समसामयिक

बगानमा लालाबाला

- पर्वत पोर्तेल, काठमाडौं

काँकडभिट्टा–सहरिया कामकाजी महिलाले आफ्ना नानीहरूलाई महँगा स्कुल या चाइल्ड केयर सेन्टर पठाउँछन् । झापाका देहाती गाउँका चिया श्रमिकचाहिँ बच्चा च्यापेरै श्रम गर्न जान्छन् । नकलबन्दा चिया बगानकी श्रमिक महिला रूपा उराउ काखे बच्चा आफैँसँग लिएर बगान जान्छिन् । उनका पति पनि बगानमै काम गर्छन्, त्यही भएर घरमा बच्चा स्याहार्न समस्या छ ।

पहिला पिठ्युँमा बच्चा च्यापेर काम गर्नुपर्ने बाध्यता थियो । तर, अचेल छैन । बगानले नै श्रमिकका बालबच्चा स्याहार्ने व्यवस्था मिलाउन थालेको छ । “पहिला साह्रै कष्ट थियो, बच्चा च्यापेरै पत्ती टिप्नुपथ्र्यो,” रूपाको अनुभव छ, “अचेल सजिलो छ, बच्चा बगानले नै हेरिदिन्छ ।’

बगानभित्रै सानो टहरा छ । टहरामा झोलुंगो झुन्ड्याइएको छ । त्यही झोलुंगोभित्र दुई महिनादेखि चार वर्षसम्मका नानीहरू एकोहोरो चिच्याइरहेका हुन्छन् । ती बालबच्चाको प्राय: दिन झोलुंगोमा बित्छ, त्यो पनि रोएरै । बच्चा स्याहार्न सुसारे छन् । सुसारेको पारिश्रमिक बगानले नै बे होर्छ । एक सुसारेले गुनासो गरिन्, “यत्रा नानीहरू स्याहार्नुपर्छ, पैसा भने साह्रै थोरै छ ।” सुसारेले बिहानदेखि साँझसम्म नानीहरू स्याहार्छन् ।

झापाका चिया बगानहरूले श्रमिकका नानीहरूको स्याहारका लागि यसैगरी झोलुंगोमा राख्ने व्यवस्था मिलाएका छन् । टहरा व्यवस्था गरिएका छन् । टोकला चिया बगानमा अस्थायी टहरा छन् । त्यहाँ पनि सुसारे छन् । उनीहरूले दर्जनौँ बालबालिका स्याहार्नुपर्छ । “बिहान बगान छिरेका श्रमिक आमाहरू दिउँसो १२ बजे खाना खान आउँदा आ–आफ्ना बच्चालाई दूध, खाना खुवाउँछन्,” नकलबन्दाका स्थानीय दशरथ खडिया भन्छन्, “त्यसपछि फेरि बगानमा छिर्छन्, साँझ परेपछि मात्रै फर्किन्छन् ।”

झापासहित यस भेगका चार जिल्लामा करिब ४५ हजार चिया श्रमिक कार्यरत छन्, जसमा ९० प्रतिशतभन्दा बढी महिला श्रमिक छन् । चिया मजदुरीमा आदिवासी र दलित महिलाको बाहुल्य छ । सबैभन्दा बढी झापामा ३० हजारको हाराहारीमा यस्ता श्रमिक छन् । महिला श्रमिकले काखेबच्चा च्यापेरै काममा जानुपर्ने बाध्यता कहिलेसम्म ?

प्रकाशित: चैत्र २५, २०७४