साहित्य

[अनुभूति] नेपाल छाड्ने चक्करमा

- विश्वास हमाल, काठमाडौं

घरबाट बिहानै निस्केको थिएँ । एक घन्टाजति आरएनएसी बिल्डिङमा रहेको भारतीय दूतावासको पुस्तकालयमा बिताएँ । वीर अस्पताल, खुलामञ्च, बागबजार, पुतलीसडक हुँदै डिल्लीबजार उकालोको देब्रेपट्टि रहेको एउटा सानो घरमा छिरेँ । न त केही आशा छ, न केही उमंग । मलाई थाहा छ, हुनेवाला केही छैन । तापनि, चार–पाँच महिनादेखि काठमाडाैँ र ललितपुरका यस्ता धेरै ठाउँ चहारेको थिएँ । जब–जब म यस्तो ठाउँमा पुग्छु, एउटा सपना फेरि जीवित हुन्थ्यो । त्यही झिनो आशासहित त्यो डिल्लीबजार उकालोको घरमा छिरेको थिएँ । सानो चिटिक्क परेको घरको मूल ढोका एउटी सुन्दर अधबैँसे महिलाले खोलिन् ।

‘क्यान आई हेल्प यू ?’ मीठो अंग्रेजी तर नेपाली शैलीमा उनले सोधिन् । 
काठमाडाैँको भीडभाड, कोलाहल र धूलोमैलोबाट यस्तो चिटिक्क परेको वातानुकूलित घरमा छिर्दा आनन्द नै बेग्लै आउँछ ।

‘न्युजिल्यान्डमा पढ्नेबारे केही सोध्नु थियो,’ मेरो प्रश्न सुनेपछि उनले भनिन्, ‘सोध्नूस् न !’
‘मलाई त्यहाँ पढ्न जान मन छ । छात्रवृत्ति र त्यहाँको शिक्षाबारे केही बुझ्नु थियो ।’

‘यसबारेमा हाम्रो वेबसाइटमा विस्तृत जानकारी छ’ भन्दै उनले दुई पेज कागज मेरो हातमा थमाइन् ।
यो थियो, न्युजिल्यान्डको नेपालस्थित नियोग अर्थात् कन्सुलेट । दूतावास भने भारतमा थियो, जसले नेपाल पनि हेथ्र्योे । सोफामा बसेर उनले दिएका कागज हेर्दै थिएँ, टेबलमा उनले केही मोटा–मोटा पुस्तक पनि राखिदिइन् र भनिन्, ‘थप जानकारीका लागि यी पुस्तकहरू हेर्न सक्नुहुन्छ । यसबाट तपाईंलाई केही चाहिन्छ भने म फोटोकपी गरिदिन सक्छु ।’ ती पुस्तकमा न्युजिल्यान्डका चिल्ला सडक, हराभरा फाँट र भेडाहरूका आकर्षक तस्बिर थिए । आफू न्युजिल्यान्ड पुगेको कल्पना गर्दै डिल्लीबजारको कोलाहल छिचोलेर चारखालतिर मोडिएँ ।

किन–किन मलाई भित्रैदेखि नेपाल छोड्न मन छ । यो मेरो धन कमाउने, शिक्षा प्राप्त गर्ने वा देशमा भविष्यप्रति निराश भएर भन्दा पनि मलाई विदेश देख्न मन थियो, संसार हेर्न इच्छा थियो । मैले काठमाडाँैका सबै दूतावास र नियोगमा सुरक्षा गार्डहरूको नमीठो गाली खाएको छु । यसै विषयमा कन्सल्टेन्सीहरूले आयोजना गर्ने फ्रि सेमिनारमा गएर आफूलाई तरोताजा गरेको छु । यही बहानामा राजधानीका एकसेएक तारे होटलहरू छिरेको छु । अमेरिका, अस्ट्रेलिया, साइप्रस या रसियाका सपना बाँडिन्थे, यस्ता सेमिनारमा । म भीडको अन्तिमतिर हुन्थेँ, जहाँ मजस्तै विदेशमा त स्वर्गै छ भनिठान्ने युवाहरूका हुल हुन्थे । यस्ता सेमिनारमा विदेशको भिडियो क्लिप पनि देखाइन्थ्यो । गरिब देशका हामी अल्छी युवाहरूको भावना र सपना सजिलै किन्थे उनीहरू । यस्तोमा कहिलेकाहीँ भाग्यवश चिया–बिस्कुट पनि राखिएको हुन्थ्यो । तारे होटलमा सित्तैँमा चिया–बिस्कुट खाएर आएपछि केही दिन त फुर्ति नै अर्कै हुन्थ्यो । 

