जीवनशैली

बनारसी साधक

- राजकुमार बानियाँ, काठमाडौं

तस्बिर : रवि मानन्धर


भेटैपिच्छे सिनेकर्मी नीर शाह दुर्गाप्रसाद श्रेष्ठ, ७९, लाई भनिरहन्छन्, ‘तपाईं कति दिन बस्ने हो काठमाडौँ ? दाइलाई म काम दिन्छु ।’ आठ दशक लामो इतिहास बोकेको बनारसी साहित्यिक पत्रिका उदयका सम्पादक/प्रकाशकलाई सिनेकर्मीले यस्तो ‘अफर’ किन गरिरहन्छन् भने दुर्गा नेपालमै बनेको पहिलो सिनेमा आमा (०२२)का मुख्य सहायक निर्देशक/कथा–पटकथा–संवाद लेखक एवं कलाकारसमेत हुन् । 

नेपाली भाषाको पहिलो सिनेमा सत्य हरिश्चन्द्र ‘साइलेन्ट’ सिनेमा थियो भने आमा ब्ल्याक एन्ड ह्वाइट । युट्युब च्यानलमा राखिएको आमाको पहिलो दृश्यमै देखिन्छन्, लाहुरे बनेका शिवशंकर अनि टोपी र चस्माधारी दुर्गा । रक्सौलबाट धूवाँ उडाउँदै आएको छुकछुके रेलको डिब्बामा भेटिन्छन् उनीहरू । सिनेमामा लाहुरेलाई देशप्रेमतिर मोडिदिने उनै हुन्छन् । 

रहरले सिनेमामा जोडिएका भने थिएनन् दुर्गा । सरकारी कर्मचारीका रूपमा खटिनु उनको एकखाले बाध्यता रह्यो । “पहिलोपटक सिनेमामा काम गर्न पाउँदा मलाई त्यस्तो उत्पात खुसीको अनुभूति भएन । सरकारले खटाएको काम गरेजस्तो मात्र भयो,” उनी सुनाउँछन्, “अरू कलाकारसँग पनि मेरैजस्तो अनुभूति होला ।”

रमाइलो प्रसंग के भने आमाका अधिकांश कलाकार सरकारी कर्मचारी थिए । कोही रेडियो नेपालका, कोही संस्कृति विभागका त कोही प्रचार विभागकै । राजा महेन्द्रको लहडमा तत्कालीन प्रचार विभागले बनाएको हो, त्यो सिनेमा । प्रमुख कलाकार शिवशंकर, भुवन थापा र चैत्य देवी रेडियो नेपालका थिए भने उत्तम नेपाली र दुर्गा प्रचार विभागका । त्यसका निर्देशक थिए, हीरासिंह खत्री । हिमाचल प्रदेशनिवासी खत्री त्यतिबेला मुम्बैया सिने उद्योगमा मुख्य सहायक निर्देशकमै चित्त बुझाइरहेका थिए । राजाले भारत भ्रमणमा जाँदा नेपाल–भारत सांस्कृतिक केन्द्रको कार्यक्रममा हीरासिंहको मन चोरेछन्– तिमी नेपाल आउँछौ ? 

जननिर्वाचित सरकारलाई ‘कू’ गरेपछि पञ्चायती व्यवस्थाको प्रचारका लागि सिनेमा बनाउने विचार रहेछ राजामा । उनका एडीसी शेरबहादुर मल्ल हीरासिंहका ‘क्लासफेलो’ रहेछन् । मल्लमार्फत काठमाडौँ आइपुगेका हीरासिंहसित दुर्गालाई भिडाइदिए, प्रचार विभागका तत्कालीन निर्देशक नारायणप्रसाद बास्कोटाले । 

सिनेमाको कुल बजेट थियो, दुई लाख रुपियाँ । सानो बजेटमा राम्रा मान्छे छानेर सिनेमा बनाउनु सजिलो थिएन । कुनै पनि कलाकारले सिनेमामा काम गरेका थिएनन् । नृत्य–नाटिकाको मात्र अनुभवको भरमा अभिनयमा भाव ल्याउनु मुस्किल थियो । साउन्ड रेकर्डिस्ट, सिनेमाटोग्राफर, म्युजिक डाइरेक्टर, क्यामराम्यान, मेकअपम्यान आदि प्राविधिक पनि भारतबाटै झिकाउनुपर्‍यो ।
“पहिले क्यामराम्यान देवजी भाइले सबै कलाकारको फोटो खिचे र फोटोजेनिक फेस छाने हीरासिंहले,” कलाकार छनोटबारे सुनाउँछन् दुर्गा, “नायक शिवशंकर भए, नायिका भुवन थापा (चन्द) । त्यसपछि हीरासिंह र म बसेर सिनेमाको मोटामोटी आउटलाइन बनायौँ ।”

