समसामयिक

‘तीन बहादुर’ले बनाएको विद्यालय

सीमान्तकृत बालबालिकाका लागि पहिलोपटक पाठशाला स्थापना गर्दाको अन्तरकथा

- नारायण अमृत, काठमाडौं

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको विशाल प्रांगण छड्के पार्दै नयाँबजार छिचोलेर दक्षिणतिर पर्ने धोकासी टोल पुगेपछि एउटा चिटिक्क परेको पाठशाला देख्न सकिन्छ, गोरखनाथ माध्यमिक विद्यालय। उपत्यकाको ऐतिहासिक स्थान कीर्तिपुरका गुजुमुज्ज बस्ती, मठमन्दिर एवं देवालय, वरपरका थुम्काथुम्की र हरिया पाखापोथ्रा सहजै देखिने सुन्दर स्थानमा रहेको झन्डै चार दशक पुरानो यो विद्यालयको जन्मकथा रोचक मात्र होइन, त्यत्तिकै प्रेरणादायी पनि छ। 

गोरखनाथ माविको प्रारम्भसँग जोडिएका महत्त्वपूर्ण तीन पात्रमध्ये अहिले हीराबहादुर मानन्धर, ८२, लाई मात्र भेट्न सकिन्छ र सुन्न सकिन्छ उनका पुराना केही किस्सा तथा शिक्षासेवाको वर्णन। कीर्तिपुरको मध्य नयाँबजारमा रहेको एउटा पुरानो नेवारी शैलीको घरमा हालै भेटिएका हीराबहादुर भन्दै थिए, “त्यो स्कुल मानवशास्त्री डोरबहादुर विष्ट र अर्का छिमेकी मीनबहादुर श्रेष्ठ नभएको भए बन्दैनथ्यो। खासमा कीर्तिपुर र वरपर रहेका पोडे, च्यामे, सार्की, गाइने, दमाइ र कसाइका बालबालिकाका लागि विष्टले यो विद्यालय बनाउने अभियान चलाएका हुन्। त्यसमा मेरो पनि योगदान छ।”

विसं ’३० को दशक आरम्भ थियो। कीर्तिपुर वरपर त्यति स्कुल थिएनन्। भएका विद्यालयमा सार्की, दमाई, च्यामे, पोडे र कसाईजस्ता सीमान्तकृत बालबालिकालाई प्रवेश सहज थिएन। समाजमा जातीय भेदभाव चर्को थियो। त्यसको बाछिटा विद्यालयहरूमा पुगेकाले नै सीमान्तकृत समुदायका बालबालिका दिनभर कीर्तिपुरका खुला चौरमा खेलेर समय खर्चन्थे। कोही साहू–महाजनकहाँ काम गर्थे। कोही खाली स्थानमा सुँगुर चराइरहेका भेटिन्थे। उनीहरूका अभिभावकलाई समेत छोराछोरीलाई शिक्षादीक्षा दिनुपर्छ भन्ने चेतना थिएन।

उपत्यकाभित्रै भए पनि कीर्तिपुरको छेउछाउ अति दुर्गम र पिछडिएको थियो। मानवशास्त्री विष्ट विश्वविद्यालयमा पढाउँथे र श्रेष्ठ त्यसको प्रशासनमा काम गर्थे। “एक दिन उनीहरूबीच कुरा भएछ, गरिब बालबालिका पढाउने स्कुल चाहियो भन्ने विषयमा,” हीराबहादुर पुराना दिन सम्झन्छन्, “यही नयाँबजारमा मेरो चिया पसल थियो। उनीहरू यहाँ आउँथे, चिया पिउँथे र उनै च्यामे–पोडेका बालबालिकाको चिन्ता गर्थे।” 

