यात्रा

[यात्रा] से–फोक्सुन्डो सौन्दर्य

- गोविन्द शिवाकोटी, काठमाडौं

नेपालको सबैभन्दा ठूलो ताल रारा, सबैभन्दा उचाइमा रहेको ताल तिलिचो (४९१९मि) र अन्य केही तालहरु पुगिसकेपछि बल्ल नेपालको सबैभन्दा गहिरो ताल से–फोक्सुन्डो यात्रा गर्ने मेसो मिल्यो । सामान्यत: से–फोक्सोन्डोको यात्रा नेपालगञ्जबाट डोल्पाको जुफलसम्म हवाईजहाजमा पुगेर त्यहाँबाट पदलयात्रा गर्दै शुरु हुन्छ । १ असोजमा सात जनाको हाम्रो टोलीलाई भने चल्तीको भन्दा फरक रुटबाट से–फोक्सुन्डो पुग्नु थियो । त्यसैले हामीले काठमाडौंको नयाँ बसपार्कबाट रुकुम सदरमुकाम मुसिकोटको बस समात्यौं । 

२३ घन्टे बसयात्राले थलिएका हामी दोस्रो दिन मुसिकोटबाट आठबिसकोटका लागि जीप चढ्यौं । त्यसै त दिनको एक बजेसम्म मात्र पाइने गाडि, त्यसमाथि दशैं यामका कारण खुट्टा हाल्ने ठाउँ थिएन । हामी सात जना भएकाले विहान छुटेको जीप दिउसोसम्म फर्केमा टिकट पाउने भयौं । हामीलाई हतारो केही थिएन, जसले गर्दा कुर्ने त्यस समय मुसीकोट बजार घुम्न सदुपयोग गर्‍यौं । मुसीकोट पहाडको टुपोमा भएकाले आसपासका हरिया वनहरु मनमोहक देखिंदा रहेछन् । त्यतै टहलिंदै गर्दा आठविसकोटको जीप पनि आइपुग्यो । र, हामी ६ घण्टा जीपमा पिंङ खेल्दै रात काट्न आठविसकोटको एक होटल पुग्यौं । 
 

भिडियोमा से–फोक्सुन्डोको सौन्दर्य । pic.twitter.com/VK2Y9KePfQ

— Nepal Magazine (@NepalMagazine) October 31, 2017


 

 

तेस्रो दिन पनि जीपमै हुईंकिनु थियो । सबेरै चिया पिएर खगिनकोटका लागि जीप चढने ठाउँसम्म पुगिन्छ, जहाँबाट ३ घण्टाको जीप यात्रामा तालु भने ठाउँ पुग्निछ । तालुमा मिठो खाएर झोलुंगे पुल तरेपछि त्रिवेणी जाने अर्को जीप पकड्नुपर्छ । जीपमा कोचिएर र झुण्डिएरै अगाडि बढ्ने त्यहाँको नियतिमै मिसियौं हामी पनि । उक्त बाटो डोल्पाको खदाङ्गसम्म बनिसकेको थियो तर उद्धघाटन नभइसकेका कारण त्रिवेणीभन्दा अगाडि लाग्न सकिएन । हाम्रो पुर्पुरो बलियो नै मान्नुपर्छ एकछिनमा खदाङ्ग जाने एउटा टेक्टर भेटियो । २ घण्टा ट्याक्टरको टालीमा हाँस्नु र रुनु भइरहयौं हामी । खदाङ्गमा थोरै मात्र बास बस्ने होटलहरु थिए । तर थाकेको ज्यानले मिठो खाना, घोरलको मासु अनि सफा ओछ्यान पाएपछि त्यस दिन हाम्रो बनिहाल्यो । 

१० घन्टे पैदल यात्रा गर्नुथियो हामीले चौथो दिन । त्यस दिनको हाम्रो कागिनी गाँउ थियो । बाटोमा हरियाली चुचुरा, माटा र ढुङ्गाका स–साना घरले बनेका वस्ती र किनारमा निला–सेता रङ्ग निकाल्दै बगिरहेको भेरी साथी थिए । कति ठाउँमा मुस्किलले पाइलो हाल्न मिल्ने चट्टानी भीर थिए जहाँ । एकअर्कालाई समातेर अगाडि बढ्यौं । बाटोमा भेटिनेहरु हामीले त्यस्तो बाटो छिचोलेको देखेर अचम्म मान्थे र होसियार भएर जान सुझाउँथे । करिब १ घण्टापछि आएको एउटा सानो गाउँमा नेपाली सेनाहरुले अगाडि बाटो बनाउन बारुद पड्काइएको बताउँदै आधा घन्टा रोकिन भने । डोल्पाली चसो र स्वादिलो स्याउ खाँदै समय काट्यौं हामीले । खाएर झण्डै चार घण्टा चर्को घाममा हिंडेपछि त्रिपुराकोट हुँदै सुपानी पुगियो । त्यहाँबाट जीप चढेर ३० मिनेटमा सुलीगढ आइपुग्यो । त्यहाँ शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले पदयात्रीको दर्ता लिन्छ । त्यहाँबाट कागिनी पुग्न ४५ मिनेट लाग्ने स्थानियले बताएका थिए, हामीलाई भने करिब २ घण्टा २० मिनेट लाग्यो ।

