साहित्य

राजनीतिको मियोमा घुमेको सामाजिक उपन्यास

- रमण घिमिरे, काठमाडौं

कथा धेरै वर्षअघिदेखि धेरै वर्षपछिसम्मको हो । राजनीतिका झन्डै चार युगका कथा भनिएको छ, उपन्यास अविजितमा । गाउँदेखि सहरसम्म, उपत्यकादेखि मधेस र पहाडसम्मका भोगाइ र अनुभवहरूको बेली–बिस्तार लगाइएको छ । 

भीमप्रसाद त्यसबेलाका सामान्यभन्दा अलि माथिल्लो दर्जाका मानिसमा गनिन्थे । उनको सानो परिवारको सुख धेरै लामो समयसम्म रहन पाउँदैन । छोरीको धुमधामको विवाह सकिएलगत्तै आएको तिहारको एक साँझ भीमप्रसाद छोरा लिएर घरबाट निस्किन्छन्, जुवा खेल्न । त्यस रात भीमप्रसादले जुवामा तीन सय रुपियाँ हार्छन् । त्यो जमाना तीन सय रुपियाँले ठूलै गर्जो टथ्र्यो । यति धेरै पैसा हारेको तोडमा आएर निरास, थकित र उदास सुतेका भीमप्रसादको जीवनदीप भने बिहान हुँदासम्म फेरि कहिल्यै नबल्ने गरी निभिसकेको हुन्छ ।

त्यसपछि भीमप्रसादकी श्रीमती पार्वती र छोरा अविजितको जीवनमा अकल्पनीय मोडहरू आउँछन् । पार्वती परिवन्दवश वीरमणिसँग भाग्न बाध्य हुन्छे । टुहुरो अविजित बडाहाकिम भिनाजु कुलभक्तको पछि लागेर मधेस पुग्छ । कुलभक्तको आश्रयमा खानलाउनको दु:ख नभए पनि यसलाई स्वाभिमान जोगाउन हम्मेहम्मे पर्छ र त्यहाँबाट भागेर वीरगन्ज पुग्छ । वीरगन्जमा उसको वनारसबाट अध्ययन गरेर आएको क्रान्तिकारी मदनसँग भेट हुन्छ । मदनको विचार र व्यवहारले उसको जीवनको अवधारणा १ सय ८० डिग्रीको कोणमा परिवर्तन हुन्छ । ऊ ठूलो क्रान्तिकारी बन्ने सोचमा काठमाडौँ पुगेर थरीथरी गतिविधिहरू सञ्चालन गर्न थाल्छ । विभिन्न बैठक, सभाहरूमा मानिसलाई क्रान्ति र स्वतन्त्रताका ज्ञान छर्दै हिँड्छ । एउटा पत्रिकाको सम्पादन गरेर जीविका चलाउँछ तर स्वभावत: त्यो पत्रिका र ऊ राज्यसत्ताको आँखामा पर्छन् । पत्रिका बन्द हुन्छ । ऊ केही समय जेल बसेर छुट्छ । त्यसपछि उसको पत्रकारितामा सदालाई विराम लाग्छ । 

तर, समयक्रमसँगै नेताको द्वैध चारित्रिक क्रियाकलापले उसलाई राजनीतिको देखाउने र खाने बेग्लाबेग्लै दाँतबारे नयाँ अनुभव र तिक्त अनुभूति हुन्छ । आफ्नै पार्टीको क्रान्तिकारी नेता सत्ताको स्वाद चाख्न मन्त्री बन्छ । त्यसपछि अविजितको मन भाँडिन्छ र सज्जन पुण्यप्रसादको सल्लाह र सहयोगले विभिन्न ठाउँमा जागिर खाँदै अनुभवहरू बटुल्न थाल्छ । राणा शासनको पृष्ठभूमिमा ००७ सालको क्रान्तिदेखि ०४६ को प्रजातन्त्रको आगमनसम्मको परिघटनालाई विस्तार गर्दै बुनेका छन्, विप्लवले । 

उपन्यास एउटै भूगोल र समाजमा सीमित छैन । यसले त्यसबेलाको उपत्यकामा गल्लीगल्लीमा छिराउँदै समाज–संस्कृतिको भित्रभित्रसम्म प्रवेश गराउँछ । यहाँको लोकजीवन, परम्परा र मान्यताहरूलाई पुन: स्मरण गराउँछ । कति ठाउँमा त उपन्यासकारले पाककलाको सूक्ष्म ज्ञान पनि दिएका छन् । र, नायक अभिजितलाई अन्तिम प्रहरमा अलि बढी नै मापसे गराएका छन् ।

