साहित्य

गुरुङ संगीतको सेरोफेरो

- गुरुङ सुशान्त, काठमाडौं
गुरुङ जातिको दैनिकीमा संगीतको ठूलो बहाव रहन्छ । ‘तमु’का रूपमा आफूलाई परिचित गराउन चाहने गुरुङहरू रक्सी, संगीत र नाचको त्रिवेणीमा जीवन डुंगा खियाउँछन् । संगीतमा गुरुङहरूले आफ्नो लोक जीवनका गाथा पोखेका छन् । गुरुङहरूको यिनै लोकसंगीतको सेरोफेरोमा घुमेर पिर्को मोइजालाले पुस्तक लेखेका छन्, ग्रामीण गुरुङ संगीतको इथ्नोग्राफिक अध्ययन: निरन्तरता र परिवर्तन । मोइजालाले लमजुङको गिलुङ गाउँलाई मुख्य क्षेत्र बनाएर जनजाति संगीतशास्त्रको आधारमा यो पुस्तक लेखेका हुन् । 
 
गिलुङको भौतिक परिवर्तनलाई नजिकबाट अध्ययन गरेका उनले गुरुङ संगीत र संस्कृतिलाई जगेर्ना गर्न अबको समयमा चुनौती देखेका छन् । पढाइ र कामको सिलसिलामा युवाहरू सहर र विदेशतिर हराउने क्रम बढेकाले पनि चुनौतीको ग्राफ बढेको ठान्छन् लेखक । आमा समूहहरूको सक्रियतामा मात्र गुरुङ लोकसंस्कृतिले आफ्नो अस्तित्व लामो समयसम्म धानिराख्न मुस्किल नै देखिन्छ । संवेगात्मक आधारवस्तुमा केही परिवर्तन भए पनि मूल रूपमा गुरुङ लोक संगीतको विशेषता उस्तै देखा पर्छ । घाँटुमा प्रविधि र शैलीगत भिन्नता प्रशस्त छन् ।
 
बोन्पो धर्म, झांक्रीवाद, बौद्घवाद र हिन्दुवादका केही तत्त्वहरूको क्वाँटीबाट गुरुङको आस्था तथा विश्वास प्रणालीको विकास भएको तथ्य अनुसन्धानहरू बोल्छन् । कर्म र अवतारलाई प्रमुख अंग मानिने हिन्दुवाद र बौद्घवादको मुख्य धारणा भौगोलिक दूरीका आधारमा फरक–फरक मिथकका संस्करण बन्छन् । यही विचारको आलोकमा प्रस्तुत पुस्तकले गुरुङ संगीतशास्त्रलाई पर्गेल्ने कोसिस गरेको छ ।
 
कृषि र पशुपालनमा आधारित गुरुङ अर्थतन्त्रमा पल्टने जागिरको ठूलो योगदान छ । गुरुङ संगीत र संस्कृतिमा लाहुरे लहरले पनि टेवा पुर्‍याएको दृश्यलाई नजरअन्दाज गर्न मिल्दैन । जातिप्रथाको सोपानक्रमले गुरुङहरूमा अन्तद्र्वन्द्वको आधार खडा गरेको इतिहास प्रस्ट देखिन्छ । तर, मितेरी साइनोको मीठो र सहज बाटोबाट गैरगुरुङहरूमा समेत सुमधुर सम्बन्ध स्थापित गर्छन् गुरुङहरू ।
 