यसरी विदेशको सपना बुन्ने क्रममा अमेरिकन सेन्टरमा पनि धेरै पल्ट छिरेँ । एकपटक त अमेरिकाका ५० वटा राज्यको नाम एउटा कपीमा लेखेर घोक्दै बसेको सम्झना पनि छ । लैनचौरको ब्रिटिस काउन्सिल पनि कति धाइयो कति, सम्झी साध्य छैन । 

म विशालनगर–भाटभटेनी–टंगालतिर साइकल कुदाउँथेँ । मन भने अमेरिका या युरोपको कुनै सहरमा हुन्थ्यो । कुन देश जाने, किन त्यही देश जाने भन्नेचाहिँ थाहा थिएन । तर, नेपाल भने बस्दिनँ, त्यति कुरा मात्रै थियो मनमा । साथीहरूसँगको मुख्य गफ नै को कुन देश गयो भन्नेमा सीमित हुन्थ्यो ।
बेलुका लखतरान भएर कोठामा आउँदा यत्तिकै पनि थाकिन्थ्यो । साँझमा एक ठाउँमा होम ट्युसन पढाउँथेँ । त्यहाँ केही सिकाएपछि र होमवर्क दिएपछि म फेरि आफ्नै दुनियाँमा हराउँथेँ । काठमाडाँैमा मेरो सबैभन्दा मन पर्ने ठाउँ थियो, कमलपोखरीको रसियन कल्चर सेन्टर । म घन्टौँ त्यहीँ बस्थेँ, किन–किन त्यहाँजस्तो आनन्द अन्त लाग्दैनथ्यो । त्यहाँको लाइब्रेरी निकै फराकिलो र व्यवस्थित थियो । सायद धेरै मान्छेलाई थाहा नभएर पनि हुन सक्छ, मान्छेहरू त्यति धेरै हँुदैनथे । सबै पत्रिकाहरू पालैपालो पढ्थेँ । फेरि, रसियाका धेरै किताब नेपालीमा अनुवाद गरिएका पनि थिए ।

कहिलेकाहीँ लाग्थ्यो पनि, रसिया नै जानुपर्छ कि ! एक दिन ‘स्टडी इन रसिया’ भन्ने सूचना त्यही लाइब्रेरीमा टाँसिएको थियो । त्यसबारेमा मैले सोधेँ । ‘यदि तिमी सिरियस छौ भने अहिले नै फर्म भर । किनभने, तीन महिनापछि तिमी ओरिएन्टेसन डेमा मस्को पुग्नुपर्छ,’ आफ्नो बिजनेस कोर्सका बारेमा रसियाली प्रतिनिधि भन्दै थिइन् । मुसुमुसु हाँस्दै उनको कुरा सुनिरहेँ । तर, मेरो त्यो मुस्कान र सपना एकाएक गायब भयो, जब उनले स्कुलको फि र पहिलो ६ महिना अनिवार्य रसियन भाषा सिक्नुपर्ने कुरा भनिन् । मेरो रसियन सपना जन्मन नपाउँदै मर्‍यो । त्यसपछि मैले कहिल्यै पनि त्यो सपना देखिनँ । धेरै वर्षपछि रसियाको सेन्ट पिटर्सबर्ग छोडेर ग्रामीण भेगतिर बरालिँदा मनमनै ती पुराना दिन सम्झनामा आए ।

