साहित्य

भाङबारी एक्सप्रेस

लेखान्त भनौँ कि संयोग, पछि गएर त्यही लाखमान मेरो निकटवर्ती दोस्त बन्यो । भाङबारी हुँदै हाई स्कुलसम्मै को फस्ट, को सेकेन्डको ख्याल हुनै छाड्यो ।

- देवेन्द्र भट्टराई, काठमाडौं

आज माघे बिहानी, सरस्वती पूजाको शुभसाइत । 
आफ्नो दुईवर्षे छोरा देभांसलाई ललितपुरको एउटा प्लेग्रुप स्कुलमा भर्ना गर्न पुग्दा मैले अनायास आफ्नो त्यो दिन सम्झिएँ । चर्को बाडुली लागेझैँ सम्झना उर्लिएर आयो, थामी नसक्नु गरी । सुदूर अतीतको यो सम्झना हिजोको जस्तो र अझ, आजैको जस्तो भएर आयो । सम्झनामा तैरिँदै आयो– उही भाङबारी स्कुल । पहिलो प्रेमजस्तो, पहिलो यात्राजस्तो, पहिलो स्वादजस्तो । 

स्कुलको औपचारिक नाम भृकुटी थियो तर शिशु (कक्षा) चेतनादेखि भाङबारी स्कुल आइरह्यो– जानीनजानी । अहिलेजस्तो प्रि–स्कुल, मोन्टेश्वरी, नर्सरी आदिको जमाना गाउँघरमा भने भित्रिएकै थिएन । धुमिल सम्झना छ– एउटा सुन्दर बिहानीमा मेरा भान्जा दाइ प्रकाश दाहाल (मेरा कखरा गुरु)ले मेरो हात समातेर भाङबारी स्कुल लैजानुभएको थियो– शिशु कक्षामा नाम लेखाउन । आज त्यही मेरो चेतनाको पहिलो झिल्कोजस्तो प्रिय स्कुलको स्वर्ण जयन्ती (स्थापना विसं ०२४) समेत परेकाले समयको विगत–आगत हरहिसाब यो बेला गर्दैछु । 

सम्झिल्याउँदा, पण्डित पिताजी टेकनाथले पाठपूजामा पाएको कपडाबाट सिलाइएको रंगीचंगी झोला साथमा हुन्थ्यो । लामो इजार भएको कट्टु वा हाफपाइन्ट पनि त्यस्तै रंगीचंगी हुन्थ्यो– टालाटुली कपडाबाट सिलाइएको । साथीभाइ सबैले परैबाट चिन्थे मलाई– मेरो रूप, काँट वा व्यक्तित्वका कारण होइन, रंगीचंगी लुगाफाटोका कारण । त्यो झिल्के झोलामा अलिकति चक, एउटा स्लेट अथवा प्लाइबोर्डको टुक्रोमा कखरा सुरु भएको थियो । सबै गुरुहरूबारे गाढा सम्झना नभए पनि हेडसर भवानी गौतम सबैजसो विद्यार्थीका निम्ति कण्ठस्थ–गुरु थिए । भवानी सरको बोली–वचन–व्यवहार सबै कडा मिजासको थियो । चर्को बोल्ने, उपद्रो गर्ने अथवा अह्राएको पाठ/काम पूरा नगर्ने स्थिति आइपर्नासाथ हेडसरको चेतावनी आइहाल्थ्यो– ‘कान्छा † पख्लास् भरे गुरुजीलाई भन्दिउँला ।’ 

दमकको सिरान बजारमा घर भएका हेडसर हाम्रै घरको बाटो हुँदै साइकलमा आवतजावत गरिरहनुहुन्थ्यो । पिताजीसँग बाटोछेक पर्दा हेडसरको कुराकानी भइरहेकै हुन्थ्यो, मेराबारेमा कुनै ‘कम्प्लेन’ पो भइहाल्ने हो कि ? यसकारण हेडसर र पिताजीको जुनसुकै, जेजस्तै जम्काभेटमा पनि सबैभन्दा बढी ‘सतर्क’ म हुने गरेको थिएँ । सतर्क हुनेभन्दा बढी डरत्रास मनमा रहन्थ्यो । स्कुलको दुनियाँ अर्कै थियो, रमितलाग्दो । साथीहरू दमक बजारदेखि रतुवा–चाँजु खोलापारिसम्मका थिए । तर, संगत भने खासै थिएन । विशेषत: म अलिक सानो काँटको, पाखे टाइपको र पण्डित घरपरिवारबाट आएकाले जानाजानी मैले संगत बढाउन सकिरहेको थिइनँ अथवा नचाहेरै कोही पनि नजिक हुनै चाहँदैनथे । 

