जीवनशैली

कृष्णा–तृष्णा

कृष्णाको रेडियोमोह कस्तो छ भने पोहोर साल क्यान्सर लागेर हाफ साइकलमा ११ पटक किमो चढाउँदा समेत स्टुडियो धाउन छाडिनन् ।

- राजकुमार बानियाँ, काठमाडौं

रेडियोमा बोल्न थालेको ५६ वर्ष भइसक्यो । र पनि, कृष्णा ताम्राकार, ८०, को रेडियो–तृष्णा पटक्कै घटेको छैन । अहिले पनि रेडियो कार्यक्रम चलाइरहेकै छिन् । राजधानीको इमेज एफएममा शनिबार बिहान साढे ७ देखि पौने ८ सम्म ‘आँखादान’ कार्यक्रम लाइभ चलाउँदा उनलाई उत्तिकै आनन्द आउँछ । तीलगंगा आँखा प्रतिष्ठानको यो कार्यक्रमकी उनी स्वयंसेवी सञ्चालक हुन् । 

कृष्णाको रेडियोमोह कस्तो छ भने पोहोर साल क्यान्सर लागेर हाफ साइकलमा ११ पटक किमो चढाउँदा समेत स्टुडियो धाउन छाडिनन् । यी ‘क्यान्सर–फाइटर’को स्वर अझै पनि फिटफाट छ । ‘बेस्ट कप्लिमेन्ट’ पाइरहेको छ– ‘भेरी बोल्ड एन्ड क्लियर भ्वाइस’, ‘गड गिफ्टेड भ्वाइस ।’ 
२४ जेठ ०१८ ।

रेडियो नेपालको प्रवेश मिति उनलाई अझै पनि हेक्का छ । त्यतिबेला नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी)को १ सय ७५ रुपियाँ तलब छाडेर उनले रोजेकी थिइन्, १ सय २५ रुपियाँको जागिर । “मन परेको काम भएकाले ५० रुपियाँ थोरै भए पनि म रेडियो नेपाल गएँ,” उनी सम्झिन्छन्, “गिरिजाप्रसाद कोइरालाले ३० वर्षे सेवा–हद लगाएपछि २२ कात्तिक ०४९ मा रेडियो छाडेँ । जतिन्जेल गरेँ, राम्रो गरेँ ।”
१ पुस ०१७ को काण्ड हुँदा न्युरोडको आरएनएसीको अफिसमै थिइन् कृष्णा । उनले देखेकी थिइन्– पसलहरू एकाएक बन्द गरेको । एक दिन उनको नजर पर्‍यो, रेडियो नेपालको हिन्दी सेवाका लागि गोरखापत्रमा छापिएको विज्ञापन । ७५ जना आवेदकमा तीन जना छानिए, उनीसहित रामकृष्ण गौतम र श्यामा झा (भारतीय नागरिक) । 

रोजाना दुई बुलेटिन आउँथ्यो हिन्दी समाचार । ०२१ मा भारतसँगको खटपटका कारण राजा महेन्द्रले हिन्दी सेवा बन्द गरिदिए । उनको सरुवा भयो, नेपाली समाचारमा । त्यतिखेर निर्मला जोशी, गौरी केसी, बिना राणा आदि महिला थिए नेपालीका समाचारवाचक । उनका बोस थिए, भोग्यप्रसाद शाह । शाहजस्तो राम्रो समाचार लेख्ने पत्रकार उनले अहिलेसम्म भेटेकी छैनन् । 

१८ डिसेम्बर १९६९ मा उनी लन्डन गइन् र बीबीसीमा १३ महिने तालिम लिइन् । भ्वाइस अफ जर्मनीमा अर्को तालिम पाइन् १८ महिने । रेडियो जर्नालिज्ममा डिप्लोमा गरिन् जर्मनीबाटै । दुर्गानाथ शर्मासँग टेलिभिजन तालिमका लागि नेदरल्यान्ड्स पनि गइन् । तर, टेलिभिजनमा कार्यक्रम भने चलाइनन् । “खासमा मैले रेडियोबारे धेरै कुरा सिकेको लन्डनमै हो,” उनी भन्छिन्, “घरमा बच्चाबच्ची थिए । मलाई सधैँ हतार हुन्थ्यो । कतिपय कुरा मलाई थाहा थिएन ।”

