सम्झना

एउटा गीतको जन्म

- रामेश श्रेष्ठ

त्यतिबेला काठमाडौँलाई नेपाल भनिन्थ्यो । नेपाल जाने क्रममा तातो मन्थली खहरे पार गर्छु । तामाकोसीको चिसोपानी पेटभरि पिएपछि कोसीकिनारमा उभिएका सिमलका बोटहरूमुनि सुस्ताउन पुग्छु । माटोमाथि पाटेजरा फैलाएर उभिएका हुन्छन् बडाबडा बूढा सिमलका बोटहरू ! पोहोर साल फागुनतिर आइपुग्दा रूखभरि राताम्मे सिमल फुलिरहेका थिए । सिमलफूलको रस पिउन आएका फूलचरीहरू अनेक भाकामा मस्त गीत गाइरहेका थिए ।

डुंगा लाग्ने ठाउँमा बूढी मझेनी आमा खेवा माग्न बसिरहेकी हुन्छिन्, ‘खेवा दिएर जाऊ है, खेवा दिएर जाऊ ।’ सानो फुर्लुङभित्र नाउ चढेर आउने/जानेहरूले दिएको पैसा जतनले राख्छिन् । पैसा नदिई जान खोज्नेलाई ‘भारा लाग्छ है भारा, खेवाको भारा दिएर जाऊ । नदिई गए दसा लागेर मर्छौ’ भन्छिन् । 
गर्मीले खङ्रिएको छ कोसीकिनार । एक झिल्को भेट्नेबित्तिकै ह्वार्रै बल्लाजस्ता माझीका बुकुराहरू । ‘जाँड खाएर जाऊ, नानी हो ! शीतल हुन्छ ।’ घाँटीभरि गलगाँड बोकेका मझेनीहरू जाँड बेचेर दुई–चार पैसा कमाउन कराइरहेका हुन्छन् । ‘काँचा अाँप पिरो नुन–खुर्सानीमा चोपेर ट्वाक्क खान पाए त हगि ?’ घाममा धापिएर आएको बटुवाको बोली सुनिन्छ । खरका बुकुराभित्र भुसुक्कै निदाइरहेका हुन्छन् नांगाभुतंगा माझीका बच्चाहरू । 
बिहानैदेखि डुंगा लाग्छ घाटमा । सिमलु डुंगाभित्र बसेर कोसी वारपार गर्छन् यात्रीहरू । चकमन्न घाट निकैबेर कुरेर एक झमट बटुवाहरू तारेपछि ठूलो ढुंगामा नाउ बाँधेर बूढो माझी केके बर्बराउँदै सिमलबोटमुनिको बुकुरातिर आइपुग्छन् । बूढो अनुहार, मुखैभरि चाउरी नै चाउरीका धर्सा अनि हातपाखुरा, निधार, गालातिर घाउका थुपै्र खतहरू । उनकी छोरी कि बुहारी हो, ठूलो बटुकोभरिको जाँड उसको हातमा राखिदिन्छे । घटघट जाँड पिएर डकार्दै गर्दा कोसीपार जान आएका एक जना बूढो बाहुन यसो नियाल्दै उनीछेउ आएर आश्चर्य मान्दै भन्छन्, ‘राम राम... बान्ने माझी होइनौ ? फुलेर सेतै भएछौ त ! तिम्रा निधारमा त्यो खत नभए के ठम्याउनु मैले ? कस्तो मजाको बलिष्ट तन्नेरी हेर त ..!’ ‘तिम्रो पनि त दाँत फुक्लेर कस्तो चिन्नै नसक्ने भएछौ ! कस्तो पुष्ट बाहुन केटो थियौ । अड्डाको काममा माझीगाउँ पस्दा मसँग मीत लाएर सबै काम सकेर हिँडेका थियौ ।’ ‘मुड्कीले ढुंगा फुटाउलाजस्तो हेर हेर, आज त्यै मान्छे होइनजस्तो ! ’ ‘के गर्नु त बाजे, सिमल रुख जत्तिको पनि रैनछ त मान्छेको आयु । कोसीमाथिको आकाश नीलै थियो कोसी पनि नीलै छ तर म मात्रै कपाल फुलेर सेतै भइगएँ त ! डुंगा ख्याउँदाख्याउँदै हातगोडा गलिगए । माछीजाल बोकेर पानीका रहहरू चहार्दाचहार्दै कालको नजिक पुगिगइयो ।’ ‘के गर्नु त बाबै, म बुद्धि घोटेर तिमी बल घोटेर बूढो भयौ । बाबै.. भगवान्हरू त बूढा भएर मरेर गए भने ...!’ म बाहुन मित्र र बान्ने माझीको कुरा उनीहरूतिर नहेरी एकचित्त लाएर सुनिरहेको हुन्छु । ‘जति बाँच्यो उति आयु घट्ने हगि बाजे मान्छेको ?’ ‘अब तिमी पनि हेर्दाहेर्दै काम गर्न नसक्ने हुने होलाउजस्तो लाग्छ...।’ ‘हो त, तर मान्छे मरे पनि काम त मर्दैन नि बाजे । हामी नभए पनि डुंगा चलिरहन्छ । आउनेजाने बटुवाहरू पनि भइरहन्छन् । खेवाको पैसा उठाउने अर्कै कोही होला..!’ एकछिन चुप्प लागेर माझी बूढाले फेरि पुरानो कुरा उप्काए, ‘अनि, उहिले तिमीले मसँग मीत लाएको कुरा चैं बिस्र्यौ बाजे ?’ ‘तालुका रौँहरू त सप्पै खुइलिसके, के गर्छौ हिजोका कुरा ! मीत लाएको कुरा सम्झेर अब हुने के पो हो र ! त्यो पनि खुइलिसक्यो !’ अलि बाउँडिएको कुरा सुनेर बान्ने माझीले नमज्जा मान्यो । सायद उसको मनले भन्यो होला, ‘बाठो बाहुन, काम फत्ते पार्न मीत ला’को नाटक गर्‍याथिस् नि उहिले !’ बूढो माझीलाई जङ चलेको प्रस्टै थाहा हुन्थ्यो । बाहुनलाई त्यहाँ त्यसै छोडेर ऊ जाँड बेच्ने अर्को बुकुरोतिर लाग्यो ।



