अनुभूति

लेखनको पूर्णकालीन यात्रा

- कृष्ण धराबासी
मंसिर ०६७ मा मैले एउटा लेख लेखेको थिएँ, ‘मैले रोजेको बाटो’ । जुन लेखमा भनिएको थियो, ‘मैले कृषि विकास बैंकको जागिर पाँच वर्ष सेवा अवधि बाँकी हुँदाहुँदै छोडँे र अब म पूर्णकालीन लेखक हुनेछु ।’ वास्तवमा मलाई सबै काम छोडेर लेख्न–पढ्न मात्र पाए कस्तो हुन्थ्यो होला भन्ने सधैँ लागिरहन्थ्यो । रहरले म यो जागिरमा आएको थिइनँ । तर, आर्थिक दृष्टिकोणले स्कुलको शिक्षकभन्दा बैंक कता हो कता सुविधाजनक थियो । वास्तवमा बैंकमा पसेपछि नै हाम्रो घरको आर्थिक अवस्थामा पनि कायापलट भयो । बैंकले मलाई कहिल्यै मेरो साहित्यिक यात्रामा बाधा हालेन । सधैँ प्रोत्साहन नै गर्‍यो । तापनि, किन किन मलाई यो जागिर मेरो मनले खाएको हो भन्ने कहिल्यै लागेन । काम गरिरहेँ, माया पाइरहेँ । पुलपुलिएरै २४ वर्ष ७ महिना पुर्‍याइसकेको थिएँ । त्यस्तै बेलामा बैंकले स्वैच्छिक अवकाश योजना लिएर आयो । मैले नमस्कार गरिहालेँ । 
जीवनमा अनेकौँ त्यस्ता कठिन अवस्थाहरू आउँछन्, जसले बारम्बार आफू हिँडिरहेको यात्रा स्थगन गर्न मन लाग्छ । बाटो नै मोड्न मन लाग्छ । निराशाबाट डरलाग्दा खाडलहरूमा खस्न मन लाग्छ । लोकप्रिय रहँदारहँदै अलोकप्रिय निर्णयहरू गर्न मन लाग्छ । हतास र निराशाका कैयौँ नदी कठोरताका साथ तर्नुपर्छ । हामी आफैँ बन्न खोज्दाखोज्दै पहिले कहिले अरूले नै बनाइसकेको क्यानभासमा लतपतिएको रंगले एब्स्ट्रयाक अर्थबाहक बनिसकेका हुन्छौँ ।
गुनासो कसैसँग केही कुरामा पनि छैन । सबैको माया र सहानुभूतिले उभिएको गणेश हुँ म । आज जागिर छोडेको सातौँ वर्ष पूरा हुन लागेको छ । यी सात वर्षमा मैले जे भनेर जागिर छोडेको हुँ, त्यस कुरामा कतै विचलित नभएरै काम गरिरहेको छु । यी सात वर्षको अवधिमा आमा, पाण्डुलिपि, सुवर्णशमशेर, गेस्टापो, कागजको मान्छे, रेड स्क्वायर, ग्रेट फल्स, लीलाबोध, तल्लोबाटो गरी नौवटा किताब पाठकमाझ पुर्‍याइसकेको छु । यीबाहेक फुटकर लेख–रचनाको खासै अभिलेख राखेको छैन । ‘झोला’ कथामा आधारित फिल्म झोला दर्शकको पहुँचमा पुगेको छ । केही महिनाभित्रमै मेरै कथामा आधारित मधेसमा हुने महिला हिंसामाथि बनेको फिल्म भोर सार्वजनिक हुँदैछ ।