मलाई लाग्थ्यो, युरोपका सबै देश एकसेएक विकसित छन् । रोजगारीको समस्या भए पनि सानोतिनो काम त अवश्य पाइहाल्छु । अमेरिका, क्यानडा र बेलायततिर पनि यसो नजर गाड्दै थिएँ, छात्रवृत्तिको झिनो आशमा । ज्ञानेश्वरको बाटो हिँड्दै गर्दा जर्मन दूतावासमा जहिले पनि मेरो नजर पुग्थ्यो । त्यहाँको मुख्य गेटमा रहेको सूचना पाटी नबिराई हेर्थें । जर्मन सरकारले प्रदान गर्ने छात्रवृत्ति र अन्य सूचनाहरू त्यहाँ टाँसिएका हुन्थे । एक दिन दूतावास गेटमा १५–२० जनाजति युवाको भीड थियो । सुरक्षा गार्डलाई सोधेको त जर्मनीमा मास्टर्स डिग्रीको छात्रवृत्तिका लागि आवेदन वितरण हुँदै रहेछ । मैले भर्खरै मात्र प्लस टू उत्तीर्ण गरेको थिएँ, अब कहाँबाट मास्टर्सका लागि आवेदन दिने † त्यो भीड छिचोल्दै म ‘सेल्फ फाइनान्स’ मा पढ्नेबारे बुझ्न चाहन्छु भनेपछि ‘ल भाइ तपाईं आउनूस्’ भन्दै सुरक्षा गार्डले भित्र छिराए । १५ मिनेटजति भित्र बसेर निस्कँदा संसार जितेजस्तो भयो । अनि, जर्मनी छिर्ने सपना र आफ्नो औकात दाँज्दै म सानो गौचरनभित्र छिरेँ । त्यहाँ आधा घन्टा ‘सी’ डिभिजनको फुटबल म्याच हेरेपछि आफ्नो बाटो तताएँ ।

टीभीमा प्राय: अंग्रेजी चलचित्र र डकुमेन्ट्रीहरू हेरी बस्थेँ र मनमनै कल्पना गर्थें, नेपालबाहिरको समाज कस्तो होला ? काठमाडौँको त्यो भीडभाड र महँगीमा सपना देख्नेबाहेक अरू खासै केही गर्न सकिएको थिएन । मेरा धेरै साथीहरू घरबाट पैसा लिएर विद्यार्थी जीवन चलाइरहेको बेला म भने सानोतिनो काम आफँै खोजेर दुई–चार पैसा भए पनि कहिलेकाहीँ घर पठाउन पाउँदा सन्तुष्ट थिएँ । तर, संसार एउटा ‘ग्लोबल भिलेज’ हो, एक ठाउँमा मात्र कोचिएर बस्नु हुँदैन, सकेसम्म आफूलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भन्ने कुरा बार–बार आइरहन्थ्यो ।
***
त्यो दिन ठूलो पानी परेको थियो । कुपन्डोल बस्ने एउटा साथीले ‘बस्ने गरी आइज’ भनेर बोलाएको धेरै भएको थियो । साइकल बिग्रेकाले नक्सालको पुलिस हेडक्वाटरबाट २६ नम्बर बस चढेर त्यतातिर लागेँ । ‘एक घन्टाजति भयो, एउटा नयाँ मान्छेसँग बाहिर निस्केको,’ साथीको कोठामा ताल्चा देखेपछि तलको पसले दाइलाई सोध्दा यसो भनेका थिए । त्यही नयाँ मान्छेसँग भेट्नु पनि मेरो अर्को उद्देश्य थियो । खासमा ती नयाँ मान्छे अस्ट्रेलियाबाट आएका थिए । गाउँमा एक महिना बिताएर फर्किन लागेका थिए । तिनलाई मैले पहिले पनि भेट्न खोजेको थिएँ । दुई घन्टा बित्यो । तर, साथी आउने पत्तै भएन । फोन गरेर आउनुपर्ने रैछ भनी थकथकी लाग्यो । फेरि, जहिले फोन गर्दा पनि घरबेटी ‘छैन’ भनेर झर्किन्थ्यो । त्यो बेला काठमाडाँैमा भाडामा बस्नेको ठूलो समस्या थियो त्यो । मोबाइल फोन नआएको भए त झन् के बिजोग हुन्थ्यो होला, अहिले !

झिसमिसे साँझ पर्दा पनि ऊ नआएपछि ‘म आएको थिएँ’ भन्ने नोट चुकुलको च्यापमा घुसाएर फर्कें । सोचेको थिएँ, नयाँ मान्छेसँग धेरै कुरा सोध्ने छु । गोराको देशको चलन र जीवनशैलीबारे अनेकन् प्रश्न गर्नेछु । र, अन्त्यमा ‘मौका मिल्यो भने उतै भेटौँला’ पनि भन्नेछु । मनमा यस्तै कुरा खेलाउँदै फर्किंदै थिएँ । बाहिर हिमालय होटलअगाडि निस्केँ । सिमसिम पानी अझै रोकिएको थिएन । धेरै बेर बस कुर्दा पनि आएन । सायद, रात परिसकेकाले होला । ट्याक्सीमा जाने न हिम्मत थियो, न त पैसा नै ।

