अर्थ

तरकारी बारीमा गाँजाखेती

चितवनका दुर्गम बस्तीमा गाँजा उत्पादन गर्ने गिरोह नै सक्रिय

- विमल खतिवडा, काठमाडौं

नारायणगढ ।। खडेरी सुरु भइसकेको छ । यस बेला रूख–बिरुवाका पात सुकेर झर्ने हँुदा डाँडापाखा हरियालीविहीन बन्छन् । हरियाली हराउने बेलामा चितवनका नगरपालिकाभित्र पर्ने केही विकट बस्तीमा भदौ–असोज महिनामा झैँ हरियाली छाएको छ । कारण अहिले गाउँगाउँमा गाँजा खेती मौलाएको छ । गोलभेँडा र साग फल्ने करेसाबारीमा गाँजाका बोट झाँगिएका छन् । स्थानीय चेपाङ समुदायको गरिबीको फाइदा उठाउँदै संगठित गिरोहले गाउँगाउँमा व्यावसायिक प्रयोजनको उद्देश्यले गाँजा लगाएका छन् । तरकारी लगाएर हुने आम्दानीभन्दा तेब्बर कमाइ गाँजाबाट हुने भएपछि गाउँले गाँजा खेतीतर्फ आकर्षित भएका हुन् । उनीहरूले तरकारी लगाउन छाडेर गाँजा खेती गर्नेलाई बारी छाडिदिन थालेका छन् । 

राप्ती नगरपालिका–१३ स्थित थानडाँडाका झम्कलाल चेपाङको सिमी र गोलभेँडा फल्ने बारीमा अहिले गाँजाका बोट हुर्किरहेका छन् । कसले गाँजा लगायो भन्नेबारे उनैलाई समेत धेरै थाहा छैन । भन्छन्, “श्रीमती बिरामी भएर रुवावासी थियो, भण्डारामा रहेका बेला दुई जना मान्छे आए र जग्गा छ भनेर सोधे, छ तर लालपुर्जा छैन भन्दा उल्टै ६० हजार रुपियाँ दिएर बिरामीको उपचार गर्नु भन्दै गए ।” 

पछि जग्गाका बारेमा उनीहरूले नै सोधीखोजी गरे । जग्गा हेर्न गाउँ आए । खोलाको किनारमा जग्गा थियो । आएर गाँजाको ब्याड राखे । त्यसपछि फर्किएर आएका छैनन् ।  उनीहरू फागुनमा गाँजा निकाल्ने बेला आउने झम्कलाल बताउँछन् । श्रीमती विष्णुमाया बिरामी भएको लामो समय बितिसक्यो । तर, अझै ठीक भएकी छैनन् । गाँजा लगाउनेले दिएको ६० हजार रुपियाँ सकिए पनि बिरामीको अवस्था उस्तै छ । अझै गाँजा लगाउनेले पैसा थपिदिन्छन् कि भन्ने आशमा छन्, उनी ।  
“अहिले गाँजा भएको बारीमा तरकारी लगाएको भए वर्षको २० हजार रुपियाँ आम्दानी हुन्थ्यो,” झम्कलाल भन्छन्, “सात जनाको परिवार छ, श्रीमती बिरामी भएर अस्पतालसम्म पुर्‍याउने खर्च थिएन, त्यसैले गाँजा लगाउनेले दिएको पैसा बुझेँ ।” उनी अझै गाँजा कसले किन लगायो भन्नेबारे अन्योलमा छन् । मोटरबाटो छेउमै लगाएको गाँजा प्रहरीले काटिदिएको खबर सुनेपछि उनी त्रासमा छन् । अधिकांश स्थानीय राम्रो कमाइ हुने प्रलोभनमा परेर नै तरकारी उब्जाउ हुँदै आएको बारी गाँजा लगाउन दिएको बताउँछन् ।  

गाँजा लगाउन मकवानपुर, धादिङदेखि संगठित समूहहरू गाउँ पस्ने गरेका छन् । प्रहरी पुग्न नसक्ने विकट ठाउँमा उनीहरूको नजर पुग्ने गरेको छ । राम्रो आम्दानी हुने भएपछि विकटका स्थानीय सहज रूपमा गाँजा लगाउन तयार हुन्छन् । गाँजा नकाट्दासम्म एक जना अनिवार्यजस्तै हेरालुका रूपमा खटिने गरेका छन् । 

