शिक्षा

स्वदेश र विदेशको पढाइ

- विश्वास हमाल

क्यानडाको राजधानी ओटावामा रहेको कार्लटन विश्वविद्यालयमा विद्यार्थी हुँदा एउटा कोर्स उत्तीर्ण गर्नका लागि १५ मिनेटको ‘प्रिजेन्टेसन’ दिनुपर्ने थियो, आफैँले रोजेको विषयमा । ‘विकास र अर्थशास्त्र’ विषय भएकाले मैले ‘नेपालको जलविद्युत्का सम्भावना र चुनौती’ विषय रोजेको थिएँ । आफ्नो प्रस्तुति सकिएपछि अनेकाँै प्रश्न आउने सम्भावना भएकाले पूर्ण तयारीमा थिएँ । नेपालमा किताब मात्रै घोत्लिएर पढेको मजस्ताका लागि विदेशको यस्तो पढाइ अनौठो मात्रै होइन, रमाइलो पनि थियो । त्यो १५ मिनेटको प्रिजेन्टेसन बनाउँदा मैले नेपालको जलविद्युत्बारेमा यति धेरै महत्त्वपूर्ण कुराहरू सिकेको थिएँ कि सायदै मैले कोर्सका पुस्तकबाट त्यस्तो ज्ञान पाएको थिएँ ।

काठमाडौँ छँदा म पाटन संयुक्त क्याम्पसमा भर्ना भएको थिएँ । घरबाट अलि टाढा पर्ने भएकाले कक्षा लिन कहिले मीनभवन क्याम्पस त कहिले कहिले शंकरदेव जान्थँे । बीबीएसको त्यो पढाइ केवल भन्नका लागि जस्तै थियो । परीक्षा आउन एक महिनाअगाडि पुतलीसडकमा पाइने खैरो रंगको पातलो निमा गेस पेपर पढेर नै धेरै परीक्षा उत्तीर्ण गरियो । पढाइ भनेको नै कोर्समा जे–जे छन्, त्यही परीक्षामा लेख्नेबाहेक केही थिएन । जसरी हुन्छ, पास हुने । न त दुई–चार जनाको अगाडि उभिएर कहिल्यै केही विषयमा बोल्नुपर्‍यो । न ‘टिमवर्क’मा केही गरियो, न त समस्या समाधान विधि अपनाएर केही नयाँ कुरा नै गरियो । नतिजा पनि प्रतिशत–प्रतिशतमै अल्झिएको थियो ।
स्नातक गर्न पहिलोपल्ट फिनल्यान्डको ताम्पेरे विश्वविद्यालय आइपुग्दा यहाँको तौरतरिका देखेर अचम्भित भएँ । भौतिक विकास देख्दा अचम्म पर्नु त सामान्य हो । तर, मलाई सबैभन्दा प्रभावित पारेको कुरा थियो, शिक्षक–विद्यार्थीको सम्बन्ध । वार्षिक कार्यतालिका, समय, भवन, कोर्स, शिक्षक नामावली, कोठा नम्बर र सम्पर्क ठेगाना सबै समेटिएको पुस्तिका पाउँदा झन् अनौठो लाग्यो । सुरुका दुई–तीन महिना कुनै शिक्षकलाई बोलाउन नै सकिनँ । किनभने, नेपालमा जस्तो सर–म्याडम कसैले नभन्दा रहेछन् । नामले बोलाउन निकै अप्ठ्यारो लाग्ने । बिस्तारै बानी पर्दै गयो । नेपालमा शिक्षकहरूलाई कक्षाकोठाबाहेक अन्त कतै भेटिँदैनथ्यो । सोधेको कुराको जवाफ त परै जाओस्, नमस्ते फर्काउँदा पनि पैसा पर्लाजस्तो गर्थे । तर, यहाँ भने अफिस समयमा मात्र होइन, राती–बिहानको समयमा पनि केही समस्या परेमा जवाफ तुरुन्त इमेलबाट दिइहाल्थे । केही समस्या लिएर जाँदा शिक्षकहरूले गर्व महसुस गरेको भेटँे । शिक्षकहरू साथीजस्तै भएपछि अलि खुल्न पनि सकियो । क्याम्पसबाहिर पनि भेटघाट, कफीगफ आदिले सम्बन्ध गाढा बनाउँदो रहेछ । तर, नेपालमा जस्तो गुरुलाई सम्मान–आदर गरेको भने खासै भेटिनँ ।


