साहित्य

अनुभूति: जिरो पर्सन्यालिटी

हामी जीवनभर कसै न कसैलाई, केही न केहीलाई त पर्खिरहेकै छौँ । तर, अपरेसन थिएटरमा पसे का आफ्ना सन्तान पर्खिबस्ने बाबु–आमालाई थाहा हुन्छ कि पर्खनु कति कष्टकर छ ।

- मनु मन्जिल, काठमाडौं

हामी काठमाडौँ युनिभर्सिटी हस्पिटल, धुलिखेलमा छौँ । र, भनिहालुँ, पर्सन्यालिटी र अहम्को चेतना ज्यादा हुने, खास गरी बाबु–आमालाई मेरो यो अनुभव काम लाग्दो हो । यसो विचार गर्न । जीवनलाई फर्किहेर्न । अहम् कति कमजोर कलाले बनेको हुन्छ, त्यो बुझ्न । जीवनले मानिसलाई कहाँ लगेर, लडाएर जीवन पढाउँछ । त्यो थोरै बुझ्न काम लाग्दो हो । अझ सन्तानको मायामा त व्यक्तित्ववाला उच्च मानवले भन्दा जनावरले बढी गर्दो हो । कम्तीमा ऊ भिड्छ, जुध्छ, सकेको गर्छ । आफ्नो सन्तानको मायाका लागि । रुन्छ, कुर्लन्छ, निहुँ खोज्छ, विद्रोह गर्छ ।

धनले बनेको व्यक्तित्व जसको छ, उसले धन खर्चेर उपाय निकाल्ला । बल र पहुँचले बनेको व्यक्तित्वका लागि केही गर्न बल र पहुँच सहायक होलान् । जसको व्यक्तित्व नै भावनाले, कलाले बनेको छ (जस्तो : लेखक, गायक) ऊ के गर्छ ? जीवनको निस्पन्द क्षणमा । जहाँ उसको कला निरूपाय भइदिन्छ । नि:सहाय भइदिन्छ ।

यस्तो खाले व्यक्तित्व हिउँजस्तो हुने रहेछ । हिउँ जसको कतै आफ्नै पर्वत छ । कतै महादेश नै होला । तर, कतै भने त्यसको कुनै उपस्थिति छैन । कुनै काम छैन ।
***
शान्ता र म हाम्री छोरीलाई स्ट्रेचरमा राखेर अपरेसन थिएटरमा पुर्‍याएर बाहिर फर्केका छौँ । हिउँदको महिना छ । काठमाडौँ विश्वविद्यालय हस्पिटलको परिसरमा हल्का घाम त छ तर चिसो सिरेटो पटक–पटक हामीलाई छुँदै जथाभावी दौडिरहेको छ ।

म बाहिर निस्कनुअघि स्ट्रेचरमा बसेकी छोरीलाई राम्ररी हेर्छु । बडो व्यक्तित्वशाली छे ऊ । अग्लो, कुनै मोडलको तस्बिरजस्तो सलक्क परेको ज्यान, ओजस्वी अनुहार । उसकी आमाको सन्तान हुर्काउने, पालन–पोषण गर्ने सम्पूर्ण कला उसको व्यक्तित्वमा प्रतिविम्बित छ ।

हामीलाई बाहिर बस्न भनिएको छ । टाढादेखि आएका मानिस हामी । धुलिखेलवरपर कोही चिनजान वा आफन्तको घर छैन । ओढ्ने–ओछ्याउने कपडाको गुन्टा, एउटा टम्म बोरा आकारको बुट्टे प्लास्टिकको व्याग, जुन हामी दुईले बोकी हिँडेका छौँ, ती हाम्रा छेउमा छन् । म कुनै सुदूर पहाडबाट सहर पसेको मानिसझैँ अनुभव गर्छु आफूलाई । यो काठमाडौँमा गुरुकुल, नेपाल एकेडेमी, रसियन कल्चरल सेन्टर, मण्डला थिएटर र देश विदेशका अनेकन टीभी च्यानल र विश्वविद्यालयहरूमा बोलेको, कविता वाचन गरेको अनुभव छ मसित । तर, म यहाँ कुनै कवि वा लेखकका रूपमा होइन, छोरीको बाबाका रूपमा उपस्थित छु । शान्ता छोरीकी आमा हो । उसका सजल आँखामा ममता र सन्त्रास बारम्बार छचल्किइरहन्छन् । 

म उसका आँखा नहेरी संवादको बहाना गरेर छोरी अपरेसन थिएटरबाट कतिखेर फर्केली, पर्खिरहेछु । शान्ता त्यही गरिरहेकी छे ।

