जीवनशैली

उकुसमुकुसबाट उडान

आफू समलिंगी भएको लेक्स लिम्बूको खुलासा

- गोकर्ण गौतम, काठमाडौं
एक दशक पुग्यो, लेक्स लिम्बूले ब्लग लेख्न थालेको । यति नै समय बित्यो, इन्टरनेटमा रमाउने नेपाली तन्नेरीमाझ उनी लोकप्रिय भएको । अंग्रेजी भाषाको अनौपचारिक लेखनबाट लेक्सले हजारौँ ‘फलोअर्स’ कमाए । सुरु–सुरुमा सिनेमा र सेलिब्रिटीका बारेमा लेख्थे, अहिले समाजका अनेक विषयलाई समेट्छन् । जे गर्छन्, केन्द्रमा युवा नै हुन्छन् । लेखनले मात्र होइन, उनको आनीबानी र फेसन सेन्सले पनि धेरैको नजर तान्छ । १२ फागुनमा लेक्सले ‘सरप्राइज’ दिए, आफ्ना शुभेच्छुक र यो समाजलाई । त्यस ‘सरप्राइज’ले उनलाई चर्चाको केन्द्रमा त पुर्‍याएकै छ, सम्मान र प्रेम दर्शाउनेको संख्या थपिँदो छ । आखिर ‘सरप्राइज’ छ नै त्यस्तो । २५ वर्षे यी तन्नेरीले आफ्नो आधिकारिक युट्युब च्यानलबाट सगर्व घोषणा गरे, ‘म समलिंगी पुरुष हुँ ।’ वाह, कस्तो आत्मबल !
 
भिडियो हेरेपछि युट्युबमा शिक्षा कार्कीको प्रतिक्रिया छ, ‘संसारभरबाट सबैको माया संगालेर तिमीलाई पठाउँदै छु । सलाम † तिम्रो साहसलाई ।’ भरतमान श्रेष्ठ लेख्छन्, ‘डरलाई जितेकोमा तिमीलाई बधाई छ ।’ अधिकांश प्रतिक्रियाको सार यस्तै छ । नहुनु पनि कसरी, आफ्नो असली पहिचान सबैसामु खुलाउने आँट जो गरे । उकुसमुकुसबाट उडान जो भरे । उनी आफैँ भन्छन्, “एउटा छुट्टै ऊर्जा मिलेको छ ।” तर उनलाई अढाई दशक लाग्यो, यो तथ्य सबैसामु निर्धक्क पोख्न । डर थियो– परिवार, समाज अनि कथित संस्कृतिको । धक लाग्थ्यो, साथीको सामु । मन पोल्थ्यो, भोलिको भयले । तर, अन्तत: लेक्सले जिते । यो त्यही जितको कथा हो । अनि, प्रेरणादायी पनि, जो आफ्नो यौनिक पहिचान लुकाउन अभिशप्त छन् ।
 
सन् १९९२ मा धरानमा जन्मिए, लेक्स । बुबा बेलायती आर्मी । बुबाको सरुवासँगै दुई वर्षको उमेरमा बु्रनाई पुगे । आठ वर्षको उमेरमा बेलायत । अहिले पनि त्यहीँ छन् । खुला परिवेशमा हुर्कन पाउनु आफैँमा सुखद थियो । तर, उनी बडो शान्त र अन्र्तमुखी स्वभावको परे । कम बोल्ने, आफैँसँग रमाउने । ११–१२ वर्षको उमेरदेखि स्वाभाविक रूपमा यौन भावना पैदा भयो । तर, केटी होइन, केटासँग । तैपनि सोच्थे– अहिलेलाई मात्र यस्तो भएको हो, पछि केटी नै मन पर्छ । तर, त्यस्तो कहिल्यै भएन । केटी साथी हुन्थे, यौन चाहना फिटिक्कै नआउने । बरू केटासँगै मन डुल्थ्यो ।
 
