए ।

जेनतेन विवाह त भयो । तर, नारायणको परिवारले अनुमोदन गरेन । उनीहरू पोखरा गए र भूपी शेरचनको पाहुना भएर लामो समय बसे । पेमालाले रत्नराज्यलक्ष्मीदेवी र नारायणले अमरसिंह विद्यालयमा अध्यापन गरेर जीवन निर्वाह गरे । पोखराबाट फर्केपछि पनि उनीहरू एक वर्षजति मात्र सगोलमा बसे । त्यसपछि क्षेत्रपाटीमा डेरा लिएर सरे ।

उनीहरूका सन्तान नभएकामा पनि नारायणलाई धेरैले अर्को विवाहका लागि उकासेका थिए । विशेषत: यो अन्तर्जातीय विवाहका विरोधी परिवारजनले उनलाई दोस्रो विवाहका लागि उकासिरहे । केही निकटकाले उनीहरूलाई धर्मपुत्र राख्ने सल्लाह पनि दिए । तर, यस्तो सल्लाह पीडादायक थियो । अनि, उनीहरूले निश्चय गरे, धर्मपुत्रको साटो एउटा संगीत विद्यालय खोल्ने । तर, नारायणगोपालले ‘नानु’ (पेमालालाई नारायणले सम्बोधन गर्ने नाम)को साथ छाडेनन् । पेमालाको कोख शून्य भएको भने होइन । उनी गर्भवती भएकी पनि थिइन् । तर, उनको गर्भपात भयो । फेरि सन्तान जन्माउन नसक्ने स्थिति भएकाले उनीहरू आजन्म नि:सन्तान भए । तर, कुनै दिन पनि उनीहरूबीच सन्तानका लागि बहस भएन । पेमालाले भनेकी थिइन्, “म उदास भएका बेला उहाँ सन्तानका कारण होला भनेर मलाई धाप दिँदै सुर्ता नलिन अनुरोध गर्नुहुन्थ्यो । भन्नुहुन्थ्यो, तिमी मेरी पत्नी मात्र होइनौ, जीवनसंगिनी पनि हौ । भविष्यमा हामी एउटा सांगीतिक विद्यालय खोल्नेछौँ, त्यही हाम्रो सन्तान हुनेछ ।”

वास्तवमै पेमाला नारायणगोपालकी असल सल्लाहकार थिइन् । नारायणगोपालले गाउने गीत र संगीतको छनोटमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिन् । नारायणगोपाल घरमै बसेर नयाँ–नयाँ गीत बनाउँथे । पेमाला कार्यालयबाट फर्किनासाथ काँधको ब्याग फ्यात्त हुत्याएर आज बूढाले के नौलो संगीत जन्माएछन् भनेर टेप रेकर्डरको बटन थिच्थिन् र सुन्थिन् । नारायणले पनि नयाँ गीत बनाउँदा पहिला उनैलाई सुनाउँथे । यस्तै बेला हो, उनले हरिभक्त कटुवालको प्रसिद्ध गीत ‘मलाई नसोध कहाँ दुख्छ घाउ’को लय सुनेको । त्यो लयले उनको हृदय हल्लाएको थियो । तर, भूपी शेरचनलाई मन परेनछ ।

नारायणगोपाल त्यतिबेला पश्चिमी सांगीतिक शैली ‘ब्लुज’माथि काम गरिरहेका थिए । यो गीत विशुद्ध ब्लुजको ढाँचामा ढालिएको थियो । त्यसैले नारायणले गाएका अघिल्ला गीतभन्दा नितान्त फरक शैलीको संगीत थियो यो । पेमालालाई मन परेपछि उनले यो गीत भूपीलाई सुनाए । भूपी र नारायणको सम्बन्ध त उनीहरूको विवाह हुँदादेखि नै घनिष्ठ थियो । नारायण पेमालालाई रिसिभर समाउन लगाएर भूपीलाई नयाँ धुन सुनाउँथे । त्यस दिन पनि पेमालाले टेलिफोनको रिसिभर समाइन् र नारायणले हार्मोनियम बजाउँदै भूपीलाई यो गीत सुनाए । तर, भूपीले मन पराएनन् । “उहाँ (नारायणगोपाल) यस मामालामा मुडी नै हुनुहुन्थ्यो,” पेमालाले यसबारे मसँग कुरा हुँदा भनेकी थिइन्, “तर, उहाँले त्यही लयकै गीत रेकर्ड गर्नुभयो, भूपी दाइको कुरा पनि सुन्नुभएन ।”

हुन त नारायणगोपालले पेमालाले मन पराएका कतिपय गीत पनि रेकर्ड गरेनन् । उनी मनचित्तले नखाएसम्म कसैको कुरा सुन्दैनथे । तर, अधिकांश गीतको अन्तिम परीक्षक भने पेमाला नै हुन्थिन् । नारायणगोपाल जीवित हुँदा र उनी दिवंगत भएपछि पनि पेमाला भाउजूले नारायणका नाममा यति योगदान पुर्‍याइन् कि अन्तत: उनी नारायणगोपालकै लागि जन्मिएकी रहिछन् भन्ने सिद्ध गरेर गइन् ।

पेमालाले नारायणगोपालको निधनपछि उनैको वचनलाई समर्थन गर्दै नारायणगोपाल संगीत कोषको स्थापना गरिन् । विसं ०४७ मा स्थापित यस कोषमार्फत नारायणगोपालका कृतिलाई जीवन्त राख्न पेमाला भाउजूले आफ्नो घरखर्चलाई कटाएर आफ्नो तलब, नारायणगोपालका गीतको रोयल्टीलगायत सारा सम्पत्ति र जीवन नै खर्चिइन् । उनीहरूले बहुतै दु:ख गरेर बनाएको घर पनि कोषका नाममा लेखापढी गरिदिइन् । भनौँ न, उनी बाँचुन्जेल नारायणगोपालकै लागि बाँचिन् र मृत्युपछि पनि नारायणगोपालकै लागि बाँच्ने सत्कार्य गरिन् । तर, पेमालाको जीवनकालभरि सम्भावनाको बाटो हिँडिसकेको संगीत कोष उनको मृत्युपछि भने यात्राहीन भएको छ । अब त यस्तो लाग्छ, एउटा संगीत विद्यालय खोल्ने र त्यसमार्फत नयाँ–नयाँ प्रतिभा जन्माउने नारायण र पेमालाका सपना सदाका लागि सपनामै सीमित रहने भए । 

प्रकाशित: चैत्र २८, २०७४