हामी जीवनभर कसै न कसैलाई, केही न केहीलाई त पर्खिरहेकै छौँ । तर, अपरेसन थिएटरमा पसेका आफ्ना सन्तान पर्खिबस्ने बाबु–आमालाई थाहा हुन्छ कि पर्खनु कति कष्टकर छ । हामी जसलाई पर्खिरहेका छैनौँ, ती भटाभट बाहिर निस्किरहेका छन् । भर्खरै निस्केको एउटा जगल्टे मानिस पिसाबको पाइप समातेर हामीअघि आफ्नी प्रेमिकासित हिँडिरहेको छ । एउटा सानो बालक अघि नै निक्लिसक्यो र आमाको मायालुु अँगालोमा भक्कानिइरहेको छ । एउटी च्याप्टो ज्यान भएकी आइमाई त निस्केर आफन्तलाई अपरेसन थिएटरको त्रासदीको कथा सुनाइरहेकी छे । बिहान ८ बजे नै पसेकी हाम्री छोरी अहिले १ बजिसक्यो ! खोइ त ऊ ?
२ बजिसक्यो ! खोइ त ऊ ?
३ बजिसक्यो ! खोइ त ऊ ?
४ बजिसक्यो ! खोइ त ऊ ?
रातभरिको निद्रा र दिनभरको भोक खपेर हामी पर्खिरहेका छौँ । उसका बारे कोही केही भन्दैन ।
शान्ताको त होस–हवास उडिसकेको छ । म ढोकामा उभिएको पालेलाई हात जोड्छु र भित्र पस्ने अनुमति माग्छु । ऊ मिल्दैन भन्छ । झ्यालको सिसाबाट देखिन्छ, भित्र नर्सहरू यताउता हिँडिरहेका छन् । म हातले इसारा गर्छु, इसारा बुझ्ने कोही छैन । पौने ५ बजे बल्ल हाम्री छोरीको नामले हामीलाई बोलाइन्छ र हतारहतार हामी माथ्लो तला उक्लन्छौँ । डाक्टर चन्दन ढोकामा हाँसेर उभिएका छन् । मलाई लाग्यो– भगवान् हो कि ?

म नमस्कार गर्छु । उनी मुन्टो हल्लाएर भन्छन्, “सफल भयो अपरेसन । चिन्ता लिनुपर्दैन है ?”
शान्ता टोलाएर थर्थर काँपेर मेरो छेउमा उभिरही । त्यस समय आफ्नो अन्तर्मनबाट मायाको सबै झङ्कार उसले एकैपटक सुनेकी हुनुपर्छ ।
***
जब छोरीलाई स्ट्रेचरमा सुताएर बाहिर ल्याइयो, मेरो आत्मविश्वासको सारा जग एकैपटक हल्लियो । त्यस्ती कलकलाउँदी छोरीको मोहडा चिन्नै नसकिने गरी सुन्निएको छ । टाउकामा, अनुहारमा कान छोप्ने गरी फेटाहरू बाँधिएका छन् । आँखाहरू सुन्निएका छन् । ओठहरू अफ्रिकाली महिलाका जस्ता बडेबडे भएर दुईतिर, तल–माथि फर्किएका छन् । ऊ सिकिस्त देखिन्छे । कहिल्यै छोरीहरू मन्जिल र मानुषीलाई एक हल्का थप्पडसम्म नलगाई हुर्काउने उसकी आमा र कहिल्यै छोरीहरू सामुन्ने ठूलो स्वरले सम्म नबोल्ने म बाबा, हामी दुवै सनन्न भएर, अवाक् भएर नि:शब्द उभिन्छौँ । हामीले मायैमायाले तिनका लागि रचेको संसार सायद हामी दुवैको सम्झनामा एकैपटक आउँछ ।

नानीलाई स्ट्रेचरसहित लिफ्टबाट तल आईसीयूमा झारेपछि शान्ता अचानक भित्तामा मुन्टो गाडेर डाँको छाडेर रुन्छे । मेरो अलिक साहसी र मानिसहरूले कविको रूपमा देखेको ओजयुक्त व्यक्तित्व अनायासै कमजोर भइदिन्छ । पुरुष भए पनि मेरो छातीभरि पनि भक्कानो नै त रहेछ । म शान्तालाई अँगालोमा बेरेर भर्‍याङबाट बिस्तारै तल ओराल्छु ।
***
हस्पिटलको भित्री करिडर मानिस सुत्नका लागि बनेकै होइनन् । तर, आईसीयूमा सुतेकी छोरी छोडेर हामी कहाँ जानू ? राती बोलावट आउला, औषधि चाहिएला । नानीसित भेट गर्ने अवसर मिल्ला । यस्तै सोचेर हामी आईसीयू कक्षभन्दा अलिक पूर्वपट्टि सर्जिकल वार्डको अघि बिस्तरा लगाउँछौँ । बेलुका ढोकाबाट झुलुक्क मात्र देख्यौँ अक्सिजन मास्क लगाएर पल्टिरहेकी छोरीलाई । भेट्ने अनुमति छैन । धुलिखेलको सिरेटो, भुइँको चिसो र पीरैपीरको निद्रा । शान्ता बारम्बार निद्रामै झस्किरहन्छे । म ब्यूँझेरै बसेको छु र ब्यूँझेकै संसार सपना लागिरहेछ मलाई ।

