समसामयिक

सिरिया रोइरहेछ

सिरियामा अब एउटै विकल्प बाँकी छ— तानाशाह कि अतिवादी धार्मिक कट्टरपन्थी । जुनसुकै चयनले जीवनलाई सधैँ धारमा पार्नेछ ।

- प्रदीप बस्याल, काठमाडौं

६ फागुनदेखि पुन: एकपटक सिरियाले विश्वको ध्यान खिचेको छ । राजधानी दमास्कस छेवैको पूर्वी गुट सहरमा रुस समर्थित सिरियाली सैन्यबलले गरेको हमलामा १० दिन बीचमा ६ सयभन्दा बढी मानिस मारिए । ४ लाख जनसंख्या भएको उक्त क्षेत्र उसै पनि विद्रोहीको आधार क्षेत्र भन्दै सुरुदेखि नै आन्तरिक नाकाबन्दीमा थियो । भोकमरीका कारण बालबालिकाहरूले कुपोषणको समस्या झेलिराखेका थिए । टर्की, रुस र इरानबीच त्यस क्षेत्रमा हवाई उडान नगर्ने सहमतिसमेत भएको थियो । तर, राजधानीलाई पर्नसक्ने संकटको डरमा सरकारी पक्षले जोखिम मोल्न चाहेन । त्यहाँ रासायनिक हतियारको समेत प्रयोग भएको आशंका गरिएको छ, जसलाई सिरियाली सरकार र रुस पक्षले अस्वीकार गर्दै आएका छन् । 

युद्धरत पक्षहरू अनेक कोणबाट बढी विभाजित छन् । र, सबैतिर विदेशी हस्तक्षेप छ । उनीहरू कुनै मिलनबिन्दु खोज्ने प्रयासमा पनि छैनन् । अमेरिकाको निशाना कम्तीमा देखिने गरी यसअघिसम्म आईएस भनिने इस्लामिक स्टेट्ससँग थियो, जुन पछिल्लो समय सीधै राष्ट्रपति बसर अल असादप्रति लक्षित छ । साउदी अरब, रुस, इरानका आफ्नै भूमिका, स्वार्थहरू झन्–झन् जेलिइराखेका छन् । ३ लाखदेखि ५ लाखबीचमा भिन्नभिन्न दाबीबीच मृत्युकै स्पष्ट आँकडा नै राख्न छाडिएको छ । 

इजिप्टदेखि यमनसम्म, लिबियादेखि बहराइनसम्म फैलिएको ‘अरब स्प्रिङ’ भनिने प्रजातन्त्रको लहर त्यतिखेर सिरियामा समेत बेरोजगारी र प्रजातन्त्रको बहानामा उठेको थियो । त्यसको सुरुआती कडी भित्तामा सरकारविरोधी नारा लेखेका कारण पक्राउ परेका १५ बालबालिका परे, जसलाई यातनासमेत दिइएका समाचार आएका थिए । उनीहरूको रिहाइको माग गर्दै सन् २०११ को मार्चमा प्रजातन्त्र पक्षधर आन्दोलनकारी समूहको शान्तिपूर्ण प्रदर्शनमा भएको हमलाबाट सिरियामा युद्धको झिल्को उठेको थियो । एकपछि अर्को गर्दै प्रदर्शनकारी र सत्तापक्षबीच संकट चुलिन थाल्यो । प्रदर्शनकारी पक्षबाट समेत शृंखलाबद्ध गोलाबारी सुरु भयो । 

केही सिरियाली सेनाहरू नै जागिर छाडेर प्रदर्शनकारीको कित्तामा गएर आफूलाई ‘फ्रि सिरियन आर्मी’ घोषित गरेपछि प्रदर्शनले गृहयुद्धको स्वरूप लिएको थियो । अतिवादी सोच बोकेका मुस्लिमहरू विश्वभरबाट सिरिया पुग्न थाले । त्यसैबेला असाद आफँैले जेलमा रहेका अतिवादी आतंककारीहरूलाई छाडिदिएपछि युद्धले नयाँ मोड लिएको थियो । असादको उद्देश्यचाहिँ सिरियामा खेल्न खोजिराखेका विदेशी शक्तिलाई रोक्ने कवचको रूपमा त्यसले काम गरोस् भन्ने थियो । उनले सोचेजस्तो अल कायदाले सन् २०१२ को सुरुमै सिरियामा आफ्नो शाखाको रूपमा जबात अल नुर्साको स्थापना गर्‍यो । 

