ब्लग

उपत्यका सभ्यता र पानी

- अजय दीक्षित

अंग्रेजीमा टुक्का छ, ‘अ पिक्चर इज वर्थ ए थाउजेन्ड वर्डस्’ अर्थात् एउटा चित्र हजार शब्दसरह हुन्छ । विभिन्न अवधारणालाई सहज रूपमा बुझ्न तस्बिर सहयोगी हुन्छ । यही सन्दर्भमा, आफ्नो करिब दुईवर्षे ट्वीट यात्रामा मैले पछ्याउने एउटा ट्वीटर ह्यान्डल हो, नेपाल इन पिक्स । केही समयअघि यस ह्यान्डलबाट प्रेषित पशुपति क्षेत्र छेउछाउको तस्बिरले पंक्तिकारलाई आफ्नो स्मृतिमा लुकेको वाग्मतीमा पुर्‍यायो । स्कुले जीवनसम्म वाग्मतीसित मेरो सम्बन्ध चारवटा स्थानमा थियो । पशुपति क्षेत्र, काठमाडौँ–पाटन जोड्ने थापाथली पुल, टेकु पुरेतघाट र वाग्मतीको पश्चिम किनारामा रहेको लेबोरेटरी स्कुलको नयाँ भवन । 

केटाकेटी उमेरमा परिवारका अग्रजसित गुह्येश्वरी र पशुपतिनाथ पुग्थ्यौँ । राजराजेश्वरी र आर्यघाटमा बेलामौकामा माछा देखिँदा हामी केटाकेटी दंग पथ्र्यौं । वाग्मतीको पानीले सेचन गर्न लगाइन्थ्यो, हामी गथ्र्यांै । आर्यघाटमा अन्त्येष्टि हुँदै गरेका वा हुने क्रममा रहेका शव देख्दा नरमाइलो लाग्थ्यो । सन् १९६७ तिर लाजिम्पाट चेत भवनमा सञ्चालन भएको लेबोरेटरी स्कुल कीर्तिपुर छेउछाउ वाग्मती किनारामा निर्माण भएको भवनमा सर्‍यो । शिक्षकहरूको कडा निर्देशन हुन्थ्यो– बाढी आउँछ, नदीनिर नजानू । तैपनि, बेलाबेलामा मौका हेरी चौका मारिन्थ्यो । कीर्तिपुर पुगेपछि साँझ–बिहान स्कुल जाने र फर्कने क्रममा थापाथली पुलबाट यताउता गर्ने गरेको सम्झन्छु । ताहागल्ली गणबहालस्थित हाम्रो पुख्र्यौली घरबाट करिब दुई किलोमिटरजति दक्षिण हुँदै वाग्मती बग्छ, त्यहीँ पुरेतघाट छ । अहिलेजस्तो हाम्रो घर र वाग्मतीबीच भवनहरू थिएनन्, कौसीबाट वाग्मतीको खण्ड देखिन्थ्यो । 