जुन उत्साहका साथ जागिर छोडेको थिएँ, त्यसको केही महिनापछि नै भएको पारिवारिक दुर्घटनाले डरलाग्दो निराशामा परिणत गरेको थियो । जब जब मलाई दिक्क लाग्थ्यो र निराशाले थिच्थ्यो, हठात् म सझन्थेँ, ‘मैले त लेखनका लागि पो जागिर छोडेको, मैले लेख्नुपर्छ ।’ अनि, फेरि समात्थेँ कलम र बालुवामा दौडिएझैँ जताततै कलम कुदाउन थाल्थेँ । त्यसबेला मलाई लेखनको स्तरीयतासँग पनि मतलब थिएन । लेखनका लागि चाहिने विषयवस्तु र सैद्धान्तिक निर्देशनहरूको पनि महत्त्व थिएन । मलाई एउटै कुराको डर थियो कि यसैलाई निहुँ बनाउँदै कतै म यो लेखन क्षेत्रबाट बाहिर पुग्ने त होइन †
सन् २००९ मा पहिलोपल्ट ठूलो हवाईजहाज चढेर युरोप भ्रमणमा निस्केको थिएँ । त्यो पनि साहित्यिक यात्रा नै थियो टुँडाल उपन्यास लेखेबापत । त्यसपछि परिबन्धले म अमेरिका आइपुगेको छु र यतैबाट रुस पनि पुग्ने मौका मिल्यो । पछिल्लो कालका यिनै यात्राले मलाई लेखनमा ऊर्जाशील बनाइरहेका छन् । अमेरिका पसेपछि यी चार वर्षमा चारवटै पुस्तक तयार भए । तिनैमध्येको ग्रेटफल्सले भर्खरै अन्तर्राष्ट्रिय कृति पुरस्कार पाएको छ । 
अमेरिका आएको एउटा विशेष उपलब्धि राधा उपन्यास अंग्रेजीमा अनुवाद हुनु पनि हो । महेश पौडेलद्वारा अनूदित उक्त पुस्तक अब एक महिनापछि विश्व बजारमा उपलब्ध हुँदैछ । नेपाली साहित्यलाई विश्व बजारमा पुर्‍याउनका लागि अनुवादबाहेक अरू कुनै उपाय छैन । यसबारेको विशेष अनुभव पछि अरू नै कुनै लेखमार्फत सार्वजनिक गर्ने नै छु । धेरै पहिला मैले एउटा कवितामा लेखेको थिएँ : 
समयले हरेक धारको पाइन खान्छ 
यता सिर्जनाको नारीमा चुरा बजिरहन्छ ।
समयले मेरो पीरको धारको पाइन पनि खाँदै गयो र म पुन: लेखनमा फर्किएँ । 
लेखनको यही यात्रामा एउटा नयाँ समस्याको पनि अनुभव भइरहेको थियो र आज पनि छ । यो समस्या मेरो मात्र होइन, मजस्ता लेखनलाई नै पूर्णकालीन बनाउने हरेक लेखकमाथि छ होला । केही वर्ष पहिला यही कुरा अभि सुवेदी, केशवप्रसाद उपाध्याय र तारानाथ शर्माहरूले पनि लेख्नुभएको थियो । त्यो लेखपछि उहाँहरू त्यस समस्याबाट कत्तिको मुक्त हुनु भो, मैले सोधेको छैन । अहिले म समय र भूगोलबाट यति टाढा आइपुगेर पनि त्यही झमेलामा थिचिन पुगिरहेकै छु । 
काठमाडौँमा हुँदा प्रत्येक दिनजसो फोन आउँथे, ‘दाइसँग भेट्न मन छ । एउटा काम छ भेटेरै भन्छु ।’ 
‘हुन्छ ! आउनूस् न !’
‘कहाँ कसरी आउने दाइ ?’
