जीवनशैली

कपाल कला

सहरिया युवापुस्ता अनेक बान्कीका हेयर स्टाइलमा अभ्यस्त

- गोकर्ण गौतम, काठमाडौं
मुम्बईमा केही समय बिताएपछि लक्ष्मी ठाकुरले काठमाडौँको ठमेलस्थित होटल सोनिकामा सैलुन 
खोले, १८ वर्षअगाडि । त्यतिबेला ठमेलमा पर्यटकको ठेलमठेल हुन्थ्यो, सैलुनका अधिकांश आगन्तुक पर्यटक नै हुन्थे । नेपाली ठिटाहरू आक्कलझुक्कल सैलुन छिर्थे । र, सिर्फ यत्ति भन्थे, ‘कपाल काट्नु पर्‍यो ।’ सबैको उद्देश्य हुन्थ्यो, लामो कपाल छोट्याउने । कपाललाई थरीथरीका बान्कीमा सजाउने न ज्ञान थियो, न त त्यही अनुकूलको परिवेश । त्यसैले प्राय: सबैको एउटै शैली हुन्थ्यो । राजधानीमा तीनवटा सुविधासम्पन्न सैलुन चलाइरहेका लक्ष्मी भन्छन्, “त्यतिबेला र अहिले त आकाश–जमिनको फरक छ । हेयर स्टाइल आफ्नो व्यक्तित्व निर्माणको महत्त्वपूर्ण आधार भएको मान्छेले बुझिसके । थरीथरीका स्टाइल पछ्याउन थालेका छन् । हामीभन्दा ग्राहक पो जान्ने भइसके ।”
 
अर्का चर्चित हेयर स्टाइलिस नील डेभिडको भोगाइ लक्ष्मीको भन्दा भिन्न छैन । नीलले काठमाडौँ मलमा पहिलो आधुनिक सैलुन खोलेको ११ वर्ष बित्यो । त्यतिबेला युवामा कपालको सजावट र सुरक्षाका बारेमा सचेतना शून्यप्राय: थियो । त्यसमाथि केटाहरू त विरलै मात्र सैलुन पुग्थे ।

ब्युटीपार्लरको बिगबिगी थियो तर स्टाइलिस सैलुनहरू स्थापनामै संघर्ष गर्दै थिए । अहिले जमाना बदलिएको छ । नीलकै भनाइमा अचेल केटीभन्दा केटाहरू हेयर स्टाइलमा सजग हुन थालेका छन् । सैलुनमा देखिने केटाहरूको भीडले उनको भनाइलाई थप बल दिन्छ । नेपालमा हेयर स्टाइल ट्रेन्ड बदल्न महत्त्वपूर्ण भूमिका खेलेका नील भन्छन्, “अहिले पेसा र व्यक्तित्व अनुसार कपाललाई रूपरंग दिने संस्कृति विकास भएको छ । सहरिया युवापुस्ता त हेयर कटिङमा अनेक प्रयोग गर्न उत्साही हुन्छन् ।” 
 