आमाको लिखितम् पटकथा थिएन । सुटिङको अघिल्लो दिन मात्रै यसबारे छलफल हुन्थ्यो । सिनेमामा कथाभन्दा पनि नाचगान बढी छ । गाउँमा जमिन्दारको अत्याचारको विरोध गरिएको छ । खलनायक छन् उत्तम नेपाली । “एक दिन स्वास्नीलाई कुटिरहेका भैरबबहादुर (गरिब) जमिन्दारले कराउनुपर्ने हुन्छ– ए स्वास्नीलाई किन कुटेको ?” उनी सुटिङको सम्झना गर्छन्, “लखनउबाट आएका उत्तम नेपाली जति पटक रिटेक गर्दा पनि स्वास्नीहरू मात्रै भनेको भन्यै ।” आठ टेकमा बल्ल ‘ओके’ भयो ।

निर्देशकहरूको गाली पनि खान्थे कलाकारहरू । एक सट्मा काम नसक्दा समय र रिल दुवै खर्च हुन्थ्यो । हीरासिंहको थेगो नै थियो– ‘बहुत बेकार आदमी हो’ । ‘आउटडोर’ सुटिङ ककनीमा १० दिन भयो भने 
‘इनडोर’ सुटिङ कोलकातामा एक महिना । ६ महिनामा दुई घन्टाको सिनेमा तयार भयो । “हीरासिंह त हिरोलाई के गाली गर्दा रहेछन् र ? संवाद बिराउँदा उडिया फिल्मका डाइरेक्टरले हिरोलाई हकारे, गधा कहीँका ?” उनी हाँस्छन्, “त्यसपछि पो मलाई थाहा भयो, डाइरेक्टरलाई हिरोभन्दा बढी अधिकार हुँदो रहेछ ।” 

पोस्ट प्रोडक्सनका क्रममा कलकत्ता बस्दाका मीठा सम्झना छन्, खातका खात । कलाकार दुईवटा गेस्ट हाउसमा परिवारजसरी बसेका थिए । “इन्द्रलाल, हरिप्रसाद रिमाल, भैरबबहादुर थापा अर्को होटलमा बसेका थिए,” उनी सम्झन्छन्, “उनीहरू पानी परेका बेला कोठाभित्र छाता ओढेर तास खेलिरहेका रहेछन् ।”

जय नेपाल हलमा आमा तीन महिनासम्म प्रदर्शन भयो । ‘प्रिमियर सो’ हेर्न राजा महेन्द्र पनि आएका थिए । बसुन्धरा भुसालको थेगो निकै चल्यो, ए रात्तै ! दार्जीलिङ, आसाम, सिक्किम, देहरादुन, मणिपुर, मेघालयतिर अझ बढी । फिल्मको व्यावसायिक सफलतापछि राजा महेन्द्रले उनलाई दुई हजार बक्सिस दिए । “त्यो बेला दुई सय रुपियाँमा एक तोला सुन आउँथ्यो,” उनी भन्छन्, “दुई हजार भनेको त कति हो कति ?”

निर्देशक हीरासिंहले पनि पैसाका लागि काम गरेका थिएनन् । नेपाली फिल्मको निर्देशक हुन पाउँदा नै खुसी भए । गोरखा दक्षिणबाहु तेस्रो पनि पाए । “आमा आर्ट सिनेमा हो । त्यसमा तपाईं कलासम्बन्धी कुनै खोट देखाउन सक्नुहुन्न,” उनको मूल्यांकन छ, “पञ्चै हो, यो देश बनाइदेऊ भन्ने गानाबाहेक राजा र पञ्चायतको कुनै गुणगान छैन ।” 

आमापछि बनेको हिजो, आज, भोलि (०२४)मा पनि हीरासिंहकै असिस्सेन्टका रूपमा काम गरे उनले । त्यसका एक कलाकार थिए नीर शाह । विभाग (सूचना विभाग)मा १० वर्ष काम गरे उनले । केही समय कामु उपसचिवसमेत चलाएका उनी रौतहटको हिन्दु–मुसलमान दंगाका बेला राजनारायण श्रेष्ठ नेतृत्वमा खटाइएको टोलीमा पनि थिए । टोलीकै सल्लाहमा सेना परिचालनपछि दंगा साम्य भएको थियो । त्यतिबेला परिचय दिँदा राजा महेन्द्रले उनलाई सोधेका थिए, ‘तिमी काशीबहादुरको छोरा होइनौ ?’