सन् २०१२ मै घटनाक्रमले छद्म युद्धको स्वरूप लियो । सिया मुस्लिम कित्ताको नेतृत्व गरिराखेको इरानले अघोषित रूपमै असाद राजलाई सघाउन थाल्यो । उतिखेरै पर्सियन खाडीबाट साउदी अरब नेतृत्वका सुन्नी बाहुल्य देशहरूले इरानलाई रोक्ने दाउमा असादविरुद्ध लडिरहेका विद्रोहीहरूलाई हतियार र पैसा पठाउन थाले । इरानले लेबनानी सैन्य दस्ता हेजबुल्लालाई असाद पक्षबाट लड्न लगायो । हेजबुल्ला लेबनानको सिया राजनीतिक पार्टीसमेत हो, जसलाई अमेरिका, बेलायत, इजरायल, गल्फ को–अपरेसन काउन्सिल र अरब लिगसमेतले आतंककारी घोषणा गरेका छन् । युद्धमा हेजबुल्लाको प्रवेशसँगै सुन्नी मुलुकहरूले विद्रोहीलाई गरिराखेको आफ्नो सहयोगलाई बढोत्तरी गरे । सिरिया युद्धले सिया–सुन्नी युद्धको रंग लियो । 

अमेरिका सिरिया युद्धमा छिरेको सन् २०१३ मा हो । राष्ट्रपति बाराक ओबामाले आफ्नो गुप्तचर संस्था सीआईएलाई एक गोप्य आदेशमार्फत असादविरुद्ध लडिराखेका विद्रोहीलाई तालिम र हतियार दिन लगाए । उतिखेरै अमेरिकाले सुन्नी मुलुकहरूलाई विद्रोहीहरू पोस्ने काम नगर्नसमेत भन्यो । सुन्नीहरूले सुनेको नसुन्यै गरे । तर, असादले अगस्त सन् २०१३ मा रासायनिक हतियारको प्रयोग गरेपछि सारा विश्वले सिरियाको आलोचना मात्र गरेन, खुलेरै असादविरुद्ध उत्रने अवसर पायो । राष्ट्रपति ओबामाले तत्काल ह्वाइटहाउसबाटै असादको कदम सीधै अमेरिकी राष्ट्रिय सुरक्षासँग जोडिएको भन्दै उनलाई ‘जवाफ’ दिन आवश्यक रहेको बताएका थिए । 

सन् २०१४ मा पुग्दा अलकायदाभित्रको आन्तरिक विवादले उसमा फुट उत्पन्न भयो । उसबाट टुक्रिएको आईएस खालिफा भनिने धार्मिक कानुनीराजतर्फ मोडियो । र, आईएसआईएस अर्थात् इस्लामिक स्टेट्स इन इराक एन्ड सिरिया बन्यो । सिरियामा बिग्रिएको अवस्थालाई आफ्नो उदयका लागि सबैभन्दा उत्कृष्ट अवसर ठानेको आईएस संसारकै क्रूर संगठनसमेत बन्यो ।  

आईएसको लडाइँ त्यसपछि असादभन्दा बढी कुर्द र अल कायदाविरुद्ध हुन थाल्यो । उता त्यसै वर्षको अन्त्यतिर असादविरुद्ध लडिराखेको अमेरिकाको शक्ति आईएसविरुद्ध मोडियो । कालान्तरमा नयाँ अमेरिकी रणनीतिमा उसले त्यस्ता विद्रोहीलाई मात्र प्राथमिकतामा राखेर तालिम दिने भयो, जो आईएसविरुद्ध लड्नेछन् । सन् २०१५ मा आइपुग्दा अमेरिकी नेतृत्वको प्रतिरक्षा संगठन नेटो सदस्य रहेको टर्की सिरियामा जोडियो । तर, उसको हमला आईएसविरुद्ध नभई केवल कुर्दिसविरुद्ध सोझियो । अमेरिका र उसका मध्यपूर्वकै साझेदारका स्वार्थ र प्राथमिकतासमेत बाझिन थाले । टर्कीले किन त्यसो गर्‍यो ? विकिलिक्सले सार्वजनिक गरेको दस्तावेजअनुसार राष्ट्रपति रिसेप एर्दोगानका ज्वाईं, जो सरकारका वरिष्ठ मन्त्रीसमेत हुन्, को संलग्नता आईएसआईएस नियन्त्रित क्षेत्रका तेल प्रशोधन केन्द्रसँग भइराखेको पाइनुले उनीहरूबीच व्यापार भइराखेको हुनसक्ने बलियो आधार दियो । 

सन् २०१५ को अन्त्यतिर रुसले आईएसविरुद्ध लड्ने भन्दै असाद राजको कित्तामा आफूलाई उभ्यायो । पछि उसका हवाई हमलाहरूदेखि प्रायोजित आतंककारीजस्ता अस्त्रहरू बाक्लिन थाले । तर, रुसको निशानामा आईएसजत्तिकै अमेरिकी साथ पाएका विद्रोहीसमेत पर्न थाले । अनि, सिरिया विश्वका दुई ठूला सैन्यशक्ति अमेरिका र रुसबीच छद्म युद्धको रणभूमि बन्न पुग्यो । 