निकै लामो समय बितेर गयो । म राल्फा गायक भएको थिएँ । गितार सिक्दै थिएँ । जहिले पनि हातमा गितार ! गितार बजाइरहँदा मनभित्र लयका अनेक छालहरू उर्लिरहन्थे । तिनलाई सतहमा ल्याउन निरन्तर प्रयत्न गर्थें । गुनगुन लयहरू गुनगुनाइरहन्थेँ । निरन्तरको कोसिसले एक दिन अमूर्त रूपमा गुन्जिरहने एउटा लय मैले मनवाट बाहिर निकालेरै छाडेँ अनि बिर्सुंला कि भनेर बारबार गुनगुनाइरहेँ । लय पहिला बनेकाले त्यसमा सुहाउने भावपूर्ण शब्दको खोजीमा लागेँ म । लयलाई बुझेर त्यसमा भाव अनुसारको गीत लेख्न सक्ने गीतकार पाउनु निकै कठिन कुरा मानिन्छ संसारका प्राय: सबै ठाउँमा । मन्जुलले लेखेका धेरै गीतलाई मैले संगीतले सजाएको थिएँ । एक दिन मन्जुललाई यस विषयमा कुरा गरेँ । मैले रचना गरेको धुनमा उसलाई गीत लेख्न आग्रह गरेँ । ‘यस्तो ढंगबाट त मैले गीत लेख्ने गरेको छैन रामेश । संगीतको त्यति धेरै ज्ञान नभएको म, तिमीले रचना गरेको लयमा टेकेर म कसरी गीत लेख्न सक्छु होला !’ उसले जवाफ दियो । कसले लेख्ने त यो लयमा गीत ? मै लेखूँ ? म गीतकार त होइन । केही गरी मैले लेखेँ भने † मलाई संकोचको अनुभव भयो । धेरै समय मेरो लय गीतविहीन बस्यो । तर, त्यो लयमा मेरो मनले शब्दहरू आफैँ जुराउन खोजिरहेको थियो । 
एक दिन साँझ मन्थली घाटको पुरानो सम्झना मेरो मनमा उदायो । बूढो माझीले भनेका कुरा मेरो चित्तले सम्झ्यो । माझीको यही भावलाई गीति लयमा मिलाएर एक दिन अकस्मात् मेरो मुखबाट गीतको एउटा यस्तो लहर निस्क्यो : 

