समसामयिक

एउटा विवादित भ्रमण

पूर्वप्रधानमन्त्री माधव नेपालको प्योङयाङ यात्रा

- सीताराम बराल, काठमाडौं

मध्याह्न, २७ साउन । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ एमाले नेता माधव नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका थिए । बैंकक–बेइजिङ हुँदै उत्तर कोरिया जाने कार्यक्रम थियो उनको । त्यसै बेला नेपाललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले फोन गरे । ‘साँच्चिकै उत्तर कोरिया जान लाग्नुभएको हो ?’ ओलीको प्रश्नसूचक जिज्ञासाको संकेत नेपाल उत्तर कोरिया नजाँदा राम्रो हुन्छ भन्ने थियो । ओलीको फोनले नेपाल अप्ठ्यारोमा परे र अप्ठ्यारो खोले, ‘उत्तर कोरियाका कार्यवाहक राजदूत (रिम चाङ र्‍योल) मेरो बिदाइका लागि आएका छन् । के गरौँ ?’ 

नेपालको संसदीय प्रमण्डलको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री नेपाल उत्तर कोरिया जाने तम्तयारीमा रहेको जानकारी पाएपछि परराष्ट्र सचिव शंकरदास बैरागीले पनि भ्रमणबारे जिज्ञासा राखेका थिए । सचिव बैरागीको भनाइ के थियो भने नेता नेपालको उत्तर कोरिया भ्रमणबारे दक्षिण कोरियाली राजदूतावासले चासो राखेको छ । जापान, दक्षिण कोरिया र अमेरिकालगायतका देशमा आणविक आक्रमणको धम्की दिएका बेला प्योङयाङ जाँदा उत्तर कोरियाको मनोबल झन् बढ्छ कि भन्ने कुराले दक्षिण कोरिया चिन्तित देखिन्छ । 

कांग्रेस नेतृ चित्रलेखा यादवको नाम पनि उत्तर कोरिया जाने भ्रमण दलमा थियो । तर, अन्तिम समयमा उनले आफू उत्तर कोरिया नजाने जानकारी गराइन् । नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग यस विषयमा कुराकानी गरे । देउवाले प्रदेश–२ मा हुने निर्वाचनका कारण यादव उत्तर कोरिया जान नसक्ने जवाफ फर्काए । एक हप्ते भ्रमण भएकाले निर्वाचनलाई असर नगर्ने बताउँदै नेपालले यादवलाई जाने अनुमति दिन आग्रह गरे । तर, भ्रमणका बीच महत्त्वपूर्ण बैठक पर्ने बताउँदै यादव जान नसक्ने बताइदिए देउवाले । उनको भनाइ थियो, ‘तपाईं आफँै जाँदै हुनुहुन्छ, ठीकै छ । चित्रलेखा पनि किन जानुपर्‍यो र ?’ 

एकपछि अर्काे आणविक बमको परीक्षण । त्यसैलाई कारण बनाएर अमेरिका, जापान, दक्षिण कोरियाको संयुक्त सैनिक अभ्यास र त्यो अभ्यास आफूविरुद्ध केन्द्रित रहेको आरोप लगाउँदै आणविक आक्रमणद्वारा नै अमेरिका र उसका सहयोगी मुलुकलाई ध्वस्त बनाउने उत्तर कोरियाली नेता किम जोङ उनको धम्की । त्यसविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा उत्तर कोरियाको अस्तित्वसमेत नरहने गरी ध्वस्त पारिदिने प्रत्युत्तर । 

यस्तो बेला परराष्ट्र मन्त्रालयदेखि आफ्नै पार्टीको नेतृत्वले नेता नेपाललाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा प्योङयाङ नजान सुझाएका थिए । तर, नेपाल रोकिएनन् । २७ साउनमा प्योङयाङ प्रस्थान गरेका उनी ४ भदौमा स्वदेश फर्किसकेका छन् । तर, उनको उत्तर कोरिया भ्रमणको तरंग सेलाएको छैन । यस भ्रमणबारे दक्षिण कोरिया मात्र होइन, काठमाडौँस्थित अमेरिकी दूतावासले समेत चासो लियो (हेर्नूस्, अमेरिकी चासो) । नेपालले चाहिँ शान्तिको सन्देश सरकारलाई दिन मात्र आफू उत्तर कोरिया गएको स्पष्टीकरण दिइरहेका छन् । 

परामर्शपछिको भ्रमण ?
नेपाल आफैँ संयुक्त राष्ट्रसंघको सदस्य हो । उत्तर कोरियासँग नेपालको पनि कूटनीतिक सम्बन्ध छ । तर, यतिबेला उत्तर कोरियाको उत्तेजक गतिविधिविरुद्ध संयुक्त राष्ट्रसंघले नाकाबन्दी लगाएको छ । हुन त उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीसँग एमाले, माओवादी, माले, नेमकिपालगायतका वामपन्थी दलहरूको भाइचारा सम्बन्ध छ । यति हुँदाहुँदै उत्तर कोरियाको उत्तेजक गतिविधि जारी रहेका बेला उसैको निम्तो मानेर प्योङयाङ जाँदा उसको मनोबल बढ्ने अनुमानका साथ नेता नेपाललाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा भ्रमण नगर्न सुझाइएको थियो । 