राती एक जना नर्स र सँगै आएको एउटा गार्डले हामीलाई हकार्छन् । हामीले करिडरमा सुत्न हुँदैनथ्यो । तर, विकल्पमा त मान्छेले ज्यान नै पनि फाल्छ, विष पनि निल्छ । भुइँमा सुत्नु कुन ठूलो अपराध हो र ? उनीहरू जानासाथ हामी बिस्तरा ओछ्याइहाल्छौँ । हामीलाई आफ्नी नानीको नजिकै छौँ भन्ने कुरामै मात्र पनि पर्याप्त आनन्द छ । आफ्नी आमाबाट कहिल्यै नअलग्गिएका दुई सन्तान । कान्छी छोरी कीर्तिपुरमा आफन्तकोमा बसेर ममीलाई रुँदै मध्यरातमा फोन गर्छे । अर्की छोरी आईसीयूमा छे । त्यो रात र अर्को त्यस्तै रात शान्ताको मन कति फाट्यो होला, म अन्दाज गरिबस्छु ।

भोलिपल्ट बेलुकी मात्रै हामीमध्ये एक जनालाई हरियो गाउन लगाएर छोरी भेट्ने अनुमति दिइन्छ । शान्ता भन्छे, “तपाईं नै जानूस् । छोरीको आत्मबल बढ्छ ।”
खासमा ऊ छोरीलाई हेर्ने आँट गरिरहेकी छैन । 

म बिस्तारै पस्छु र उसको छेउमा गएर उभिन्छु । उसका आँखा, ओठ उस्तै सुन्निएका छन् । ऊ ज्यादा होसमा छैन, म अन्दाज गर्छु । उसको त्यस्तो सुन्दर शरीर अहिले दुब्लो र सिट्ठी देखिएको छ । म ‘ बाबा’ भनेर बोलाउँछु । कताकता बेहोसीमै ऊ हल्का आँखा उघार्छे र मुन्टो हल्लाउँछे । मेरो स्वर एकदम कम्पनमा छ । म केही भन्न सक्तिनँ । सायद ऊ चाल पाउँछे । ऊ फेरि आँखा उघार्छे, आँसुले भरिएका आँखा । म मुख छोपेर रुँदै बाहिर निक्लन्छु ।

सघन कक्षबाहिर छोरी र मबीचको एउटा रमाइलो संवादको म मनमनै रचना गर्छु र शान्तालाई सुनाउँछु । उसको खुसीको कञ्चन आँसु रातमा पनि झल्मलाउँछन् ।

त्यो रात शान्ता गहिरो गरी सुत्छे । एउटा सानो, कोमल झूट र त्यसले एउटी आमालाई दिएको सन्तोष । ओहो ! स–साना, कोमल किसिमका झूटहरू वास्तवमै काम लाग्ने हुँदा रहेछन् ।
***
रात–रातभरको चिसो, भोक र अनिद्राले म एक किसिमको रोगी भइसकेको छु । कान्छी छोरी फोन गरेर ‘गुड नाइट बाबा, ह्याव अ स्विट ड्रिम’ भन्छे । म हाँसेर ‘ल ल’ भनिदिन्छु, मानौँ मनमा अहिले कुनै पीर छैन । चिसो भुईंमा सुत्दा म गरिब मानिसको जाडो याम सम्झन्छु । हाम्रो त यो एक–दुई दिनको, दुई–चार दिनको अभिनयजस्तै हो । जो जीवनभर हिउँदको चिसो भुईंमा सुत्न बाध्य छन् तिनको कष्टको लेखाजोखा यो राष्ट्रको हिसाबबाहिर छ ।

राती एक जना डाक्टर एउटी नर्सको साथमा आउँछन् र तपाईं त ‘मनु मन्जिल सर पो हुनुहुँदोरहेछ नि ?’ भन्छन् । ओहो † म हिउँको जस्तो व्यक्तित्व भएको मानिस । परिचयको संसारमा कतै हिउँको आफ्नै पर्वत होला । कतै महादेशै होला । तर, यहाँ त्यसको के सान्दर्भिकता ?