र, यो सबै छलाङ सम्भव भएको हो, पछिल्लो दशकमा । त्यसमा पनि केही वर्षयता त नेपालीको हेयर स्टाइलमा एक खालको ‘ क्रान्ति’ नै आएको डिजाइनरहरूको अनुभव छ । कुनै जमाना थियो, लामो कपाल राख्दा छवि बिग्रिएला भन्ने डर हुन्थ्यो । कपालको रेखदेख गर्न उस्तै झन्झट । सोही कारण सकेसम्म कपाल छोटो बनाएर काटिन्थ्यो । नयाँ डिजाइनसम्म पहुँच थिएन । स्टाइलिसले सुझाएको शैलीमा काट्न धक मानिथ्यो तर इन्टरनेट र सामाजिक सञ्जालको तीव्र विकासले अन्य आयाममा जस्तै केशविन्यासमा पनि बदलाव आएको छ । व्यक्तित्व अनुसारको हेयर स्टाइल बनाउन माहिर मानिएका डिजाइनर लक्ष्मी भन्छन्, “कपालमा मान्छेको मुड, स्वभाव, चरित्र र छवि झल्कन्छ । नयाँ पुस्ताले यो यथार्थलाई आत्मसात् गरिसकेका छन् । हाम्रो जिम्मेवारी पनि कपाल नबिग्रने र व्यक्तित्वमा असर नपर्ने डिजाइन बनाइदिनु हो ।” अमेरिका वा कुनै पश्चिमा मुलुकमा जुन फेसन ट्रेन्ड जन्मिन्छ, उत्तिखेरै काठमाडौँमा त्यसको प्रभाव पर्छ । मोबाइलबाट फोटो देखाउँदै सैलुन छिर्छन् केटाहरू, त्यस्तै शैली र सजावटमा कपाल काट्न । कतिपयलाई डिजाइनरले त्यस्तो हेयर स्टाइल नसुहाउने सुझाव दिन्छन् । तर, नकाटी धरै पाउँदैनन्, ग्राहकको जिद्दीका कारण ।
त्यसो त हामीकहाँ पहिले पश्चिमा हेयर स्टाइलको प्रभाव नपरेको होइन । पथ्र्यो तर सीमित अनि लामो समयसम्म एउटै स्टाइल टिक्थ्यो । जस्तो : डेढ दशकअगाडि हलिउड अभिनेता तथा गायक रिक्की मार्टिनको कट्ले नेपालमा हलचल मच्चाएको थियो । पछाडि र कानको छेउमा मसिनो अनि अगाडि हल्का ठाडो पार्ने यो स्टाइलमा धेरै नेपाली युवा सजिए । पछाडि एक इन्च मसिनो र अरूतिर कपाल लामो राखिने स्टेप कट्लाई पनि पछ्याइयो । टुप्पीभन्दा मुनि धार देखाएर काट्ने भोगटे कटिङ उस्तै हिट थियो । अढाई दशकदेखि काठमाडौँमा कपाल काटिरहेका राम ठाकुर भन्छन्, “तर, ती सबै स्टाइल विस्थापित भइसके । उतिबेला धेरै विकल्प नहुने भएकाले लामो समय टिकेका थिए ।” उनका अनुसार अहिले त मौसमपिच्छे होइन कि महिनैपिच्छे हेयर स्टाइल परिवर्तन गर्ने लहर आएको छ । पहिले महिना दिनमा एकपटक सैलुन छिरिन्थ्यो, अहिले हप्तैपिच्छे सैलुन धाउनेको जमात बढेको छ । 
 
हाम्रो हेयर स्टाइलको मुख्य स्रोतचाहिँ हलिउड/बलिउड अभिनेता, पश्चिमा फुटबल स्टार अनि भारतीय क्रिकेटरहरू हुन् । बेलायती फुटबलर डेभिड बेकह्यामको हेयर स्टाइल विश्वका अन्य देशमा झैँ नेपालमा पनि अत्यधिक पछ्याइयो । अहिले जति पनि स्टाइल छन्, ती कहीँ न कहीँ डेभिडबाटै प्रभावित भएको मानिन्छ । नेपाली युवापुस्ता क्रिस्टियानो रोनाल्डोको खेल मात्र होइन, हेयर स्टाइलका पनि फ्यान हुन् । सन् २०१० को विश्वकपताका बालाटोली कट् हिट भएको थियो । त्यस्तै, बलिउड अभिनेता आमिर खानको गजनी फिल्मको कपाल कटाइ पनि नेपालमा लामो समय पछ्याइयो, गजनी कट्का नाममा । तर, डिजाइनरहरूचाहिँ विदेशी सेलिब्रिटीको नक्कल गर्नुभन्दा आफूलाई सुहाउने नयाँ स्टाइलमा कपाल सजाउनुपर्ने सुझाव दिन्छन् । मौलिक शैलीलाई प्राथमिकतामा राख्ने डिजाइनर लक्ष्मी भन्छन्, “आफ्नो पेसा, उचाइ, छालाको रंगजस्ता पक्षलाई ध्यानमा राखेर कपाल काट्नु पर्छ । एकोहोरो नक्कल गर्दा व्यक्तित्वमै असर पर्न सक्छ ।” तर, क्यालेन्डरको पाता फेरिएसँगै केसको रूपरेखा बदल्ने बानी परिसकेकाहरू डिजाइनरका यस्ता सल्लाहलाई कहाँ मनन गर्थे र ? सिटीसी मलको ट्ेरन्ड सेटर्स हेयर सैलुनमा भेटिएका आशान्त शाक्य, २२, भन्दै थिए, “अहिले उमेरले अवसर र छुट दिएको छ, मन लागेको स्टाइलमा काट्न । ‘ चालीस कटेपछि’ हेयरस्टाइलमा प्रयोग गर्न सम्भव हुँदैन । त्यसैले किन पछि पर्नू र ?” अन्डरकट्लाई परिवर्तन गरेर हेयर ट्याटु बनाउने योजनामा छन् उनी ।
 