‘पर्यटन बोर्डछेउबाट चप्पल कारखाना लेखेको माइक्रोमा चढ्नूस् अनि भित्ते गणेशमा ओर्लिनूस् ।’ आइपुग्थे एक–डेढ घन्टाभित्रमा । अनि, बिस्तारै कुरा गर्दै उनले झोलाबाट कम्प्युटर लिपि झिक्थे र भन्थे, ‘दाइ † एउटा पुस्तक लेखेको छु । भयो कि भएन, के कस्तो भो हेरेर सुझाव दिनुपर्‍यो । चाँडै नै छाप्ने योजना छ । प्रेसमा काम भइरहेको छ । एउटा राम्रो भूमिका पनि लेखिदिन अनुरोध गर्छु, मनले जितेर ।’
केही भन्न नसकी बिस्तारै काम्दो हातले समात्थेँ र राख्थेँ । हप्तामा तीन–चारवटा यस्ता अनुरोध र अतिरिक्त कामहरू । म त पूर्णकालीन लेखन गर्न जागिर छोडेको मान्छे तर यता पूर्णकालीन अप्रकाशित कृतिका पाठकको रूपमा रूपान्तरण भइरहेको थिएँ । सुरु सुरुमा लेख्दै पनि गएँ । तर, पछि बुझ्दै गएँ– यो त अनवरत बगेर आफैँतिर आइरहने हिमनदीजस्तो पो हुँदोरहेछ । आफ्नै मनको कामचाहिँ गर्नै नपाइने । अर्काकै कृतिहरू हेर्दै फुर्सद नहुने । कति त कामै नलाग्ने, विरक्तलाग्दा पनि हुन्थे, कति सामान्यजस्ता । तर, उनीहरू भन्थे, ‘ दाइ  † मैले एकदम नयाँ विषयमा कलम चलाएको छु । दाइले ध्यान दिएर हेरिदिनु होला ।’ 
त्यति मात्र थिएन, गोष्ठीमा बोलिदिनुपर्ने, अन्तर्वार्ताका लागि एफएम स्टुडियोहरूसम्म पुगिदिनुपर्ने, प्रमुख अतिथि भइदिनुपर्ने, गोष्ठी र सेमिनारहरूमा भाग लिइदिनुपर्ने । अनि, सोच्न थालेँ, ‘महिनाको २० हजारको जागिर मैले के यही काम गर्न छोडेको हुँ ? मलाई खान पुगेर, पुगिसरी आएर, उब्रिएको पैसाले ताजमहल बनाउन जागिर छोडेको हुँ  ? या जागिरको तलब थोरै भएर अझ धेरै कमाउन जागिर छोडेको ?’
जागिरको व्यस्तताका बीच मलाई यो एउटा ठूलो समस्याका रूपमा विकसित भइरहेको थाहा थिएन । कोही फोन गरेर भन्थे, ‘दाइ † एउटा साहित्यिक पत्रिका छाप्न लागेको । तपार्इंको एउटा रचना भए हाम्रो पत्रिकाको स्तर अर्कै हुन्थ्यो । एउटा जे भए पनि सात दिनभित्रमा पाऊँ, म इमेल ठेगाना एसएमएस गरिदिन्छु ।’
अनि, लाग्न थाल्यो– सबै कुरा व्यावसायीकरण भइसकेको यस बेलासम्म पनि लेखनले भने त्यो मैदान देख्न बाँकी नै रहेछ । सबै कामका लागि बजेट छुट्याउने त्यो लेखकले सम्पादनका लागि पनि लगानी गर्नुपर्छ भन्ने सोच्न भ्याइसकेको थिएन । प्रोत्साहनका लागि सेवा गर्दागर्दै हामी चिनिएका लेखकहरूले तन्नम हुनुपर्ने समस्या जीवित नै रहेछ । नजरसर्मी भएर निकै काम गरियो । कति जनाले समयमा हेर्न नभ्याइदिएकामा नराम्रैसँग चित्त पनि दुखाए । कतिले त बरू पहिल्यै सक्दिनँ भनेको भए हुने नि भनेर के के जाति पनि भने । केही विदेशमा बस्ने लेखकहरूका भूमिका लेखिदिएबापत नमागीकनै दुई–चार हजार हात लागी पनि भयो ।
कसै कसैले कुरा गरेको सुन्थेँ, ‘प्रदीप नेपाल अन्तर्वार्ता दिएको पनि पारिश्रमिक माग्छन् ।’ हो, होइन मैले आजसम्म उहाँसँग सोधेको छैन तर त्यो कुरा हो भने साह्रै जायज कुरा भन्नुभएछ भन्ने उसै बेला लागेको थियो । हुन पनि एउटा विचार लेखका रूपमा कुनै पारिश्रमिक दिने पत्रिकामा छापिए पैसा पाइन्छ । त्यही विचार कसैले सोधेको भनी जवाफ दिँदा नि:शुल्क किन हुने ? आफ्नै प्रयोजनका लागि हो भने ठीकै होला, नत्र उसको व्यापार चलाउन हामीले नि:शुल्क विचारहरू किन दिने ?
