समसामयिक

बास्नाबिनाको बासमती

तराईका फाँटबाट लोप हुँदैछन् बास्नादार धानका रैथाने प्रजाति

- जे पाण्डे, काठमाडौं

नेपालगन्ज ।। खजुराखुर्दका वंशराम कुम्हार आफ्नो खेतमा बासमती धान कुन्यु लगाउँदैछन् । सँगै धानले भरिनै लागेको लडिया (गोरु गाडा) रोकिएको छ । खेतनजिक सडकछेउमा एउटा आमसभा भइरहेछ । नेताहरू राजनीतिक स्थिरता दिने भाषण गरिरहेका छन् । तराईका ठूलठूला फाँटबाट लोप हुँदै गएको रैथाने धानका प्रजातिको संरक्षणतिर कसैको चासो थिएन । नेताको भाषणप्रति वंशराममा विश्वास र आकर्षण थिएन । उनी चिन्तित देखिन्थे । अँगालोको धान लडियामा राख्दै उनी मुर्मुरिए, “कालानमक जात त लोपै भइसक्यो, बीउसमेत पाइँदैन । बासमती, कालानमक र श्यामजिरा प्रजाति पनि त्यतैतिर उन्मुख छन् ।” 

एक समय थियो, कसैको भान्सामा यी जातको चामल पाक्दा टोल–छिमेक नै सुगन्धित हुन्थ्यो । खाँदा पनि निकै मुलायम अनि स्वादको त कुरै भएन । कालानमक चामलको एक गाँस भात खानेलाई अरू जातको भात मुखमा काँडा बिझाएजस्तो हुने । भान्सामा भात पाक्दा मात्र होइन, धान पाक्दासमेत खेतबाट परपरसम्म सुगन्ध फैलिन्थ्यो । अझ बासमतीको त धान–चामलमा मात्रै होइन, धानको पातमै सुगन्ध हुन्छ ।

पुर्खाले घर आउने नयाँ आगन्तुकको सत्कार कालानमकको भात पस्केर गर्थे । मान र प्रतिष्ठाका प्रतीक थिए, बास्नादार धानका यी प्रजाति । ती दिन अब सम्झनामा मात्रै छन् । किनभने, यी रैथाने प्रजाति तराईका भान्सामा बिरलै पाइन्छ अचेल । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको समथर तराईमा खेतबाटै बास्ना छर्ने यी लोपोन्मुख जातको संरक्षण प्रयास कतैबाट भएको छैन । प्रदेश–५, ६ र ७ को क्षेत्रीय कृषि अनुसन्धान केन्द्रनजिकै खजुराका किसान यो केन्द्रको औचित्यमाथि नै प्रश्न उठाउँछन् । वंशराम भन्छन्, “सबै हाइब्रिडतिर लागे । रैथाने जात जोगाउन कोही चाहँदैनन् ।”

उनको पुस्ताले कालानमक र श्यामजिराको खेती गर्दै आएको थियो । नयाँ पुस्ता नाफा र बजारमुखी हँुदै गएको छ, जो कम लगानीमा बढी मुनाफा चाहन्छ । वंशरामका बाबु–छोरा मंसिरको अन्तिम साता थोरै भए पनि श्यामजिरा धान भित्र्याउँदै थिए । खेतमा भेटिएका यी बाबु–छोराबीच अबदेखि बास्नादार धान खेती गर्ने कि नगर्ने भन्ने मतभेद छ । “थोरै फल्छ, लगानी धेरै हुन्छ । किन खेती गर्ने ?” वंशरामका छोरा रामबाबु भन्दै थिए, “श्यामजिरा ५ हजार ५ सय रुपियाँ क्विन्टल छ । तर, २ देखि ३ हजार रुपियाँ क्विन्टलको मोटो धान लगाउँदा बढी फाइदा हुन्छ ।” वंशरामले कालानमक लगाउन छाडेको २० वर्ष भयो । १० वर्षदेखि २० र २२ क्विन्टल श्यामजिरा धान फलाइरहेछन् उनीहरू । 

बास्नादार धानको अर्को समस्या पनि छ अहिले । जस्तो : यी प्रजातिका धानको पहिले त बीउ छर्दा ब्याडबाटै बास्ना आउँथ्यो । अहिले पाकेकै धान काट्दा पनि आउँदैन । खाँदा पनि बास्ना हुँदैन । रासायनिक मल र विषादीको बढ्दो प्रयोगले रैथाने बासमतीबाट बास्ना आउनै छाडेको किसानहरूको आशंका छ । 