स्कुलमा हामी केटाकेटीलाई मन तान्ने खालको खासै केही थिएन, खेल्ने कुरा वा विषय । एउटा भकुन्डो थियो, हामी केटाकेटीको पहुँचबाहिरको चीज । एउटा लुडो र एउटा चेस थियो– त्यो पनि परैबाट हेर्ने कुरा । टिफिन हुनासाथै स्कुल चौर वरपर कुद्यो, स्कुलमा आउने चाक्छोला (सक्खर डल्ला) व्यापारीका छेउछाउ रमिते बनेर उभियो अथवा स्कुलपछाडि गएर गुच्चा वा खोपी खेल्नमै अलमलियो । गोजीमा सुको पैसा हुन्नथ्यो । अरूले खाएको हेर्‍यो, त्यसै कुदाकुद गर्‍यो । शिशु कक्षा एक प्रकारले सजिलो थियो, पढ्नै नपर्ने टाइपको । क, ख लेखपढ गर्ने कुरामा म स्कुल आउनुअघि सक्षम भइसकेकाले शिशु कक्षामा कुनै ठूलो बोझ रहेन, अरू कठिनाइ थिएन ।

सानोतिनो मेरो चिनारीसँगै घटनाले अर्को मोड त्यसबेला लियो, जब म शिशु कक्षाबाट स्कुल–फस्ट भएर एकैचोटि दुईमा पुगेँ । परीक्षाको नतिजा आएको दिन स्कुलबाट घर फर्किने बेलामा एकाएक कसैले मेरो कठालो समातेर भन्यो, ‘ओए बाहुन † तँ किन फस्ट भइस् ?’

म रनभुल्लमा थिएँ । जीवनमा पहिलोपटक कोही पराईबाट हुन लागेको हातपातको त्यो क्षण अत्याशलाग्दो थियो । मेरा साथमा थियो, छिमेकी साथी रामप्रसाद । ऊ पनि ट्वाल्ल पर्‍यो । हेर्दाखेरी माथि बेल्डाँगीतिरका तीन/चार जना केटा आजको भाषामा पूरै ग्याङफाइट गर्ने मुडमा उत्रिएका थिए । त्यसमा मेरो हातै समाएर ‘साले गधा’को भाषामा कुरा गर्ने भने लाखमान आङदम्बे थियो । 
“भन् त बाहुन, तँ किन फस्ट भइस् ?” फेरि लाखमानको प्रश्न थियो ।

खासमा म फस्ट भएको मलाई नै थाहा थिएन । अथवा भनौँ, फस्ट भएर के हुन्छ, कहाँ पुगिन्छ भन्ने पनि पत्तो थिएन । तैपनि, ममाथि हमला भयो, नसोचेको कुरो । “मैले होइन, मलाई केही थाहा छैन,” मैले डराउँदै जवाफ दिएँ । 

“अझै ढाँट्छस् ? साले बाहुन, फस्ट किन भइस् ?” फेरि कठालो समातिएकै अवस्थामा जिज्ञासा आयो ।
छिनभरमै म रुन थालेँ । अनाहकमा आइपरेको आपत्तिका सामु म के गर्न सक्थेँ ? ‘फेरि पनि फस्ट भइस् भने मैले जान्या छ बाहुन’ भन्दै लाखमान र उसका साथीहरू बाटो लागे ।

