इतिहास

सालिक अपहरणको त्यो प्रयास

रूपकराज शर्माले चोरिनबाट यसरी बचाए भूपतीन्द्र मल्लको मूर्ति

- गोकर्ण गौतम, काठमाडौं

साप्ताहिक मञ्चका सम्पादक पदम ठकुराठीको फोनको घन्टी बज्यो, ०४१ पुसको एक बिहान । रिसिभर कानमा लानासाथ उताबाट आवाज सुनियो, ‘म भक्तपुरको डीएसपी रूपकराज शर्मा बोलेको । तपाईंलाई एउटा काम लाग्ने समाचार छ । छाप्ने हो ?’

ठकुराठीले पहिले ‘खास कुरा के हो’ भनेर सोधे । शर्मा भन्दै गए, ‘हिजो अधिराजकुमार धीरेन्द्रले पठाएको भनेर एउटा जत्था क्रेन लिएर भक्तपुर दरबार स्क्वायर आएछ । मलाई प्रहरीले खबर गरे । म पनि हेर्न गएँ । उनीहरूले सरकारले रिपियर गर्न भूपतीन्द्र मल्लको सालिक ल्याउनु भनिबक्सेको छ, हामी दिउँसै आउनुपर्ने, क्रेन बिग्रिएर राती भयो भने । मैले कागजपत्र मागेँ, केही रहेनछ । मौखिक आदेश छ भने । मैले यही आधारमा सालिक लान दिन्नँ, पत्र ल्याएर दिउँसो स्थानीयलाई साक्षी राखेर लैजाने हो भने मात्र छोडिदिन्छु भनेँ । कर गर्दै थिए । तर, उनीहरूको केही सीप लागेन, त्यत्तिकै फर्किए ।’

साप्ताहिक मञ्चको मिसन नै दरबारभित्र र बाहिरका ‘भूमिगत गिरोह’को भण्डाफोर गर्नु थियो । त्यसमाथि मूर्ति चोरी मौलाएको समय थियो त्यो । उपत्यका मात्र होइन, दुर्गम जिल्लाका ऐतिहासिक सम्पदाको समेत तस्करी हुन्थ्यो । त्यसैले शर्माले सुनाएको खबर ठकुराठीका लागि ‘स्कुप’ थियो । तैपनि, उनले शर्मालाई एउटा सर्त राखे, ‘समाचार स्रोतमा तपाईंको नाम उल्लेख गर्न मिल्छ भने मात्र छाप्छु ।’ निर्भीक शर्माले उत्तिखेरै ‘हुन्छ’ भनिदिए ।

र, खबर छापियो, पुसको अन्तिम साता । ठकुराठीकै शब्दमा, त्यो समाचारले सोचेभन्दा कयौँ गुणा ज्यादा हंगामा मच्चायो । दरबारका केही भाइभारदार र तिनका आसेपासेहरू पुराना मूर्ति/सालिक चोर्दै विदेश निर्यात गर्छन् भन्ने हल्ला छँदै थियो । त्यो काण्डमा अधिराजकुमार नै मुछिएको हल्लापछि दरबारको मात्र होइन, राजसंस्थाकै साख धमिलियो । यद्यपि, उक्त घटनामा तत्कालीन अधिराजकुमार धीरेन्द्रको संलग्नताको आधिकारिक पुष्टि भने अहिलेसम्म भएको छैन ।

तर, एउटा डीएसपीले सालिक लैजानबाट रोकेन मात्र, समाचार छपाएर नागरिकलाई सुसूचित गरायो पनि । भलै, डीएसपी शर्माको उद्देश्य आफूले महान् काम गरेको भनेर प्रचार गर्नु थिएन, आफूमाथि हमला भयो भने अरूले थाहा पाऊन् भन्ने थियो । उनलाई यो सल्लाह दिएका रहेछन्, नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) ज्ञानजंग थापाले । क्रेनलाई फर्काएपछि शर्माले खरीपाटीस्थित सैनिक प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थापा, जो उनको चिनजानका पनि थिए, लाई घटनाको बेलिबिस्तार लगाएछन् । ठकुराठीका अनुसार थापाले शर्मालाई यस्तो सुझाव दिएछन्, 
‘तिम्लाई एक्सन लिन्छन्, लिन्छन्, तिमी प्रेसमा जाऊ । भोलि गाह्रो भयो भने पनि मान्छेहरूले थाहा पाउँछन् ।’ 