रेडियोमा गएर नै उनलाई थाहा भयो, समयको मूल्य । “दिउँसो साढे २ बजे मेरो समाचार वाचन सुरु हुन्थ्यो । समाचार समाप्त भयो भन्दा सेकेन्ड सुई ठ्याक्कै १२ मा पुगेको हुन्थ्यो,” उनी सुनाउँछिन्, “मैले १० मिनेटभन्दा एक सेकेन्ड पनि बढी समाचार पढिनँ ।” उनलाई समयमै समाचार सक्ने काइदा सिकाएका थिए, बीबीसीका मिस्टर रोमले । आफ्नो प्रभावशाली शैलीमा उनी समाचार सुरु गर्थिन्, ‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् ।’

नेपाली भाषालाई असाध्यै माया गर्ने सञ्चारकर्मी मानिन्छिन् कृष्णा । गैरनेपालीभाषी भए पनि उनी रेडियोमा बोल्दा प्रत्येक अक्षरको अस्तित्वको सम्मान गर्छिन् । उनी ह्रस्व र दीर्घ मात्र नभएर दन्त्य स, तालव्य श र मूर्धन्य षको समेत ख्याल गरेर बोल्छिन् । “मान्छेको जस्तै शब्दको पनि इज्जत हुन्छ, म हरेक शब्दको सम्मान गर्छु,” उनी भन्छिन्, “अहिले त ह्रस्वलाई दीर्घ उच्चारण गर्छन्, दीर्घलाई ह्रस्व । उद्योगलाई उधोग भनिदिन्छन्, विम्बल्डनलाई पनि बिम्बल्डन भन्न धक मान्दैनन्, गर्व र गर्भको अर्थ थाहा छैन । शुद्धाशुद्धि थाहा नभएकाले पढेका समाचार म सुन्दिनँ ।” भाषाको थप ज्ञान आफ्ना ज्वाइँ विमल चापागाईंबाट पाएको उनको स्वीकारोक्ति छ । भ्वाइस अफ जर्मनीमा ‘फिर से’को हिन्दी उच्चारण नमिल्दा तीन दिनसम्म आफूलाई स्टुडियो छिर्नै नदिएको उनी सुनाउँछिन् । 

सुरुमा उनी राजपत्र अनंकित कर्मचारी थिइन् । पछि लोकसेवा आयोगको जाँच दिएर राजपत्रांकित भइन् । तर, उनको कहिल्यै बढुवा भएन । “मलाई चाकडी र चाप्लुसी आउँदैनथ्यो । डाइरेक्टरको कोठामा ६ महिनामा एकपटक पनि पस्दिनथेँ,” उनी भन्छिन्, “आफ्नो काम गर्‍यो, फर्कियो । त्यसैले म त्यहीँ अड्किएँ ।” साँच्चै भन्ने हो भने रेडियो नेपालमा राजाको तक्मा नपाउने उनै मात्र थिइन् । उनलाई कहिलेकाहीँ अप्ठ्यारो पनि पथ्र्यो । “अरूले मूल्यांकन गरेर पो दिने हो तक्मा,” उनी भन्छिन्, “मलाई दिनूस् भनेर जानु मेरो स्वाभिमानले दिएन ।”

राजाको तक्मा नपाए पनि जनताको तक्मा पाएको पायै छन् । पुरस्कारको राशि जोड्दा पनि दसौँ लाख भइसक्यो । अब त कोठामा सम्मानपत्र राख्ने ठाउँ पनि छैन । “जागिर खाएपछि काम त गर्नैपर्‍यो । काम गरेबापत तलब पनि लिएकै हुँ,” उनी भन्छिन्, “त्यस्तो उत्पात काम केही गरेकी होइन । तैपनि, अहिले पाएको मान, सम्मान र सत्कारप्रति ऋणी छु ।”

