सम्झना

यसकारण सम्झिइनेछन् हकिङ

- विभु लुइटेल, काठमाडौं

‘ब्ल्याक होलमा एकचोटि पसेको बाहिर निस्कनै सक्दैन । कुनै तारामण्डल होस् वा कुनै पनि स्रोतबाट आएको किरण, एकचोटि ब्ल्याक होलमा पसेपछि त्यसको अस्तित्व त्यहीँभित्रै हराउँछ ।’ सन् १९७४ मा स्टेफेन विलियम हकिङले यो सिद्धान्त प्रस्ताव गरे । तर, २०१४ मा सो सिद्धान्तलाई सच्च्याउँदै भने, ‘हो, मैले गल्ती गरेँ । ब्ल्याक होलमा पसेको केही कुरा त्यहीँ नहराउन पनि सक्छ ।’ 

सिंगो विज्ञानजगत्मै सनसनी मच्चियो । संसारले सबैभन्दा मानेका वैज्ञानिकले त यति ठूलो गल्ती गर्न सक्छन् भने के आधारमा अरूमाथि भरोसा गर्ने भन्नेसम्मका प्रश्नहरू आए । गल्ती हकिङको होइन, उनीमाथि विश्वास गर्ने मानवसमाजको हो भन्नेजस्ता टिप्पणीहरू आए । यस्तो गलत सिद्धान्त पढाउँदै आएकामा विद्यार्थीहरूसँग विश्वविद्यालयमा लिने गरिएको शुल्क उनीहरूलाई नै फिर्ता गर्नुपर्छ भन्ने जमात पनि निस्कियो । यस कुराले के पुष्टि गर्छ भने– जतिसुकै राम्रा काम गरे पनि, एउटा सानो गल्तीले ती सबै राम्रा काम बिर्साइदिने रहेछ । यो कुरा सामान्य मानिसका लागि मात्रै नभएर संसारकै सबैभन्दा तीक्ष्ण बुद्धि भएका वैज्ञानिकका हकमा समेत लागू भयो । बिस्तारै यो कुरा सेलाउँदै गयो । उनको नयाँ सिद्धान्तले सयौँ अनुसन्धानकर्तालाई नयाँनयाँ अनुसन्धानका लागि ढोका खोलिदियो । यिनै स्टेफेन हकिङ अहिले हामीमाझ छैनन् । तर, उनका सिद्धान्त, उनले लेखेका दर्जनौँ पुस्तक र उनीमाथि बनेका चलचित्रले उनलाई सदैव अमर राख्नेछन् । 

नोबेल पुरस्कारलाई सबैजसो वैज्ञानिकहरू आफ्नो श्रेष्ठता मापन गर्ने एकाइ सोच्छन् । स्टेफेन हकिङले नोबेल पुरस्कार नै पाएनन् । यसले उनका योगदानको अवमूल्यन गरेको भने होइन । उनका सिद्धान्तलाई व्यवहारमा उतार्ने प्रविधि नै आविष्कार गरिएका छैनन् । अन्तरिक्ष र ब्ल्याक होलमाथि प्रयोग–परिक्षण गर्नु चानचुने कुरा पनि होइन । यसका लागि अझै केही शताब्दी लाग्ने कुरा वैज्ञानिकहरू बताउँछन् । 

हकिङ अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस नामको रोगबाट ग्रसित थिए । अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्दा उनमा यस रोगको लक्षण देखिन थालेको थियो । बिस्तारै रोग विकसित हुँदै गएसँगै उनको बोली लर्बराउन थाल्यो, हातखुट्टा र आँखा कमजोर हुँदै गए । कसैले हिँड्न, केही लेख्न वा केही सहयोग गर्न खोजेको अवस्थामा उनी झर्कन्थे । ‘म केही कुरामा पनि अक्षम छैन । म सुरुमा एक वैज्ञानिक हुँ, एक लेखक हुँ अनि त्यसपछि एक सामान्य मानिस हुँ । अरूले जस्तै म आफ्ना काम आपैँm गर्न सक्ने सामथ्र्य छ मसँग ।’ 

