ब्लग

नोटबुक

- वसन्तप्रताप सिंह, काठमाडौं

कमाउ कापाहाका
न्युजिल्यान्ड बस्ने लोपोन्मुख आदिवासी समुदाय मावरीको कापाहाका नृत्य दिल्लीमा हेर्न पाइयो । करिब एक हजार वर्षदेखि यो समुदायको जनसंख्या कुल जनसंख्याको करिब १४ प्रतिशत रहेछ । 
न्युजिल्यान्ड सरकारले यो समुदायको जनसंख्या बढाउनका लागि थुप्रै अनुदान र सुविधाहरु पनि प्रदान गरेको विषय यदाकदा पत्रपत्रिकामा पढेको थिएँ । कापाहाका नाचबारे सुनेको र हेर्ने मौका भने पाएको थिइनँ । दिल्लीमा कापाहाका नाच हेर्दा जति अद्वितीय लाग्यो, यो नृत्यबाट हुने कमाइका बारेमा सुन्दा झन् छक्क परियो । 

न्युजिल्यान्डको समग्र पर्यटन क्षेत्रबाट हुने कुल गार्हस्थ्य उत्पादनको झन्डै आधा हिस्सा यो समुदायको जीवनशैली हेर्न आउने पर्यटकहरुबाट प्राप्त हँुदो रहेछ । यसमा पनि कापाहाका नाच देखाएर आउने रकमको अंक वार्षिक एक अर्ब डलरको हाराहारीमा रहेछ । न्युजिल्यान्ड मात्र होइन, अस्ट्ेरलियाले पनि मावरी समुदायको यो नृत्यबाट धेरै आम्दानी गर्ने रहेछ । देश–विदेशमा समेत प्रख्यात कापाहाका नृत्य गर्ने प्रत्येक व्यक्तिले वार्षिक २० लाख डलरसम्म आम्दानी गर्दा रहेछन् । 

यो नाच विश्वभर देखाएर आम्दानी गर्ने १ हजार २ सयभन्दा बढी पर्यटन व्यवसायी संस्थाहरु, विश्वभर रहेका तिनका हजाराँै साझेदार र त्यसमा कार्यरत लाखौँ मानिसको रोजगारीको मेलो पनि कापाहाका नै रहेछ । नाच हेर्दै गर्दा लाग्यो, हाम्रो देशमा जति जातीय र सांस्कृतिक विविधता अरु देशमा कमै छन् । नाचहरु त कति–कति ! नेपालमा बसोवास गर्ने आदिवासी समुदायको योभन्दा आकर्षक र अद्वितीय कला–संस्कृतिको विश्वव्यापीकरण हाम्रो देशले गर्न सके त नाचै मात्र देखाएर देश धनी पो हुने रहेछ ।

जनताले लागू गर्ने नियम
भारतमा मदिराको व्यापार निकै नै व्यवस्थित र नियन्त्रित छ । मदिरा व्यापार गर्ने सीमित सरकारी अनुमतिप्राप्त पसल छन् । एउटा पसलदेखि अर्काे पसलको दूरी कम्तीमा एक किलोमिटर तय गरिएको हुन्छ । साँझ ६ देखि ९ बजेसम्म मात्र मदिराको सार्वजनिक कारोबार हुन्छ । समग्रमा भारतमा मदिराको कारोबार निकै व्यवस्थित पाइयो । 

व्यवस्थित मदिरा कारोबारका कारण हाम्रो टोलीमा गएका केही सोमरस पारखी साथीहरु रातभर छटपटाउनु पर्ने अवस्था पनि आयो । दिल्लीमा चलिरहेको दक्षिण एसियाली पर्यटन प्रदर्शनी स्थलबाट राती अबेला फर्किंदा मदिराका पसल बन्द भइसकेका हुन्थे । बसेको होटलमा पनि पाइँदैन थियो ।
दिल्लीबाट देहरादुन पुग्दा पनि अवस्था उस्तै थियो । भोलिपल्ट पर्यटकीय क्षेत्र मसुरी घुम्न जाने योजना थियो । एक मित्रले सात/आठ वटा क्यान बियर बाटोमा खानका लागि पहिलो दिन नै प्याक गरिसकेका रहेछन् । बीच बाटोमा खाजा खानका लागि एउटा खाजा पसलमा छिर्दा उनले बोकेको झोलाबाट फटाफट क्यान निकालेर टेबुलमा राख्न थाले । त्यो देखेर पसलेले उनलाई ‘यहाँ मदिरा सेवन गर्न पाइँदैन, लुकाइ हाल्नूस्’ भन्यो । मित्रले भने, ‘यहाँ पुलिस छैन, के हुन्छ र ?’ भन्न थाले । पसलेले दिएको जवाफ भने विचारयोग्य थियो । उनले भने, ‘नियमजति सबै पुलिसले मात्र कार्यान्वयन गर्नुपर्छ भन्ने छ र ? सरकारले नियम बनाउने हो, जनताले पालना गर्ने हो ।’

अटोवाला साम्राज्य 

दिल्लीमा अटो रिक्सावालाले दु:ख दिएको कहानीहरु हाम्रा गाउँतिर पनि निकै चर्चाका विषय हुन्छन् । भारतबाट आएकाहरुको कुराकानीको प्रवेश विन्दु नै अटोवालाले थर्काएर बढी पैसा असुलेको र बाटोमा पाएको दु:खमा केन्द्रित हुन्छ । अघिल्लो दिन इन्डिया गेटदेखि करोलसम्म पुग्दा ३० रुपियाँ तिरेका थियाैँ । पछिल्लो दिन दुई सयभन्दा तल कुनै पनि अटोले जानै मानेनन् । निकै अनुनयपछि एक जनाले कृपापूर्वक १ सय ५० रुपियाँमा करोलबाग लैजान सहमत भए । रात छिप्पिँदै थियो । हामी बाध्य भयाैँ । 
इन्डिया गेटदेखि जन्तर–मन्तर हँुदै करोलवाग स्टेसन पुगुन्जेल अटो चालकले कम्तीमा पनि ३० भन्दा बढी सवारी चालकलाई गाली गर्न भ्याए । बाटो काट्ने बटुवाहरुलाई पनि उनी छाड्दैन थिए । साइड नछोडेको, हर्न बजाएको, बत्ती नबालेको, ओभरटेक गरेको देखि लिएर पेटी नबाँधेको देखे पनि उनी ठूलो स्वरले गाली गर्थे । उनको व्यवहार हेर्दा लाग्थ्यो, दिल्लीको सारा ट्राफिक व्यवस्थापन उनैले सम्हालेका छन् । ‘तपार्इं अटो चलाउने मान्छे बसको ड्राइभरलाई पनि थर्काई दिनुहुन्छ त ?’ मैले ठट्टा गर्दै भनेँ । जवाफमा उनले भने, ‘ यो रोडमा चल्थ्यो भने हवाईजहाजको पाइलट पनि हाम्रै अन्डरमा हुन्थ्यो भाइ !’ उनले जाँदाजाँदै फेरि मलाई सम्झाए, ‘दिल्ली तो अटोका साम्राज्य है ।’ मैले नेपाल सम्झिएँ, जहाँ साना–ठूला सबै खाले सार्वजनिक यातायातको यात्रु–अमैत्री साम्राज्य छ । 

प्रकाशित: फाल्गुन ११, २०७४