विष्ट र श्रेष्ठसँग पिछडिएका बालबालिकाका लागि विद्यालय चाहिन्छ भन्ने सोच त थियो तर विद्यालय बनाउने जग्गा थिएन। विद्यालयका लागि पर्याप्त जग्गा चाहिन्थ्यो। उनीहरू सार्वजनिक जग्गा पाइन्छ कि भनेर एकाध सरकारी अड्डामा धाए। तर, हात लाग्यो शून्य। 

विष्ट र श्रेष्ठलाई छटपटाइरहेका देखेपछि चिया सर्भ गर्दै हीराबहादुरले एक दिन सोधे, ‘स्कुल बनाउन जग्गा पाइयो त ?’ प्रत्युत्तरमा दुवैले नमीठो भावमा मुन्टो हल्लाउँदै भने, ‘केही प्रगति भएन।’ एक निमेष वातावरणमा स्तब्धता छायो। सधैँ हसिला र प्रफुल्ल मुद्रामा भेटिने दुई बहादुरहरूको अनुहारमा छाएको निराशाको मलिन बादल देखेपछि चिया पसले हीराबहादुरले एकछिन गमेर बोलेछन्, ‘चिन्ता नगर्नूस्, स्कुललाई जग्गा म दिन्छु। तर, आमासँग सल्लाह गर्नुपर्छ।’

धोकासी टोल, ढोल दोककेवमा हीराबहादुरको झन्डै चार रोपनी जग्गा थियो। जग्गा मोही शेष महर्जनले कमाइरहेका थिए। जग्गाबाट उनलाई मकै र कोदो प्राप्त हुन्थ्यो। हीराबहादुरको चासोले विष्ट र श्रेष्ठ उत्साही भए। उनीहरूले विद्यालयलाई जग्गा उपलब्ध गराउन सके ठूलो पुण्य मिल्ने बताएछन्। “त्यही रात मैले आमासँग सल्लाह गरेँ र विद्यालयलाई जग्गा दिने निर्णय गरेँ,” बुढ्यौलीले चाउरिएको मुहारमा हत्केला लतार्दै हीराबहादुर सुनाउँछन्, “मैले मोहीलाई छुट्याएर बाँकी रहेको दुई रोपनी आठ आना एक पैसा जग्गा विद्यालयका नाउँमा दिएँ।” उनले आफ्ना लागि जम्मा तीन आना जग्गा बाँकी राखी अरू मोही र विद्यालयलाई दिने भएपछि त्यहाँ भवन निर्माण गर्ने कुरा आयो। 

विद्यालयका लागि भवन निर्माणको स्थलगत अगुवाइ पनि यिनै हीराबहादुरले गरे। उनले चाहिने सामग्रीको सूची तयार पार्थे भने डोरबहादुरले त्यसको जोहो गर्थे। विश्वविद्यालयमा मानवशास्त्र पढाउने, अध्ययन–अनुसन्धान र लेखनमा सक्रिय डोरबहादुरले धेरैपटक विदेशीलाई समेत विद्यालय निर्माणस्थलमा ल्याएर देखाएका थिए। जो आउँथे, जग्गादानी हीराबहादुरलाई अँगालो हालेर बधाई दिन्थे। राम्रो र पुण्यकर्म गर्नु भो भन्थे। 

“भवन त बन्दै गयो तर मैले तयार पारेको सूचीमा भवन छाउने छानाको कुरा टिप्नै बिर्सिएछ,” हीराबहादुरले किस्सा सुनाए, “छाउने जस्ता खोज्दा समय पनि लाग्यो।” त्यसपछि भएछ के भने त्यतिबेला स्थानीय विकासमन्त्री जोगमेहर श्रेष्ठ रहेछन् तर विष्टको सम्बन्ध उनीसँग राम्रो रहेनछ। “प्रोफेसर विष्टले राजनीति गर्नेलाई धेरै भाउ दिन्थेनन्, उनका छोरा (केशरबहादुर) नै शिक्षामन्त्री थिए,” हीराबहादुरले सुनाउँदै गए, “एक दिन विष्टले भन्ने, लौ तपार्इं नै जानूस् जोगमेहरकहाँ र माग्नूस् जस्तापाता।” 