पाँचौ दिन करिब ४ घण्टा हिंडेपछि हामी छेप्का भन्ने ठाउँमा एक बुढी आमैले पकाएको दाल, भात र गोलभेढाको अचारसहितको मिठो खाना खायौं । उकाली–ओराली गर्दैगर्दा फोक्सुन्डो तालबाट आएका नदीहरु, आरु, ओक्खर र स्याउका लटरम्म फलेका रुखहरु हुँदै हिंड्दा जगंलबिचमा टेन्ट राखेर चिया र खाजा बेच्न बसेकी एक हँसिली सोनाम दिदीसँग भेट भयो । दिदीले हामीलाई कालो कफी खुवाइन् । त्यसको १०० रुपियाँ तिर्दा पनि हामीलाई कम नै भएको अनुभव भइरहेको थियो । रफतारको हिडाई पछि बेलुकाको ७:३० बजे फोक्सुन्डो भन्ने ठाउँकै झरना होटल पुग्यौ । यात्राको सबैभन्दा अविश्मरणिय सत्कार र आरामदायी बसाई त्यही होटलमा भयो । 

से–फोक्सुन्डो पुग्ने दिन भएकैले यात्राका छैटाैँ दिन हामी थकानबिच पनि उत्साहित थियौं । सबेरै झरना होटलबाट उकोलो लागेका हामी करिब ३ घण्टापछि यात्राको सबैभन्दा उचाइमा रहेको हावा घर (करिब ३,८०० मिटर)मा पुग्याैँ । हावाघर एउटा सानो बिश्राम गर्ने कटेज हो जहाँबाट पचाल छहराको लोभलाग्दो दृश्य भेटिन्छ । छहराको अलिक पर देखिने शे–फोक्सोन्डोको निलो आकारले यात्रीलाई उर्जा थप्ने काम गर्छ । हावा घरबाट १ घण्टा ओरालो लागेपछि फोक्सोन्डो ताल आइपुग्छ । पहाडको खोल्सामा निलो रङ्गले सल्बलाई रहेको फोक्सोन्डो तालले सबै बाटाभरका थकानमा मलमपट्टिको काम गर्छ । से–फोक्सुन्डो ताल समुन्द्री सतहबाट करिब ३,६२१ मिटरको उचाई र ५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । तालाको वरपर १५–१७ घर मिलेर फोक्सोन्डो गाउँ बनेको रहेछ । यस क्षेत्रमा पर्यटको वृद्धिसँगै नयाँ होटलहरु समेत निर्माण भइरहेका छन् । हाम्रो बास त्यसदिन तालछेउकै गाउँमा भयो ।  

अर्कोदिन विहान ९ बजेसम्म तालको छेउछाउ घुमेर फोक्सुन्डो ताललाई विदाई गर्दौ हामी छेप्पकातिर फर्कियाैँ । चिनिसकेको बाटो भएकाले हामी आउँदाजस्तो अलमलिएनौं । आठौं दिन ४ घण्टाको सजिले बाटो हिंडेपछि सुलीगाढ पुग्यिो । त्यहाँबाट डोल्पाको सदरमुकाम घुम्ने हिसाबले दुनै जाने कुरा भयो । सुलीगाढबाट १५ मिनेटको जीप यात्रामा दुनै पुगिन्थ्यिो तर जीपमा झुण्डिने ठाउँ पनि नपाएपछि हामी हामी ४० मिनेट हिंड्नै रुचायौं । दुनैमा खानपान गरेर केहीबेर बजार घुमेपछि जुफलका लागि हामी जीप चड्यौं । त्यहाँबाट भोलिपल्ट नेपालगञ्जका लागि हवाई टिकेट लिएर हामी त्यहीं बास बस्यौं । नौऔं दिन ३५ मिनेटको हवाई यात्रामा नेपालगञ्ज ओर्लियौं । मनमा शे–फोक्सुन्डोको सुन्दरताले तानिरहेको थियो, हामीलाई भने त्यहीं धुलोमाण्डु अर्थात् काठमाडौं नफर्की जिविको चल्दैनथ्यो । 

 

प्रकाशित: कार्तिक १६, २०७४