जीवनशैली

डान्स...डान्स...डान्स...

भारतीय रियालिटी सो र युट्युबमा नेपाली डान्सरहरूको जगजगी

- गोकर्ण गौतम, काठमाडौं

भारतीय टेलिभिजन स्टार प्लसबाट प्रसारित डान्स प्लस सिजन–२ को फाइनल (उत्कृष्ट चार)मा पुगे, वाइल्ड रिपर्ज क्रु नामको डान्स ग्रुप र सुशान्त खत्री । ३० हजारभन्दा बढी प्रतिस्पर्धीलाई पन्छाउँदै वाइल्ड रिपर्जले प्रतियोगितामा फस्र्ट रनर अप र सुशान्तले चौथो स्थान पाए । काठमाडौँमै डान्स सिकेका वाइल्ड रिपर्ज र सुशान्तलाई डान्स प्लसले अन्तर्राष्ट्रिय ख्याति त दिलायो नै, सँगै उक्त रियालिटी सोका सुपर जज रेमो डिसुजा निर्देशित फिल्म एबीसीडी–३ मा देखिने पक्का भएको छ । 

सन् २०१४ मा भारतको अर्को चर्चित डान्स रियालिटी सो डान्स इन्डिया डान्स लिटिल मास्टरमा नेपाली चेली तेरिया मगरले उपाधि नै जितिन् । रुद्रपुर, रुपन्देहीकी तेरिया जी टीभीको यस सोमा भाग लिनकै लागि मुम्बई पुगेकी थिइन् । उपाधिसँगै तेरिया ‘लिटिल सेलिब्रिटी’का रूपमा चर्चित भइन् । 
स्ट्रिट डान्समा अब्बल मानिएको नेपाली डान्स ग्रुप कार्टुन क्रु गत वर्ष चीनमा सम्पन्न वल्र्ड लिजर गेम्समा दोस्रो भएको थियो । आधा दर्जनभन्दा बढी मुलुकका डान्सर सहभागी उक्त प्रतियोगिताका निर्णायकले ‘युनिक एन्ड पावरफुल’ भन्दै यस समूहको खुलेर प्रशंसा गरे । 

यो त भयो दुई वर्षको अन्तरालमा विदेशका प्रतिष्ठित रियालिटी सोमा नेपाली डान्सरले पाएको उपलब्धि । यता, भिडियो स्ट्रिमिङ साइट युट्युबबाट आफ्नो प्रतिभा पस्किएर नाम र दाम कमाउने तन्नेरी पनि त्यत्तिकै छन् । किनभने, युट्युबले गर्दा डान्सरहरूले आफ्नो क्षमता देखाउन रियालिटी र स्टेज पर्फमेन्समा भर पर्नुपर्ने बाध्यता हटेको छ । पुरानो डुंगा युनिटले गरेको ‘नीर जहिले रिसाउनी...’ गीतको कभर भिडियो प्रतिस्पर्धामा ४० भन्दा बढी समूहले भाग लिएबाटै युट्युबको सहारामा जुर्मुराइरहेका नेपाली डान्सरहरूको संख्या प्रस्ट हुने क्राटुर्न क्रुका लिडर सविन कार्कीको भनाइ छ ।

क्रार्टुन क्रु त युट्युबमा सबभन्दा रुचाइएको नेपाली डान्स समूह भइहाल्यो । त्यसबाहेक द नेक्स्ट, भीमफेदी गाइज, क्रिस्टल क्रुजस्ता समूह निकै हिट छन् । ‘रातो र चन्द्र सूर्य...’ गीतको कोरियोग्राफीमा व्यस्त सविन भन्छन्, “युट्युब र रियालिटी सोमा पाएको सफलताले हामी पनि अन्तर्राष्ट्रिय स्तरको डान्स गर्न सक्छौँ भन्ने प्रमाणित भएको छ । यसले नयाँ डान्सरहरूका लागि हौसला दिएको छ ।” उनका अनुभवमा दुई वर्षयता नेपाली डान्स र डान्सरहरू निकै ‘भाइब्रेन्ट’ भइरहेका छन् । 