नेपागन्जको गल्ला बजारमा रैथाने बासमती, कालानमक र श्यामजिरा चामलपाइनै छाडेको छ । पाइहाले पनि कृतिम बास्नादार मात्रै पाइन्छ । उस्तै बास्ना आउने लेपयुक्त चामल आउन थालेको छ, जसमा किनेर भन्सामा पुर्‍याउँदासम्म सुगन्ध रहन्छ, पखालेर पकाएपछि सकिन्छ । पुस्तैनी धान–चामललगायत खाद्यान्नको व्यापार गर्दै आएका राजेश मित्तल भन्छन्, “मनसुलीको जस्तो बास्ना छरेको चामल आउँछ, उपभोक्ताले पत्तो नै पाउँदैनन् ।”

त्यो बास्नादार पनि सीमापारिका बजारबाट आउँछ । नेपालगन्ज नाकानजिकैको भारतीय बजार रुपैडिहामा पुगेर महँगो भाउमा बासमती किनेर ल्याउनेमध्ये कैयाँै नेपाली झुक्किन्छन् । मित्तल सुझाव दिन्छन्, “कस्तो खालको बास्ना छर्छन्, थाहा छैन तर नकिन्नु नै उत्तम ।” उनी पनि रासायनिक मलको बढ्दो प्रयोग नै रैथाने जातका धान–चामलबाट सुगन्ध खोसिनुको कारण हुन सक्ने अनुमान गर्छन् । आफूकहाँ किसानले मनसुली र बासमती ल्याउनै छाडेको पाँच वर्ष भइसकेको बताउँछन् । 

तर, धान अनुसन्धानमा संलग्न वैज्ञानिकहरू कालानमक, बासमती र श्यामजिराको सुगन्ध परिवर्तित मौसमले खोसेको बताउँछन् । सुगन्धित धानका लागि वातावरण प्रतिकूल हुँदै गएको उनीहरूको भनाइ छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका धान वैज्ञानिक सन्तोष त्रिपाठी भन्छन्, “बास्ना आउने धानका लागि अहिलेको हावापानी प्रतिकूल छ । त्यसैले सुगन्ध हराएको हो ।” बास्नादार धान लोप हुँदै गएपछि वैज्ञानिकहरू पनि चिन्तित छन् । त्रिपाठी बास्नादार धानमा रोग बढी लाग्ने र ढल्ने हुँदा किसानले खेती गर्न छाड्दै गएको बताउँछन् । संरक्षणको विकल्प नदेखिएपछि लोपोन्मुख धानको बीउ संकलन गर्न थालिएको छ । रैथाने जात कालानमक, बासमती र श्यामजिरा जीन बंैकमा पुगेका छन् । क्रस गरेर नयाँ जात निकाल्ने प्रयास हुँदै छ । “रोग कम लाग्ने र धेरै फल्ने बनाउन थालेका छाँै,” त्रिपाठी भन्छन्, “१० देखि १२ वर्ष लाग्छ होला । तर, त्यस कार्यमा पूर्ण सफलता प्राप्त हुने हो–होइन, निश्चित छैन ।” 

तराईबाट बासमतीमा बास्ना हराउनुको अर्को कारण सरकारी नीतिलाई पनि मुख्य कारक मानिएको छ । उदाहरणका लागि, कृषि मन्त्रालयले नीतिगत रूपमै रैथाने जातलाई बेवास्ता गर्दै आएको छ । उन्नत धान खेती गर्ने किसानले अनुदान पाउँछन् । तर, रैथाने जातको खेती गर्नेले पाउँदैनन् । जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत कला बुढामगर भन्छिन्, “हामी बढी उत्पादन हुने धानमा फोकस गर्छांै । अनुदान पनि त्यस्तै बाली लगाउने किसानले पाउँछन् । उनका भनाइमा, बास्नादार धान दूरदराजका किसानले मात्र लगाउँछन्, जहाँका किसानले उन्नत बीउ पाउँदैनन् । अझ त्यस्तो क्षेत्रका किसानले पनि बास्नादार धानको बीउ राख्न छाड्दै गएका छन् । “किनभने, बीउ राख्न र कीराबाट जोगाउन निकै परिश्रम गर्नुपर्छ,” बुढामगर भन्छिन् । 

यस्ता अनेकाँै कारणले बासमतीजस्ता मूल्यवान् धान जीन बंैकमा पुर्‍याउने क्रम जारी छ । लोपोन्मुख धानको नमुना जीन बंैकमा १० देखि एक सय वर्ष राख्न सकिन्छ । जहाँ वैज्ञानिकहरूले अनुसन्धान प्रक्रिया पूरा गरेर रैथाने जातका धानमा रोग प्रतिरोधक क्षमता बढाउन सफलता प्राप्त गर्ने र फेरि ती धान खेतमा देख्न पाइने अपेक्षा छ । तर, त्यसका लागि कम्तीमा पनि पाँच वर्ष लाग्छ । त्यतिन्जेल कुर्नुबाहेक अरू विकल्प छैन । 

प्रकाशित: पुस २७, २०७४