नेपालको जस्तै विद्यार्थी संगठनको सान र इज्जतको लोभमा आएको दोस्रो वर्ष नै अन्तर्राष्ट्रिय विद्यार्थीको चुनावमा सचिवमा उठेर जितेँ पनि । तर, यहाँ न कसैलाई भर्ना गराउन सोर्सफोर्स लगाउन मिल्ने, न त कुनै राजनीतिक पार्टीसँग नजिकिन पाइने । सबै काम विश्वविद्यालयले आफैँ गर्ने भएकाले हाम्रो काम मनोरञ्जन गराउनु, पार्टी गर्नु, घुमघाम गर्नु, अफ्रिकातिर हुने मानवाधिकार उल्लंघनविरुद्घमा स–साना कार्यक्रम गर्नु र फेरि अर्को पार्टी गर्नु ‘डान्स फर अ कज’ भन्ने नाराका साथ । यस्तै थिए, विद्यार्थी राजनीतिका अनुभव ।
विदेशतिर के पढाइन्छ भन्दा कसरी पढाइन्छ भन्ने जान्नमा उत्सुक थिएँ । विश्वकै उत्कृष्ट शिक्षा प्रणाली मानिएको फिनल्यान्डको पढाइप्रति पनि मेरो निकै कौतूहल थियो । मिलेसम्म धेरैभन्दा धेरै कलेजमा कोर्स लिएँ । एक ठाउँमा भर्ना भएर जुनसुकै ठाउँमा पढ्न पाइने भएकाले मैले देशभरिका पाँच ठाउँमा क्लास लिएँ । स्वीडेन बसाइमा पनि उप्साला विश्वविद्यालयमा विद्यार्थीको एकमहिने अनुभव बटुलेँ । त्यसपछि जुरेको थियो, क्यानडामा विद्यार्थी बन्ने अवसर ।
पश्चिमी शिक्षा प्रणालीको अनुभव लिएपछि अफ्रिकातिर जाने निर्णय गरेँ । भएभरको जुक्ति अपनाएर आफ्नै विश्वविद्यालयबाट पूर्वी अफ्रिकाको तान्जानिया जाने मौका जुराएँ । देशकै उत्कृष्ट दार ए सलाम विश्वविद्यालयमा एक सेमेस्टर बिताएँ । कीर्तिपुरको त्रिविकै झल्को दिने त्यहाँको अनुभवले मलाई विकसित र अविकसित देशमा कसरी सक्नेले नसक्नेलाई दबाउँछन् भन्ने कुराको फेरि अनुभव भयो । त्यहाँ नेपालमा जस्तै घमन्डी शिक्षक देखेँ । भौतिक संरचनादेखि शिक्षण पद्धतिमा धेरै समानता पाएँ ।
युरोप, अमेरिका र अन्य विकसित देशतिर मुख्यत: समूहमा कसरी काम गर्ने भनेर अनेकाँै ‘ग्रुप वर्क’ गरिन्छ, आफ्नो विषय कसरी राख्ने र अरूले सोधेको प्रश्न कसरी समाधान गर्ने भनेर आफैँले रोजेको विषयमा १०–१५ मिनेटको प्रिजेन्टेसन दिइन्छ । अनि, कुनै पनि कुराको स्वतन्त्र अनुसन्धान र त्यही विषयमा सूक्ष्मभन्दा सूक्ष्म कुराका बारे पेपर लेख्न लगाइन्छ । लिखित परीक्षा एकदमै थोरै हुन्छ । पछि व्यावसायिक जीवनमा काम लाग्ने पनि तिनै कुरा रहेछन् ।
नेपालमा अप्ठ्यारो तरिकाले र पाठ्यपुस्तकलाई मात्रै आधार बनाएर पढेकाले यतातिरको पढाइ रमाइलो मात्र होइन, धेरै सजिलो पनि लाग्यो । नेपाल र विदेशमा पढाइने विषयवस्तुमा मैले खासै फरक भेटिनँ । त्यसैले होला, विश्वका जस्तोसुकै ठाउँमा पनि पढ्नै भनेर आएका नेपाली विद्यार्थीले निकै राम्रो गरिरहेका छन् । संसारका कुनै पनि विद्यार्थीभन्दा नेपाली विद्यार्थी केही कुरामा पनि कम छैनन् । 

प्रकाशित: पुस १९, २०७४