जीवनशैली

फुड माइक्रोब्लगिङ

- विभु लुइटेल, काठमाडौं

पोहोर साउनदेखि चन्डोल, काठमाडौँकी विभाशना भट्टराई, १९, ले इन्स्टाग्राममा ‘वी फुडी’ माइक्रोब्लग चलाउन थालिन् । १३ हजारभन्दा बढी इन्स्टाग्राम प्रयोगकर्ताले उनको अकाउन्टलाई पछ्याएका छन् । हाल इन्जिनियरिङ अध्ययन गरिरहेकी भट्टराईको हरेक महिना विभिन्न ठाउँ पुगेर खान र तिनका बारेमा पोस्ट गर्न तीनदेखि चार हजार रुपियाँसम्म खर्च हुने गरेको छ । “आफूले खाने ठाउँका बारेमा निष्पक्ष राय दिने हुँदा मानिस साना–ठूला पार्टीदेखि लिएर डेटमा जानसमेत सुझाव माग्छन् । त्यसैमा खुसी लाग्छ,” उनी सुनाउँछिन् । अकाउन्ट खोलेको पहिलो सातामै पाँच सयभन्दा बढी फलोअर्स ‘वी फुडी’ले कमाएको थियो । भन्छिन्, “मेरा लागि पैसाले महत्व राख्दैन, मानिसले देखाएको विश्वासले राख्छ ।” यसबाट उत्प्रेरित भएरै विभाशनाले आफ्नो माइक्रोब्लगलाई निरन्तरता दिन सकेकी हुन् ।

नियमित नयाँ पोस्ट गर्दै अरूको प्रिय हुन सफल उनी यसका नराम्रा पक्ष सुनाउन पनि हिचकिचाउँदिनन् । भन्छिन्, “विद्यार्थी भएकाले समय र पैसा दुवै व्यवस्थापन गर्न अलि गाह्रै हुने रहेछ । राम्रो भनेर चलेका ठाउँमा उत्साहित भएर जाँदा धेरैपटक निराश भएर पनि फर्केकी छु । यसरी माइक्रोब्लग सुरु गर्न सरल र सहज देखिए पनि यसलाई निरन्तरता दिन भने सोचेजस्तो नहुने रहेछ ।”

स्नातक तहमा अध्ययन गर्दै गरेका तीन दिदीबहिनी सब्रिना बज्राचार्य, रुचिका शाक्य र मीना डोल्मा मिलेर ०७३ पुसदेखि ‘फुडी सिस्टर्स नेपाल’ चलाउन थालेका हुन् । सो ब्लग पनि अत्यधिक रुचाइएका ब्लगको सूचीमा पर्छ । २२ हजारभन्दा बढी प्रयोगकर्ताद्वारा पछ्याइएको यो माइक्रोब्लगले सुरुदेखि नै सबैको मन जित्दै आएको छ । फुड ब्लग नै किन भन्ने प्रश्नको उत्तरमा उनीहरूको एउटै जवाफ हुने गर्छ, “खानबाहेक अरू कुरामा पैसा खर्च गर्न मन लाग्दैन । खानामा पहिलेदेखि नै रुचि भएको हुनाले यो ब्लग बनाएका हौँ ।” फुड ब्लगको नराम्रो पक्षका बारेमा कुरा गर्दा विभाशना र उनीहरूको अनुभव उस्तै रहेको छ । उनीहरू भन्छन्, “हामी हजारौँ रुपियाँ खर्चेर बिना कुनै पूर्वाग्रह समीक्षा दिन खोजिरहेका हुन्छौँ तर केही भने खुट्टा तान्न आइहाल्छन् ।”


अकाउन्ट सुरु गरेदेखि नै चर्चित रहेका ‘मिस्टर फुडी नेपाल’ को चर्चा केही प्रख्यात युट्युब कार्यक्रममा उनले जनाएको सहभागिताले निकै चुलियो । विभिन्न प्रकारका ठाउ“मा पुगेर खान रुचाउने उनी एक सातामा १० हजारजति त खानकै लागि मात्र खर्च गर्ने कुरा बताउँछन् । करिब ७५ हजार इन्स्टाग्राम प्रयोगकर्ताका आँखामा परेका यी माइक्रोब्लगरले आफ्नै युट्युब च्यानल पनि सुरु गरेका छन् । कोकाकोलाले उनलाई आफ्नो वार्षिक कार्यक्रम ‘कोक एन्ड मःमः’ को ब्रान्ड एम्बेसडर पनि बनाएको छ । नेपालका चर्चित सेलिब्रिटीहरूले पनि उनलाई इन्डोर्स गरिरहेका छन् ।
एक लाखभन्दा बढी प्रयोगकर्ताले रुचाएको ‘नेपाल डट फुड’ले सुरुआती दिनदेखि नै अरू फुड अकाउन्टभन्दा आफ्ना पोस्टहरूमा विविधता ल्याउँदै आएको छ । सुरुमा ‘सिद्धार्थ डट फुड’ नाममा चलेको यो ब्लगको चर्चा ‘नेपाल डट फुड’ भनी नाम परिवर्तन भएसँगै चुलिएको हो । यसका सञ्चालक सिद्धार्थ घिमिरे देश–विदेशका विभिन्न ठाउँ पुगेर त्यहाँका खाने कुराका बारेमा अरूलाई जानकारी दिने मात्र नभई खाजा तथा खानाका रेटिङ, मूल्य, अतिरिक्त शुल्क, ती ठाउँमा उपलब्ध पार्किङ सुविधा, वाइफाई, खुल्ने र बन्द हुने समय, पीओएस मेसिन आदिका बारेमा पनि सूचित गर्छन् । उनले पनि आफ्नै युट्युब च्यानल सञ्चालन गर्दै आइरहेका छन् । “मैले राम्रो जागिर छाडेर यही माइक्रोब्लगिङलाई नै आफ्नो पेसा बनाएको हुँ । पहिलेको काममा जस्तो आम्दानी त छैन तर खुसी छु । नयाँ–नयाँ स्थानमा पुगी खानुमा खुसी छँदै छ भने सेफहरूसँग व्यक्तिगत रूपमै भेटेर उनीहरूका कथा सुन्न बढी मन पराउँ छु,” उनी भन्छन् ।