शाखा अधिकृत भएपछि कृष्णाले भन्सार, परराष्ट्र, कर जता गए पनि हुन्थ्यो । तर, न उनले रेडियो छाड्न चाहिन्, न त रेडियोले उनलाई छोडाउन चाह्यो । एकपटक उनलाई मत्स्य विभागको सिनियर एकाउन्टेन्टमा बढुवा गरिएछ । रेडियोमा समाचार भनिरहेको मान्छेले अब खातापाता कसरी मिलाउने ? जागिर छाड्छु भन्दा रेडियोका डाइरेक्टर भोग्यप्रसाद शाह आफैँ प्रधानमन्त्री सूर्यबहादुर थापाकहाँ गएछन् र ठाडो आदेशमा रेडियो नेपालमै थमौती भयो उनको । 

रेडियो नेपालमा रहुन्जेल नियमित समाचारवाचनका अतिरिक्त थुप्रै कार्यक्रम चलाइन् उनले । ‘हाम्रो देशको माटो, ‘हाम्रो वन’, ‘वन हाम्रो जीवन’, ‘नासो, ‘वातावरण’ आदि कार्यक्रम । ‘वातावरण’ कार्यक्रम चलाएबापत उनले सन् १९८९ मा राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड पाइन् । “संसारका पाँच सय जनामा म छनोट भएँ । युनेपले फ्रि बिजनेस क्लास टिकट दिएको थियो । बेल्जियम गएर पुरस्कार लिएँ,” उनी सुनाउँछिन्, “मसँगै संरक्षणकर्मी रामप्रीत यादवलाई पनि दिएको रहेछ । तर, यादवका हाकिमले आफूले नपाएको झोकमा उनलाई खबरै गरेनछ ।” 

रेडियो–जीवनमा उनले सडकमा ‘हाजिरीजवाफ कार्यक्रम’ पनि चलाइन् । अर्को महत्त्वपूर्ण कार्यक्रम हो, ‘रसरंग’ । उनको कार्यक्रमकै उत्पादन हुन्, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) । “म महलाई कार्यक्रममा बोलाउँथेँ । महको व्यंग्य अलिक कडा हुन्थ्यो,” उनी सम्झिन्छिन्, “हाकिमलाई फकाएर–फुस्ल्याएर अलिअलि काट्न लगाएर प्रसारण गराउँथेँ ।” शकुन्तला गुरुङ, राजपाल हाडा, सिद्धान्तराम जोशी आदि कलाकार पनि ‘रसरंग’कै थिए ।

‘पर्यटन’ कार्यक्रम उनको अर्को चिनारी बन्यो । “कर्ण शाक्यको ब्रेन चाइल्डका रूपमा मैले त्यसलाई १५ जुलाई १९८३ देखि जनतामा पुर्‍याएँ,” उनी भन्छिन्, “पोहोर साल नेपाल पर्यटन बोर्डसँग कचमच भएपछि छाडिदिएँ ।” 

आवाजले नै सेलिब्रिटी बनायो उनलाई । कतिपयका लागि रेडियो नेपाल र कृष्णा ताम्राकार एउटै थिए । रेडियो भन्नु कृष्णा ताम्राकार, कृष्णा ताम्राकार भन्नु रेडियो नेपाल । उनको लोकप्रियता कस्तो थियो भने हरेक हप्ता बोराका बोरा चिट्ठी आउँथे । दार्जीलिङबाट आएका श्रोताले ‘तपाईं नै हो कृष्णा ताम्राकार’ भनेर तीनचोटि सोधेछन् । उनको स्वर र अनुहार नमिलेर गिफ्ट ल्याएको चकलेट नै फिर्ता लगेछन् ।
उनका ‘हाई प्रोफाइल’ प्रशंसक रहेछन्, सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) । भेटैपिच्छे उनको तारिफ गरिहाल्थे– कस्तो सरस्वतीको जस्तो आवाज ! उनले कृष्णालाई सुनाएका थिए रे, ‘जेलमा बस्दा तिम्रो समाचार नसुनी चित्तै बुझ्दैनथ्यो । मंगलबार तिम्रो बिदा रहेछ । बिरामी भयौ कि व्रत बस्यौ कि जस्तो लाग्थ्यो मलाई । तिम्रो आवाजको जादु सहस्र जिब्रो भएको शेष नागले पनि बयान गर्न सक्दैन ।’ 