विद्यालय निर्माण गर्न हीराबहादुरले जग्गा दिएको चर्चा मन्त्री श्रेष्ठले पनि सुनेका रहेछन्। मन्त्रालय पुग्दा मन्त्रीले हात मिलाउँदै चाहिएको सहयोग उपलब्ध गराउने वचन दिएपछि हीराबहादुर दंग पर्दै फर्के। भवन तयार भएपछि वरपर रहेका पिछडिएका बस्ती डुलेर विष्ट र उनका मित्र श्रेष्ठले सबै बालबालिकालाई विद्यालय पठाउन अभिभावकलाई आग्रह गरे। 

त्यतिबेला विष्टले कीर्तिपुरमा महिलालाई सशक्तीकरण उन्मुख हुन सघाउने उद्देश्यले महिला मिलन केन्द्र पनि खोलेका थिए। विद्यालयमा विद्यार्थी जुटाउन उनले यस्ता अनौपचारिक संस्थालाई पनि प्रयोग गरे। “त्यतिबेला यो विद्यालयमा भर्ना भएका पोडे, च्यामे, दमाई र सार्की बस्तीका बालबालिका अहिले आ–आफ्नो पेसामा जमेर लागेका छन्,” ३२ वर्षअघिदेखि गोरखनाथ विद्यालयको प्रधानाध्यापक मखमल श्रेष्ठ भन्छन्, “अहिले पनि उनीहरू विद्यालयको वार्षिकोत्सवमा आउँछन् र विष्ट सरहरूलाई धन्यवाद दिन्छन्, विद्यालयको हालखबर सोध्छन्।”

यो त भावना र कदरको कुरा भयो तर पछिल्ला वर्षमा अरू सामुदायिक विद्यालयमा झैँ गोरखनाथ माध्यमिक विद्यालयमा पनि विद्यार्थी संख्या पातलिँदै गएको छ। बढ्दो सहरीकरण, निजी विद्यालयको बाक्लो उपस्थिति र गिर्दो शैक्षिक स्तरका कारण होला, अहिले यो विद्यालयमा २ सय ५० जनाभन्दा बढी विद्यार्थी छैनन्। “विद्यालय बलियो छ, शिक्षकहरू पनि राम्रा छन् तर विद्यार्थी घटेको देख्दा नरमाइलो लाग्छ,” हीराबहादुर भन्छन्, “आफूले जग्गा दिएर बनाएको विद्यालय भएर होला, त्यो विद्यालय र त्यहाँ पढ्ने बालबालिकाको अति माया लाग्छ।” 

दलित र पिछडिएका जातजातिको अधिकार र चेतना अभिवृद्धिको विषय समयक्रमसँग पेचिलो मात्र होइन, राजनीतिक, सामाजिक र सांस्कृतिक रूपमा आयामिक पनि बन्दै छ। झन्डै चार दशकअघि मानवशास्त्री विष्ट र हीराबहादुरजस्ता स्थानीय सहृदयीले सीमान्तकृत र पिछडिएका जातजातिका बालबालिकाका लागि उठाएको उदाहरणीय कदम पक्कै पनि प्रशंसनीय थियो। “अरू अध्येताभन्दा मानवशास्त्री विष्ट त्यस कारणले पनि फरक थिए,” विष्टबारे अध्ययन गरेका मानवशास्त्रकै शिक्षक गौरव केसी भन्छन्, “तल्लो तहमा पुग्ने, जनतासँग घुलमिल हुने र उनीहरूका आवश्यकता सम्बोधन हुने गरी काम गर्ने मानवशास्त्री उनी मात्रै देखिए, त्यसपछिको पुस्ता त केवल सिद्धान्त र शास्त्रास्त्रमा 
मात्रै अल्झियो।” 

प्रकाशित: कार्तिक २६, २०७३