वाग्मती पुल तर्दै थापाथली चोक काटेर सर्वोच्च अदालत–सिंहदरबारबाट अनामनगर छिर्ने बाटो हिँडिरहेको थिएँ । अझै सम्झिन्छु, धर्के नीलो सर्ट निथ्रुक्क भिजेको थियो । बाँसघारी कटेर कालिकास्थान मन्दिरनजिकै पुग्दा स्टोभको भ्यार–भ्यार आवाज बाहिरै आइरहेको थियो । यहाँको म:म मलाई धेरै मीठो लाग्थ्यो । पकेटमा भएको २० को नोट दिएँ, आठ रुपियाँ फिर्ता आयो । हाफ प्लेट म:म खाएर विशालनगरको डेरा पुग्दा ९ बजिसकेको थियो । भोलिपल्ट उठ्दा हिजोको थकाइ मरिसकेको थियो । तर, विदेशको सपना भने उस्तै थियो ।

विदेश जाने सपनाको पहिलो खुड्किलोका लागि मैले भर्खरै राहदानी बनाएको थिएँ । अबको चुनौती थियो, अंग्रेजी टेस्ट ‘आईईएलटीएस’ या ‘टोफेल’को । सरकारी स्कुलमा पढेको भए पनि मलाई यो टेस्टमा राम्रै गर्छु भन्ने आत्मविश्वास भएकाले खासै डर थिएन । तर, त्यसभन्दा ठूलो समस्या थियो, शुल्क । जसोतसो रकम जुटाएर टेस्ट दिएँ ।

यल्लो पेजेजहरू हेर्दै विदेशी नियोगहरू खासगरी कन्सुलेट र दूतावासहरू चहार्ने काम भइरहेको नै थियो । कतिसम्म भने कहिलेकाहीँ त बालुवाटारको बाटो हिँड्दा त्यहीको चिनियाँ दूतावास पनि छिराँै कि भन्ने जोश आउँथ्यो । कन्सुलेट र दूतावासहरूबाट दिइने ब्रोसरमा धेरै सूचना हुन्थे तर मलाई अझै धेरै बुझ्नु थियो । साइबर गएर इन्टरनेट चलाइरहन धेरै इच्छा भए पनि महँगो नै पथ्र्यो । एक दिन घरको छतमा बसेर रेडियो कान्तिपुर सुन्दै बदाम खाइरहेको थिएँ । येल्लो पेजेज किताब पनि सँगै थियो । अचानक एउटा अचम्मको विचार खेल्यो र जर्‍याकजुरुक उठेर एउटा ड्राफ्ट लेख्न बसेँ । जसमा लेखेँ– तपाईंको देशमा अध्ययन गर्नका लागि जानकारीमूलक पुस्तक, पर्चा, बुकलेट जे–जे छन्, निम्न ठेगानामा पठाइदिनुभए आभारी हुने थिएँ । सकेसम्म सफा र राम्रो अक्षरमा लेखी खाममा बन्द गरेर त्यही येल्लो पेजमा भेटेजतिका काठमाडाैँमा रहेका दूतावासको ठेगानामा पोस्ट गरेँ । अहिले लाग्छ, मैले जिन्दगीमा गरेका अनौठा कामहरूमध्ये यो एउटा थियो । मैले कत्ति पनि आशा गरेको थिइनँ कि यस्तो कामले केही नतिजा ल्याउनेछ । तर, जिन्दगी साँच्चिकै अचम्मको हँुदो रहेछ । त्यही घटनाले नै मेरो जीवनको ठूलो सपना साकार हुन मुख्य भूमिका निर्वाह गर्‍यो । जब–जब त्यो घटना सम्झिन्छु, एउटा भनाइ याद आउँछ– ‘एन आइडिया क्यान चेन्ज लाइफ’ अर्थात् एउटा विचारले जिन्दगी बदल्न सक्छ । 

चिट्ठी खसालेपछि त्यो कुरा बिर्सेर म फेरि आफ्नै धुनमा फर्कें । दिनहरू पहिलेकै जसरी नै बित्दै गए । एक दिन अचानक मेरो नाममा ठूलो खाममा मोटो चिट्ठी आएछ । विदेशका विश्वविद्यालयबाट यस्ता धेरै सामग्री मगाउँथेँ मैले, यो धेरै सजिलो काम पनि थियो । साइबर छिर्‍यो, विश्वविद्यालयको साइट खोल्यो अनि आफ्नो हुलाक ठेगाना दियो, दुई–तीन हप्तामा रंगीबिरंगी किताबहरू घरमै आइपुग्थे । अझ कतिले त सीडीसमेत हालेर पठाइदिन्थे । काठमाडाँैमा च्याउझैँ उम्रेका शैक्षिक दलालहरूले त्यस्तै फोटा र रंगीबिरंगी किताब देखाएरै मात्र पनि सोझासाझाका हजारौँ लुट्थे, लुटिरहेका छन् । 