कोसीछेउ उभ्भेको सिमल जत्ति नि बाँच्दिनँ म
त्यै सिमल काटी बनेको डुंगा जत्ति नि बाँच्दिनँ म । 

लय भावसँग शब्द भाव एकदमै मिलेजस्तो लाग्यो । मैले मन्जुललाई सुनाएँ । उसले भन्यो, ‘राम्रो छ’ । अरू शब्द उसले रचना गर्ला मैले सोचेको थिएँ । तर, ऊ कताकता अलमलिरह्यो । अलिअलि गर्दै मैले जानी नजानी त्यो लयमा सुहाउने शब्दहरू थप्दै गएँ । पारिजात दिदीलाई एक दिन मैले गितारमा त्यो धुन सुनाएँ । दिदीले भन्नुभयो, ‘राम्रो लाग्यो, छिट्टै पूरा गर ।’ चञ्चल मन्जुललाई एक दिन मैले कोठामा ल्याएँ र भनेँ, ‘यो गीत जसरी भए पनि आज पूरा गर्नुपर्छ । माथिल्लो एक अन्तरा मैले लयसँग भाव मिलाएर बनाइसकेको छु । अब अर्को अन्तरा बनाऊ । मैले रचेको पहिला अन्तराको लय र शब्द सुनाएँ मन्जुललाई : 

त्यो माथिमाथि आकाश नीलो छ
डुंगामुनिको नदीको दह अझै नीलो छ
यी दुवैको बीचको बहना लिएको म 
सेतैसेतै भइसकेँ
त्यै सिमल काटी बनेको डुंगा जत्ति नि बाँच्दिनँ म
कोसीछेउ उभ्भेको सिमल जत्ति नि बाँच्दिनँ म । 

मैले मन्थली घाटको बूढो माझीका कुराहरू सुनाएर अरू अन्तरा थप्न कर गरिरहेँ । उसलाई कतै जान नदिई धेरै जोड गरेपछि मन्जुलले दोस्रो अन्तरा लेख्यो : 

माछा मार्ने जाल फ्याँक्दा मेरो एउटा आयु खस्छ
नाउ वारिपारि गर्दा मेरो जम्मै आयु खस्छ 
नदी पनि सुकेको छैन, आकाश पनि झरेको छैन
यी दुवैको बीचको बहना लिएको म, मृत्युनजिक भैसकेँ
त्यै सिमल काटी बनेको डुंगा जत्ति नि बाँच्दिनँ म ।

उसले रचना गरेको गीति शब्दमा मैले संगीत बनाएँ । तर, गीत पूरा भएजस्तो लागेन मलाई । यो गीत गाउँदा केही अरू पनि बाँकी छजस्तो सधैँ लागिरह्यो । करिब दुई वर्षपछि अपूरो लागेको गीतको अन्तिम अन्तरा लेख्न थालेँ, जसको लय मैले रचना गरिसकेको थिएँ । त्यो दिन जम्मा चार हरफ थपेँ : 
एकदिन म मरुँला, संसारमा नरहुँला
मेरो सिमलकाठको डुंगा पनि मक्किएर जाला
तर युगयुगसम्म यो नदी, यो आकाश रहिरहला
नदी तार्ने बूढो माझीको काम यो संसारमा रहिरहला ।

अझ पूरा भएन गीत । एक दिन मन्जुललाई फेरि समातेर ल्याएँ र भनेँ, “ल आज चैंं यो गीत पूरा गरेरै छाडौँ ।” मैले लेखेको चार लाइन सुनेपछि उसले निकै गम खाएर एक हरफ गीत थप्यो :