धन्य, रामप्रसाद साथैमा थियो । सम्हालिँदै म घर पुगेँ, रामप्रसादको हात समातेर । घरमा पुगेर भान्जा दाइ र आमालाई सबै वृत्तान्त सुनाएँ, रुँदैरुँदै । भोलिपल्ट भान्जा दाइ स्कुल आउनुभयो, मेरा साथमा । स्कुल आएर बुझ्दा थाहा लाग्यो, लाखमान १ कक्षाबाट फस्ट भएर २ मा पुगेको रहेछ । म भने शिशुबाट ‘होल स्कुल फस्ट’ भएर २ मा पुगेको रहेछु । यसो हुँदा कक्षा २ मा पुग्नेमध्येको ‘फस्ट’ विद्यार्थी म बनेको रहेछु, रजिस्टर्डमा पनि म फस्ट, लाखमान सेकेन्ड । यो अलमल र अन्योलको माहोलमाझ वादी–प्रतिवादी दुवै पक्षलाई एकै थलोमा राखेर कसोकसो मेलमिलाप गराउने काम भयो– हेडसर भवानी गौतम न्यायाधीश बनेर । “अब कक्षामा दुवै जना फस्ट हुने, दुवैलाई सरले बोलाउँदा पनि फस्ट भन्ने, रजिस्टर्ड कापीमा पनि दुवैको नाम फस्ट–फस्ट लेख्ने ।” यस्तै कुनै उपाय निकालेर लाखमान हातपात–काण्ड तत्कालका लागि सुल्झियो ।
***
लेखान्त भनौँ कि संयोग, पछि गएर त्यही लाखमान मेरो निकटवर्ती दोस्त बन्यो । भाङबारी हुँदै हाइस्कुलसम्मै को फस्ट, को सेकेन्डको ख्याल हुनै छाड्यो । मोजामा कागज, कपडा, घाँस कोचेर बनाएको फुटबल खेल्नेदेखि कहिलेकाहीँ दमके हटियामा रमिता हेर्नेसम्मको साथी । त्यो हुलमा रामप्रसाद, डिल्लीप्रसाद, अम्बिके आदि पनि मिसिन्थे । गोजीमा सुको हुन्नथ्यो, अरू रमाइलोको भरथेग थिएन । खालि उडनतस्तरी कुरा गर्‍यो, यताउता कुदिरह्यो । 

विशेष चाडपर्व, शिक्षा दिवस, बाल दिवसको वरपर भाङबारी स्कुलमा विभिन्न प्रतियोगिता भइरहन्थ्यो– खेलकुद, वक्तृत्व वा यस्तै केही । एकपटक तीनखुट्टे प्रतियोगिता पनि भएको थियो । त्यो कस्तो भने एउटा खुट्टा उचालेर पछाडि लग्दै दुवै हात पनि पछाडि लगेर (साङ्लो आकारमा पछाडि हात बाँधेर) एक खुट्टाका भरमा बालुवामा कुद्नुपर्ने प्रतियोगिता । त्यसमा म थर्ड भएको थिएँ । तर, त्यस्तो विचित्रको प्रतियोगिता मेरो समयपछि र अरूतिर कहीँकतै भएको मलाई याद छैन अथवा जानकारीमा छैन । 

एकपटक बाल दिवसको अवसरमा स्कुलमा फुटबल प्रतियोगिता हुने भयो । हाइस्कुल, बेलडाँगीदेखिका विद्यार्थीहरूको समूह हाम्रो स्कुल आएको थियो । कति रमाइलो ! हामी ४ कक्षाका अलिक निम्छरा काँटका विद्यार्थीहरू पनि स्कुलको मैदानबाहिर (सेतो घेराबाहिर) हातमा चप्पल बोकेर उभिएका थियौँ । कुनै बेला मैदानको घेराबाहिर फुटबल आउला र छुन पाउँला भनेर । नभन्दै मलाई बल मैतिर आइरहेको आभास मिल्यो । हाई स्कुल डाँडाको काजीमानले हानेको बल थियो त्यो । हेर्दाहेर्दै त्यो बल मेरै नजिक आइपुग्यो, म पनि जीवनमा पहिलोपटक फुटबल हान्न पाइने भो भनेर तम्तयार भएर बसेको थिएँ । तर, दुर्भाग्य ! स्थिति फरक आइपर्‍यो ।  

‘ड्याम्म...!’ मेरो छातीमा गोल लागेको सम्झना छ, अरू सबै अवस्था धूमिल–धूमिल बन्दै गएको मात्रै थाहा छ । 