परिवर्तित जलचक्र
स्कुल जीवनमा वाग्मती भनेको मन्दिर, अन्त्येष्टि, बालुवा र माछामा सीमित रहेको ज्ञान उमेर र शिक्षासँगै बढ्न थाल्यो । खानेपानी, सिँचाइ, जलविद्युत् र नदीका अन्य उपयोग ज्ञानपुञ्जमा जोडिन थाले । नदी सभ्यताको आधार हो भन्ने बुझ्न थालियो । स्वर्गीय हुतराम वैद्यले वाग्मती सभ्यताको महत्त्व हाम्रो पुस्तालाई सम्झाएर गए, आफ्नो निवृत्त जीवन त्यसको जगेर्नामा समर्पित गरेर । 
नेपाल इन पिक्सले प्रेषित गरेको वाग्मतीको तस्बिर कुनै शिल्पी कलाकारको अथक प्रयासको विम्बस्वरूप लाग्छ । श्लेषमान्तक वनपारि खेतका फाँट देखिन्छन् । गुह्येश्वरी र आर्यघाटबीच रहेको खोँच हुँदै वाग्मती तिलगंगा आइपुगेको छ । वाग्मतीबाट निकालिएको कुलाले किनाराको खेत सिँचेको छ, सिञ्चित धानखेत र नदी एक–अर्कासित जोडिएका छन्, प्राविधिक भाषामा एकीकृत छन् (तस्बिर–१) । परिवर्तनको प्रचण्ड वेगमा अघि बढ्दै गरेको काठमाडौँका नदी किनारामा अब त ढुंगा र सिमेन्टका पर्खाल उठाइएका छन्, नदी र तिनका प्रशाखाका तटीय फाँट जोडिएका छैनन्, खण्डित भएका छन् । 
उपल्लो भेगमा वाग्मतीको एउटा प्रशाखा इच्छुमती नदी (टुकुचा) को स्थिति त भिन्नै भइसकेको छ । यो प्रशाखामाथि कंक्रिट स्ल्याब ढलान गरिएको छ, केही खण्डमाथि गाडी गुड्ने गर्छन् । चिनियाँ राजदूतावासछेउको सानो खण्डमा मात्रै ढल मिसिएको इच्छुमती बगेको देखिन्छ । आधुनिक बन्ने यात्राका प्रतिफल हुन्, यी परिवर्तनहरू । 
भनिन्छ, वाग्मती नदी प्रणाली सुन्दर बनाइँदैछ । जलचक्र अध्ययन र अध्यापन गर्दा, समग्रतामा विवेचना गरिन्थ्यो । उपल्लो वाग्मती जलाधारमा जलचक्रको व्याख्या अब त भिन्नै हिसाबले पनि गर्नुपर्ने भएको छ, परिवर्तित जलचक्रका रूपमा ।
तस्बिरमा चक्रपथ र आर्यघाटभन्दा दक्षिणतर्फ रहेको ब्यारेज देखिँदैन । सायद सन् १९६२ अगाडि नै लिइएको हो, यो तस्बिर । सन् १९६२ मा विश्व खाद्य तथा कृषि संगठन (एफएओ)को सहयोगमा पशुपति र गोकर्णमा दुई ब्यारेज निर्माण गरिएका थिए । गोकर्णको ब्यारेज वाग्मती निस्कने खोँचको ठ्याक्कै दक्षिणमा छ भने पशुपतिमा आर्यघाटको केही दक्षिणपट्टि । ब्यारेजबाट पुराना कुलामै पानी पठाइयो, स्याउले