संवाद

'हरेक मुलुकमा सिलिकन भ्याली चाहिएको छ'

- प्रदीप बस्याल, काठमाडौं

वल्र्ड इनोभेसन फोरमका सह–संस्थापक एक्सेल सुल्ज आफ्नो एसिया भ्रमणका क्रममा हालै काठमाडौंमा थिए । दुई दशकबढि समय ‘सिलिकन भ्याली’ भनिने अमेरिकाको स्टार्टअफ केन्द्र सान फ्रान्सिस्कोमा प्रविधि उद्यमीका रुपमा बिताएका उनी पछिल्लो समय सोसाइटि थ्री भनिने स्टार्टअप एक्सिलिरेटरका प्रमुख कार्यकारी समेत छन् । उनीसँग गरिएको कुराकानी ।

विश्वमा अहिले उद्यमशिलताको लहर कस्तो छ ?

उद्यम गर्नका लागि प्रविधिले विगतमा कहिल्यै नभएको माहोल दिएको छ । यद्यपि अझै सिर्जनशील दिमागहरु विकसित देशहरुतर्फ मात्र कुद्न छाडेका छैनन् । सबै सिलिकन भ्यालीमै आएर मात्र राम्रो गर्ने संस्कार रहेसम्म धनी र गरिबबिचको खाडल घट्दैन । र, ठूलो चित्रमा उद्यमशीलताले विश्वलाई योगदान दिन सक्दैन ।

उद्यमशीलतामा हामीलाई चाहिएको माहोल चाहीं कस्तो हो ?

‘किप इट लोकल’ भन्ने धारणा हाम्रा उद्यमीहरुमा नआएसम्म निश्चित व्यक्ति वा देशहरु मात्र धनी भइरहन्छन् । विश्वमा धनी–गरिबको खाडल घट्नेछैन । किनकि, जति नै गरेता पनि उनीहरुले कर वा रोजगारीका माध्यमबाट ठूलो रकम विकसित देशमै सक्छन् । उनीहरुको आफ्नै देशले त्यसको लाभ पाउँदैन ।

स्टार्टअपको संस्कारले देशहरु कसरी बलियो हुन्छन् ?

अहिले सबैजसो देशमा आफ्नै एउटा सिलिकन भ्याली चाहिएको छ । त्यसका लागि आइडियादेखि बजारसम्म कसरी तिनलाई जोड्ने भन्ने संयन्त्र र संस्कार सबैभन्दा बढि चाहिन्छ । स्टार्टअपहरु सफल हुने सीर्फ एक–दुई राम्रा आइडियाले होइन त्यसलाई हुर्काउने माहोलले हो । 

तर, नेपालजस्तो देशमा आन्तरिक लगानीमै ठूला उद्यमका लागि पुंजी अभाव समस्या छ नि ?

उद्यमशीलता भन्दैमा अर्बपति हुने मापदण्डका आधारमा मात्र हेरिनुहुन्न । अबको भविष्य साना उद्यममै छ । सन् २०५० सम्ममा अहिलेका थुप्रै ठूला कम्पनीहरु खुम्चिसकेका हुनेछन् । नयाँ बन्नेहरु पनि सानै स्वरुपमा बस्न रुचाउनेछन् ।

किन त्यस्तो होला ?

मानिसहरुको दिमाग अहिले यति गतिशिल रुपमा चलिराखेको छ कि कुनै कम्पनीमा अब सबै कर्मचारीलाई एउटै मनोवलका साथ बर्षभरी काममा लगाउने ठूलो चुनौति हुनेछ । र, लगाएकै खण्डमा उनीहरुको व्यावस्थापनमा अर्को ठूलो लगानी र जनशक्ति चाहिनेछ ।

नेपालजस्ता विकाशोन्मुख देशहरुका लागि बाहिरिराखेका आफ्ना जनशक्ति रोक्ने सुत्र के हुनसक्छ ?

जबसम्म आफ्नो देशप्रति गर्व र विश्वास विकास गर्न सकिंदैन अन्य कुराहरु अर्थपूर्ण हुँदैनन् । चिनियाँहरुमा अहिले आफ्नो देशप्रतिको गर्व निकै छ । उनीहरुले संसारमा कहिल्यै नभएको रफ्तारमा काम गरेको इतिहासबाट प्रेरित छन् । दक्षिण कोरिया, सिंगापुरसँग उस्तै कथा छ । मलेसियामा भोलि नै आउँदैन जसरी मानिसहरु उर्जा र उत्साह बोकेर काम गरिराखेका छन् । एउटा पुस्ताले त्याग गर्नैपर्छ जसले भावी सन्ततीका लागि मानक छाड्न सकोस् ।

पारिवारिक वा देशको बलियो पृष्ठभूमिबिनै सफल भइन्न भन्ने युवालाई के भन्नुहुन्छ ?

साधारण पृष्ठभूमिबाट आएकैहरु नै संसारमा क्रान्तिकारी छलाङ मार्नेमध्येका छन् । जसको अर्थ उद्यमशीलताको शक्ति नै जादुमयी रुपमा हामी सबैमा हुन्छ भन्ने हो ।

सिलिकन भ्यालीमा चाहिं के त्यस्तो जादु छ ?

मुख्य कुरा त सिलिकन भ्यालीमा गतिशिल रुपमा स्टार्टअप फक्रने संस्कृति छ । ८० प्रतिसत सिलिकन भ्यालीका जनशक्ति विविधतापूर्ण आइडियासाथ विश्वभरबाट आउँछन् । त्यहां आइडियादेखि बजारसम्म जोडिदिने संयन्त्र छ ।

उद्यमका आइडिया आफैमा कत्तिको महत्वपूर्ण हो । 

दशौं लाख उद्यमशीलतामध्ये ८० देखि ९० प्रतिसत असफल भइराखेका हुन्छन् । तिमध्ये केही आइडिया नै नराम्रा भएर त धेरैजसो बजारसम्म पुग्नै नसकेर असफल हुन्छन् । बजार नपुगिकन कति उद्यमको वास्तविक हैसियत नै थाहा हुँदैन । आइडिया आफैमा केही होइन ।

सफल उद्यमी को हो ?

आफ्नो प्रगतिको हिस्सा बढि भन्दा बढि मानिसले, त्यो पनि आफ्नै देशले वा आवश्यकतामा रहेको मानिसले पाउन सक्यो भने त्यो नै वास्तविक सफल उद्यमी चिन्ने मानक हो ।

प्रकाशित: चैत्र १४, २०७४