थापाले भनेजस्तै तत्कालीन भूमिगत गिरोहले शर्मासँग रिसईवी साँध्यो नै । आममान्छेले थाहा पाए । तर, यो घटनाले शर्माको जीवनलाई अफवाहको भूमरीमा धकेलिरह्यो धेरै समयसम्म । पञ्चायत ‘बन्द समाज’ थियो । सञ्चारमाध्यमको विकास भएको थिएन । यही कारण ‘रे’का भरका खबर सलहझैँ फैलन्थ्यो । अनेक हल्ला चले, चलाइए । त्यो घटना र त्यसपछि शर्मासम्बन्धी चलेका चर्चाहरू कुनै किंवदन्तीभन्दा कम लाग्दैनन् । शर्मा डीएसपी मात्र थिएनन्, उनले १६ वर्ष नेपाली फुटबल टोलीको कप्तानी पनि सम्हालेका थिए । अनि, उनी पहिलो नेपाली फिफा रेफ्री पनि थिए । यही बहुआयामिक व्यक्तित्वले उनीबारे बृहत् आमचासो थियो । 

त्यसो भए खासमा भएको चाहिँ के थियो ? शर्मालाई त्यस्तो आँट कहाँबाट आयो ? अनि, त्यो सालिकको त्यस्तो के विशेषता थियो र त्यसलाई उठाउन खोज्नेले त्यत्रो जोखिम किन मोले ? यस्ता प्रश्नहरू अनुत्तरित रहँदारहँदै १२ असोज ०४९ मा पाकिस्तानको कराँचीबाट काठमाडौँ आउँदै गरेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटनामा परी शर्माको निधन भयो । 

साप्ताहिक मञ्चमा समाचार छापिएको केही दिन बित्न नपाउँदै शर्मालाई कारबाही स्वरूप सर्लाही सरुवा गरियो । यत्तिमै गिरोह चुप लाग्दैन भन्ने जोकोहीले अनुमान गरेका थिए । शर्मा पनि बिनाआनाकानी खटाइएको जिल्ला पुगे । यता काठमाडौँमा हल्ला चल्यो, उनलाई तराईमै सिध्याइँदैछ भन्ने । शर्माका सहोदर दाजु तथा नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायका अनुसार केही समयपछि त मारिएकै हल्ला आयो । उनका भनाइमा क्रेन फिर्ता पठाएको घटनाबारे घरमा कुरा हुँदा शर्माको जवाफ यत्ति हुन्थ्यो, ‘ एउटा प्रहरी अधिकृतका रूपमा मैले जे गर्नुपर्ने हो, त्यही गरेँ ।’ रोचक संयोग ! त्यो घटनाभन्दा अगाडि नै शर्मा लन्डनको स्कटल्यान्ड यार्डमा प्रशिक्षणका लागि छानिएका थिए । उपाध्यायका अनुसार उनी पूर्वनिर्धारित कार्यक्रम अनुसार बेलायत उडे । हल्ला चलाउन थप मसला मिलिहाल्यो । उपाध्याय ती दिनहरू सम्झँदै भन्छन्, “कोही यहाँ मार्ने भएकाले लुक्न बेलायत गएको भन्थे, कोही बेलायत गएको हल्ला मात्र हो, डीएसपीलाई यहीँ मारिसके भन्थे ।” 

शर्मा मारिएको हल्ला यत्तिमै सामसुम भएन । उनले लन्डनबाट बीबीसी नेपाली सेवाका लागि खगेन्द्र नेपालीलाई अन्तर्वार्ता दिएरै भने, ‘मलाई केही भएको छैन । बेलायतमा प्रशिक्षण लिइरहेको छु ।’ तैपनि, कसैले पत्याएनन् । बरू, अर्को चर्चा चल्न थाल्यो कि ‘उस्तै स्वर बनाएर अन्तर्वार्ता दिने अरू नै कोही हुन् ।’ पञ्चायतकालमा दरबारविरुद्ध बोल्ने अधिकांशलाई गुपचुप सिध्याइन्थ्यो, कतिपय घटना त आममान्छेले थाहै पाउँदैनथे । शर्माका कारण दरबारनिकट भूमिगत गिरोहको पर्दाफास भएको थियो । त्यसैले उनलाई ‘बाँकी राख्छन्’ भन्ने आश कमैमा थियो । उपाध्याय भन्छन्, “कालजमाना त्यस्तै थियो, त्यसैले अफवाह फैलियो । सामसुम बनाउनै सकिएन । कतिसम्म भने राजदरबारका सचिवहरू हाम्रो छिमेकी थिए । उनीहरूले समेत आफ्ना नजिकका मान्छेलाई रूपकको घरमा कोरा बारेको छ कि छैन भनेर बुझ्न पठाउँथे ।”