बाँधलाई सिमेन्ट–कंक्रिट प्रयोग गरी बनाइएको संरचनाले प्रतिस्थापन गर्‍यो । सन् १९८४ मा अमेरिकी स्वयंसेवीहरूको प्रशिक्षकका रूपमा पहिलोपल्ट कार्यरत रहँदा, तिनलाई ब्यारेज सिँचाइ प्रणाली भनेर यसैलाई बुझाइएको थियो । राजकुला र किसान निर्मित कुलाहरूका बारे पछि मात्र बुझ्न थालिएको हो ।
हिजोआज परिदृश्य कस्तो देखिने रहेछ भनेर तस्बिर लिन म त्यस क्षेत्र पुगेँ तर प्रयास सफल भएन । तस्बिर लिने उपयुक्त स्थान नै भेटिएन । धानखेत पूरै घरखेतमा परिणत भइसकेका थिए (तस्बिर–२) । 
ब्यारेज पुलको रूपमा प्रयोग हुने गरेको छ, सिँचाइ प्रयोजनमा होइन । ब्यारेजको केही पर श्लेषमान्तक वनमुनि निर्माण गरिएको सुरुङ वाग्मतीमा टुंगिएको छ । विद्युतीय शवदाह गृह त्यहीँ छ, सायद त्यस दिन त्यसले काम नगरेको हुँदा अन्त्येष्टिहरू घाटमै हुँदै थिए । आर्यघाटको छेउपट्टि काठका बक्सा थन्क्याइएका भेटिए, विदेशमा मृत्युवरण गरेकाको दाहसंस्कार गर्न मुलुक ल्याइएको वास्तविकता सम्झाउँदै । 
नदीको पिँध तुलनात्मक हिसाबले सफा थियो, हरेक शनिबार सफा गर्ने अभियानको प्रतिफल । तर, वाग्मतीबाट ढलको दुर्गन्ध आउन रोकिएको थिएन । तथ्यांक भन्छ, नदीमा अनगिन्ती हानिकारक ब्याक्टेरिया छन् । जलचक्रबाट ‘फ्रेस वाटर’ अर्थात् शुद्ध पानी झिक्ने, त्यसलाई घरघरमा आपूर्ति गर्ने, फ्लस ट्वाइलेटमा मानव मलसँग मिलाउने अनि फेरि जलचक्रमा मिल्काउने आधुनिक सभ्यताले स्वीकारेको प्रविधि हो । विकसित मुलुकमा ढल प्रशोधन गर्ने गरिन्छ । तर, विकासोन्मुख मुलुकमा बिनाप्रशोधन नै नदी, तालतलैयामा फालिन्छ । जलचक्र र ढलचक्र छुट्टाछुट्टै राख्नु सभ्यताको ठूलो चुनौती हो ।
तस्बिरमा देखिएको त्यो क्षेत्र अब छैन, स्मृतिमा मात्रै छ । त्यो क्षेत्र मात्रै होइन, पूरै उपत्यका धूवाँ, फोहोर, प्रदूषण, कोलाहल र ट्राफिक जामको चपेटामा छ । भलै, अनावश्यक हर्न बजाइरहने व्यवहार रोकिएको छ, जसले सफल नीति कार्यान्वयनको संज्ञा पनि पाएको छ । राजकुलाहरू मासिइसके । ढुंगेधारा, जह्रौँ, पुराना पाटी र सत्तलहरू मासिने क्रममा छन् । थुप्रै पोखरीहरू मासिएका, बेवारिसे पारिएका र बाँकी रहेका धेरै फोहोर छन् । 