अमेरिका आइपुगेपछि मनमा एक प्रकारको ढुक्क लागेको थियो, ‘अबचाहिँ यस्ता समस्याहरूबाट मुक्त भइयो होला ।’ हुन पनि यहाँ आएको एक वर्षसम्म त मानिसले भेउ नै पाएनछन् होला । जब म स्थायी रूपमा अचेल यतै छु भन्ने थाहा हुँदै गयो, बिस्तारै फोन र इमेलहरूबाट पुरानै नि:शुल्क सेवाका याचनाहरूले संवाद सौन्दर्यको रूप लिन थाले । अब यी याचनाहरू नेपालका मात्र थिएनन् । अमेरिकाकै व्यस्त जीवनबाट बडा कष्टका साथ समय निकालेर लेखिएका कृति पनि थिए । उनीहरू कष्टका साथ घन्टा हान्थे र पैसा कमाउँदै विदेशमा बसेर पनि समय निकालेर साहित्यको सेवा गरिरहेको भन्थे र मैले विदेशमा यो साहित्यलाई जीवित र अझ सशक्त बनाउन नि:शुल्क सम्पादन गरिदिनुपर्ने थियो । पारिश्रमिकको कुरा उठाउँदा ती यसरी पर्दाबाट हराउँथे । मानौँ, तीसँग कुनै कालमा पनि परिचय थिएन ।
अचेल जब बजारमा साग पनि तौलिएर बिक्री हुन्छ, बुझ्नुपर्छ सबै क्षेत्र व्यावसायिक भइसकेको छ । कसैको श्रम पनि अब बिनामूल्य उपयोग गर्नु हुँदैन । मलाई यसपालि यो कुरा झन् राम्ररी प्रस्ट भएको छ कि अमेरिकामा कसरी हरेक कुराको मूल्य छ र त्यो बिनासम्झौता सुरु हुँदैन । मैले मेरो शीघ्र प्रकाशित हुने राधा उपन्यासको अंग्रेजी अनुवादका लागि शब्द शब्द गनेर कपी एडिटिङ, कभर डिजाइनिङ, बुक डिजाइनिङ र आईएसबीएन नम्बर लिनका लागि डलर तिरेको छु ।
यी सबै कुरा हामीले साहित्य पनि व्यावसायिक विषय हो र यो पनि जीविकाको साधन बन्न सक्छ भन्ने नबुझेकै कारण भएजस्तो लाग्छ मलाई । लेखक, प्रकाशक, सञ्चारमाध्यम, सरकार सबैले साहित्यलाई बौद्धिक सम्पत्तिका रूपमा नस्वीकारेसम्म हाम्रो लेखनको आफ्नै पनि स्तरको सही निर्धारण हुन सक्दैन ।
पूर्णकालीन लेखनमा आएपछि म पूर्णकालीन नै भएको छु । अमेरिकामा पनि म सबै समय घरमै बसेर लेखिरहन्छु । कुनै हप्ता केही लेखिनँ भने मलाई कुनै अपराध गरिरहेझैँ लाग्छ र लेखेबापत चित्तबुझ्दो पारिश्रमिक पाइरहेकै छु । 
प्रकाशित: पुस १, २०७४