हातमा सिउरिएका फित्ते चप्पल कहाँ पुगे, कापी–किताब कता उछिट्टिए, केही पत्तो छैन । त्यो गोलको प्रहारलगत्तै म भुइँमा पछारिएछु, बेहोसै भएछु । ओहो † फुटबलको चौतर्फी रमित टुंगिएछ । ममाथि पानी छ्याप्ने, टाउको र पैताला छामछुम गर्नमा स्कुलका सरहरू लाग्नुभएको थियो रे † झन्डै पाँच मिनेटजति बेहोस भएपछि आँखा खुल्नासाथै यो दुनियाँ निकै रंगीचंगी लाग्यो, वरपरका साथीभाइ पनि मंगलग्रहबाट उत्रेर आएका हुन् झैँ गोला–चेप्टा देखिरहेको थिएँ । कसैले बुद्धि पुर्‍याएर हुन सक्छ– मलाई झ्यानाकुटी पार्दै मेरो घरमा लगिएछ  । र, बाआमाको जिम्मा लगाइएछ । त्यसपछि झन्डै सात दिन कामज्वरो आएर मात्रै यो फुटबलको ह्याङओभर टुंगिएको रहेछ । यसरी एक होइन, अनेक प्रकरणहरू मनमस्तिष्कमा पलाइरहन्छन्, भाङबारी स्कुल सम्झनासाथ ।
***
आज यही मेरो भाङबारी स्कुल स्थापनाको स्वर्ण जयन्तीको सन्ध्यामा पुगेको छ भन्ने थाहा पाउँदा शिक्षा र चेतनाको आफ्नो ‘पहिलो प्रेम’ सम्झिएसरह भएको छ । विसं ०४० वरपरका भाङबारीका मेरा गुरुदेवहरू आज कहाँ, के–कस्तो जीवनजगत्मा हुनुहुन्छ होला ? म अनुमान गर्न पनि सक्दिनँ । तर, म आज जहाँ छु, जे–जस्तो सही (अथवा गलत) कर्मधर्मको अभ्यासमा छु– भाङबारी स्कुलले दिएको अन्तर्चेतना, विवेक र संवेदनाले सधैँसधैँ साथ दिएको छ । 

हरेकपटक म आफ्नो दमक, झापाको मूल घर पुगिरहेका बेला कुद्दै भाङबारी स्कुल जाने गर्छु । त्यो खुला चौर, चौरबाट देखिने बेलडाँगी, भाङबारी, भालुकुँडी, ढुकुरपानी आदिको सग्लो दृश्यमा म केहीछिन हराउँछु । उहिले आफूले पढेको शिशु कक्षाको कोठा र त्यो भवन त्यही रूपमा अब रहेका छैनन् । तर, म जब गाउँ पुग्छु– खिया लागेर मक्किसकेको टिनको जस्ता र धुलिँदै गएको इँटाको भित्तो छोएर मात्रै म बाटो लाग्छु । मेरो प्रात:स्मरणीय भाङबारी स्कुलको धूलोलाई एकपटक सुँघेर मात्रै अरूतिर लाग्छु ।
संयोग भनौँ, त्यो स्कुल छाडेको झन्डै ३० वर्षपछि आज दुईवर्षे आफ्नो छोरालाई प्रि–स्कुलमा भर्ना गराउन गएकै क्षण म भाङबारी स्कुललाई औधी सम्झिरहेको छु । बितेको समय, अनुभव र संघर्षको आफ्नो पालाको कथानक अहिले सम्झँदा ‘उडन्ते किस्सा’जस्तो मात्रै लाग्न थालेको छ । विशेषत: जाउलाखेलको एउटा किन्डरगार्डेन स्कुलमा छोरालाई भर्ना गरेर आउँदा गोजीको ५० हजार रुपियाँ खर्चिनुपरेपछि मैले भाङबारी स्कुल सम्झिएँ, दोहोरिँदै–तेहरिँदै † जहाँ मेरा भानिज दाइले मलाई शिशु कक्षामा १० रुपियाँ शुल्क तिरेर भर्ना गरिदिएका थिए । 

धन्यवाद, प्रिय भाङबारी स्कुल !

प्रकाशित: माघ २१, २०७४