तिनै काशीबहादुर नै थिए, उदय पत्रिका (१९९३)का संस्थापक सम्पादक । केशर–कस्तूरी, मोती र जवाहरातका भक्तपुरे व्यापारी उनी सुरुमा हिन्दी कथा लेख्दा रहेछन् । जनकपुर माल अड्डाका आनन्दबहादुर सुब्बाको सल्लाहमा उनले नेपाली भाषामा उपन्यास मात्र लेखेनन्, उदय पत्रिका नै निकाले ।

उदयभन्दा दुई वर्ष कान्छा छन्, दुर्गाप्रसाद । दुर्गाअघि जन्मेका तीन सन्तान लगालग नवजात अवस्थामै कालकवलित भएपछि उनलाई मावली जनकपुरको सबेला लगियो । पाँच वर्ष लागेपछि पिताले उनलाई बनारस लगे । चौखम्भा मोहल्लाको पाठशाला बाल निकेतनमा पढाए । चौखम्भा आधुनिक हिन्दीका जन्मदाता भारतेन्दु हरिश्चन्द्र र मोतीराम भट्टको निवासस्थान हो । अग्रसेन महाजनी विद्यालयमा पढ्दा नै उनमा देवकीनन्दन खत्री, प्रेमचन्द आदिको उपन्यासमा लत बस्यो । हरेक आइतबार मर्निङ सोमा हाफ रेटमा हिन्दी र अंग्रेजी फिल्म हेर्नु उनको सोख थियो ।

शिक्षक शिवप्रसाद मिश्रको कहानीसंग्रह बहती गंगा पढेर उनलाई लेख्ने प्रेरणा आयो । इलाहावादको पत्रिका कहानीमा ‘जुत्ता’ कथा छापेका उनले आमा सुवर्णकुमारीको आशीर्वाद सम्झिरहेका छन्, ‘बाबु पढेर डाक्टर बन्नू र मलाई सुख दिनू ।’ त्यस अनुसार बायोलोजी लिएर इन्टरमिडियट पढेका पनि हुन् । तर, आमाको जीवन मेनन्जाइटिसले लग्यो । अभाव र गरिबीका कारण उनको अध्ययन त्यता अघि बढेन । 

काशी हिन्दु विश्वविद्यालय बनारसमा हिन्दी साहित्यमा स्नातकोत्तर पढ्दा गर्मी छुट्टीमा दुर्गा चेलीको विवाहका क्रममा आएका रहेछन्, पहिलोपटक काठमाडौँ । विवाह घरका छिमेकी रहेछन्, नारायणप्रसाद बाँस्कोटा । त्यतिबेलाको बाँस्कोटाको नामी पत्रिका प्रगतिमा उनका कविता छापिइसकेका थिए । 
भेट्नासाथ बाँस्कोटाले सोधेछन्, ‘दुर्गा, तिमी यतै काम गर्छौ ?’ उनले गर्छु भनेपछि प्रक्रिया पुर्‍याउनकै लागि विज्ञापन छापियो गोरखापत्रमा । धेरैले दरखास्त हाले । तर, उनलाई जागिर खुवाउन खडा गरिएको शाखा अधिकृत पदमा अरूले पाउने चान्सै थिएन । तत्कालीन सञ्चार एवं पञ्चायत सचिव कुलशेखर शर्माले अन्तर्वार्ता लिएका थिए उनको । 

प्रचार विभागमा पहिलो टेलिप्रिन्टर आएको थियो भर्खर । त्यो टेलिप्रिन्टर चलाउने पनि उनै भए । त्यो टेलिप्रिन्टर रासस खुलेपछि उतै पठाइयो । गोरखापत्रको छापाखानालाई आधुनिकीकरण गर्दा ब्रिटिस एडभाइजर भएर पनि काम गरे उनले । 

०१९ को संविधान छाप्दाखेरी प्रुफ रिडिङका लागि सात रात गोरखापत्रको छापाखानामै काटेको उनी सम्झन्छन् । त्यो सबै उदय पत्रिकाको अनुभवका कारण थियो । “त्यतिबेला हाम्रा लागि खाना दरबारबाटै आउँथ्यो । रक्सी पनि नियमित आउँथ्यो,” उनी हाँस्छन्, “खाना लिएर राजाका निजी सचिव मधुसूदनराज राजभण्डारी स्वयं आउँथे ।”

