ब्लग

नोटबुक

- प्रदीप बस्याल, काठमाडौं

काठमाडौँको हावामा के छ ?
एक दशकदेखि बैंगलोरलाई मुकाम बनाएका एक जना साथीले त्यहाँको रेस्टुराँ/पबको व्याख्या गर्दै थिए । रक्सीको पेग चढ्दै जाँदा कसैको दिमागमा नयाँ उद्यमको जुक्ति फुर्छ र त्यहीँबाटै फोनमै हाकिमलाई राजीनामा सुनाउँछ । कसैसँग गफ गर्दा आफ्ना स्वार्थ र आवश्यकताहरु मिलेर त्यहीँबाट व्यापारिक साझेदारी सुरु हुन्छ । बैंगलोरमा जागिरमा लामो भविष्य देख्ने वा लामो समय जागिरमा अल्झिनेहरु कमै भेटिन्छन् । पबहरुमा बरु स्टार्टअपकै कारण टाट पल्टिएकाहरु विरक्तिने झुन्डहरु पनि उत्तिकै भेटिन्छन् । हुन पनि संसारमा १० प्रतिशत मात्र उद्यमहरु सफल भइरहेका हुन्छन् । खैर, ती साथीको तर्क थियो, ‘त्यहाँको हावामै जोकोहीले सजिलै अनुभव गर्ने उद्यमशीलताको मात छ ।’ 

हरेक देश/सहरका आफ्ना मौलिक गुण हुन्छन् । स्वीट्जरल्यान्ड पुग्नेहरु सुनाउँछन् किशोरावस्थादेखि नै हरेकमा पर्यटनदेखि प्रविधिका आधारभूत सीपहरु देखिन्छन् । गाई–गोरुप्रतिको मनैदेखि हुने माया उत्तिकै लोभलाग्दो हुन्छ । गाईहरु स्वीस गाउँहरुका अभिन्न पाटोका रुपमा छन् । तर, तिनलाई एक्लोपन महसुस नहोस् भनेर उनीहरुको जोडी नै पाल्नुपर्ने रहेछ । द डिप्लोम्याटका पत्रकार विशाल अरोराले स्वीट्जरल्यान्ड पुग्नेबित्तिकै फेसबुकमा स्ट्याटस लेखे, ‘यहाँ गाई–गोरुहरुले केवल स्याहार मात्र पाउँदैनन्, माया पनि उत्तिकै पाउँछन् ।’ सिंगापुरमा रहेका साथीहरु सुनाउँछन्, ‘कुनै उद्यमको योजना बोकेर बिहान यहाँ उत्रनुहुन्छ भने मध्यदिनबाटै कार्यालय खोलेर, दर्ता गरेर काम नै सुरु गर्न भ्याइसकिन्छ ।’

काठमाडौँ साधु–सन्तहरुको सहर वा मन्दिरै–मन्दिरको सहर भनेर स्कुले निबन्धहरुमा सानैदेखि मैले पनि लेख्दै आएको हुँ । तर, के मैले यो सहरलाई त्यो गुणका साथ बखान गर्न सक्छु त ? सन्तहरुको सहरमा हुर्कनु प्रेम, करुणा, स्नेह, सम्मानको स्वभावमा हुर्कनु हो । तर, एयरपोर्टमा उत्रने हरेक पर्यटक ट्याक्सी ड्राइभरको व्यवहारबाटै दिक्दारी महसुस गर्छ । बाटोमा कुकुरलाई मारेर कुनै गाडी भाग्दा जब प्रहरीलाई खबर गरिन्छ, प्रहरीले गाडीको नम्बरसमेत टिप्दैनन्, हाँस्छन् मात्रै । हाम्रा सोसल मिडियामा बहस मानवताभन्दा बढी खोक्रो राष्ट्रवादमा उर्लन्छन् । आखिर काठमाडौँको हावामा के छ ? 