“तपाईंलाई हाम्रो सिनियर डाक्टरले भिजिटर्स क्वार्टरमा राखिदिनू भनेर अह्राउनु भएको छ । भोलिदेखि उतै बस्नुहोला ?” उनी भन्छन् । मलाई भन्न मन थियो, “म तीन रात भुईंमा, करिडरमा सुतिसकेँ । तिमीहरूका नर्सहरूको हप्कीदप्की खाइसकेँ, पाले दाइको गाली खाइसकेँ, अब तिमीहरूको क्वार्टरमा जान्नँ ।” तर, भनिनँ । आममानिसले सदा हप्कीदप्की खाएकै छन् हस्पिटलमा, कार्यालयमा, बैंकमा, उद्योग परिसरमा । म केही लेख्नेबाहेक उनीहरूमध्येकै एक हुँ । निर्धालाई गाली हाम्रो संस्कार नै हो । म जिरो पर्सन्यालिटीको अवस्थामा छु । कविता लेख्दाको गौरवबोध अहिले मसित छैन । मैले भनेँ, “डा सा’ब ! मेरी छोरी आईसीयूमा छे । मलाई स्वस्थ बनाएर फर्काइदिनूस् । तपाईंहरूको ठूलो सम्मान त्यही हो ।”

भोलिपल्ट २ बजे नानी भेट्न दिने भनिएको छ । यसपटक शान्तालाई पठाउने निधो गरेको छु । छोरीसित बोल्ने रहर उनमा कति होला । म उनलाई तयार पारेर पर्खेको छु । ४ बजिसक्यो । बोलावट आउँदैन । म उनलाई लिएर हस्पिटलको पश्चिमी ढोका, जुन आईसीयूको छेवैमा छ, ढकढक्याउँछु ।

एउटी पातली नर्स ढोका खोल्छिन् र तथानाम गाली गर्छिन्, “यो आईसीयू हो, बुझनु भो ?” यो ढोका ढकढक्याउने कुन तरिका हो ? आदि, इत्यादि । म हात जोडेर आमालाई छोरीसित भेटाइदिन अनुरोध गर्छु । उनी आँधीले झैँ ढोका लगाउँछिन् र फर्किन्छिन् सघन कक्षमा । हामी बाहिर उभिरहन्छौँ । 
हामी जुन होटलमा खाना खान जान्छौँ, त्यहाँको युवक साहूजी पनि मलाई अति नै सत्कार गर्छ । उसले युट्युबमा, पत्र–पत्रिकामा मलाई देखेको, पढेको छ । पुग्नासाथ अखबार ल्याइदिन्छ । राती पढ्न भनेर पुस्तक ल्याइदिन्छ । म कति दिनदेखि धूलोमैलोमा लपेटिएर पूरै व्यक्तित्वविहीन छु । उसले मलाई कुन ओजमा देख्यो होला, कुन स्पिरिटमा पढ्यो होला । अहिले मैलो लुगा, जगल्टा परिसकेको कपालको मुकुट र चप्पलसहितको मेरो वास्तविक अवतारको दर्शनमा के सोच्यो होला उसले ? भित्रभित्रै खासै पत्याएन कि ! वा, एउटा सरल अवस्थाको कविलाई देखेर ऊ मप्रति अझ बढी सहानुभूतिशील र विनम्र भयो ?

म अचानक सन् २०१५ को नेपाल लिटरेचर फेस्टिभल, पोखरा संस्करणको मेरो एउटा भाषण सम्झन्छु । मैले भनेको थिएँ, ‘हेर्नूस्, कवि भूपी, कवि रिमालको पालामा मिडिया सर्वव्यापी थिएन । उनीहरूले कुनै कुनामा बसेर राम्रो लेखे पुगिहाल्थ्यो । त्यतिखेरको बतास अत्यन्तै चलाख थियो । राम्रो सिर्जना टिपेर वातावरणमा फिँजाइहाल्थ्यो । अब त कविहरूले पुरानो दाह्री काटेर, मैलो झोला फालेर, चम्किलो जुत्ता लाएर कविता पढ्ने बेला हो । किनभने, धूलोमैलो हुनुको सम्बन्ध कल्पनासित छैन र अहिले कविहरू ‘सेलेब्रेटेड’ छन् । टीभी क्यामरा कविको घर–घर आइपुग्छन्... आदि इत्यादि । त्यो भाषण युट्युबमा सुनेको भए युवक साहूले के सोच्यो होला ? मलाई ‘लायर’, एक झूटो मानिस सम्झ्यो कि ?
***