उनका पिता काशीबहादुर श्रेष्ठ काठमाडौँ आउँदा राजाको दर्शन भेट पाइहाल्थे । राजाले भनेछन्, ‘तिम्रो छोराले राम्रो काम गर्दैछ । केही चाहिन्छ तिमीलाई ?’ उनले बिन्ती गरेछन्, ‘उसको एउटा कथासंग्रह छाप्नु थियो सरकार ।’ राजाले दिएको १२ सय भारुले उनको पहिलो कथासंग्रह छापियो, सम्झनाको बादल । दुर्गाप्रसाद श्रेष्ठ उर्फ उपेन्द्रका नाममा नेपालीमा आठ, हिन्दीमा चार र अंग्रेजीमा एक पुस्तक प्रकाशित छन् ।

०२८ मा राजा महेन्द्र बिते । प्रचार विभागबाट बाँस्कोटा हटे, धनुषचन्द्र गौतम आए । यही मौकामा बाबु बिरामी भएको र दसैँमा टीका थाप्न जाने बहाना बनाएर बनारस हिँडे दुर्गा । उनले जागिर र फिल्मतिर फर्किएर पनि हेरेनन् । त्यतिखेर महिनावारी तलब दुई सय रुपियाँ थियो । १० वर्षमा १३ हजार रुपियाँ सञ्चयकोष लिए । बस्, त्यत्ति हो । 

बनारस फर्किएपछि सन्मार्ग दैनिकमा विज्ञापन व्यवस्थापकको काम पाए । त्यसका प्रकाशक संकटमोचन मन्दिरका महन्त पण्डित वीरभद्र मिश्रको गंगा सफाइ अभियानमा पनि जोडिए । त्यसपछि हिन्दी प्रचारक संस्थानमा जनसम्पर्क अधिकारी भए । त्यहाँबाट पहिलो हिन्दी कथासंग्रह सत्तारे मौसी छापिएपछि उनी गैरहिन्दीभाषी लेखकका रूपमा पुरस्कृत पनि भए । उनको चण्डीघोष स्ट्रिट उपन्यास पनि प्रकाशित छ । रत्न पुस्तक भण्डारको पुस्तकसम्बन्धी काम पनि गरे । 

पिता बितेको सात वर्षपछि उदयको पुनरोदय गराए उनले । पिताले ८३ अंक निकालेका थिए, पुत्रले ८४ अंक निकालेका छन् । “पहिले इलाहावाद र बनारस थिए साहित्यको केन्द्र, अहिले दिल्ली भयो,” उनी भन्छन्, “नेपाली भाषामा निस्कने पत्रिका पनि उदय मात्रै हो ।” कुनै बेला धर्म, शिक्षा, राजनीति र साहित्यको केन्द्रका रूपमा चिनिएको बनारसमा अहिले पनि २० हजार नेपाली छन् । तिनका ‘लोकल गार्जियन’ उनै हुन् । 

बनारसमा नेपाल–भारत साहित्यकार सम्मेलन, लेखक–प्रकाशक संगोष्ठी गराउँदै आएका उनी ‘मिनी मदन पुरस्कार’ मानिने मदन स्मारक सम्मानको व्यवस्थापक पनि हुन् । श्री विद्याधर्म प्रचारिणी नेपाली समिति र नेपाली मन्दिरका हर्ताकर्ता पनि उनै छन् । भारतका लागि राजदूत हुँदा भेषबहादुर थापाले उनको परिचय गराएका थिए, ‘सांस्कृतिक राजदूत’का रूपमा ।

कुनै बेला महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्रुफ हेरेबापत २५ पैसा पाउने उदय पत्रिकाका लागि देहरादुनका अवकाशप्राप्त सिपाहीहरूले सहायता पठाइरहेका हुन्छन् । दुर्गाका दुई छोरा र एक छोरी काठमाडौँमै घरजम गरेर बसेका छन् । अल्जाइमरपीडित श्रीमती कृष्णकुमारी पनि यतै छिन् । बनारसमा एक्लै बस्ने उनी बर्सेनि दुई–तीन खेप यता आउँछन् । 

पिताको पदचाप दुर्गाले पछ्याए । त्यसैले अर्को जन्मका लागि पनि उनको कामना छ– काशीबहादुर श्रेष्ठ नै पिता भएर आऊन् । तर, उनका छोराछोरी कोही पनि साहित्यमा छैनन् । तपाईंको सेखापछि कसले उदय निकाल्छ ? यो प्रश्नमा उनी पटक–पटक घोत्लिन्छन्, “साँच्चै अब उदय निकाल्छ कसले ?” 

तस्बिर : रवि मानन्धर

 

प्रकाशित: फाल्गुन ८, २०७४