मोदीको ‘चाय–समोसा’

स्वीट्जरल्यान्डको डाभोस सहरमा हालै सम्पन्न विश्व आर्थिक मञ्चको महाकुम्भमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चर्चा यसपटक बेग्लै तरिकाबाट भयो । अतिथिको रुपमा निम्त्याइँदा उनको सर्त थियो, ‘ नास्तामा चिया–समोसा चाहिन्छ है । चिया र समोसा उनले आफ्ना लागि मात्र माग गरेका थिएनन्, उद्घाटन सत्रको स्वागत रिसेप्सनमा उपस्थित हुने विश्वभरका एकसे एक नेता, व्यापारी, सेलिब्रिटीदेखि पत्रकारसम्मलाई चिया र समोसा चखाउनुपर्ने उनको सर्त थियो । मोदीलाई डाभोस ल्याउनै थियो, आयोजकले उक्त सर्त स्वीकारिहाले । रिसेप्सनमा मोदीलाई खुसी पार्न आयोजकहरुले गुजराती र भारतका विभिन्न प्रान्तका परिकारहरुसमेत समेटे । ‘इन्डिया मिन्स बिजनेस’ मन्त्र बोकेर डाभोस पुगेका मोदीको चतुर्‍याइँले स्वीट्जरल्यान्डले आतिथ्यता गरेको विश्व सम्मेलन एकाएक भारतमय भइदियो ।

मोदीले यसअघि ‘योग’लाई संयुक्त राष्ट्रसंघबाट एकमतले पारित गराएरै विश्व योग दिवसका रुपमा २१ जुनलाई दर्ज गराएका थिए । आयुर्वेद उनको अर्को अस्त्र छ, जसका कारण घिउ, बेसार, एलोभेराजस्ता उत्पादनहरु अहिले भारतका नयाँ ‘सफ्ट पावर’ अस्त्र बनेका छन् । देशभित्र होस् या बाहिर, मोदीले विश्वका ठूला टेक कम्पनीका प्रमुख कार्यकारीहरुसँगका भेट र वार्तालाई प्राथमिकतामा राखेका हुन्छन् । मोदीलाई थाहा छ, अर्थतन्त्र र प्रतिरक्षा मामिलामा तत्काललाई अमेरिका वा चीनको दाँजोमा पुग्न गाह्रो छ । घुमाउरो बाटो सफ्ट पावर नै हो, जसलाई उनले चाहे भारतीय इन्जिनियर हरुको भरमा विदेशी कम्पनीहरुलाई आकर्षित गर्दै होस् वा भारतीय डायस्पोराको मनोबल उच्च पारेर, गरिरहेकै छन् । 

पैसामा मात्र फस्टाउने कमरेड

केही समयअघि जब म मधेसका जिल्ला घुमिरहेको थिएँ, विप्लव नेतृत्वको माओवादी त्रास थियो । चन्दा आतंक सुनेकै भरमा सरुवा भएका थुप्रै ‘सोर्स र फोर्स’वाला कर्मचारीहरु काठमाडौँमै काज मिलान गरेर बसिरहेका थिए । अत्यावश्यक कामबाहेक थुप्रै कार्यालय प्रमुखहरु कार्यालय समयमा क्वाटरमै लुकेर बस्थे र साँझ–बिहान गरेर कार्यालयका काम सक्थे । त्रास यतिसम्म थियो कि उनीहरुको सार्वजनिक मोबाइल नम्बर त प्राय: स्वीच अफ नै हुन्थ्यो । “तैपनि, कहिलेसम्म लुकेर बस्नु,” सिरहामा एक कार्यालय प्रमुखले निन्याउरो भावमा गुनासो पोखे, “उहाँहरु भ्रष्टाचार विरोधी समाजको कुरा गर्दै चन्दा उठाउन आउनु हुन्छ । तर, चोखो तलबको भरमा त उहाँहरुलाई दिनुपर्ने नियमित चन्दाको थोरै अंश पनि पुग्दैन ।”

गत महिना म सुदूर र मध्यपश्चिमका केही दुर्गम पहाडी जिल्ला चहार्दा भने विप्लवको नामोनिसान खासै सुनिएन । कम्युनिस्टहरु त गरिबीबाट उदाउँछन्, गरिबकै कुरा गर्छन् भन्ने जो सुनिआइएको हो । मानव विकास सूचकांकमा पुछारतिर रहेका र माओवादी हिंसाताका आधारभूमि रहेका ती जिल्लामा आफूलाई असली कम्युनिस्ट भन्ने विप्लवको खासै प्रभाव वा चर्चा थिएन । लाग्यो, अब कम्युनिस्टहरु गरिबीमा होइन, पैसामा फस्टाउँछन् ।

प्रकाशित: माघ २५, २०७४