राजा महेन्द्रको दाहसंस्कारका बेला डाइरेक्टर रामराज पौडेलसँग आर्यघाट गएकी थिइन्, कृष्णा । त्यत्रो ठेलमठेल भीडमा उनले आफ्नो परिचय दिएपछि मजाले बाटो पाइन् । लोकप्रियताकै कारण रेडियो नेपालबाहेकका कार्यक्रम पनि थिए उनको हातमा । डाइरेक्टर शाहलाई समेत काम दिने हैसियत बनाएकी थिइन् उनले । शाहलाई ‘गोल्डेन भ्वाइस’को धनी मान्छिन् उनी । 

रेडियोमा थुप्रै अन्तर्वार्ता गरिन् उनले । सबैभन्दा स्मरणीय छ– योगी नरहरिनाथको । उनी समाचारवाचक शेखर मानन्धरसित गएकी थिइन् मृगस्थली । “योगी आँखा चिम्म गरेर नयाँ शिक्षाबारे बोलेको बोल्यै गरे । मेरो स्पुल (क्यासेट) जम्मा आधा घन्टाको थियो,” उनी सुनाउँछिन्, “स्पुल सिद्धियो भन्नु पनि भएन । बोलिरहेको मान्छेलाई कसरी नबोल्नु भन्नु ? योगीले दुई घन्टापछि मात्रै अब पुग्यो भनेर सोधे ।” त्यो स्पुलको उनलाई अझै माया लाग्छ । तर, भुइँचालोमा त्यो कता गयो कुन्नि ?

‘वन’ कार्यक्रम चलाउँदा उनलाई योजना आयोगका उपाध्यक्ष मोहनमान सैँजुले कहिलेकाहीँ प्रश्न सुझाउँथे । १३ असारमा युवराज दीपेन्द्रको जन्मदिनमा वृक्षरोपण कार्यक्रममा प्रधानमन्त्री सूर्यबहादुर थापालाई उनले सोधिछन्, ‘प्रधानमन्त्रीज्यू, जंगल गएर दिनमा जति भारी पनि दाउरा ल्याउन पाउने पुर्जीले वनै सखाप नहोला ?’ थापा उल्टै ‘कसले सिकायो ?’ भनेर गर्जिए । र, जवाफै नदिई हिँडे । “मरिचमानसिंह श्रेष्ठ पख्नूस् है एउटा चुरोट खान्छु अनि मात्रै बोल्छु भन्थे,” उनी अन्तर्वार्ता अनुभव बाँड्छिन्, “लोकेन्द्रबहादुर चन्द रूख रोप्दारोप्दै हात धोएर मात्र बोल्थे । चन्द अरूभन्दा सभ्य, शिष्ट र शालीन रहेछन् ।”

सर एडमन्ड हिलारीसँग दुई–तीनचोटि अन्तर्वार्ता लिइछन् कृष्णाले । एकपटक हिलारी प्रमुख अतिथि भएको कार्यक्रम सञ्चालक थिइन् उनी । बहालवाला पर्यटन मन्त्रीले उनलाई सोधेछन्, ‘को हो हिलारी ? यो खैरे हो ?’ उनी हाँस्छिन्, “त्यस्ता पनि मन्त्री भए नेपालमा ।” उनी आफ्नो जमानाकी महँगो एमसी (मास्टर अफ सेरोमनी) रहिछन् । उनले एउटा कार्यक्रमको २५ हजार रुपियाँसम्म लिइन् । “आफ्नो भाउ आफैँ राख्ने हो,” उनी भन्छिन्, “म मोस्ट एक्सपेन्सिभ एनाउन्सर थिएँ ।”