तर, नेपालको दाबी अनुसार कोरियाली प्रायद्वीपमा देखिएको तनाव, युद्धको आशंका र दिइएको कार्यक्रमको निम्तोबीच कुनै सम्बन्ध नभएकाले उनी नेपाली संसदीय प्रमण्डलको नेतृत्व गर्दै त्यता गएका हुन् । नेपाल थप्छन्, “जुन कार्यक्रमका लागि मलाई बोलाइएको हो, त्यो कार्यक्रम दुई वर्षअघि नै तय भइसकेको थियो । निम्तो पनि मैले उतिबेलै पाएको हुँ । अहिलेको तनावको स्थितिमा शान्तिका सम्बन्धमा केही भूमिका खेल्न सकिन्छ भन्ने लागेर नै म गएको हुँ । कसैको मनोबल उकास्न होइन ।” 

खासमा उत्तर कोरियाले आफ्ना संस्थापक नेता स्वर्गीय किम इल सुङको स्मृतिमा प्रत्येक पाँच वर्षमा ‘माउन्ट पिकटुका महान् व्यक्तित्वहरूको सम्मानमा अन्तर्राष्ट्रिय सम्मेलन’ गर्दै आएको छ । २४ असार ०५१ मा निधन भएका सुङको जन्मदिन पारेर ०५४ असारदेखि सुरु भएको यसको पाँचौँ संस्करण यसपटक ३१ साउनमा गरिएको थियो । प्रमुख अतिथिका रूपमा निम्तो पाएका थिए, नेता नेपालले । सुरुमा आफूलाई प्रमुख अतिथिका रूपमा निम्त्याइएपछि नेपाल आफैँ पनि जाने/नजाने दोधारमा थिए । आफ्नो भ्रमण विवादमा पर्ने हो कि भन्ने भयका साथ उनले निकटस्थहरूसँग परामर्श सुरु गरे ।
फिलिपिन्सका पूर्वसभामुख जोसे डी भेनेसिया अध्यक्ष रहेको एसियाली राजनीतिक पार्टीहरूको सम्मेलन (आईक्याप)का संस्थापक पनि हुन्, नेपाल । आफूले अध्यक्ष भेनेसियासँग सल्लाह गरेको र उनले पनि उत्तर कोरिया जान सुझाएको नेपाल बताउँछन् । भन्छन्, “त्यसबाहेक थाइल्यान्ड, दक्षिण कोरियाका केही नेताले पनि यस्तै सुझाव दिए । कोरियाली प्रायद्वीपमा शान्ति खलबलिन लागेकाले शान्तिका लागि उत्प्रेरित गर्नुपर्छ भन्ने सुझाव प्राप्त भएपछि म त्यसतर्फ गएको हुँ ।” 

स्रोतका भनाइमा, राष्ट्रिय अनुसन्धान विभागलगायतका सुरक्षा निकायसँग पनि नेपालले सुझाव लिएका थिए । उनीहरूको सुझाव पनि जाँदा फरक पर्दैन भन्ने थियो । नेपालले निर्णायक सुझावचाहिँ नेपालस्थित चिनियाँ राजदूत यु होङसँग लिए, जसले उत्तर कोरियासँग नेपालको कूटनीतिक सम्बन्ध रहेको बताउँदै भ्रमण गर्दा चीनले अन्यथा नसोच्ने सुझाव दिइन् । उदारवादी राजनीतिक पार्टीहरूको बाहुल्य रहेको आईक्याप र चिनियाँ राजदूतले पनि जाँदा अन्यथा नमानिने सुझाव दिएपछि उनी त्यता गएका थिए ।

रोचक कुराचाहिँ के भने त्यहाँ जाने व्यवस्थापनचाहिँ दक्षिण कोरियाको एक इसाई मिसिनरी निकट मानिने नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले गरेका थिए । काठमाडौँ–प्योङयाङसम्मको आवतजावत खर्च इन्टरनेसनल एसोसिएसन फर पार्लियामेन्टरियन फर पिस नामक संस्थाका नेपाली हर्ताकर्ता एकनाथ ढकालले बेहोरेका थिए । ढकाल तिनै हुन्, जो युनिभर्सल पिस फेडरेसनका नाममा राजनीतिज्ञ र ओहोदावालहरूलाई दक्षिण कोरियाको भ्रमण गराउँछन् । नेपालसँगै उत्तर कोरिया पुगेका माओवादी केन्द्रका नेता हरिबोल गजुरेल भन्छन्, “दक्षिण कोरिया निकट मानिए पनि ढकाल आबद्ध संस्थाको उत्तर कोरियासँग पनि उत्तिकै राम्रो सम्बन्ध रहेछ । त्यसैले निम्तो उत्तर कोरियाले दिए पनि आर्थिक व्यवस्थापनचाहिँ दक्षिण कोरियासँग निकट संस्थाले गरेको थियो ।”

