विचार

विमानस्थलमा विपद्

- अजय दीक्षित, काठमाडौं
यूएस बंगला–२११ दुर्घटना भएको खबर व्यापक भइसकेको थियो । केहीबेरपछि प्रधानमन्त्री र मन्त्रीहरू दुर्घटनास्थल पुगे । मानवीय संवेदना बुझ्न सकिन्छ तर प्रधानमन्त्री त्यहाँ पुगेको प्रकरणले विधि र प्रणाली चुस्त बन्न नसकेको वास्तविकता प्रस्टिन्छ । सुरक्षा हिसाबले सरकार प्रमुखको उपस्थिति आवश्यक थियो, थिएन भन्ने प्रश्नबारे प्रधानमन्त्री कार्यालयले मूल्यांकन गर्ने विश्वास गरौँ । साथै, यो पनि विश्वास गरौँ, उपयुक्त विधि संस्थागत गर्ने कार्य सरकारले सुरु गर्नेछ । अन्यथा इतिहासले भन्नेछ, गफ गर्नमै समय बित्यो ।
ज्यान बचोस् भन्ने प्रार्थना गर्दै आफ्नै विगत चहार्न पुगेँ । ४ मार्च राती आबुधाबी हुँदै वासिङ्टन डिसीतर्फ लागेको थिएँ । ७ दिनपछि ११ तारिख राती (दुर्घटनाको अघिल्लो दिन) आबुधाबीबाट काठमाडौँ आइपुगेको थिएँ । ४ मार्चको संयोग ! तीन वर्षअघि ४ मार्च २०१५ को बिहान इस्तानबुलबाट काठमाडौँ आएको टर्किस विमान सेवाको एयर बस–३३० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर छेउको चौरमा धस्सिएको थियो । भाग्यले त्यो विमानमा सवार २ सय २४ यात्रु र चालक दलका ११ जना सबै सकुशल रहे । विमानको पखेटाले धावनमार्ग छेकेको हुँदा चार दिनसम्म विमानस्थल प्रयोग हुन सकेन । त्यसको डेढ महिनापछि १२ वैशाख (२५ अप्रिल)मा  महाभूकम्प गयो । उद्धारका क्रममा आएका सयौँ हवाई जहाजलाई हाम्रो टावरले सुरक्षित उडान र अवतरण गराएको थियो ।
दुर्घटना किन भयो ? कस्ता पाठ सिक्नुपर्छ  ? के सुझाव दिइयो ? त्यस्ता घटना दोहोरिन नदिई हवाई यात्रा सुरक्षित राख्न सरकार एवं राज्यका अंगहरूले के–कस्ता नीति लिनुपर्छ ? नीति कसरी कार्यान्वयन गरिँदैछ ? पुराना आयोगहरूले दिएका सुझाव कसरी कार्यान्वयन गरिए ? महत्त्वपूर्ण प्रश्न हुन् । छानबिनकै विधि पनि कोट्याउनु अन्यथा नहुने पंक्तिकारको अनुभव छ । विमान दुर्घटना प्राविधिक विपद् भए पनि त्यससित मानवीय व्यथा जोडिन्छ । आफ्नालाई गुमाउनेले आफ्नै प्रयासमा सकेसम्म वस्तुपरक हिसाबले विश्लेषण गरे र सार्वजनिक संवादमा सहभागी भए हवाई यात्रा अझ सुरक्षित बनाउने यत्नमा सहयोग हुन सक्छ, राज्यलाई दबाब सिर्जना हुन सक्छ । आफ्ना कसरी, किन बिते, खोतल्नु परिवारको अधिकार हो । र, कर्तव्य पनि ।