यसपालि आएको मोटो खामको बाहिर भने ‘ फिनल्यान्ड दूतावास, काठमाडाैँ नेपाल’ लेखिएको रहेछ । जब त्यो खाम खोलेर हेरेँ, दूतावासकै लेटरप्याडमा लेखिएको चिट्ठी थियो । त्यो सँगै फिनल्यान्डमा रहेका सम्पूर्ण विश्वविद्यालय र देशका बारेमा जानकारी दिने इकनमी अफ फिनल्यान्ड, फिनल्यान्ड इन युरोप, स्टडी इन फिनल्यान्ड, भिजिट लापलेन्डजस्ता केही रंगीन पुस्तक पनि थिए । मलाई अचम्म र खुसी लाग्यो कि मेरो एउटा त्यस्तो सामान्य जिज्ञासाको पनि यति उत्तरदायी भएर जवाफ फर्कायो दूतावासले । त्यसपछि मलाई लाग्यो, मैले चिट्ठी पठाएका १०–१२ वटा अरू दूतावास र नियोगबाट पनि जवाफ आउँदै होला । तर, त्यो कहिल्यै आएन । पछि फिनल्यान्ड छिरेपछि थाहा भयो, सामान्यभन्दा पनि सामान्य कुरालाई पनि ख्याल गर्ने यहाँको सरकारको संस्कृति नै रहेछ ।

अरू विकसित देशको जस्तै यसको पनि नेपालजस्तो विकासोन्मुख देशलाई सहयोग गर्ने ‘फिनिडा’ भन्ने संस्था थियो, जुन नेपालमा पनि सक्रिय थियो । त्यसबारेमा पनि केही पढे–सुनेको थिएँ । तर, मलाई फिनल्यान्ड एउटा विकसित युरोपियन देश हो, जहाँ नोकिया फोन बन्छ भन्नेबाहेक अरू केही थाहा थिएन ।

आफूलाई प्राप्त ती पुस्तकहरू निकै चाख मानेर पढेँ । जीवनमा सबैलाई धन्यवाद भन्न नसकिएला । तर, गुन लगाउनेलाई भने कहिल्यै बिर्सनु हँुदैन, त्यसैले दूतावासले देखाएको सद्भावप्रति आफ्नो कर्तव्य सम्झी ‘धन्यवाद’ लेखेर पत्र मञ्जुषाबाटै खसाली पठाइदिएँ ।

ममा बिस्तारै फिनल्यान्डको चासो बढ्दै गयो । साइबर जाँदा एउटा फ्लपी डिस्क बोकेर जान्थेँ । एक घन्टामा फिनल्यान्डका अनेकाैँ वेबसाइटहरू खोल्थेँ र कपी गरी घरको कम्प्युटरमा रातभरि हेर्थें । यस्तो चासो बढ्नुको एउटा मुख्य कारण फिनल्यान्डमा नि:शुल्क शिक्षा पनि थियो । अरू सबैजसो दूतावास छिरेको भए पनि फिनल्यान्ड दूतावासचाहिँ गएको थिइनँ । त्यो चिट्ठी आएको दुई हप्तापछि हिम्मत गरेर त्यहाँ जाने निर्णय गरेँ । लाजिम्पाटमा सांग्रिला होटल नपुग्दै दाहिनेपट्टि थोरै भित्र छिरेपछि एउटा रातो घरमा युरोपियन युनियनको झन्डा फर्फराइरहेको थियो । त्यसैको साथमा अर्को सेतो र नीलो रङको झन्डा पनि थियो । गेटमा ‘फिनल्यान्ड पढ्न जानेबारे बुझ्नु छ’ भनेपछि एउटा रजिस्टरमा नाम लेखाएर सजिलैसँग भित्र छिर्न पाइयो । दूतावासमा चहलपहल थिएन । एक कर्मचारीले केही स–साना पुस्तिका हातमा थमाउँदै भनिन्, “अरू केही सोध्नुपर्‍यो भने आउँदै गर्नुहोला ।’ त्यसपछि म धेरैपल्ट त्यो दूतावास गएँ । जहिले जाँदा पनि दुई–तीन जनाबाहेक बाहिरका मान्छे हुँदैनथे । अचम्म लाग्थ्यो, यस्तो पनि दूतावास !
***
यतिबेलासम्म मैले फिनल्यान्ड जाने एउटा अठोट बनाइसकेको थिएँ । यो देशका बारेमा जति बुझ्दै गयो, उति राम्रो–राम्रो कुरा मात्र थाहा पाउँदै गएँ । देश–विदेशका नयाँनयाँ कुरा जान्ने इच्छाले होला, मैले फिनल्यान्डका छिमेकी देशहरू इस्टोनिया, रसिया र स्वीडेनका बारेमा पनि निकै पढेँ ।