अहिले अनगिन्ती हेयर स्टाइल छन् । तैपनि, डिजाइनरले व्यक्तिको विभिन्न पक्षलाई ख्यालमा राखेर कपाललाई अनेक हुलियामा ढालिदिन्छन् । जस्तो : अनुहार फराकिलो हुनेलाई स्लिम देखाउन रेजर कट् उपयुक्त हुन्छ । होचो मान्छेले लामो कपाल राख्नु हुन्न, छोटो कपाल माथि उठाउनु पर्छ । अन्डरकट्चाहिँ नेपाल मात्र होइन, संसारभरकै युवाले अनुसरण गरिरहेका छन् । अस्ट्रेलियन डिजाइनरले तयार पारेको यस डिजाइनमा टाउकोको तल्लो भाग र कानको छेउमा कपाल मसिनो बनाइन्छ । अगाडि लामो हुन्छ । साथै, रुचि अनुसार विभिन्न डिजाइन बनाउन सकिन्छ । कपालभित्र अनेक आकृति बनाउने हेयर ट्याटुको चलन बढेको छ । अगाडिबाट पछाडिसम्म कपाल माथि उठाउने मोहक अर्को लोकप्रिय स्टाइल हो । यो टिनएजर्समा बढी चलेको छ । लेयर्स कट् घुम्रिएको कपाल हुनेलाई सुहाउँछ । औपचारिक कार्यक्रममा सरिक हुन सोल्भ कट् राम्रो हुन्छ । यसले ‘डिसेन्ट लुक्स’ दिन्छ । तर, धेरै स्टाइल परिवर्तन गर्नुभन्दा एक वा दुई स्टाइललाई निरन्तरता दिनु उत्तम हुने नीलको सुझाव छ । 
 
तर, चिन्ता हेयर कटिङ र स्टाइलको होइन । कपाल मात्र शरीरको यस्तो भाग हो, जसमा पटक–पटक प्रयोग गर्न र पुरानै अवस्थामा फर्काउन सकिन्छ । त्यसैले कटिङ मन नपरे केही समयपछि पहिलेकै जस्तो बनाउने सुविधा हुन्छ । त्यसैले कटिङमा अनेक स्टाइल अपनाए पनि दीर्घकालीन नोक्सान हुन्न । तर, थरीथरीका कलर लगाउने प्रवृत्ति घातक हुन सक्ने डिजाइनरहरू बताउँछन् । १८ वर्षसम्म त कपालमा कलर र अन्य केमिकल वर्क प्रयोग गर्नै हुन्न । त्यतिबेलासम्म कपालको पूर्ण विकास भइसकेको हुन्न । २० वर्ष पुगेपछि रंग लगाउनुहुन्छ । तर, त्यसको मात्रा उपयुक्त हुनुपर्छ । “पटक–पटक कलर परिवर्तन गर्नैहुन्न । कलरपछि विभिन्न ट्रिटमेन्ट गर्नु अनिवार्य हुन्छ,” लक्ष्मी भन्छन्, “त्यसबाहेक हेयर स्पा र ओइल मसाज गरिराख्नु पर्छ । होइन भने कपाल सुक्खा हुने, टुक्रने, झर्ने डर हुन्छ । बाहिरबाट कपाल स्टाइलिस देखिए पनि भित्र बिग्रिसकेको हुन्छ ।” 
प्रकाशित: फाल्गुन ८, २०७४