यसका अलावा अन्य ब्लगरहरूसँग भेटेर उनीहरूका अनुभव सुन्न पाउनुलाई यो पेसाको उपलब्धि मान्छन् उनी । घिमिरेको पेज हेरेर खान जाने ठाउँ रोज्ने युवा पनि बग्रेल्ती छन् । भन्छन्, “मैले खासमा यो ब्लग आफूले खाएका खानेकुराका अभिलेख राख्ने उद्देश्यले खोलेको हुँ । यस्तो उत्साहजनक प्रतिक्रिया पाउँछु भन्ने कहिल्यै सोचेको थिइनँ ।” यसबाट अझ राम्रो गर्दै जान प्रेरणा मिलेको उनले बताए । 
अत्यधिक रुचाइएका अन्य माइक्रोब्लगमा फुडनोमिक्स, लभ–इट–रिपिट, भेजी डिलाइट नेपाल, नेपालयम, फुडस् नेपाल, फ्लेवर्स नेपाल, फुड सफारी नेपाल, माई डार्लिङ फुड, फुड सफारी नेपाल आदि पर्छन् । यिनलाई हजारौँ इन्स्टाग्राम प्रयोगकर्ताले पछ्याएका छन् । यी सबैका आ–आफ्नै विशेषता छन् । यीमध्ये कुनै विशेष स्थानकेन्द्रित छन् भने केहीले अरूभन्दा पृथक समीक्षा शैली अपनाएका छन् । केही शाकाहारी खानेकुराका बारेमा समीक्षा गर्छन् भने केही माछामासुका बारेमा मात्रै । द फिड फिड, जेमी ओलिवर, फुड एन्ड वाइन, ब्युटिफुल कुइजिन्सजस्ता विश्वविख्यात ब्लगजति लोकप्रिय हुन यी ब्लगलाई अझ केही वर्ष लाग्ला । तर, नेपाली इन्स्टाग्राम समुदायमा भने यिनले अहिले नै गतिलो तथा अमिट छाप छाडिसकेका छन् । 


फुड माइक्रोब्लगहरूको संख्या दिनदिनै बढिरहेको छ । सबै उत्तिकै लोकप्रिय भने छैनन् । केही अकाउन्ट केही समय चलेपछि उपयुक्त सामग्री अभावमा निस्क्रिय हुने गरेका छन् भने केही सोचेअनुरूप सफल हुन नसक्दा बन्द हुने गरेका छन् । सुरुमा ब्लग नचल्दाका अवस्थामा धेरैजसो ब्लगरहरूले आफ्नो वास्तविक परिचय नखुलाई वा केही छद्म नाम प्रयोग गरेर अकाउन्ट सञ्चालन गर्छन् । पछि लोकप्रिय हुँदै गएपछि धेरैले आफ्नो परिचय खुलाउने गरेको अत्यधिक देखिँदै आएको छ । धेरैले इन्स्टाग्राम वा युट्युबका माध्यमबाट आफ्नो वास्तविक परिचय खुलाएका छन् । ‘फुडी सिस्टर्स नेपाल’ का सञ्चालकले भने यही लेखमार्फत पहिलोपटक आफ्ना नाम सार्वजनिक गरेका छन् ।
सुरुआतमा खुला समीक्षा दिने इन्स्टाग्रामका अधिकांश यस्ता माइक्रोब्लगहरू आफ्नो लोकप्रियता बढ्दै गएपछि केही पूर्वाग्रही हुने देखिएको छ । कतिपय होटल तथा रेस्टुराँहरूले यस्ता माइक्रोब्लग प्रयोग गर्दै प्रायोजित रूपमा आफ्ना सकारात्मक समीक्षा लेखाउँदै पनि आएका छन् । हातमा राम्रो फोन र सुरुका दिनमा विभिन्न ठाउँ गई खान अलिकति पैसाको जोहो गर्न सक्नेका लागि फुड माइक्रोब्लगिङ बिस्तारै आम्दानीको राम्रो स्रोत बन्दै जान पनि सक्छ । ठूलै युवा जमातले यसलाई आफ्नो जीविकोपार्जनको माध्यम पनि बनाइरहेको छ । लोकप्रिय हुँदै गएपछि यीमध्ये कतिपयले आफ्ना प्रशंसकलाई ‘गिभअवे’ भनेर केही चलेका ठाउँमा खानाको निम्तो पनि दिने गरेका छन् ।

 

प्रकाशित: चैत्र ८, २०७४