तर, मुख्य विषय यो होइन । यसले त राजनीति र सामाजिक अवस्थाका बारेमा संक्षेपमा तर महत्त्वपूर्ण प्रसंगहरू अभिव्यक्त गरेको छ । जब उपन्यासको नायक चारभञ्ज्याङ तरेर राजविराज पुग्छ, उसको परिघटनासँग गाँसेर मधेसको रीतिरिवाज–संस्कार, जीवनशैलीको समेत अध्ययन गराउँछ उपन्यासले । यसबाहेक त्यसबेलाको राजधानीसँग जोडिएको पूर्वी पहाडी भेगको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाबारे परिचित गराउँछ । हुने खानेले हुँदा खानेलाई सरकारी ओतमुनि बसेर कुन हदसम्मको शोषण गरेका थिए, सामान्य मानिसहरू कति असामान्य, कष्टकर जीवन बाँच्न बाध्य थिए, यी यावत् पक्षमाथि पनि वास्तविक धरातलमा उभिएर चर्चा गरिएको छ उपन्यासमा । यो नेपाली राजनीतिको मियोमा घुमेको सामाजिक उपन्यास हो । एउटा यात्रामा निस्केको यात्रीले बाटोमा जे देख्छ, त्यसैको सुन्दर वर्णन हो, अविजित । 

राणाकालीन बर्बरता, प्रजातन्त्र आएपछिको राजनीति र पञ्चायती शासनकालको प्रतिकूल अवस्थादेखि ०४६ को प्रजातन्त्रकालसम्मको वर्णन गरिएको छ, उपन्यासमा । अझ बीपीको देहावसानपछिको शोकाकूल राजधानी र जनआन्दोलन ०४६ को यति सुन्दर वर्णन छ उपन्यासमा, यसले पछिल्ला पुस्तालाई उम्दा स्वाद दिन्छ । कसरी राजनीतिक दलहरू, विशेषत: कम्युनिस्ट पार्टीहरू स–सानो स्वार्थमा विभाजित हुन्थे ? कसरी कार्यकर्तालाई अँध्यारोमा ढुंगा हान्न लगाएर आफ्नो राजनीतिको दुनो सोझ्याउँथे ? यी यावत् घटनालाई उपन्यासमा सिलसिलेवार ढंगमा बुनिएको छ, जुन घटना र प्रसंग आजको समसामयिक राजनीतिमा पनि हामीले अनुभव गरिरहेका छौँ । उपन्यासमा अपुगजस्तो लागेको कुरा आफ्ना श्रीमतीहरूसँग अविजितको संवादशून्य अवस्था र ती श्रीमतीहरूको गतिविधिको न्यून चर्चा । यो पाटो उपन्यासकारले छुटाएका हुन् या छुटेको हो ! तर, यसको अभाव खट्किन्छ ।

लेखकले उपन्यासमा आफ्नै बुबालाई नायक बनाएको उल्लेख गरेका छन् । साथै, यसको कथा पनि उनका बुबाले सुनाएका आधारमा नै बुनिएको भन्ने स्वीकारेका छन् । यस आधारमा कथा यथार्थ घटनामा आधारित छ भन्ने थाहा पाएपछि पढ्दा अझ रोचकता थपिन्छ । अविजितको जीवन–घटनासँग मिसिएर आएको उपन्यासकारका बुबा कृष्णप्रसाद सर्वहाराको यथार्थ कथा पढ्दा पाठकलाई उपन्यास पढेभन्दा निश्चय नै बढी उत्सुकता हुन्छ । उपन्यासकारले कृष्णप्रसाद सर्वहारालाई अविजितमा समागम गरेको प्रतीत हुन्छ । यसको उदाहरण जब पत्रकारका रूपमा पक्राउ परेर अञ्चलाधीशकहाँ बयान दिन पुग्छ, त्यसबेला पहिलोपटक उसको थर ‘सर्वहारा’ उल्लेख गर्छ । यो उपन्यास यस अर्थमा पनि पठनीय र रोचक छ । 

प्रकाशित: माघ २६, २०७४