रमाइलो त के छ भने सिक्ने माध्यम पनि युट्युब नै हो । बी–बोइङ, हिप–अप, पपिङ, डब्स्टेपजस्ता विदेशी स्टाइलहरू उनीहरू युट्युबबाटै सिक्छन् अनि त्यसमा केही नेपालीपन मिसाएर गरिएको डान्सको भिडियो पनि युट्युबमै अपलोड गरेर दोहोरो फाइदा लिइरहेका छन् । त्यसैले त हिजोसम्म आफ्नै खर्चमा कभर भिडियो बनाउने कार्टुन क्रुहरू अहिले धमाधम प्रायोजक भेटाउँदै छन् । कोही अफिसियल भिडियो नै बनाउँछन् त कसैलाई सम्बन्धित फिल्म युनिट र कलाकारले अफर गर्छन् । झन् वाइल्ड रिपर्ज र सुशान्त त ठूला डान्स स्टार भइहाले । उनीहरूले एउटै स्टेज सोको नेपालमा चार लाख र भारतमा पाँच लाख रुपियाँसम्म लिन्छन् । वाइल्ड रिपर्जका सदस्य सुरेन्द्र राई भन्छन्, “डान्स प्लसपछि भारत र नेपालमा स्टेज सो गर्न भ्याइनभ्याइ छ । करिअरको सुरुआतमै हामी हाम्रो कमाइबाट सन्तुष्ट छौँ ।”

रियालिटी सोमा सफल
रोहन सिंह टिम लिडर रहेको वाइल्ड रिपर्जमा १० सदस्य छन्, जसमध्ये १ भारतीय हुन्, बाँकी नेपाली । सन् २०११ मा काठमाडौँमा एउटा गु्रप डान्स प्रतियोगिता हुँदै थियो, त्यसमै सहभागी गराउन कोरियोग्राफर प्रमिला महर्जनले प्रतिभाशाली डान्सरलाई समेटेर वाइल्ड रिपर्ज खोलेकी थिइन् । त्यतिबेला समूहमा १६ जना थिए, केहीले प्रतिस्पर्धा जिते पनि । तर, न नाम थियो, न दाम । बरू डान्सको भोक बढ्दै थियो । त्यही भोक पूरा गर्न तीन वर्ष पहिले सपनाको सहर मुम्बई पुगेका थिए ।

सुरेन्द्र सम्झन्छन्, “त्यतिबेला हामी नौ जना एकै ठाउँमा बस्थ्यौँ । बाँच्नका लागि कोही कल सेन्टरमा त कोही डाटा इन्ट्री कम्पनीमा काम गथ्र्यौं । अनि, बचेको समयमा डान्स अभ्यास ।” बिस्तारै स्थानीय डान्सरसँग संगत बढ्यो । स्टेजहरूमा पर्फमेन्स गर्न थाले । सोही सिलसिलामा उनीहरू डान्स प्लस सिजन–१ मा सहभागी भएका थिए तर तेस्रो चरणबाटै बाहिरिए । हिप–हप र बी–बोइङको युनिक मुभ्सले यही रियालिटी सोको दोस्रो सिजनमा तहल्का मच्चाए । गु्रपका चार सदस्यका गुरु तथा कोरियोग्राफर गम्भीर विष्ट भन्छन्, “वाइल्ड रिपर्जको इनर्जी, मुभमेन्ट, मुभ्स र स्टन्ट गर्ने शैली गजबको छ ।” डान्स प्लसबाट यसको बी–बोइङ गु्रपको पहिचान बनेको छ । यो समूहले डेल डान्स कम्पिटिसन २०१२, अल नेपाल उर्बन स्ट्रिट डान्स कम्पिटिसन २०१३, अल इन्डिया भी फेस्ट २०१५, यूडीएमएस मुम्बई च्याम्पियन्सिप २०१४ र इन्डिया वेस्ट डान्स क्रु २०१६ लगायतका उपाधि पनि जितिसकेको छ । 

सुशान्त पनि गम्भीरकै चेला हुन् । काठमाडौँ, कपनका सुशान्तले एसएलसीपछि डान्सको औपचारिक प्रशिक्षण लिन थाले । त्यतिबेला उनको रुचि बी–बोइङमा थियो, पछि पपिङ र हिपअपतिर ढल्किए । डान्स प्लस पछि भने उनलाई लिरिकल डान्सले चर्चित बनायो । यो डान्स स्लो र मेलोडियस गीतमा गरिन्छ । झट्ट सुन्दा यस्तो गीतमा पनि डान्स हुन्छ र भने जस्तो लाग्छ । तर, सुशान्त गीतका स–साना बिट र शब्दलाई शारीरिक हाउभाउका माध्यममा पोख्छन्, जीवन्त शैलीमा, त्यो पनि लिप्सिङबिनै ।

त्यसो त नेपाल टेलिभिजनबाट प्रसारण भएको ‘छमछमी’मा भने उनी अगाडि बढ्न सकेनन् । यद्यपि, त्यसपछि उनले राजधानीमा भएका अधिकांश हिपअप डान्स प्रतियोगिता जिते । अनि, अवसरको ठूलो मञ्च खोज्दै मुम्बई पुगे । डान्स प्लसभन्दा पहिले उनी स्टार प्लसकै ‘इन्डिया डान्सिङ सुपरस्टार’को उत्कृष्ट १२ मा पुगेका थिए तर भोटिङ राम्रो नभएपछि बाहिरिनु पर्‍यो । त्यसयता मुम्बईमै बसेर संघर्ष गरिरहेका सुशान्त डान्स प्लसको फाइनलमा पुगेसँगै डान्सको दुनियाँमा ‘हटकेक’ बनेका छन् । 