केही समयपश्चात् उनको शरीरका अधिकांश अंगले काम नै गर्न छाडे । ह्विलचेयर नभई उनी कतै जानै सक्दैनथे । उनको ह्विलचेयरमा एक कम्प्युटर जडान गरियो । हातखुट्टा चल्न छाडिसकेका थिए । खाने मुखलाई जुंगाले के छेक्थ्यो ? गालाको चालले उनी कम्प्युटर चलाउन थाले । केही समयपछि इन्टेल कम्पनीले उनको मस्तिस्कको तरङ्ग र अनुहारका भाव कैद गरी आपैँm संचालन हुने कम्प्युटर पनि निर्माण गरिदियो । उनी क्याम्ब्रिजमा प्राध्यापनरत हुँदा विश्वविद्यालय परिसरलाई ह्विलचेयरमैत्री बनाइनुपर्छ भन्दै धर्ना पनि बस्नुपर्‍यो । उनले २५ औँ जन्मदिन पनि मनाउन नपाउने कुरा डाक्टरहरू उनका परिवारलाई भनिरहन्थे । तर, उनी ७६ वर्षसम्म बाँचे । परिमाण भौतिकशास्त्रमा विश्वको सर्वोत्कृष्ट वैज्ञानिक नै बने । 

हकिङ एक कुशल वैज्ञानिक मात्र नभई एक प्रेरक वक्ता पनि थिए । आफ्नो ह्विलचेयरमा जडित कम्प्युटरका सहयोगले उनी समय–समयमा प्रेरणादायी वक्तव्य दिइरहन्थे । उनका सबै वक्तव्यहरू अत्यन्तै जीवनोपयोगी छन् । उनका प्रवचन कुनै एक मात्र विषयमा कहिल्यै केन्द्रित भएनन् । कहिले भगवान् त कहिले विज्ञान, कहिले शिक्षाको महत्व त कहिले मानव हुनाको सार्थकता– विभिन्न विषयमा उनी आफ्ना विचार राखिरहन्थे । 

ब्रह्माण्डमा पृथ्वी एक मात्र ग्रह होइन । पृथ्वीजस्तै खगोल कायहरू ब्रह्माण्डमा हजारौँको संख्यामा होलान् । तिनमा सायद जीवन पनि सम्भव हुँदो हो । स्टेफेन हकिङ बेलाबेला सबैलाई परग्रहीहरूबाट हुन सक्ने संभावित आक्रमणबारे सचेत गराइरहन्थे ।

‘कोलम्बसले अमेरिका पत्ता लगाए । त्यहाँका आदिवासीका लागि यो कुरा अभिशाप नै साबित भइदियो । परग्रहीहरू पृथ्वीमा आएपछि हाम्रो अवस्था पनि त्यस्तै हुनेवाला छ ।’ धेरैले यो कुरालाई बकम्फुसे गफ माने पनि यसको संभावना नकार्न भने सकिँदैन । विभिन्न शक्तिराष्ट्रले पृथ्वीबाहिरको जीवनमा अध्ययन गर्न वर्षेनी करोडौँ रूपियाँ पनि खर्च गर्ने गरेका छन् । 

हकिङ कृत्रिम बुद्धिमत्ताबाट बच्न पनि सबैलाई सचेत गराइरहन्थे । कृत्रिम बुद्धिमत्ता मानिसको दिमागको उपज हो । तर, यो प्रयोग गरी बनाइएका यन्त्रहरूको स्मरण र विश्लेषणात्मक शक्ति मानिसको भन्दा धेरै हुँदै गइरहेको छ । मानिसले गर्न सक्ने सबै काम यी यन्त्रहरू सजिलै गर्न सक्छन् । हकिङ सधैँ चाहन्थे– मानिसले कृत्रिम बुद्धिमत्तालाई नियन्त्रण गर्नुपर्छ, कृत्रिम बुद्धिमत्ताले मानिसलाई होइन ।

प्रकाशित: फाल्गुन ३०, २०७४