रुसले खुला रूपमा आफूलाई सिरिया युद्धमा सामेल गराएपछि त्यसको सबैभन्दा बढी मार सर्वसाधारणमा पर्‍यो । त्यही उत्कर्षका बीच सन् २०१५ मा मध्यपूर्व र युरोपले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो शरणार्थी संकट झेल्न पुगे । अहिले एक तिहाई सिरियालीहरू आफ्नै देशभित्र विस्थापित छन् भने ४० लाखभन्दा बढी शरणार्थी बनेका छन् । 

छिमेकी इराक, जोर्डन, इजिप्ट, लेबनान र टर्कीका शरणार्थी शिविरमा छन् । जबकि, साउदी अरब, कतार, कुवेत, बहराइन, युनाइटेड अरब इमिरेट्स (युएई), ओमानजस्ता पर्सियाली खाडीका अरब राष्ट्रहरूले मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलको शब्दमा ‘लज्जाजनक’ रूपबाट एकजना सिरियालीलाई पनि शरण दिएनन् । शताब्दीकै ठूलो शरणार्थी संकटका रूपमा अथ्र्याइएको सिरियाली संकटका लागि राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसिआर) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) दुवै तयार थिएनन् । 

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेसँगै सुरुमा उनले सिरियामा आफू थप नफस्ने बताएका थिए । तर, २०१७ को सुरुतिरै असादले प्रयोग गरेको रासायनिक हतियारले ओबामाजस्तै ट्रम्पलाई पनि तर्सायो । ‘टमहक’मार्फत सिरियाली सैन्य आधारहरूमा हमला गर्‍यो । अमेरिकाले सीधै र खुला रूपमा सिरियामाथि गरेको पहिलो हमला थियो त्यो । 

सिरिया युद्ध यतिखेर झन् भद्रगोल अवस्थामा पुगेको छ । गुमेका क्षेत्र असादराजले फिर्तै पाए पनि पुरानो स्वरूपमा आउला भनेर अनुमानसमेत गर्न सकिँदैन । 

शरणार्थीमार्फत सिरिया संकटको सबैभन्दा बढी मार खेप्ने एउटा भूगोल युरोप पनि हो । तर, सुरुदेखि यस मामिलाबाट पन्छिन खोजिराखेको छ, ऊ । सन् २०१५ तिरबाट जब शरणार्थी आउने क्रम बढ्यो, युरोपेली युनियनले आफ्ना सीमामा उच्च स्तरको सुरक्षा संयन्त्र खडा गर्न भन्दै २ अर्ब युरो खर्चेर हाइटेक प्रविधिहरू जडान गर्‍यो । तर, शरणार्थीका लागि उल्लेख्य खर्च गरेन । पहिलो पाइला टेकेकै देशमा शरण लिनुपर्ने कानुनी प्रक्रियाका कारण थुप्रै देश कानुनी रूपबाटै संकटमा छन् । तटीय मुलुकहरूले उक्त कानुनी संकट निरुपण गर्न अन्यबाट साथ पाएका छैनन् नै । यस्तो मानवीय संकटबीच विश्व एकजुट हुनुको साटो झन् विभाजित देखिन्छ । सबैभन्दा नजिकको ग्रिस आफ्नो आर्थिक संकटकै बीच शरणार्थीको अर्को चेपुवामा परेको छ । 

बेलायतले भू–मध्य सागरमा शरणार्थीलाई रोक्ने र फिर्ता पठाउने अपरेसन ‘मारी नोस्टम’ नै चलायो, जसको अर्थ अरूले त्यस्तो बाटो नखोजून् भन्ने थियो । तर, त्यो पाठ सिकाउने क्रममै समुद्रमा डुबेर धेरैको ज्यान गयो । बेलायतले सन् २०२० सम्ममा जम्मा २० हजार सिरियाली लिन सक्ने बताएको छ । अमेरिकाको झनै कम अर्थात्् १० हजार लिने भन्ने छ ।  

टर्की तटमा ज्यान गुमाएका एक बालकको तस्बिरपछि बल्ल संसारको ध्यान यो घटनाक्रमतर्फ खिचियो । जर्मनीले नि:सर्त आठ लाख शरणार्थी लिने घोषणा गर्दै उनीहरूका लागि तयारी सुरु गर्‍यो । त्यो संख्या सन् २०१४ मा पूरा युरोपले लिएको शरणार्थीभन्दा बढी थियो । 

अधिकांश शरणार्थीको घर फिर्ने आशा नै मरिसकेको छ । एक त सिरियामा युद्ध कहिले रोकिने टुंगो छैन भने अर्कोतर्फ रोकिए पनि सबैतिर भग्नावशेष मात्र बाँकी रहेको सिरिया पुरानै वा नयाँ स्वरूपमा कहिले फर्कने भन्ने टुंगो छैन । सबैभन्दा ठूलो डर त सिरियामा रहेको एउटै विकल्प तानाशाह कि अतिवादी धार्मिक कट्टरपन्थी भन्ने हो । जुनसुकै चयनले जीवनलाई सधैँ धारमा पार्नेछ । 

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित: फाल्गुन २१, २०७४