अनि, निश्चिन्त भए, ‘म ‘गे’ हुँ, मलाई केटा नै मन पर्छ ।’ यतिबेला १८ वर्ष पुग्दै थिए । उनले समलिंगी गायक एल्टन जोनबारे बच्चैमा पढेका थिए । सोचे, म त्यस्तै हुँ । बेलायतबाट इन्टरनेट कुराकानीमा लेक्सले ती दिनहरू सम्झिए, “त्यतिबेला पनि मैले आफूलाई प्रश्न उठाइनँ । मनबाटै स्वीकारेँ । सायद स्कुलमै समलैंगिकताबारे ज्ञान पाएर हुनसक्छ ।” यस्तो अवस्थामा अधिकांशले केटीलाई माया गर्ने प्रयास गर्छन्, कतिले ‘गे’ होइन भनेर प्रमाणित गर्न, कतिले आफूलाई परीक्षण गर्न । जसबाट राहत होइन, झन् तड्पिनु पर्छ । तर, लेक्सले कहिल्यै यो बाटो रोजेनन् । जसलाई माया गर्न गाह्रो हुन्छ, त्यसलाई माया गर्न खोजेर किन आफैँलाई कमजोर बनाउने ? उनलाई यस्तै लाग्थ्यो । 
 
‘गे’ हुनुमा कुनै ग्लानि थिएन । तर, परिवार त परको कुरा, साथीसँगसमेत खुलस्त भन्न सक्दैनथे । किन त ? भन्छन्, “नेपालबाट हेर्दा बेलायत उदार देखिन्छ । तर, यहाँ पनि “बुलिङ”को सिकार हुन्छन् समलिंगी । अपमान र तिरस्कार 
सहनु पर्छ ।” उनले सांकेतिक रुपमा साथीहरूलाई जनाउ दिने मध्यमार्गी बाटो अपनाए । खुसीको कुरा, साथीहरूको प्रतिक्रिया आत्मीय हुन्थ्यो, ढाडस दिन्थे । संवेदना होइन, साहस दिन्थे । सोही कारण नजिकका मित्रसँग लुकाएनन् । तर, परिवारलाई ? अहँ, अझै आँट र आत्मविश्वास पलाएन । परिवारको एउटै छोरोले ‘गे’ भएको घोषणा गर्दा बुबाआमाको हृदयमा चोट पुग्ला भन्ने तनाव हुन्थ्यो । आफ्ना कति समलिंगी साथीलाई परिवारले नस्वीकार्दाको भयावह परिणाम देखेका थिए । त्यसैले खुल्न चाहेनन् । पढाइ र ब्लगिङमै रमाउने प्रयत्न गरे । घरमा पत्तै दिएनन् । 
 
तर, कति दिनसम्म ? समयसँगै पिरोल्न थाल्यो । 
 
बुबाआमालाई असली कुरा नभनेकोमा पीडाबोध हुन्थ्यो । नचाहँदा–नचाहँदै आफू आमकेटा भएको अभिनय गर्नुपथ्र्यो । अझ घोच्ने कुरा अर्कै हुन्थ्यो ।  खुला समाजको शिक्षित र आत्मनिर्भर व्यक्तिले नै दुनिँयालाई ढाँट्ने हो भने अरू कसरी खुल्न सक्छन् ? लेक्स भन्छन्, “त्यसैले म बाहिर आउनै पर्छ भन्ने जिम्मेवारीबोध हुन थाल्यो । आफ्नो यौन पहिचान लुकाउनुपर्ने कारण नै भेटिनँ ।” सुरुआत आफ्नै घरबाट गर्ने निधो गरे । जुलाई २०१७ को एक साँझ ।
 
बुबाआमा सँगै थिए । लामो समयदेखिको प्रतीक्षा थियो, त्यो पल । अदम्य साहस बटुलेका थिए मनमा । र, मुखबाट खसिहाल्यो, ‘म केही भन्न लागेको छु । नडराउनुस्, म ‘गे’ हुँ ।’ यतिमै रोकिएनन्, ‘म केटा हुँ, केटालाई नै मन पराउँछु । अन्य केटा र ममा अरू केही फरक छैन ।’ यत्ति भनेपछि अभिभावकको अनुहार हेरे । मलिनता र दु:खको बादल छाएको थियो । लेक्सलाई डर थियो, कतै कठोर स्थितिको सामना गर्नुपर्ने त होइन ? तर, केहीबेरको मौनतापछि बुबाआमाको मायालु आवाज सुने, ‘कहिलेदेखि थाहा पायौ ? यत्रो समय किन लुकाएको ? कति गाह्रो भयो होला ?’ लेक्स भावुक सुनिए, “यस्तो भावनात्मक प्रतिक्रियापछि ममा अझ आत्मविश्वास बढ्यो । साँच्चै लक्की रहेछु भन्ने लाग्यो, यत्ति बुझक्कड अभिभावक पाएर ।” भलै, बुबाआमाले नस्वीकारे घर छोडेर एक्लै बस्छु भनेर 
‘प्लान बी’ बनाइसकेका थिए । उनी मुस्कुराए, “धन्न ! त्यस्तो अवस्था आएन ।” 
 