प्रसंग विसं २०१९ मा मध्य नेपालमा एक महिनाभित्र भएका दुइटा विमान दुर्घटनाको हो । त्यो वर्ष काठमाडौँबाट दिल्लीतर्फ उडेको डेकोटा विमान ढोरपाटनमा दुर्घटना भएको थियो । उपलब्ध दस्तावेजमा दुर्घटनाको विवरण अपूरो भेटिन्छ । एभिएसन एयर सेफ्टी नेटवर्कमा राखिएको विवरणले भन्छ, दिल्ली जाँदै गरेको डेकोटा विमान ११ हजार २ सय फिटमा दुर्घटनाग्रस्त भेटियो । थप विवरण हो, पूर्व देशान्तर ८३ डिग्री पुगेपछि विमानले कोलकाता एफआईसीलाई खबर गरेको थियो, म ८ हजार ५ सय फिटमा उड्दैछु । त्यसपछि विमानसित सम्पर्क भएन । आठ दिनपछि उल्लिखित उचाइमा दुर्घटनाग्रस्त विमान भेटिएको थियो, १० लाससहित । विमानमा आगो लागेको थिएन । त्यसबखत गरिएको छानबिनले ८ हजार ५ सय फिट उचाइमा उड्दै गरेको विमान कसरी ११ हजार २ सय फिटमा दुर्घटना भयो भन्ने प्रश्न उठाएको थिएन ।
किन भयो भन्ने प्रश्नले मलाई झकझकाइरहन्थ्यो । तर, जवाफ थिएन । दोस्रो विमान (पिलाटस पोर्टर) दुर्घटनामा हाम्रा पिताजी बिलाउनुभएको थियो । आफ्नै लागि भए पनि जवाफ खोज्नु आवश्यक ठानेको थिएँ । र, हवाई यात्रा सुरक्षित बनाउन यस्तो प्रयासले सानो सहयोग पुग्ने विश्वास पनि थियो । दुर्भाग्य  † विसं ०६८ मा त्यस क्षेत्रको फाल्गुनी धुरीमा नेपाली सेनाको विमान दुर्घटनापछि मात्रै मैले ४७ वर्षअघिका दुई दुर्घटनाका कारण खोतल्ने प्रयास सुरु गरेँ । 
त्यसमध्ये डेकोटा विमान दुर्घटना भएको स्थल र पूर्वी देशान्तर ८३ डिग्रीलाई मैले नक्सामा उतारेँ । ती दुईबीचको दूरी करिब १२ किमि छ । कोलकातालाई खबर गर्दा डेकोटा विमान ढोरपाटन उपत्यकाको दक्षिण भई बग्ने निस्ती खोलामाथिको आकाशमा पुगेको रहेछ । मेरो ठम्याइ रह्यो, विमान त्यहाँ पुग्दा केही बादल हट्यो र चालक दललाई गलत ठाउँमा गलत उचाइमा छौँ भन्ने जानकारी भयो । अगाडि र दुवैपट्टि विमानभन्दा माथि अग्ला पहाड देखिए । कप्तानसामु एउटै विकल्प थियो, विमानलाई माथि उडाएर उच्च धरातल कटाउने । कप्तानले विमानलाई १० हजार ५ सय फिट धरातल त कटाए । तर, ११ हजार ५ सय फिटको पहाड छल्नुअघि विमान भीरमा ठोक्कियो । दुई सय फिट तल खस्यो । 
तीन वर्षअघि टर्किस विमान धावनमार्गको पश्चिमपट्टि रहेको हवाई इन्धन भण्डार गर्ने ट्यांकीनजिक धस्सिएको थियो । भाग्यले विमान ट्यांकीसम्म पुगेन । यूएस बंगला विमान तेल ट्यांकीमा बज्रिएको भए के हुन्थ्यो ? जवाफ स्पष्ट छ, भयानक विस्फोटनले एप्रोनमा रहेका विमान, विमानस्थल, टावर, यात्रु कुरिरहेका र सिनामंगल क्षेत्र ध्वस्त हुन्थ्यो । यो प्राविधिक विपद्ले पूर्वतयारीमा थप लगानी गर्न सरकारलाई घचघच्याओस् ।
यो विषयमा पक्कै छलफल भइसकेको हुनुपर्छ तथापि प्रधानमन्त्री ओलीसमक्ष एउटा अनुरोध निवेदन गरौँ । विमानस्थलमा इन्धन भण्डारणका लागि भूमिगत ट्यांकी निर्माण प्रक्रिया सुरु गर्न तत्काल निर्देशन जारी होस् ! ‘ज्या’ गर्नुपर्ने रहेछ भन्ने  स्थिति नआओस् !
प्रकाशित: चैत्र ९, २०७४