भनिन्छ, तुलनात्मक रूपमा ब्राह्मण महिलाभन्दा जनजाति महिलाहरू स्वतन्त्र हुन्छन् । तर, लैंगिक समस्यालाई सोही जातिको महिला र पुरुषले पाएको अधिकारका आधारमा अध्ययन गर्नु वस्तुवादी ठहर्छ । मोइजालाको अध्ययनले भन्छ, ‘सार्वजनिक स्थलहरूमा पुरुषको प्रभुत्व रहन्छ । घरका पुरुषहरू अनुपस्थित हुँदा गाउँका सभाहरूमा उक्त घरका महिलाको उपस्थिति अपेक्षा गरिँदैन । पुरुषहरू सम्पत्तिको उत्तराधिकारी हुन्छन् र नियन्त्रण पनि गर्छन् ।’ कुनै जातिभित्रको महिला स्वतन्त्रता उनीहरूको सम्पत्तिमा पहुँचले निर्धारण गर्छ । मोइजालाको अध्ययनले गुरुङ महिलाहरू पुरुषको तुलनामा पिछडिएको चित्र प्रस्तुत गरेको छ । गुरुङहरूले आफूलाई हिन्दु नमाने पनि बालबच्चाको हुर्काइबढाइमा हिन्दुवादको धार्मिक प्रभाव प्रचुर मात्रामा पाइन्छ । गुरुङ महिलाहरू विवाहपश्चात् बाहिरभन्दा घरभित्रको काममा खुम्चेका हुन्छन् । गुरुङ संगीतको अध्ययनमा केन्द्रित भए पनि यस पुस्तकले गुरुङ संस्कृतिको सामाजिक, आर्थिक, लैंगिक, शैक्षिक र ऐतिहासिक पक्षको संक्षिप्त रेखाचित्र कोरेको छ । अत: पुस्तक विशिष्टकृत हुँदाहुँदै पनि सामान्य जिज्ञासुका लागि पनि उपयोगी देखिन्छ ।
पुस्तकमा अनुसन्धानका प्रस्थान विन्दुदेखि गुरुङ जातिको आस्था प्रणाली, अर्थतन्त्र, सामाजिक प्रणालीसम्मलाई प्राज्ञिक रखाइमा व्यवस्थित अध्ययन गरिएको छ । पुस्तकको केन्द्रीय विषयलाई तेस्रो अध्यायमा अध्ययन गरिएको छ, जसमा ग्रामीण संगीत, सांगीतिक सोच, घटना, उत्सव र ग्रामीण संगीतमा देखा परेका निरन्तरता र परिवर्तनबारे गहिरो अनुसन्धान गरिएको छ । अनुसन्धानमा पुस्तकालयीय विधिभन्दा स्थलगत अवलोकन र प्रत्यक्ष कुराकानीलाई आधार बनाइएको छ ।
 
’३० को दशकको ग्रामीण संगीतमा रेडियोभन्दा मौखिक परम्परामा बाँचेको लोकसंगीतको ठूलो स्थान थियो । लमजुङको गिलुङमा सन् १९७७/७६ तिर विद्युतीय पाश्र्व संगीतभन्दा प्रकृतिको ध्वनि नै ग्रामजीवनको लयसँग नजिक थियो । गाउँलेहरू श्रमको सिलसिलामा मडारिने भावलाई लयात्मक रूपमा अभिव्यक्त गर्थे, जुन स्वाभाविक रूपमा लोकभाकाको स्वरूपमा ढदल्थे । यो चित्र हर गुरुङ गाउँको मात्र नभएर आमग्रामीण जीवनको साझा स्वरूप हुनुपर्छ । मोइजालाले अनुसन्धानका क्रममा यस्ता रोचक प्रसंग पनि पस्केका छन्, जुन पाठकीय रुचिको दायरामा सहर्ष प्रवेश गर्छन् । उनले पस्केका पुराना विम्बमार्फत त्यही समयका पाठकहरू नोस्ताल्जियाको लयात्मक ध्वनिमा डुब्न सक्छन् । 
 
मोइजालाले गाउँ घुमेको समयमा साह्रै थोरै रेडियो हुन्थे भने क्यासेट प्लेयर त कसैको हातमा थिएन । रेडियो पनि पूर्वसेनाहरूको हातमा मात्र हुन्थ्यो । ब्याट्री बचाउन सानो आवाजमा बजाइने रेडियोमा लोकगीत र कृषि कार्यक्रम सुन्न भेला हुन्थे गाउँलेहरू । ग्राहकहरूलाई आकर्षित गर्न पसलेहरू मात्र ठूलो आवाजमा रेडियो घन्काउँथे । तर, आफ्नै रचनाको संगीतमा रमाउने गुरुङहरू भने घाटु, रोधी र मारुनीमा रमाउँथे ।
 
रोधीमा चल्ने जुहारीभन्दा घाटु र मारुनीको लय धीमा हुन्छ । रोधीमा तुलनात्मक रूपमा युवा पुस्ताको सहभागिता हुने भएकाले पनि सुर तथा लय द्रुततर हुने अनुमान गर्न सकिन्छ । पुस्तकमा मृत्युसंस्कार आदिमा गाइने संगीतका बारेमा चर्चा गरिए पनि घाँटु संगीत, नाच, घटना र परिवर्तनका बारेमा विशेष अध्ययन गरिएको छ, जसलाई मुक्तकण्ठले प्रशंसा गर्न सकिन्छ । 
 
ग्रामीण गुरुङ संगीतको इथ्नोग्राफिक 
अध्ययन : निरन्तरता र परिवर्तन
लेखक : पिर्को मोइजाला
अनुवादक : टंकप्रसाद गुरुङ
प्रकाशक : रत्न पुस्तक भण्डार
पृष्ठ : २४२
मूल्य : ४९५ रुपियाँँ 
प्रकाशित: माघ २४, २०७४