देखिएनन् किम जोङ उन
माओवादी केन्द्रका गजुरेल, परिवार दलका ढकाल, संघीय समाजवादी फोरमकी सांसद छायाँ शर्मा, एमालेसम्बद्ध इन्जिनियर अलि अख्तर मिकरानी र एक सञ्चार उद्यमीलगायत आठ जनाको प्रमण्डलको नेतृत्व गर्दै प्योङयाङ पुगेका नेपाल तब छक्क परे, जब पत्नी नीलम खड्कासहित गएका माले महासचिव सीपी मैनालीलाई त्यहाँ भेटे । कार्यक्रमका लागि उत्तर कोरियाली सरकारले मैनालीलाई समेत निम्त्याएको रहेछ ।

संस्थापक नेता सुङको स्मृतिमा आयोजना गरिने पूर्वनिर्धारित कार्यक्रम भनिए पनि यसपटकको कार्यक्रम आफ्नो पक्षमा अन्तर्राष्ट्रिय जनमत जुटाउन गरेको थियो, उत्तर कोरियाले । त्यही बुझेर होला, प्रधानमन्त्री देउवाले पूर्वउपसभामुखसमेत रहेकी पार्टी नेतृ यादवलाई प्योङयाङ जान रोकेका थिए, भलै बहानाचाहिँ प्रदेश–२ मा हुने निर्वाचनलाई बनाइयो । मैनाली भन्छन्, “कार्यक्रम उत्तर कोरियाको पक्षमा ऐक्यबद्धता जनाउने उद्देश्यका साथ आयोजना गरिएको हो । म पनि ऐक्यबद्धता जनाउनकै लागि गएको हुँ । अरू किन गएका हुन्, त्यो उनीहरूलाई नै थाहा होला ।”

उत्तर कोरियाका संस्थापक नेता सुङ वर्तमान ‘सर्वाेच्च नेता’ किम जोङ उनका हजुरबुबा हुन् । सन् १९४८ मा सुङले अमेरिकी समर्थनप्राप्त जापानविरुद्ध लडेर उत्तर कोरियाको स्थापना गरेका थिए । दक्षिण कोरियासहितको एकीकृत कोरिया निर्माण गर्ने लक्ष्य पनि थियो सुङको । तर, सफलता पाएनन् ।

हजुरबुबाको स्मृतिमा आयोजित भए पनि उत्तर कोरियाली सर्वाेच्च नेता उन भने नेपाल प्रमुख अतिथि रहेको कार्यक्रममा उपस्थित थिएनन् । कार्यक्रममा उपस्थित उत्तर कोरियाली उच्च नेतामा राष्ट्रपति किम जोम नाम थिए । नेपाललाई राष्ट्रपति नामको दाहिनेतिर राखेर कार्यक्रम गरिएको थियो । 
अमेरिकासँग तनाव बढेका बेला भएर होला, सर्वाेच्च नेता उन सार्वजनिक कार्यक्रममा देखा परेका छैनन्, यसपटक पनि देखिएनन् । अघिपछि उनी उपस्थित कार्यक्रमका जे जति भिडिओ फुटेज सार्वजनिक हुन्छन्, ती खासमा कार्यक्रम सकिएको केही समयपछि मात्र उत्तर कोरियाली टेलिभिजनमार्फत सार्वजनिक हुन्छन् । कार्यक्रममा नआएपछि नेपालले पहिलोपटक प्योङयाङ पुग्दा संस्थापक नेता सुङसँग भेट गरेको स्मरण गराउँदै यसपटक सर्वाेच्च नेता उनसँग भेट्ने प्रबन्ध गरिदिन उत्तर कोरियाली अधिकारीहरूसँग आग्रह गरेका थिए । तर, उन गाउँतिर गएको बताएर भेटघाटको 
प्रबन्ध गरिएन । 

यद्यपि, उनपछि दोस्रो वरीयतामा रहेका राष्ट्रपति नामलगायत सत्तारुढ उत्तर कोरियाली उच्च नेताहरूसँगचाहिँ नेपालले भेटघाट र कुराकानी गरे । नेपालका भनाइमा, उत्तर कोरियाली नेताहरूसँग कोरियाली प्रायद्वीपमा कसरी शान्ति स्थापना गर्ने भन्ने सम्बन्धमा लामै कुराकानी भएको थियो । भन्छन्, “शान्तिको वातावरण अमेरिकालगायत मुलुकले बिगारेको भन्ने उत्तर कोरियाली दाबी छ । यद्यपि, मैले उत्तर कोरियाली नेताहरूलाई शान्तिको विकल्प नरहेको बताएको छु । मलाई ज–जसले उत्तर कोरिया जान सुझाव दिनुभयो, ती विश्व नेताहरूसँग पनि कुरा गरेर तनाव शान्त पार्ने विषयमा छलफल गर्ने योजना बनाएको छु । हेरौँ, परिणाम के हुन्छ !” 

प्रकाशित: भाद्र १२, २०७४