रानीपोखरीको व्यथा
विसं ०७२ को गोरखा–भूकम्पले बिगारेको वाग्मती सभ्यताको एउटा धरोहर रानीपोखरीको उचित पुन:निर्माण यतिबेला चरम विवादमा छ । निर्वाचित स्थानीय सरकारले लिएको रानीपोखरी पुन:निर्माण विधि वाग्मती सभ्यता जगेर्ना गर्ने मान्यताको विपरीत छ भन्ने चासो व्यक्त भएका छन् युवा, प्रौढ, पाका सबैको । नागरिकका भावना सुन्ने र त्यस अनुरूप विधि परिमार्जन गर्ने दायित्व जनमतबाट अनुमोदित स्थानीय राज्यशक्ति प्रयोग गर्ने समूह र प्रतिनिधिको हो । अझ पुरातत्त्व विभाग र महानगरपालिकाका अगुवा पुन:निर्माणको विषयमा एकमत हुन नसकेको खबर सार्वजनिक भएको छ । मेयर र उपमेयर पनि एकै ठाउँमा आएका छैनन् । 
विकेन्द्रित शासनपद्धतिको मान्यताले भन्छ, स्थानीय सरकारमा नागरिकको पहुँच सहज हुन्छ र तिनका चासो पनि सुनिने गरिन्छ, सिंहदरबारको तुलनामा । चल्दै गरेको विवादले यस्तो हुन नसकेको वास्तविकता बताउँछ । लाग्छ, काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ । 
रानीपोखरी एउटा पानी जमाउने खाल्डो मात्रै होइन, पानीसँग जोडिएको महत्त्वपूर्ण सम्पदा हो । यसर्थ, थप संवेदनशीलता आवश्यक भएको हो । पानीबिना धरती उजाड बन्छ, सभ्यता जीवन्त रहन सक्दैन । हाम्रो शरीर ६५ प्रतिशत पानी हो, पानीबिना हामी जीवित रहँदैनौँ । 
आजभन्दा ३ सय ५० वर्षअघि राजा प्रताप मल्लले रानीपोखरी निर्माण गराए, उपलब्ध प्रविधि प्रयोग भयो । आधुनिक विज्ञान र प्रविधिको यात्रामा हामीले न आफ्ना स्थानीय ज्ञान बुझ्ने, संवद्र्धन गर्ने प्रयास गर्‍यौँ, न त हाम्रा संस्थाहरूलाई पूर्ण रूपमा आधुनिक प्रविधि प्रयोग गर्न सक्षम बनाएका छौँ । स्थानीय ज्ञानपुञ्ज हराउँदैछन् । स्थानीय ज्ञान, प्राकृतिक विज्ञान र समाजशास्त्रलाई जोड्ने नयाँ ज्ञान सिर्जना हुन सकेको छैन । बरू, हाम्रो उच्च शिक्षा प्रणाली ह्रासोन्मुख छ । उदाहरणका लागि त रानीपोखरीको पुन:निर्माण नै काफी छ ।
स्थानीय ज्ञानलाई मर्न नदिन व्यक्तिगत स्तरमा केही लागिपरेका छन् । तर, राज्यको स्तरबाट दायित्वबोध देखिँदैन । चीनको सिनजियाङ प्रान्तको तुरपान मरुभूमिको कारेजमा दुई हजार वर्षअघि जमिनमुनि बनाइएका प्रणालीले मरुभूमिको निश्चित क्षेत्रमा पानी आपूर्ति गरिरहेका छन् । यी धरोहरको उचित संरक्षण गर्ने चीनका प्रधानमन्त्रीको प्रतिबद्धता पढेको थिएँ, त्यही प्रणाली हेर्न गएको बखत करिब १६ वर्षअघि । हाम्रा नेताहरू ठूलठूला कुरा त गर्छन् तर तपसिलमा ध्यान दिँदैनन् । ढुंगेधारा, राजकुलो, पोखरी एवं तालतलैया बचाएर राख्ने प्रतिबद्धता त निकै टाढाको प्रसंग भयो । 
राजधानी सहरका नवनिर्वाचित पिताले भनेजस्तै फोहोरा भएको राता–हरिया–पहेँला बत्तीले झकिझकाउ पोखरी, कफी सप आदि, इत्यादि परिकल्पना गर्न र निर्माण गर्न पाइँदैन कसैले भनेको छैन । तर, मौलिक सम्पदामा यस्ता परिकल्पना किन थोपर्ने ? आस्थाका स्थलमा डिस्को डान्स गरिँदैन, गर्नै हुन्न । रानीपोखरीलाई यसको मौलिकता अनुसार पुन:निर्माण गरौँ । साथै, नदी र सहर सभ्यता आफ्नो मौलिकता अनुरूप बनाऔँ, विकासका नाममा जथाभावी नगरौँ ।
काठमाडौँमा अझै बाँकी रहेको कुनै सार्वजनिक स्थलमा फोहोरा, राता–हरिया–पहेँला बत्ती, रमझम, कफी सप भएका नयाँ पोखरी निर्माण गर्ने प्रस्तावबारे छलफल सुरु गरौँ । यसबाट नगरवासीलाई घुम्ने नयाँ स्थान पनि उपलब्ध हुनेछ । ८२ वर्षपछि हाम्रा सन्ततिले भन्नेछन् कि यो पोखरी–कफी सपको निर्माण सन् २०१८ मा हाम्रा अघिल्ला पुस्ताले चुनेका प्रतिनिधिहरूले सुरु गरेका थिए । ८२ वर्षपछि अर्थात् सन् २१०० लाई मैले जलवायु परिवर्तनको सन्दर्भमा चुनेको हुँ । सन् २१०० जलवायु परिवर्तनको आख्यानमा प्रयोग हुने वर्ष हो । भोलि के होला– निश्चित छैन, जलवायु परिवर्तनले त झन् अनिश्चितता थपेको छ । 

प्रकाशित: पुस २१, २०७४