त्यो अफवाह कति गहिरो थियो भन्ने अकोर् एउटा घटनाले प्रस्ट पार्छ । शर्मासम्बन्धीका हल्ला नेपाल प्रहरीकै लागि टाउको दुखाइको विषय बनेकाले ०४३ को सुरुआततिर फुटबल खेल आयोजना गरियो । रेफ्री थिए, तिनै रूपकराज शर्मा । खेल सकिनासाथ रेफ्रीका बारेमा जानकारी गराइयो । एक्कासि दर्जनौँ दर्शक मैदानभित्र छिरे, कोही शर्मालाई एकोहोरो हेर्थे, कोही चिमोट्थे । उनलाई जोगाउनै हम्मेहम्मे पर्‍यो । उपाध्याय मुस्कुराउँछन्, “सग्लो मान्छे अगाडि हुँदा पनि प्लास्टिक सर्जरी गरेर ल्याइएको हो । सक्कली रूपकराज शर्मालाई त मारिइसक्यो भन्न थाले । फर्केर आएपछि पनि मान्छेमा विश्वास थिएन ।” हल्ला चल्दै गयो तर त्यसपछि पनि उनी कोसी टप्पु क्षेत्रमा खटिएर तस्करहरूसँग भिडे, दुर्लभ वन्यजन्तु बचाउनका खातिर । 

भक्तपुरलाई कलाकृति र सम्पदाले धनी बनाउन भूपतीन्द्रले अतुलनीय योगदान गरे । आफ्नो सम्झना रहिरहोस् भनेर सालिक बनाउन लगाए । त्यति विशिष्ट महत्त्व बोकेको विशाल सालिकलाई जगेर्ना गर्नु त परको कुरा, उल्टै उखेल्न तत्कालीन सत्तासँग नजिक भूमिगत शक्तिहरू नै लागिपरे । कस्तो विडम्बना † यही प्रसंगलाई बारबरा एडम्सले आफ्नो पुस्तक बारबराज् नेपालमा सम्पदा चोरीमा ठालूहरूको संलग्नता र त्यसले जनमानसमा पारेको प्रतिनिधि घटनाको रूपमा उल्लेख गरेकी छन् । उनी लेख्छिन्, ‘यसले प्रस्ट पार्छ, नागरिकहरू के मात्र विश्वास गर्दैनन् कि सरकारले नेपालको सांस्कृतिक सम्पदाहरू पश्चिमा मुलुकका संग्रहालय र निजी संग्रहमा पुर्‍याउन दिएको मात्र छैन, केही निश्चित उच्च अधिकारीहरू त्यस्ता कलाको निर्यातमा सक्रिय रूपमा सहयोग गरिरहेका छन् ।’ 
अन्त्यमा एउटा प्रेरणादायी प्रसंग, आफ्नो पत्रिकामा छापिएको समाचारकै कारण शर्माको सरुवा भएपछि ठकुराठीले फोन गरेर ‘सरी’ भने । ठकुराठीका अनुसार शर्माको जवाफ थियो, ‘सरुवा, बढुवा, घटुवा भइरहन्छ । मलाई चिन्ता छैन । बरू, मैले एउटा ऐतिहासिक सम्पदाको रक्षा गरेँ । त्यसमै गर्व गर्छु ।’ 

हुन पनि हो, शर्माले ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको भूपतीन्द्रको सालिक जोगाएर साहसी काम गरेकाले जनताका तर्फबाट सधैँ सलाम पाए, पाइरहेका छन् । 

प्रकाशित: माघ १७, २०७४