ओहो जीवन भन्नु के हो र
बाँच्दा गरिने काम न हो । 

त्यसपछि मन्जुललाई थामेर थामिनसक्नु भयो । हतारमा ऊ कतै हिँडिहाल्यो । बाँकी लहरहरू धेरै समय लगाएर मैले पूरा गरेँ :

अघिअघिका पूर्खाहरू, पछि आउने सन्ततिहरू 
यी दुवैको बीचको बहना लिएको म
एकदम बूढो भइसकेँ सेतै सेतै भइसकेँ
त्यै सिमल काटी बनेको डुंगा जत्ति नि बाँच्दिनँ म
कोसीछेउ उभ्भेको सिमल जत्ति नि बाँच्दिन म ।

यसरी ठूलो मिहिनेत र समय लगाएर यो गीत तयार भयो । ‘राल्फाकाल’ र ‘संकल्प गीति अभियान’का कार्यक्रममा यो गीत धेरै गाएँ मैले । समय र साल बित्दै गयो । बिस्तारै यो गीत त्यसै हराउँदै गयो । किन किन बिर्संदै पनि गइयो । अरू नै गीत रचना गर्दै गाउन थालियो । उमेरसँगै आउने अनेकखाले काममा जीवन त्यसै त्यसै अल्झिँदै गइरहेको थियो । तर, केही वर्षदेखि ती गीतहरू सुनेका पुराना साथी र नयाँ गीत–संगीतप्रेमी भाइहरूले निरन्तर भन्न थालेका थिए, ‘दाइ ! तपाईंहरूले गाउनुभएका त्यस्ता उत्कृष्ट गीतहरू सबै त्यस्सै मर्ने ? त्यस्ता गीतहरू रचना गर्न अब तपाईंहरूलाई पनि मुस्किलै पर्छ । समय छैन, उमेर छैन । व्यस्तताले पिटेको छ । रामेश दाइ, तपाईं अझै सक्नुहुन्छ ती गीतहरू गाउन । तपाईंहरूको मित्रताले सिर्जना गरेका ती सुन्दर गीत दिएर नयाँ पुस्ताको हौसला बढाउनुहोस् । नेपाली संगीतको ढुकुटीमा यस्ता गीतको रचना पनि भएको थियो भनेर केही चिनो छाडेर जानोस् । राल्फा समयमा गाइएका ती गीतको उमेर पनि पचास/एकाउन्न वर्षको भइसक्यो । दाइ ढिला नगरौँ ।’ 
सत्य थिए ती भनाइहरू । सपनामा पनि ती गीतहरू गाइरहेको देख्न थालेँ । मैले गीत रेकर्ड गर्ने निर्णय गरेँ । ०७२ सालदेखि करिब दुई वर्ष साथीभाइले छानेका गीत रेकर्ड गर्न निरन्तर लागिरहेँ । संगीतज्ञ भाइहरू सुरेन्द्र श्रेष्ठ र जीवित जल्मीसँगको लामो सहकार्यबाट आज सबैका सामु राल्फा र संकल्पकालका केही गीत रेकर्ड भएर जनतासमक्ष आउँदै छन् । गीति एल्बमको शीर्षक पनि कोसीछेउ उभेको सिमल नै छ, जसमा सबै रचना मन्जुलको अनि संगीत र स्वर मेरो छ । अरू पनि धेरै छन् राल्फा र संकल्पकालीन मूल्यवान् गीत–संगीत । तर, अहिले गीति एल्बममा प्रस्तुत छन् केही ती गीतहरू, जसले नेपाली संगीतमा केही नयाँ नयाँ परिचय दिन प्रयत्न गरेको छ : 

त्यो माथिमाथि आकाश नीलो छ 
डुंगामुनिको नदीको दह अझै नीलो छ
यी दुवैको बीचको बहना लिएको म 
एकदम बूढो भइसकेँ, सेतै सेतै भइसकेँ 
त्यै सिमल काटी बनेको डुंगा जत्ति नि बाँच्दिन म । 

प्रकाशित: पुस २१, २०७४