साथी र अभिभावकको यति न्यानो साथले दरिलो बनाइहाल्यो । र, युट्युबमार्फत रहस्योदघाटन गरे । लेक्स लेखनबाट ‘युथ आइकन’ बनिसकेका छन् । यसकारण पनि, उनी खुल्नु भनेको अरूका लागि ऊर्जाको स्रोत हुनु हो । लेक्सले चाहेको यत्ति हो । जुन पूरा हुँदै छ किनभने अचेल फेसबुक, इमेलको इनबक्स चेक गर्न भ्याईनभ्याई छ । कोही आफू खुल्न नसकेको पीडा पोख्छन्, कोही अन्य खालका घरेलु हिंसाको सिकार भएको व्यथा सुनाउँछन् । कतिले खुल्ने आँट आएको, लैंगिकताप्रतिको हीनताबोध हराएको कुरा सहर्ष म्यासेन्जरमा पठाउँछन् । पर्यटन, वातावरण र विकासमा स्नातकोत्तर गरेका लेक्स भन्छन्, “यसरी अरूलाई आत्मबल प्रवाह गर्दा ज्यादै सन्तुष्टि मिल्दोरहेछ ।” 
 
लेक्सका एलजिबिटी (लेस्बियन, गे, बायोसेक्सुअल, ट्रान्सजेन्डर) समुदायका यस्ता साथीहरू छन्, जो बाहिरबाट खुसी तर भित्रभित्रै पीडामा पिल्सिरहेका । कति त मानसिक समस्याकै सिकार हुन्छन् । समस्या उही हो, आफ्नो लैंगिकताको बारेमा खुल्न नसक्नु । कति खुलेका छन् । तर, समाज र परिवारको अपहेलनाको चोट सहिरहेका हुन्छन् । कतिका आमाबाबुले चाहेर पनि समाजको डरले आफ्नो सन्तानको चाहलाई स्वीकार्न सक्दैनन् । लैंगिकताकै तनावका कारण करिअर ध्वस्त हुनेको संख्या पनि कम छैन । जबकि, सबैको चाह असली पहिचान बाहिर ल्याउने र गर्वका साथ बाँच्ने नै हुन्छ । लेक्सलाई लाग्छ, समाजमा एकअर्कालाई सम्मान गर्ने र स्वीकार्ने संस्कार विकास गर्न बहस चलाउनु जरूरी छ । जसले गर्दा कसैले लैंगिकताकै कारण आततायी जीवन भोग्नु नपरोस् । यौनिक अल्पसंख्यकका बारेमा बेलाबखत ब्लग लेख्दै आएका लेक्सको सुझाव छ, “समाज, परिवार वा अरू कसैको सोचमा बाँधिएर जिउनुपर्छ भन्ने छैन । आफू मानसिक र भावनाको रूपमा सक्षम र साहसी हुनुपर्‍यो । जिउने शैली आफ्नै छनोटको हुनुपर्छ ।”
 
लेक्सको अहिले पार्टनर छैनन् । भइदिएको भए, अगाडि ल्याउँथे । विवाह गर्ने, सन्तान जन्माउने सपना देख्छन् । सन्तानको चाह पूरा गर्न प्रविधि फलिफाप हुँदैछ । सुर्ता लिनुपर्ने केही छैन । उनलाई लाग्छ, आफू आफैँजस्तो भएर बाँच्ने हो । परिवार, समाज वा अन्य सम्बन्ध पछिका कुरा हुन् । आत्मनिर्भर हुने हो । आफ्नो खुसीलाई केन्द्रमा राख्ने हो । कुनै वियोगबाट पिल्सिएर आफैँलाई चोट दिनु हुन्न । कोही नहुँदा पनि जीवन सकिन्न, शून्य हुन्न । लेक्स मुस्कुराए, “लाइफ इज लङ । सो लेट्स कम आउट ।” जीवन लामो छ । त्यसैले खुलेर जिऔँ । 
 

यो पनि पढ्नुहोस्: समलिंगी संसार

प्रकाशित: फाल्गुन २०, २०७४