भण्डारा–मलेखु चेपाङ मार्ग सञ्चालनमा आएसँगै गाँजा लगाउने क्षेत्रमा चितवन र मकवानपुरका विकट बस्तीहरू पर्ने गरेका छन् । गाउँगाउँमा मौलाउँदो गाँजा खेतीलाई कम गर्न प्रहरीले फँडानी अभियान चलाए पनि निमिट्यान्न भने पार्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दीपक थापा विकट बस्तीमा उत्पादन हुने गाँजा भारत पुग्ने गरेको बताउँछन् । भन्छन्, “पहाडी बस्तीमा बढी गाँजा लगाइएको छ । प्रहरीको सक्रियतामा केही क्षेत्रमा फँडानी गरिएको छ । तर, विकट बस्तीमा गाँजा अझै छ, गाँजा लगाउने मुख्य व्यक्ति देखा पर्दैनन् ।” यस्ता गिरोह अरूलाई पैसाको प्रलोभन देखाएर गाँजा लगाउन उत्प्रेरित गरे पनि आफूचाहिँ बाहिर आउन चाहँदैनन् । जब गाँजा पाकेर बिक्री गर्न तयार हुन्छ, तब लगानीकर्ताको चासो बढ्छ । वैशाख–जेठमा ब्याड राखेर माघ अन्तिम तथा फागुन पहिलो साता गाँजा काट्ने समय सुरु हुन्छ । 

ओसारपसारको केन्द्र

पछिल्लो समय चितवन गाँजा उत्पादन थलो र ओसारपसारको केन्द्र बनेको छ । प्रहरी स्रोतका अनुसार जिल्लाको उत्तरी भेग र धादिङको गजुरीबाट पूर्वतर्फका अधिकांश भाग तथा मकवानपुरको उत्तरी भेगमा गाँजा खेती गर्ने गरिएको छ । त्यस्ता ठाउँमा गाँजा उत्पादन मात्र होइन, प्याकिङ गरी धादिङको मझिमटार आसपासका राजमार्गनजिक कच्ची सडकमा झारेर सवारी साधनमा राखी पर्साको वीरगन्ज नाकाबाट रक्सौल हुँदै भारत निर्यात गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । 

थोरै मिहिनेतमा धेरै पैसा कमाउन सकिने भन्दै गाँजा उत्पादनमा मात्र नभई प्याकिङ गर्न पनि स्थानीय आकर्षित हुने गरेका छन् । जसले प्याकिङ गर्छ, उसले बोकेर सीमा नाकासमेत कटाउने गर्छ । “जसले गाँजा उत्पादन गर्न लगानी गर्छ, ऊ पक्राउ पर्दैन,” एसपी थापा भन्छन्, “भरियाका रूपमा प्रयोग हुने मात्र पक्राउ पर्छन् ।” अत्यावश्यकीय साधनहरू एम्बुलेन्स, दूध बोक्ने ट्यांकर, पेट्रोल बोक्ने ट्यांकरमा समेत गाँजा ओसारपसार गर्ने गरिएको पाइएको छ । प्राय: गाडी, ट्रक धोइपखाली गर्ने ठाउँमा गाँजाको व्यवस्थापन गरिन्छ । 

अहिले मुख्य नाकाका रूपमा मकवानपुरको राक्सीराङ हुँदै चितवनको थाकलटारबाट लोथर र पर्साको ठोरीबाट गाँजा भारत पुर्‍याउने गरिएको छ । एसपी दीपक थापाका अनुसार नेपालमा गाँजा प्रतिकिलो पाँच हजार रुपियाँमा बिक्री हुने गरे पनि भारत पुगेपछि १२ देखि १५ हजार रुपियाँसम्ममा बिक्री हुने गर्छ । स्थानीयले अहिले गाँजालाई नगदे बालीका रूपमा लिने गरेका छन् । “चितवन सबैका लागि सहज भयो,” एसपी थापा भन्छन्, “यो ठाउँमा ७७ जिल्लाका स्थानीयको बसोवास छ, जसले गर्दा लुकेर कारोबार गर्ने बढी भए ।”

लागू औषध ऐन, ०३३ अनुसार स्थानीय प्रणालीलाई असर गर्ने गरी गाँजा, चरेस, अफिम उत्पादन तथा बिक्री वितरण गरेको पाइएमा ५ देखि २० वर्ष कैद र दुई लाख रुपियाँसम्म जरिवानाको व्यवस्था छ ।
 

प्रकाशित: फाल्गुन ३, २०७४