मानिस कहिलेकाहीँ एक तिलस्मी पर्वत बन्छ । तिलस्मी अर्थात् ऊ केले बनेको छ थाहा छैन । तर, उभिएको छ एउटा पर्वत । चौथो रात छोरीलाई सर्जिकल वार्डमा सारिन्छ । यो ब्रह्मान्डमा कतै भगवान् छ भन्ने हामीलाई लागिहाल्छ । ऊ पूर्ण होसमा छे । उसकी आमा सानो चम्चाले बडो तन्मयको भावमा उसलाई रातो चिया, जुस, पिलाइरहेकी छे र छोरी भँगेराको बचेराले झैँ आफ्नो चुच्चो मुखले थोपा–थोपा गरेर झोल निलिरहेकी छ । बस्, यति त देख्न चाहेको थिएँ मैले कति दिनदेखि । मलाई अझै दुइटी सुन्दर छोरीहरूको बाबा हुँ भन्ने भावनाले विशाल बनाइदिन्छ । एक पर्वत बनाइदिन्छ, जहाँबाट म फेरि संसार हेर्छु र उज्यालै उज्यालो मात्र देख्छु । 

छोरीलाई जाउलो खुवाउनु छ, बटुको लिएर दौडन्छु । दूध पिलाउनु छ, गिलास लिएर कुद्छु । अब त छोरी जनरल वार्डमा आइसकी । म उसलाई ह्वीलचेयरमा राखेर बाहिर डुलाउँछु । संवाद गर्छु । कान्छी छोरी कीर्तिपुरबाट आइपुग्छे र बिरामी दिदीसित एकछिन सधँैझैँ बाझ्छे तर बाहिर निस्केर, मेरो अँगालोमा बाँधिएर ग्वाँ–ग्वाँ रुन्छे । वरिपरि हस्पिटलबाहिर परिसरभरि मानिसहरू छन् । तिनको के वास्ता ? ऊ एउटै गर्भमा बसेर आएकी बहिनी हो । उसलाई जत्तिको दिदीको माया कसलाई लाग्दो हो ? दिदी भित्र वार्डमा छे । उसले नदेख्ने गरी उसकी बहिनी बाहिर निस्फिक्री रोइरहेकी छे । 
***
नौ दिन पूरै व्यक्तित्वविहीन बनेको छु । साहित्य–कलामा केही सफल भएपछि बतासमा उडिहिँड्ने बानी भइसकेको छ मेरो । तर, नौ दिनदेखि यहाँ मेरो अहम् भुईंमा बसेको छ । थेग्नै नसक्ने गरी लाखौँ खर्च भइसकेको छ । शान्ता र म दुवै मैलो, दुब्लो कुनै दु:खी प्राणीझैँ देखिएका छौँ । अब बचेराहरू लिएर हामीले आफ्नो गुँड फर्कनु छ । नानीका लागि केही ‘सेक्रिफाइस’ गर्न सकेको जस्तो एउटा आनन्द छ भित्री मनमा हामी दुवैको । डिस्चार्ज पेपर लिएर हामी निक्लन्छौँ । डा दशरथ, डा नीतेश भन्छन्, “कविजी बधाई छ ।”

ओहो † म त एउटा कवि पो त † हिउँको जस्तो व्यक्तित्व भएको कवि, जसको कतै आफ्नै पर्वत छ, महादेश छ । तर, कतै त्यसको कुनै उपस्थिति छैन । 

जिरो पर्सन्यालिटी छ । तर, सन्तानको निम्ति आफू ढलिदिएकामा कत्रो, विशाल आनन्द । 
नानीका लागि पाएको दु:ख सबैभन्दा प्यारो दु:ख । नानीका लागि बोकेको ऋण सबैभन्दा राम्रो ऋण । नानीका लागि ढलेको अहम्को पर्वत सबैभन्दा सुन्दर पर्वत । अपमान, गाली, चिसो, सिरेटो, आँसु, सबै सबै आज सुन्दर लागिरहेछन् । 

कलामा थोरै प्रसिद्धि पाएको एउटा बाबुले, आमाले आफ्नो सन्तानका लागि आफू ढलिदिनु, आफ्नो व्यक्तित्व र अहम् बिर्सिदिनु र जनावरले झैँ एकोहोरो माया देखाउनुभन्दा बढी सायद अरू केही छैन । 

प्रकाशित: माघ १०, २०७४