फिनल्यान्डका मुख्य सहर, विश्वविद्यालयदेखि प्रमुख राजनीतिक पार्टीका बारेमा समेत थोरबहुत जानकारी भइसकेको थियो । वर्षमा आधा समय हिउँले सेताम्मे हुने देशमा महिलाले राज गरेको पढ्दा आफू पनि त्यही हिउँमा कुनै गोरीसँग मस्किँदै हिँडेको कल्पना गर्थें । हेर्दाहेर्दै मेरो फिनल्यान्डप्रतिको मोह यति गहिरो भइसकेको थियो कि घरमा चाङ लगाएर राखेका अमेरिका, बेलायत, अस्ट्रेलियाका विश्वविद्यालयबाट आएका किताबहरू फालिदिएँ । फिनल्यान्ड मेरो जिन्दगीको पहिलो प्राथमिकतामा पर्‍यो । यो देशबारे थप जानकारी लिने क्रम जारी रह्यो । त्यहाँका मुख्य तीन ठूला सहरका विश्वविद्यालयहरूमा इमेलमार्फत सम्पर्क गरेँ, तिनीहरूको ‘ कम्युनिकेसन’ गजबको थियो । कुनै पनि जिज्ञासाको तुरुन्त जवाफ फर्काउँथे । देशका सबै शैक्षिक संस्थाका बारेमा बुझेपछि थाहा भयो । सबैजसो कोर्सहरू स्थानीय भाषामा मात्र हुँदोरहेछ । प्राविधिकबाहेक अरू कोर्स भेट्न पनि निकै गाह्रो । फिनल्यान्डमा दुई किसिमका शैक्षिक संस्था छन्, एउटा विश्वविद्यालय र अर्को पोलिटेक्निक । तर, मैले पोलिटेक्निक संस्थाका बारेमा बुझ्ने कोसिस गरिनँ ।

चाहिनेभन्दा बढी बुझेपछि र आवश्यकताभन्दा बढी थाहा पाएपछि मलाई मिल्ने एउटा कोर्स भेटँे । डेढ वर्षको आफ्नो अनुसन्धानपछि एउटा विश्वविद्यालयमा मात्र कोर्स मिल्ने भएकाले त्यहीँ आवेदन दिएँ । त्यसबेला फिनल्यान्डकै दोस्रो ठूलो त्यो विश्वविद्यालयबाट निमन्त्रणा–पत्र आयो । भिसा अन्तर्वार्तामा फिनल्यान्डका बारेमा के थाहा छ भनेर सोध्दा मैले लगातार पाँच मिनेटसम्म धाराप्रवाह जवाफ दिएँ । यो सुनेर कन्सुलर पनि अचम्ममा परे । तर, अन्तर्वार्ताका लागि सात लाख रुपियाँको बैँक ब्यालेन्स कसरी देखाइयो, त्यसको आफ्नै रामकहानी छ ।

त्यसको चार हप्तापछि एउटा इमेल आयो, लेखिएको थियो– ‘ बधाई छ, अध्यागमन विभागले तपाईंको निवेदन स्वीकृत गरेको छ । तपाईंको शैक्षिक जीवन सफल होस्, फिनल्यान्डमा स्वागत छ । भिसा कलेक्सनका लागि हवाई टिकट लिएर आउनु होला ।’ एकतर्फी टिकटका लागि ५३ हजार रुपियाँ जुटाउन मलाई पाँच दिन लाग्यो । त्यसबेला सहयोग गर्ने पाँच जना साथीलाई कहिल्यै बिर्सन्नँ । 
२८ अगस्ट २००४ अर्थात् ११ भदौ ०६१ मा फिनल्यान्डका लागि उडेँ । मेरो संसार घुम्ने सपनाको पहिलो खुड्किलो थियो, त्यो दिन । 

प्रकाशित: फाल्गुन ९, २०७४