युट्युबका हिट
रियालिटी सोभन्दा कम प्रभावकारी छैन युट्युबको प्लेटफर्म । त्यसो नहुँदो हो त, क्रार्टुन क्रुका प्राय: सबै भिडियो भाइरल हुने थिएनन् । रमाइलो त के भने अल्मोडा राणा उप्रेतीले गाएको ‘फन्टास्टिक वन्डरफुल...’को ओरिजिनल भिडियोभन्दा क्रार्टुन क्रुको कभर भिडियोले युट्युबमा तहल्का मच्चायो । यो भिडियो ५६ लाख पटक हेरिसकिएको छ । यो समूहको लोकप्रियता युट्युब प्रयोगकर्तामा मात्र सीमित छैन, सेलिब्रिटीसमेत उनीहरूसँग नाच्न लालायित हुन थालेका छन् । यस्तै इच्छा देखाएपछि ‘नीर जहिले रिसाउनी...’को भिडियोमा उनीहरूले प्रियंका कार्कीलाई आफूसँगै नचाएका छन् । यही समूहको रेशम फिलिलीको ‘ जालमा...’ को कभर भिडियो पनि भाइरल भएको थियो । 

चार वर्ष पहिले कान्तिपुरको परिवर्तन अभियान अन्तर्गत दरबारमार्गमा भएको कार्यक्रममा कार्टुन क्रुले डान्स प्रस्तुत गरेको थियो । यही भिडियोलाई एक फ्यानले फेसबुकमा अपलोड गरिदिएछन् । हिप–अप, बी–बोइङमा नेपाली स्टेप मिलाइएको त्यो भिडियोको सेयर मात्रै ६ हजार भयो । प्रशंसा पनि उत्तिकै । टिम लिडर सविन भन्छन्, “त्यसपछि हामी युट्युबमा केन्द्रित हुन थाल्यौँ । सित्तैँमा आफ्नो क्षमता देखाउन पाइयो, यो माध्यम निकै प्रभावकारी ठहरियो ।” कार्टुन क्रुको युट्युब च्यानल ‘बिस्ट अफिसियल’ ४९ हजारले सब्सक्राइब गरिसकेका छन् भने १ करोड २ लाख पटक हेरिएको छ । सात सदस्यीय यो टोली अहिले प्रतिस्टेज सो ५० हजार रुपियाँ लिन्छ । चाहे बी–बोइङ होस् वा हिप–अप, नेपाली गीतमा मात्र नाच्छन् । 

कार्टुन क्रुजस्तै अर्को डान्स गु्रप द नेक्स्ट पनि विदेशी गीतमा नाच्दैनन् । समूहमा ६ केटी र चार केटा छन्, सबै अस्ट्रेलियामा बस्छन् । बी–बोइङ र हिप अपमा नेपाली कल्चलर स्टेप मिसाउन माहिर यो ग्रुपले युट्युबमा राखेको पहिलो कभर भिडियो ‘जालमा...’ नै दुई महिनामा ३० लाख पटक हेरिएको थियो । टिमका लिडर तथा कोरियोग्राफर प्रदीप लामा भन्छन्, “पहिलो भिडियोबाटै हामीले नसोचेको सफलता पायौँ । त्यसपछि हामीलाई काम र कलेज भ्याएर नियमित डान्स अभ्यास गर्न जाँगर पलायो ।” 

कोरियोग्राफी, सिनेमाटोग्राफी र सम्पादन स्तरीय हुने भएकाले द नेक्स्टको भिडियो प्रतीक्षित बन्छ । उनीहरूले कभर गरेको नेपथ्य ब्यान्डको ‘मै नाच...’ले २३ लाख र अल्मोडाको ‘फन्टास्टिक वन्डरफुल...’ले युट्युबमा २० लाख भ्युज पाइसकेको छ । लोकप्रियता बढ्दै गएपछि अफिसियल भिडियो कोरियोग्राफको अफर आउन थालेको प्रदीपले बताए । हालै यो समूहले विश्व नेपालीको ‘मीठो...’ गीतको भिडियो तयार पारेको छ । उनीहरूको युट्युब च्यानल २० हजार सब्सक्राइब भइसकेको छ भने हेर्नेको संख्या ५० लाख नाघेको छ । 