कृष्णाको जन्मथलो हो, बनेपा । १२ वर्षको उमेरमा तुलसीमेहर श्रेष्ठले भारतको गान्धी आश्रम वर्दा लगे उनलाई । शिलु सिंह, भद्रकुमारी थपलिया, भुवनेश्वरी थपलिया, नानीहीरा कंसाकार, रामवदन जोशी पनि वर्दा गएका थिए त्यतिबेला । मर्फी ब्रान्डको रेडियोमा अल इन्डिया रेडियो सुन्ने बानी थियो उनको । माल्भेल डिमालो, विनोद कश्यप, इन्दु बाई आदि थिए उनका रोलमोडल । नेपालीभन्दा पहिले उनले हिन्दी सिकेकी थिइन् । बनेपामा नेवारी भाषा मात्रै चल्थ्यो । हिन्दीपछि मात्रै नेपाली सिकेकाले ‘कस्तो इन्डियनले जस्तो बोलेको’ भन्थे उनलाई । 

उनी भारत गएकी थिइन् पाँच वर्षका लागि । तर, उनका व्यापारी पितालाई चार छोरीमध्येकी माइलीलाई त्यति टाढा राख्नु मनासिव लागेन र तीन वर्षमै फर्काए । त्यहाँ बस्दा उनले मराठी पनि सिकिन् । विनोभा भावेलाई उनले त्यहीँ भेटेकी थिइन् । काठमाडौँ फर्केपछि उनले न्ह्योखाको कन्या मन्दिर स्कुल पढिन् । विसं ०१२ मा एसएलसी दिइन् उनले । आईए प्राइभेट दिएपछि बीए नेसनल कलेजमा पढिन् । अर्जुननरसिंह केसी, विश्वकान्त मैनाली, श्रीमान् श्रेष्ठ, दुर्लभलाल सिंह उनका सहपाठी थिए ।

कृष्णाका तीन छोरी छन्– हिमा, व्योमा र गृष्मा । उनी जेठी छोरी हिमा (जडीबुटी उत्पादन तथा प्रसोधन केन्द्रकी पूर्वनिर्देशक) र ज्वाइँ विमलसँग बस्छिन् बूढानीलकण्ठमा । माइली छोरी व्योमा फिनल्यान्डको राजधानी हेलसिन्की म्युनिसिपालिटीको सदस्य छन् । कान्छी छोरी गृष्माचाहिँ टेलिभिजनमा समाचारवाचन गर्छिन् । कान्छी छोरीलाई उनी आफूजस्तै बनाउन चाहन्छिन् । 

शिवपुरी निकुञ्जको छेउमा छ उनको बसाइ । धूवाँधूलो नभएको यो शान्त ठाउँ काठमाडौँजस्तै लाग्दैन । उनको सोख नै समाचार सुन्नु हो । दिनको कम्तीमा पाँच बुलेटिन समाचार सुन्छिन्, जर्मन प्रसारण संस्था डच ए वेले (डीडब्लू), बीबीसी, अल जजिरा, सीएनएन आदिका । गीत सुन्न मन लाग्छ उनलाई । उनका दिदीहरू गीत गाउँथे । गायिका बिजु रिमाल उनकी दिदीकी छोरी हुन् । 

उनको जीवन अहिले पनि पुरानै ढाँचामा छ । बिरामीबाट उठेको जस्तै लाग्दैन । एक अनुच्छेद एकै सासमा पढ्न सक्छिन् । उत्तिकै जोश, जाँगर र फूर्तिका साथ । १८ जनवरीमा मात्रै इन्टरनेसनल क्यान्सर कन्फरेन्सको एमसी गरिन् । उनको आवाज सुनेर तत्काल प्रस्ताव आयो– ‘हाम्रो एउटा कार्यक्रम चलाइदिनूस्, कति पैसा लिने ?’ उनले ठाडै भनिदिइछन्, ‘भयो, म दुई लाख दिए पनि काम गर्दिनँ । अब मलाई पैसा के काम † खान–लगाउन, औषधि खान पुगे भइहाल्यो नि !'

प्रकाशित: माघ २१, २०७४