युट्युबमा चर्चित अर्को नेपाली डान्स समूह हो, भीमफेदी गाइज । पाँच वर्ष पहिले उनीहरूले रहर पूरा गर्न मात्र युट्युबमा भिडियो अपलोड गरेका थिए, सामान्य डिजिटल क्यामेराले खिचेर । तर, युट्युबले उनीहरूलाई यति चर्चित बनाउँदै लग्यो कि अहिले पारिश्रमिकसहित कभर भिडियो गर्न थालेका छन् । फिल्म अधकट्टीको ‘फिगर कोकाकोला...’, वडा नम्बर ६ को ‘सुर्केथैली...’, ‘आई लभ यू...’लगायत आधा दर्जन गीत पारिश्रमिक लिएर कभर डान्स गरेको समूहका लिडर निर्मल लामा बताउँछन् । हिप–अप र बी–बोइङमा नेपालीपन मिश्रण गर्ने भएकाले उनीहरूको डान्स रोचक लाग्छ । प्रदीप भन्छन्, “हिप–हप र बी–बोइङमा नेपाली स्टेप फ्युजन गर्दा स्वदेशी मात्र होइन, विदेशी अडियन्सले पनि रुचाउँदा रहेछन् ।” हाल उनीहरूको युट्युब च्यानल १८ हजार ३ सयले खरिद गरेका छन् भने ७१ लाखले भिजिट गरिसकेका छन् । ‘डान्स विथ एक्ट’ मिसाउनु उनीहरूको विशेषता हो । 

दुई वर्षअघिसम्म क्रिस्टल क्लजको लोकप्रियता पोखरामा सीमित थियो, जसै उनीहरूले युट्युब च्यानल खोलेर भिडियो अपलोड गर्न थाले, चर्चाको दायरा फराकिलो हुँदै गएको छ । च्यानल नौ हजार सब्स्क्राइब हुनु र २० लाख भ्युज बटुल्नुले त्यस्तै देखाउँछ । ६ सदस्यीय यो समूहका लिडर र कोरियोग्राफर हुन्, सन्देश ठकुरी । सुरुमा सन्देश सोलो डान्सर थिए, डब्सस्टेप गर्थे । गु्रप खोलेपछि भने हिप–अपमा तानिएका छन् । उनी गु्रपकै नाममा पोखरामा खोलिएको डान्स इन्स्टिच्युटका प्रशिक्षक पनि हुन् । त्यसैले उनको भिडियोमा नयाँ प्रतिभाहरूले मौका पाइरहेका हुन्छन् । हिन्दी फिल्म ए दिल है मुस्किलको ‘ब्रेकअप सङ...’को कभरमा उनले तीन नयाँ डान्सर नचाए, जुन भिडियो एक साता नबित्दै तीन लाख पटक हेरिएको छ । सन्देश भन्छन्, “युट्युब च्यानल सुरु गरेसँगै इन्स्टिच्युटमा भीड लाग्न थालेको छ । भारतका रियालिटी सोले पनि धेरै युवालाई प्रेरणा दिइरहेको छ ।” 

युट्युब र रियालिटी सोले नेपाली युवाहरूमा डान्सप्रतिको क्रेज बढाएको छ । युट्युबमा ‘नेपाली डान्स क्रु’ टाइप गर्‍यो भने दर्जनौँ क्रु देखाउँछ । मोबाइल, क्यामेरा र इन्टरनेटको सहज पहुँच यो लहरको मेरुदण्ड हो । डान्स गर्ने मात्र होइन, हेर्ने संस्कृति पनि बढेको छ । गर्न त सबैले हिप–अप र बी–बोइङ नै हो । तर, नेपाली परम्परागत र मौलिक नृत्य कलालाई आत्मसात् नगरी अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिन्न भन्ने यथार्थ बोध नयाँमा मात्र होइन, चर्चामा आइसकेका डान्सरहरूमा पनि हुन थालेको छ । कोही मौलिक नेपाली म्युजिकमा हिप–अप डान्स गर्छन् त कोही हिपअप बिटमा नेपाली डान्स गर्छन् । “हरेक डान्सरले बी–बोइङ र हिप–अपमा नेपाली मुभ्स फ्युजनको प्रयास गरिरहेका छन् । यो सुरुआत मात्र भएकाले नेपाली नृत्यशैलीले अन्तर्राष्ट्रिय पहिचान पाउन अझ केही वर्ष कुर्नुपर्छ,” मैतीदेवीस्थित डान्स फिभरका सञ्चालक तथा दर्जनौँ फिल्ममा कोरियोग्राफी गरिसकेका गम्भीर भन्छन्, “तर, डान्सले नाम र दाम दुवै दिलाउने अवस्था भने सिर्जना भइसकेको छ ।” 

(तस्विरमाः कार्टुन क्रु, भीमफेदी गाइज, द नेक्स्ट, क्रिस्टल क्लज, सुशान्त खत्री र वाइल्ड रिपर्ज क्रु । माथिबाट क्रमशः)
 

 

प्रकाशित: मंसिर ७, २०७३